ब्युटिसियनस् विथ बिएल

नेपालकी पहिलाे ब्युटिसियन : रानी ऐश्वर्यले दिएको उपहारले सजिएको कमलाको जीवन (भिडियोसहित)

ममता आचार्य

काठमाडौं

काठमाडाैँका नरेन्द्रबहादुर श्रेष्ठ वि.सं. २०२४ सालमा वन अधिकृतकाे रूपमा धरानमा कार्यरत थिए। काठमाडाैँ उपत्यकाकाे नेवारी समुदायमा हुर्किएका उनलाई गाउँकाे परिवेश र गाउँलेहरूकाे जीवनशैली राेचक र निक्कै आनन्दपूर्ण लाग्नु स्वाभाविक थियाे। उनी त्यहाँका मानिसकाे जीवनशैली र प्रकृतिप्रति माेहित थिए। उनी आफ्नाे कार्यक्षेत्र, वन पाखाहरूमा आउने मानिसहरूसँग साक्षत्कार गरिरहन्थे। गाउँका मानिसहरू त्यसै पनि मनकारी हुने भएकाले उनीकाे आकर्षण बढ्नु नाैलाे कुरा भएन। त्यही क्रममा एकदिन धरानकै कमला भट्टराईसँग जंगलमा नरेन्द्रकाे भेट भयाे। कमला घुम्नकाे लागि जङ्गलमा निस्किएकी थिइन्।

भर्खरै १४ वर्षमा टेकेकी कमला त्यतिबेला एस.एल.सी. दिने तयारीमा थिइन्। धरानकाे सुन्दर प्रकृतिकाे काखमा हुर्किएकी कमला निक्कै सुन्दर थिइन्। उनलाई देखेर जाे काेही पनि आकर्षित भइहाल्थे, त्यसबाट नरेन्द्र पनि बच्न सकेनन्। एक/दुई पटककाे भेटमै उनीहरू प्रेममा परे। उनीहरूकाे अन्तरजातीय प्रेम सम्बन्ध भएकाेले समुदाय र परिवारले स्विकारेन। अन्तत: आफ्नाे प्रेमलाई सफल बनाउन कमला १४ वर्षकाे उमेरमा नरेन्द्रसँग बिहे गर्न तयार भइन। वि.संं २०२८ सालमा उनीहरूकाे प्रेम विवाह भयाे। त्यतिबेला कमलाले एस.एल.सी उत्तीर्ण गरिसकेकी थिइन्। विवाह पश्चात नरेन्द्र जागिरकै सिलसिलामा धनकुटा जानुपर्ने भयाे।

त्यतिबेला धनकुटाका प्राय: पाखाहरूमा रूख थिएनन्, नाङ्गा पाखहरू हरियाली बनाउने जिम्मेवारी नरेन्द्रकाे काँधमा थियाे। उनले आफ्नाे प्रेमकाे संसारसँगै धनकुटाका पाखाहरू पनि हरियाली बनाए। त्यतिबेला उनीहरूबाट पहिलाे सन्तानसमेत जन्मिएकाे थियाे। नरेन्द्रकाे कामबाट रानी ऐश्वर्य राज्यलक्ष्मी शाह प्रभावित भइन्। उनले धनकुटा जस्ताे ठाउँमा पनि उत्कृष्ट काम गरेकाे भनेर नरेन्द्रलाई इमान स्वरूप थाइल्यण्डकाे बैंककमा पढ्ने अवसर दिइन्। उनकाे परिवार वि.सं. २०३४ सालमा बैंकक गयाे।

०००

स–परिवार थाइल्याण्डका सहरमा घुम्न निस्किएका बेला कमलाकाे नजर एउटा ठुलाे भवनमा पर्‍याे। धरान–धनकुटाका गाउँ हुँदै त्यहाँ पुगेकी उनी ठुलाे भवन देखेर राेमाञ्जित भइन्। उनकाे परिवार त्याे भवनमा पस्याे। उनी बाहिरबाट त्याे भवन देख्दा जति राेमाञ्जित भएकी थिइन् भित्र पुग्दा त्याे भन्दा ज्यादा उत्साहित भइन्, किनभने त्यहाँ कमलाले पहिलाे पटक ‘ब्युटी पार्लर’ देखिन्। श्रृंगार र सुन्दरतामा बडाे चासाे राख्ने उनलाई ढुङ्गा खाेज्दा देउता भेटिएकाे जस्ताे भयाे, उनकाे खुसीकाे सीमा रहेन। त्यसपछि कमलाले वि.सं. २०३४ सालमा त्यही भवनमा रहेकाे ब्युटी पार्लरबाट ब्युटीसियनकाे तालिम सुरू गरिन्।

‘भूकम्प गएपछि सबैको भागाभाग भयाे। मैले कपाल काट्दै गरेकाे मान्छेलाई कपालमै समातेर बाहिर ल्याएर कपाल काटिदिएँ। मैले उसलाई फुत्किन दिइनँ किनभने फुत्किन दिएँ भने मेराे करियर नै सकिन्छ भन्ने मलाई लागेकाे थियाे।’

‘मैले तालिम गरेको पार्लरमा म मात्र नेपाली थिएँ। सबै जना थाइ भाषा बाेल्थे, मैले उनीहरूकाे कुरा बुझ्दिन्थेँ। त्यसैले काम सिक्न धेरै गाह्राे भयाे तर इच्छा र चाहनाकाे अघि जस्ताेसुकै संघर्ष पनि गर्न सकिने रहिछ। मैले दुई वर्ष मिहेनत गरेर ब्यूटिसियनकाे काम सिकेँ,’ बिएल नेपाली सेवासँग कुराकानीमा कमलाले पहिलाे नेपाली ब्यूटिसियन हुनुअघि गर्नु परेकाे संघर्षकाे अनुभव सुनाइन्।

कमलाले त्यतिबेलै सहजताकाे लागि ‘ड्राभिङ सेन्टर’पुगेर स्कुटर चलाउन पनि सिकिन्।

०००

करिब दुई वर्षकाे थाइल्याण्ड बसाइपछि कमला नेपाल फर्किन्। उनलाई नेपालमा फर्किएर ब्युटी पार्लर खाेल्नु थियाे, जतिबेला नेपालमा कुनै पनि ब्युटी पार्लर थिएनन्। थिए त केवल केटा मान्छेकाे कपाल काट्नकाे लागि सैलुन। त्यतिबेलासम्म महिलाले घरबाहिर गएर श्रंगार गर्ने प्रचलन थिएन, घरमा जे–जे हुन्थ्याे, त्यही ‘बेस्ट’ हुन्थ्याे। दरबारमा भने सुसारेहरूले दरबारिया महिलाहरूलाई सजाउथे। नेपालमा ब्युटी पार्लर भन्ने कुरा धेरै नाैलाे कुरा थियाे। अब कसरी चलाउने ? डर, त्रास र जाेखिम उत्तिकै थियाे। तर, कमलाले ५ सय रूपैयाँमा एउटा काेठा भाडामा ल्याएर वि.सं. २०३६ सालमा सैलुन खाेलिन्।

‘सैलुन त खाेलेँ, अब कसरी चलाउने ? भन्ने कुराले धेरै चिन्ता बढ्याे। त्यो समयमा अहिले जसरी मिडिया थिएनन्, निकै कठिन लागेको थियो। मैले मेरो सैलुन छ भनेर सुनाउन मुखले भन्नुबाहेक अरु माध्यम थिएन। ४ जना विद्यार्थीबाट सुरु गरेकी थिएँ। मेरो व्यावसाय न परिवारले स्विकारे, न छिमेकीले नै, सारै गाह्राे भयाे,’ उनले सुनाइन्।

उनले सैलुन खाेल्न साथ घरकाले बन्द गर्न दबाब दिन थाले। कुल घरानकी बुहारी भएर यस्ताे पेसा गरे बसेकाे भन्दै परिवारले गाली गरिरहन्थ्याे। तर, पनि उनकाे पछि हट्ने मानसिकता थिएन, जसरी पनि सफल भएरै छाड्छु भन्ने उनीमा विशाल अठाेट थियाे। तथापि, नयाँ कुरा भएकाेले उनकाे सैलुन चलेन। अन्तत: उनले सैलुनकाे काम छाडेर कराँतेतिर लागिन्। उनकाे बाल्यकालदेखि नै कराँतेप्रति रुचि थियाे। त्यसैले सैलुनकाे ढाेका बन्द गरेर कराँते सिक्न गइन्। कराँतेमा पनि उनले धेरै उपलब्धी गरिन्, उनी कराँतेमा ब्ल्यक बेल्टसम्म पुगेकी थिइन्। त्यति मात्रै हाेइन, उनी नेपालकी पहिलाे कराँते खेल्ने महिला बनिन्। उनलाई नेपाल कराँते महासंघले ‘सोधन ब्ल्याक बेल्ट’ र्यु कराँते संघ डिप्लोमा गरेकाे भन्दै प्रथम महिलाका रूपमा सम्मान गरेकाे छ।

०००

कराँतेमा जति नै प्रगति गरे पनि उनकाे ध्यान ब्युटी पार्लरमै थियाे। उनी कराँतेमा पनि टिक्न सकिनन्, फेरि ललितपुरको, हनुमानथानमा ‘स्याम ब्युटी सलुन एण्ड बारबर सप’ खोलिन्। र, कमला नेपालकाे पहिलाे ब्यूटिसियन बनिन्।

‘एक दिन मैले एउटा ग्राहकको कपाल काट्दै थिएँ, त्यही काट्ने क्रममा भूकम्प गयाे। सबै जनाको भागाभाग भयाे। म पनि ग्राहकलाई लिएर बाहिर आएँ। उसकाे कपालमा समातेर नै म बाहिर आएँ। मैले त्यो कपाललाई मेरो हातबाट फुत्किन दिइनँ। मैले छोडेँ भने मेरो करियर नै अधुरो हुन्छ भनेर सातेर बसेँ। अनि, बाहिरै बसेर काटेर छोडेकी थिएँ,’ कमलाले आफ्नाे अनुभव सुनाउँदै भनिन्।

त्यसपछि भने उनले ब्यूटिसियनकाे कामलाई नै निरन्तन्ता दिइन्। उनकाे काम पनि बिस्तारै राम्राे हुँदै गयाे। नेपालका अधिकांश कलाकारहरूकाे अनुहारमा साैन्दर्यता थप्ने काम गरिन् उनले। वि.सं. २०५१ सालमा सुरू भएकाे मिस नेपालका प्रतियाेगीहरूलाई उनले नै श्रृंगारेकी हुन्। नेपालकाे पहिलाे मिस नेपाल रुबी राणा, अभिनेत्री करिश्मा मानन्धर, गाैरी मल्ल, जल शाहलगायत कलाकारलाई सुन्दरी बनाउने उनै कमला हुन्।

उनले पहिलाे महिला कराँते बनेर सम्मानित हुनुका साथै नेपालकाे पहिलो सौन्दर्यकर्मीकाे रुपमा अवार्ड प्राप्त गरेकी छन्। भने,‘यमाहा नेपाल’ले पहिलाे नेपाली महिला स्कुटर चालककाे रूपमा पनि अवार्ड प्रदान गरेकाे छ।

उनी त्यतिमा मात्रै सन्तुष्ट भइनन्, अरूलाई पनि आफूजस्तै ब्यूटिसियन बनाउने रहर उनीमा पलायाे, त्यसपछि उनी ‘ब्युटीसियन टिचर’को तालिम सिक्न फेरि थाइल्याण्ड गइन्। त्यहाँबाट फर्किएपछि वि.स. २०४९ मा कुपन्डोलमा ‘स्याम इन्टिच्युट अफ हेयर डिजाइन एण्ड ब्युटी कियर’काे स्थापना गरिन्। त्यसपछि उनी प्रध्यापक पनि बनिन्। त्यति मात्रै हाेइन उनले पुरुषहरुलाई पनि सैलुनमा आबद्ध हुन हौसला र प्रेरणा दिइन्। यसरी आफ्नो सीप सबैलाई बाढ्ने अभियानमा उनी लागिन्। उनले ब्यूटिसियनकाे तालिम दिन सुरू गरेकाे तीन दशक पुगेकाे छ। याे अवधिमा उनले हजाराैँ मानिसहरूलाई कुशल ब्युटिसियन बनाएकी छिन्। 

०००

कमलाले जीवनमा जुन कुरामा हात हालिन् त्यसमा सफल भएरै छाडिन्। उनले पार्लर व्यवसायमा भएकाे समस्या समाधानकाे लागि विभिन्न आन्दाेलनहरूकाे सुरूवात गरिन्। उनले सरकारले ब्युटी पार्लरमा लगाएकाे भ्याटविरूद्धकाे आन्दाेलनकाे सुरूवात गरिन्। र, भ्याटकाे व्यवस्थाकाे हटाएरै छाडिन्। त्यस्तै विद्यालयमा साैन्दर्य सम्बन्धी शिक्षा पनि दिनुपर्छ भनेर उनले सुरू गरेकाे आन्दाेलन सफल भएकाे छ। अहिले एक दर्जन विद्यालयमा उनी आफैं साैन्दर्य सम्बन्धी शिक्षा दिने काम गर्दछिन्।

‘आज मैले यसरी स्कुलहरुमा सौन्दर्य शिक्षा राखेँ, त्यो देखेर सबै शिक्षकहरु खुसी छन्। कतिले हाम्रोमा पनि राख्न पर्‍याे भनेर माग राख्नुभएकाे छ। अझ सुदूरपश्चिमजस्तो ठाँउबाट पनि यो शिक्षाको माग गरेका छन्,’ उनले भनिन्।

त्यसैगरी कमलाले ब्यूटिसियनहरूकाे एकताकाे लागि पनि धेरै काम गरेकी छन्। उनकै नेतृत्वमा वि.स. २०६४ साल जेठ १२ गते साैन्दर्य व्यवसाय संघकाे स्थापना भयाे, जसकाे अध्यक्ष उनी नै बनिन्। वि.स.२०६८ मा उद्याेग वाणिज्य महासंघकाे केन्द्रीय सदस्य बनेकी उनी वर्षमा तीन पटक हुने वाणिज्य महासंघकाे निर्वाचनमा तीनै पटक निर्वाचित भएकाे ‘ह्याट्रिक’ गर्न सफल भइन्। त्यस्तै वि.स. २०७२ र २०७७ सालमा गरी दुई महिला उद्यमशीलता विकास समिति अध्यक्ष समेत बनेकी छिन्, कमला।

कमलाकाे नाम तीन वटा क्षेत्रमा पहिलाे महिला नेपालीकाे रूपमा दर्ज भएकाे छ। उनी पहिलाे महिला कराँते बनेर सम्मानित हुनुका साथै नेपालकाे पहिलो सौन्दर्यकर्मीकाे रुपमा अवार्ड प्राप्त गरेकी छन्। भने,‘यमाहा नेपाल’ले पहिलाे नेपाली महिला स्कुटर चालककाे रूपमा पनि अवार्ड प्रदान गरेकाे छ। त्यस्तै उनी नेपाल सरकारद्वारा ‘प्रबल जनपद चौंथो’बाट सम्मानित भएकी छन्।

कमलाकाे परिचय ब्यूटिसियन र कराँते खेलाडीमा मात्रै सिमित छैन, उनी टेलिभिजनकी एक सेलिब्रेटीसमेत हुन्। उनले वि.स.२०४२ मा नेपाल टेलिभिजनमा ‘घर परिवार’ कार्यक्रम सञ्चालन गरेकी थिइन्। त्यस्तै, च्यानल नेपाल टेलिभिजनमा ‘श्रृङ्गार’, नेपाल वान टेलिभिजनमा ‘न्यु लुक्स’, इमेज च्यानलमा ‘द मुड’ र तराई टेलिभिजनमा ‘फ्राइडे न्यु यु’लगाायता कार्यक्रमहरु सञ्चालन गरेकी छिन्।

०००

यसरी नेपाली महिलाहरू चुलाे-चाैकाेमा समिति हुनुपर्ने त्याे बेलाकाे बाध्यात्मक परिस्थितबाट निक्कै संघर्ष र मिहेनत गरी विभिन्न क्षेत्रमा सफल भएकी कमला श्रेष्ठ सम्पूर्ण नेपाली नारीहरकाे प्रेरणाकाे पात्र बनेकी छन्। खाने मुखलाई जुँघाले छिक्दैन भनेझै कमला पनि समाजका धेरै बन्धनहरू ताेडेर सफलताकाे शिखर चुम्न सफल बनेकी छिन्। १४ वर्षकाे उमेरमै विवाह बन्धनमा बाँधिर पनि संघर्षका अनेकाैँ यात्राहरू गरेर सफलताकाे शिखरमा पुगेकी उनले नेपाली समुदायमा थप नयाँ काम गरेर याेगदान दिन सकुन्, शुभकामना।

प्रकाशित मिति: : 2022-08-13 22:10:00

प्रतिकृया दिनुहोस्