३६ वर्ष शिक्षण पेसाबाट अवकाश लिँदा पनि सदाबहार ‘राई सर’

BreaknLinks
BreaknLinks

जेठ १६ गते राई सर ६० वर्ष पूरा भएका छन्। १६ गते नै उनकाे जागिर अवधि सकिएकाे छ। राई सर अर्थात थमन कुमार राई। घर भाेजपुर। उनी २०४४ साल असारको अन्तिमतिर काठमाडौंबाट बाँकेकाे चिसापानीसम्म गाडीमा र त्यसपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै करिब ६ दिनको बाटोमा पैलद हिँडेर जुम्ला पुगेका थिए।

उनी भोजपुरबाट एसएलसी पास गरेपछि आईए पढ्न भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भए। त्यतिबेला भोजपुर बहुमखी क्याम्पसकै राम्रो विषय भनेको अर्थशास्त्र र भूगोल थियो। उनको रुचिको विषय भने अंग्रेजी थियो तर अनिवार्य अंग्रेजी पढाउने शिक्षक पनि गतिलो नहुँदा अर्थशास्त्र र नेपाली विषय पढे। दुई वर्षमा आईएको पढाइ सकियो। बीए पढ्न भनेर उनी काठमाडौं पुगे।

काठमाडौं बसाइको क्रममा भेटेरिनरीमा काम गर्ने कर्णालीका एक जना कर्मचारी भेटिए। धेरैपछि थाहा भयो, उनको घर जुम्लाको गज्रयांकोटतिर रहेछ। उनैले भनेका थिए, ‘कर्णालीमा मास्टर जागिर पाउन सजिलो छ। तलबको साथै एक सय १० प्रतिशत दुर्गम भत्ता पनि पाइन्छ। पैसा खुब कमाइन्छ।’ उनकाे बाेली राई सरकाे निम्ति उत्प्रेरणा भयाे। उनी उँधाे बगेकाे कर्णाली नदीकाे छालैछाल उँभाे हिँड्दै जुम्ला पुगे।

जागिर पाए राम्राे कमाई हुने ठानेकाे कर्णालीबारे भने उनले भाेजपुरमा थाेर बहुत थाहा पाइसकेका थिए। कक्षामा नेपाली विषय पढाउने शिक्षक कुमार आचार्य 'दुखी' ले भने, 'नेपालको यस्तो एउटा ठाउँ छ, जहाँका मान्छेहरु बिहान र बेलुका दुबै छाक रोटा(रोटी) खान्छन्। त्यो हो, कर्णाली।'

विस्तारै समाजको आनीबानी, चरित्र, खानपान, रहनसहन, चालचलनलगायतका कुरासँग अभ्यस्त बन्दै गरेको। आफू बसेको ठाउँ र त्यही वरिपरलाई नै समाज हो भन्ने धारणा बनाएका २०-२२ वर्षे राई सरलको दिमागलाई नेपाली शिक्षकको बोलीले सोचमग्न गराइदिन्छ।

उनले बुझेकाे खाना भन्नेबित्तिकै भात र भात भन्ने बित्तिकै खाना थियाे। रोटा भनेको खाजा वा नास्ता थियो। त्यो खाना कसरी खाना हुन सक्छ? आखिर बिहान बेलुका रोटामात्र खाएर कसरी बाँचिरहेछन् कर्णालीका मान्छे? उनीहरु कस्ता होलान्? उनीहरुको अनुहार अनि अनुहारको छाला, शरीरको बनावट, तागत आदि कस्तो होला? यिनै प्रश्नहरु उनका लागि अनुत्तरित थिए।

त्यतिबेला उनको दिमागमा उब्जिएका प्रश्नले जसरी भएपनि जीवनमा एकपटक कर्णाली पुग्नैपर्छ भन्ने अठोट गराएका थिए। त्यो रोटा खाने जीवनशैली नजिकबाट नियाल्नु थियो। त्यसैले पनि तानेको थियो, उनलाई कर्णालीले।

राई सर शिक्षण गर्दै जुम्लाको जीवनसँग साक्षातकार गर्ने मनभरी हुटहुटी लिएर जुम्ला पुगेका थिए। तर, खलंगा बेल्टतिर शिक्षकको कोटा खाली नभएकोले जिल्ला शिक्षा कार्यालयका मान्छेबाट जुम्लाकै सिंजातिर कतै खाली छ कि जानुहोस् भन्ने आदेश भयो। कर्मचारीको उक्त अनुमानमा राई सर जिंजामाे नराकोट पुगे। नराकोट पुग्दासम्म उनीहरुले बोकेर ल्याएको सीमित रकम लगभग खर्च भैसकेको थियो। पाहुनाको रुपमा त्यहीँका मुखियाको घरमा बास बसे। त्यहीँ उनले खानाको रुपमा पहिलोपटक रोटा खाए र कर्णालीका मान्छेले पनि रोटा खाएको देखे।

स्कुलमा नेपाली पढाउने सरले भनेको कुरा खुब ख्याल गरेका उनले परिस्थिति अलि फरक भएको भेटे। त्यो थियो- महिलाको बिहान बेलुका दुबै छाकको खाना रोटा र पुरुषको लागि एक छाक भात, एक छाक रोटा। सबै छाक रोटा खाने महिला मात्रै रहेछन्। पुरुषले त भात पनि खाने रहेछन्। रोटा कसरी खाना हुन सक्छ? भन्ने धारणा बनाएका राई सरले पहिलोपटक आफ्नै आँखाले देखेपछि स्विकारेका थिए- रोटा पनि खाना हो रहेछ भन्ने कुरा।

वसन्त ऋतुको बेला पुगेका उनले भूगोल हरियो थियाे। रमणीय र लाेभ लाग्दाे देखिन्थ्यो। तर, जब शरद ऋतु सकिएर कर्णालीका सबैतिरका डाँडाकाँडा रङरोगन उडेर डढेलो लागेजस्ता देखिन्थे। सुख्खा हावा र सुख्खा रोटीमा गुजारा चलेको दु:खी जीवन आफ्नै आँखाले नियालेपछि उनले मावि पढ्दै गर्दा दिमागमा खेलिरहने प्रश्नको उत्तर पाए। याेसँगै उनले विजन प्रश्नकाे एउटा अर्काे उत्तर पनि फेला पारे, 'महिला र पुरुषबीचकाे खानपिनमा हुने विभेद।'

पूर्वतिर पाहुनालाई सम्मान गर्न नसक्ने परिवारको हैसियत राम्रो नमानिने हुँदा पाहुनालाई सम्मान गर्नैपर्ने बाध्यता जस्तो हुन्छ। तर पश्चिममा पाहुना र पाहुना लागेको घर परिवारलाई समान देखे। घरमा जे पाकेको छ, त्यो पाहुनाले खान्छ। त्यसमा न परिवारलाई आत्मग्लानी हुन्छ न पाहुनाले अन्यथा लिन्छ। पाहुनाको सम्बन्धमा पश्चिमले बनाएको यो मान्यता उनको लागि स्मरणीय लागेकाे थियाे। तर, याे चलन विस्तारै फेरिँदै गएकाे छ। पाहुनालाई नभएपनि केही नयाँ खाना हुनुपर्छ भन्ने मान्यता विकास हुँदैछ। यसमा शिक्षित मान्छेहरु नै बढी उनले देखेका छन्।

जागिरको विषयमा कर्मचारीले गरेको अनुमानमा सिंजामा पुगेको केही समय बितिसक्दा पनि नमिलेपछि उनी फेरि जुम्ला बजारमै फर्के। खर्च धान्ने अवस्थामा नरहेपछि शिक्षा कार्यालयमा त्यतिकै बिरक्तिएर बसिरहेका उनलाई त्यहाँका एकजना मान्छेले 'तपाईं नै हो मास्टरीको नोकरी खोज्ने मान्छे?' भनी साेधे। उनले 'हो' को स्विकारोक्ति जनाए। के 'तपाईं निमाविको अंग्रेजी पाढाउन सक्नुहुन्छ?' भन्ने अर्काे प्रश्नकाे उत्तर पनि उनलाई गाह्राे थिएन। 'सक्छु' भने। तिनले भोलिदेखि स्कुलमा आउनुस्, पूर्वतिरको गाउँको स्कुल देखाउँदै सदरमुकामबाट जान एक घन्टा लाग्छ भनेर गए।

उनी गएलगतै अर्को मान्छे आएर फेरि उसैगरी सोधेका थिए। 'तपाईं गणित पढाउन सक्नुहुन्छ निमाविसम्म?' उनले 'सक्छु' भने। 'त्यसो भए भोलि स्कुलमा आउनुहोस्, तपाईंको पढाउने शैली हेरेर तलब दिइनेछ' भन्दै पश्चिमतिर गाउँ देखाउँदै सदरमुकामबाट स्कुल जान ४५ मिनेट लाग्छ भनेर उनी गए।

निमाविको सबै जसो विषय पढाउन सक्ने योग्यता बनाएका थिए राई सरले। एकै दिन दुई ठाउँ जागिर पाउने सम्भावना बन्यो। उनले हिसाब गरे एक घण्टा हिँड्नुभन्दा ४५ मिनेट हिँड्नु ठीक। अनि, उनले निर्णय गरे पूर्वतिर भन्दा छोटो पर्ने पश्चिमको स्कुलमा मास्टरी गर्ने।

बजारदेखि ४५ मिनेट लाग्ने स्कुलको नाम जनज्योति निम्न माध्यमिक विद्यालय बारकोटेबाडालाई रोजेका राई सरलाई त्यो रात निकै लामो लाग्यो। निकै लामाे रातमा उनले खुसी हुँदै अनेकाैं सपना बुने। उनले सानोमा गाउँका केटाकेटीलाई घरमै बोलाएर पढाएको। आफू मास्टर भएर बालापनमा गरेका काम खुब सम्झिए। लामो तर मिठो रात कल्पनामै बित्याे।

भोलिपल्ट रातकाे सपनालाई हकिकतमा बदल्न आफ्ना पाइलाहरु जनज्योति निमावि बारकोटेबाडातिर दाैडाए। अघिल्लो दिन उनलाई बोलाउने मान्छे हेड सर गोपाल शाही रहेछन्। उनले राई सरलाई त्यही दिनबाट काममा लगाए। राई सरले त्यस दिन निमाविमा पहिलो पटक गणित विषय पढाएका थिए। उनको पढाइ हेरिसकेपछि खुशी भएका हेड सरले स्कुल नजिकै बस्ने व्यवस्था पनि मिलाई दिए। उतिबेला गाउँमा मास्टर भएका टाढाका मान्छेलाई गाउँलेमध्ये कुनैले आफ्नै घरमा बसाल्थे। बसोबासको व्यवस्था मिलाउँथे। 'मास्टर साब' भनेर सम्मान गर्थे। एउटा गज्जबको संस्कार थियो।

त्यसको भोलिपल्ट विद्यालय व्यवस्थापन समितिको मिटिङ्ग बस्यो। पढाएकै दिनबाट लागु हुने गरी नियुक्ति दिइयो। २०४४ साउन ७ गतेबाट राई सर औपचारिक रुपमा सर भए। त्यसयताका ३६ वर्ष उनले अनवरत रुपमा पढाए। अब भने उनले पढाउन नपर्ने भएकाे छ।

शिक्षणको पहिलो वर्ष घुलमिल हुने क्रममा आफ्नैतिरका एकजना व्यापारी भेटिएका थिए। उनले 'आफूलाई लगानी गर, आवश्यक परेको बेला र घर जानेबेला फिता गरौंला' भने। राई सरले आफ्नो सोझोपन देखाएर व्यापारीले भनेको माने र आफूले कमाएको सबै उनलाई दिए। तर, व्यापार घाटा लागेर व्यापारीले पसल बेचेर जुम्ला छोडेछन्। राई सरको ती व्यापारीसँग भेट भएन। उनी गएसँगै राई सरको वर्षभरिको कमाइ पनि कहिल्यै फिर्ता नहुने गरी गयो। त्यस वर्ष पैसा नभएपछि घर जान नसकेका राई सर त्यसपछिका दिनमा अलि सचेत भए। अब साेझाे भएर हुन्न भन्ने ठाने।

२०४८ सालमा सरकारको त्यसअघि सेवा गरेका सबै अस्थायी शिक्षकलाई स्वत: स्थायी गरेपछि राई सर पनि स्थायी भए। अब राई सरको बसाई जुम्लामै हुने निश्चित जस्ताे भयाे। उनले परिवारलाई पनि जुम्लामै बोलाए। उनका तीन छोरी छन्। उनीहरु सबैले एसएलसीसम्मको पढाइ जुम्लामै गरे। त्यसपछि उच्च शिक्षा काठमाडौंमा सम्पन्न गरे। उनको घरतिरका काका, दाजुभाइ कसैले पनि उनी बराबरको पढेका छैनन् तर छोरीहरुले भने उनलाई जितिसके। मतलब छोरीहरुले राम्रो शिक्षा पाएका छन्।

राई सर पढाउनमा सधैँ अब्बल छन्। उनको नियुक्ति सुरुका दिनमा गणित विषयमा भए पनि निमाविका विज्ञान, गणित, अंग्रेजी नेपाली, पेशा, स्वास्थ सबै विषय उनी विद्यार्थीलाई मज्जाले बुझाएर पढाउँछन्। सुरुमा जनज्योति निमावि बारकोटाबाडाबाट पढाउन सुरु गरेका उनले राहदेव मावि मोफ्लामा पनि पढाए। त्यसपछि लगातार रत्नचुडेश्वर मावि बोहरागाउँ नै पढाए। ३६ वर्ष शिक्षक भएर काम गर्दा उनले सबैभन्दा लामो समय बोहरागाउँमै बिताए।

स्थायी भएपछि हुने बढुवाको लागि योग्यता थिएन। जम्मा आईए पास मात्र भएकाले सहजै बढुवा पाइने थिएन। त्यसैले माथिल्लो तहको अध्ययनका लागि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए। तर जाँच दिन पाएनन्। सुर्खेत शिक्षा क्याम्पसमा फेरि नेपाली विषयमा भर्ना गरी बीएडसम्मको पढाइ सकाए। पछि स्कुल दश जोड दुईको अवधारणा आयो। ११, १२ पढाउन एमएड पनि सकाए। हाल राई सरले ११,१२ मा नेपाली विषय पढाए। त्यसका अतिरिक्त ९, १० कक्षामा स्वास्थ्य जनसंख्या र अर्थशास्त्र पनि पढाए।

उनले पढाउन बाँकी थाेरै विषय मात्रै हाेलान्। राई सर निमाविका शिक्षकमात्र भएपनि उनले विद्यालय तहको लागभग धेरै विषय पढाएका छन्। उनको यो कुरामा विद्यार्थी, विद्यालय परिवार दुबै सन्तुष्ट भए। गाउँले पनि उनलाई मृदुभाषी मान्छन्। सरल र असल भनेर सम्मान गर्छन्। माया गर्छन्।

पढाउने सिलसिलामा धेरै अनुभूति संगालेका छन्। समयअनुसार विद्यार्थीमा भएकाे परिवर्तनका साक्षी उनी स्वयं हुन्। उनी भन्छन्, 'अहिलेका विद्यार्थीहरु अपडेटेट छन्। धेरै कुरा जानेका छन्। बरु मेहनत गर्ने बानी छैन। अनुशासनमा केही भिन्नता देखिएको छ। कतै हामी शिक्षकको पो कमजोरी हो कि!' उनले विद्यार्थीको मनोविज्ञान बुझेका छन्।

हिजोआज उनी विद्यार्थीको अवस्था बुझेर व्यवहार गर्छन्। कक्षाकोठालाई व्यवस्थित गराउनु मुख्य दायित्व सम्झिन्छन्। त्यसैले उनी कक्षाकोठामा पुग्ने बित्तिकै कक्षाकोठाको वातावरणलाई ध्यान दिन्छन्। यदि कोठा सफा छैन भने विद्यार्थीलाई प्रश्न गर्छन्- हामी कस्तो काठामा बसेका छौं? अनि विद्यार्थी बुझेर आफ्नो अगाडि भएका काजगका टुक्रा आफैँ उठाउँछन्। विद्यार्थीको कुरा बुझेर मात्र पढाउने काम अगाडि बढाउँछन् राई सर।

कहिलेकाहीँ आफूले रिसको झोकमा विद्यार्थीसँग गरेको व्यवहारले आफूलाई पछिसम्म पनि प्रभाव पारेको सम्झिन्छन् उनी। एकपटक त्यस्तै भयो। कक्षामा पढाइरहेको बेलामा एक विद्यार्थी बाहिरबाट आएर नजिकैको बेञ्चमा भएको अर्को विद्यार्थीलाई लडाइदियाे। लडेकाे विद्यार्थी रोयाे। त्यसपछि उनीहरु दुबैजना झगडा गर्न लागे। सरले दुबैलाई पिटे। लडाइदिनेलाई अलि बढी पिटेपछि उसले सरलाई थर्काउने शैलीमा प्रश्न गर्‍याे 'सर यसरी बालबालिकालाई पिट्न मिल्छ? बालअधिकारबारे तपाईंलाई थाहा छैन?' सर झस्किए।

विद्यार्थीलाई अधिकारको विषयमा खुब सिकाइएको रहेछ तर कर्तव्यको विषयमा सिकाइएको रहेनछ भन्ने सम्झिए। त्यसपछि त्यो व्यवहार विद्यार्थीलाई कहिल्यै दोहोर्‍याएनन्। गीत लेख्न र गाउन जानेका राई सर हार्मोनियम झन राम्राे बजाउँछन्। विद्यालयमा हुने गरेका सांस्कृतिक कार्यक्रमका धेरैजसाे गीतकाे रचना राई सर नै गर्थे।

बढुवा भएर निमावि प्रथम श्रेणीको शिक्षक भएका राई सरको तलब भत्ता नेपाल सरकारको उपसचिव सरह हुन्थ्याे। योग्यता पनि पुगेकाे थियाे। अध्यापन पनि त्यहीअनुसारको गरिरहेका थिए। तर, पनि उनी नेपालको विद्यालय संरचनाको निमावि शिक्षक मात्र हुन्। उनी पढाइरहेको विद्यालयमा सेवा सुविधा, उमेर आदि सबैको आधारमा उनी एउटै सिनियर शिक्षक हुन्। सबै कुरामा सिनियर हुँदाहुँदै पनि उनको जिम्मेवारी भनेको निमावि शिक्षक मात्र छ। उनीजस्ता शिक्षककाे मर्म बुझेर नै हाेला उनी रिटार्ड हुनेबेला मात्रै सरकारले बढुवा भएपछि माथिल्लो तहमा समायोजन गर्ने निर्णय गर्‍यो।

नेपालको विद्यालयको संरचनाले उनी जस्ता सिनियर शिक्षकलाई अपमान गरेको छ। निजामती सेवामा खरिदार हुन्जेल खरदार साब हुन्छ। त्यो बढुवा भयो भने सुब्बा साब हुन्छ। अधिकृत त कता हो कताको सम्मानित व्यक्ति मानिन्छ। उपसचिव, सहसचिव र सचिवको त झन् ठुलै कुरा हुन्छ तर शिक्षक बढुवा भयो भने तह उही, नाम उही केवल सुविधामा मात्र थोरै फरक। यही एउटा नमिलेको संरचनाले शिक्षकलाई बारम्बार अपमानित भएको महसुस हुन्छ। राई सरलाई पनि यस्तै लाग्छ।

संसारका धेरै देशमा शिक्षण सम्मानित पेशा भएकोले शिक्षक हुनु गर्वको विषय हुन्छ। युनेस्कोबाट उत्कृष्ट शिक्षाको पुरस्कार पाएको देश क्युवामा शिक्षण पेशालाई सबैभन्दा सम्मातिन पेशा मानिन्छ। अमेरिकामा शिक्षकलाई भिआईपी नागरिकको रुपमा हेरिन्छ। जापानका शिक्षकलाई सरकारको अनुमतिविना पक्राउ गर्न पनि पाइँदैन। कोरियामा शिक्षकहरुले ती सुविभाहरु उपभोग गर्छन्, जुन भारतमा मन्त्रीहरुले आफ्नो परिचयपत्र देखाएर मात्र उपभोग गर्न सक्छन्।

फ्रान्समा शिक्षकलाई मात्र अदालतभित्र कुर्सीमा बस्ने अनुमति छ। त्यस्ता थुप्रै मुलुक छन्, जहाँ शिक्षक भएकैले आफू छाती फुलाएर हिँड्न सक्छन्। तर, नेपालको विद्यालयीय संरचना र सरकारी हेपाह प्रवृतिले शिक्षण पेसा अपमानित छ। धेरै कुरा शिक्षकका पनि नमिलेका छन् तर आफू शिक्षक भएकैले हिनताबोध र आत्मग्लानी गराउने सरकारी नीति बढी दाेषी छ। यश मानेमा राई सरकाे निराशा नेपालका तमाम शिक्षककाे निराशा हाे।

तर, राई सरका लागि विद्यार्थीसँग हुनु निकै रमाइलो क्षण बनेको छ। त्यसकारण उनलाई उमेर गएको पत्तै भएन। 'यो मेरो लागि निकै सुखद पक्ष हाे।'

जिन्दगीको सुरुवाती दिनमा खानाको रुपमा भात खाने भएकोले रोटा खाने मान्छेको बारेमा बुझ्न चाहेका राई सर यतिबेला कोलेस्टोरेलका बिरामी छन्। उनले भात धेरै खान हुँदैन। त्यसैले उनी सकेसम्म बिहान साँझ नै रोटा खाने प्रयत्न गरिरहेका छन्। पछिल्लो समय उनको खाना बारेको धारणा फेरिएको छ। उनी खाना भनेको भात मात्र होइन रहेछ, बरु रोटा पनि खाना रहेछ भन्छन्। नियमित भातभन्दा रोटा खानु स्वास्थ्यको लागि राम्रो मान्छन्।

कर्णालीका मान्छेका बारेमा राई सरको दिमाखमा बनेकाे धारणा धेरै फेरिएको छ। कर्णालीका मान्छेबारे मनमा उठेका प्रश्नकाे जवाफ कर्णालीकाे बसाइले दिएको छ। अब उनी कर्णालीका मान्छे कस्ता छन्, एकएक केलाउन सक्छन् र भन्छन्, 'यहाँका मान्छेहरुको अनुहार, अनुहारको छाला, शरीरको बनावट, तागत सब ठीकठाक छ। त्यसैले कर्णालीलाई हेयभावले हाेइन, मायाले हेर्नुपर्छ।'

हिजोआज खानपिनको दैनिकीमा रोटा मिसाउने राई सर कर्णालीदेखि सन्तुष्ट छन्। तर, कर्णालीका मान्छेले खानाको रुपमा हिजोआज दुबै छाक भात खान थालेका छन्। यसले उनलाई निराश बनाएकाे छ। याेभन्दा बढी निराश उनी स्कुल छाेड्दा भएका छन्।

गोलो अनुहार। सधैँ उस्तै देखिने जुङ्गाको रेखी। पुक्क परेका गाला। चिम्सा आँखा। ठिम्सो नाक, त्यहीमाथि सधैँ देखिने चस्मा। औसत उचाई। गठिलो जिउडाल। आधा फुलेको कपालमा लगाएको कालो मेहेदी। त्यहीमुनि चम्किएकाे सदावाहा अनुहार। सादा पहिरन। यी राई सरका चिनारी हुन्। उनले पढाएका हजारौं विद्यार्थीले याे कुरा कहिल्यै बिर्सने छैनन्। उनले पनि ती तमाम विद्यार्थी सम्झिरहने प्रण गरेका छन्। जागिर जीवनकाे अन्तिस समयमा पनि पूराका पूरा दिन पढाएका राई सरका आगामी दिन सुखमय बनुन्। शुभकामना!

प्रकाशित मिति: : 2023-06-01 20:00:00

प्रतिकृया दिनुहोस्

    जिन्दगी संघर्ष त्यत्तिकै भनिएको हैन धेरै कुरा सिक्न सकिन्छ उहाँ सरबाट उच्च सम्मान छ उहाँप्रति 🙏✍️❤️🌺

    • 3 महिना अगाडि
    • विक्रम तिरूवा