अन्तर्वार्ता

आवश्यकता अनुसार कर्मचारी हुन्थे भने लाइसेन्स लिन अनावश्यक दु:ख पाउनुपर्ने थिएन: राजकुमार कपाली

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

एकान्तकुनास्थित यातायात व्यवस्था कायार्लय, जहाँबाट अघिल्लाे हप्ता उपप्रधान तथा यातयात मन्त्री नारायणकाजी श्रेष्ठले अनुगमनका क्रममा दुई जना बिचाैलियालाई पक्राउ गरेका थिए।

अनुमान लगाउन सकिन्छ, एकान्तकुनाकाे याे यातायात व्यवस्था कार्यालय विचौलियाहरु धेरै हुने ठाँउ हो। यहाँ सेवाग्राहीहरुलाई लाइनमै बिचौलियाहरुले बार्गिनिङ गर्न आउँछन्। यो महिनामा मात्र यस कार्यालयबाट २२ जना बिचौलियाहरु पक्राउ परे।

आखिर जनताले सहज रुपमा सेवा पाउनुपर्ने याे कार्यालयमा किन बिचाैलियाहरुकाे रजगज हुन्छ ? किन अहिलेसम्म याे कार्यालय व्यवस्थित बनाउन सकिएन ? कहिले हुन्छ यातायात कार्यालय बिचाैलियाविहीन ? यस्तै विषयमा रहेर साेही कार्यालयका प्रमुख राजकुमार कपालीसँग बिएल नेपाली सेवाकाे लागि उमेश थापाले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत:


याे यातायात कार्यालयमा लाइन बस्नुपर्ने बाध्यता कहिले हट्छ ?

हामीले बिहान ८ बजेदेखि सेवा दिँदै आइरहेका छौँ। जनतालाई सेवा दिने ठाँउमा छौँ हामी। यहाँँ कर्मचारीको कमीले गर्दा मात्र यस्तो भएको हो। यहाँ लगभग २० प्रतिशत कर्मचारी थप गरियो भने यहाँ भएको सम्पूर्ण समस्याको हल हुन्छ।

कसरी भयाे कर्मचारीकाे अभाव ?

२०७२ सालको दरबन्दी अनुसार यहाँ काम भइराखेको छ। ०७२ सालमा दैनिक जम्मा २ सय ट्रयाल हुन्थ्यो। अहिले मान्छेको लोड बढेर दैनिक ८ सय जनाको ट्रयाल हुन्छ। कार, जिप, मोटरसाइकल, हेभी गाडी, स्कुटर गरेर दैनिक ८ सय ट्रयाल हुन्छ। यो पहिलेको भन्दा स्वत: ६ सय प्रतिशत बढी काम हाे। ०७२ सालको कर्मचारीकाे दरबन्दीले हामीलाई काम गर्न निकै गाह्राे छ।

काम गर्ने सिफ्ट कसरी मिलाइराख्नु भएको छ ?

लिखित र रिन्यूको बिहान ८ बजे हुन्छ। बिहान नै हामी दुई जनाले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आइराखेका छौँ। बिहानको समयमा काम गर्दा दिउँसो भीडभाड कम हुन्छ।

२० प्रतिशत कर्मचारी थपे बेथिति हट्छ त ?

हामीले सही समयमा काम गर्दा सेवाग्राहीहरु काहीँ कतै पनि भौतारिनु पर्दैन। कर्मचारी थप गर्ने बित्तिकै यहाँ भएका बेथितिहरु हट्छ। कर्मचारी कम भएकाले गर्दा पनि अलिकति काम कम भएको जस्तो लाग्छ।

बिचौलियाहरु त सेवाग्राहीहरु लाइनमा नै बस्दा बार्गेनिङ गर्न जान्छन् नि ?

दैनिक हामीले बिचौलियाहरु समात्न सातदोबाटो महानगरीय प्रहरी वृत्तबाट प्रहरी खटाएका छौँ। लगभग दश दिन भयो माननीय मन्त्री नारायणकाजी श्रेष्ठ यहाँ आउनुभएको थियो। मन्त्री श्रेष्ठले फिल्ड भिजिट गर्नुभयो र सँग सँगै निर्दैशन पनि दिनुभयो। हामीले मन्त्री श्रेष्ठ आउनुभन्दा अगाडि देखि नै बिचौलियाहरु हटाउँदै आइराखेका थियाैँ। अहिले पनि २२ जना बिचौलियाहरु थुनामा नै छन्।

२२ जना बिचौलियाहरु थुनामा भए पनि यहाँ बिचौलियाहरु जताततै देखिन्छन ?

हामीलाई सुरुमा मानिस पहिचान गर्न गाह्राे छ। सिधा देखिन्छन् तर काम भने बिचौलियाको गरिराखेका हुन्छन्। प्रहरीहरु सिभिल ड्रेसमा खटिराख्नु भएका छन्। तर, अहिले यहाँ बिचौलिया छैन भन्दा पनि केही फरक पर्दैन। प्रहरीले बिचौलिया पहिचान गरेर लगिराख्नु भएको छ।

सेवाग्राहीहरु ट्रयाल दिँदा लाइन प्रणाली मिलेन भन्छन् नि, आफ्नालाई अघि अरुलाई पछि वास्तविकता हाे ?

यो एकदम भ्रमक कुरा हो। मानिसहरुले रिसले भन्नु भएको होला। यो भन्नुभन्दा अगाडि सम्पूर्ण मानिसहरुले हाम्रो यस कार्यालयमा भएको सिसि क्यामारा हेर्दा हुन्छ। लाइनको बिचमा छिराउने कुनै हालतमा पनि सम्भव छैन। म दैनिक सिसि क्यामारा हेर्छु र ट्रयाल हुनै ठाँउमा दैनिक भिजिट पनि गर्छु।

भीडभाड कहिले कम हुन्छ यहाँ ?

अहिलेकाे भीड हुनुकाे कारण कर्मचारीकाे अभावले काम स्लाे भएर हाे। कर्मचारी थपिने बित्तिकै भीडभाड कम हुन्छ। मैले मन्त्रीसाप आउँदा याे कुरा राखिसकेकाे छु।

यहाँका कर्मचारी जतिखेर पनि सर्भर डाउन भयाे भनेर बहान मात्रै बनाउनुहुन्छ, किन हाे ?

म आएदेखि यहाँँ जम्म दुई पटक सर्भर डाउन भएको छ। तर, सर्भर डाउन हुँदा नेपालभरिका यातायात कार्यालयमा हुन्छ। यातायात मन्त्री श्रेष्ठ आउँदा पनि यहाँ सर्भर डाउन भएको थियो। डिजी टेकराज पाण्डे पनि सँगै हुनुन्थ्यो र त्यतिखेर सम्पर्क गर्दा सिभ्यसू वाटको कनेक्शनमाबाट डाउन भएको थियो। जहिले पनि सर्भर बिग्रिदाँखेरि १० देखि १५ मिनेटमा नै समस्याको समाधान गरेका छौँ।

बिचौलिया अन्त्य गर्न कस्ताे योजना बनाउनुभएकाे छ ?

अब यहाँ आउने बिचौलिया अन्त्य गर्न हामीले गेटमा सेक्युरिटी गार्ड राख्न आँटेका छौँ। फरेक्स् सेक्युरिटी गार्ड हामी कहाँ काम गर्न अर्को हप्तादेखि आउँदै हुनुहुन्छ। अब हामीले त समात्ने होइन, उहाँहरु हुनुभयो भने सहज हुन्छ।

तपाईं भक्तपुर यातायात कार्यालय, बागमती प्रदेश यातायात कार्यालय हुँदै यहाँसम्म आउँदा र यहाँ के फरक देख्नुभयो ?

भक्तपुरको यातायात कार्यालयमा शुद्ध नयाँको काम हुन्छ। त्यहाँ रिन्यूको खासै काम छैन। एकान्तकुनामा भने विगतमा ट्राफिक प्रहरीमा भएका लाइसेन्सदेखि देश/देशबाहिर अञ्चल र नेपालभरिको लाइसेन्सको काम गर्नुपर्ने हुन्छ। कर्मचारीको दरबन्दी सबै ठाउँ एकै छ। तर, यहाँ लोड भने निकै छ।

मानिसहरुको लाइसेन्स बिग्रिएको अवस्था प्राय: सबै मानिसहरु यहीँ आउँछन् किन ?

पुरानो रेकर्ड यहाँ भएको कारणले गर्दा सबै मानिसहरु यहाँ आउनुहुन्छ। अहिले सम्पूर्ण यातायात कार्यालयबाट बिग्रिएका लाइसन्सहरुकाे काम हुन्छ। पुरानो लाइसेन्स भएका मानिसहरु जसरी पनि आइपुग्नु हुन्छ।

तपाईंले भनेअनुसार २० प्रतिशत कर्मचारी थपे, गेटमा सेक्युरिटी गार्ड राखे, बैंकको नयाँ शाखाभित्र खुल्यो भने यहाँ भएको बेथितिको अन्त्य हुन्छ ?

यी सबै व्यवस्था गरियाे भने ९९ प्रतिशत बेथितिहरुकाे हल हुन्छ। सेवाग्राहीहरुको काम अलि ढिला हुँदा नै बिचौलियाहरुले मौका पाएका हुन्। सेवाग्राहीलाई हामीले सेवा प्रदान गर्दै आइराखेका छौँ। बाहिर हाम्रो बारेमा जे भने पनि हल्ला मात्रै हो, नत्र प्रमाण भए हामी कहाँ आउदा हुन्छ। बिचौलियाहरुलाई हामीले निकै निगारानी राखेका छौँ।

प्रकाशित मिति: : 2023-01-12 21:00:00

प्रतिकृया दिनुहोस्