‘मेरा विद्यार्थीले चिट नचाेरुन्’

दाङ तुलसीपुरका निम केसी जुम्ला हिमा गाउँपालिकाकाे राहदेव मावि माेफ्लामा विज्ञान शिक्षककाे रुपमा कार्यरत छन्। विगत १३ वर्षयता निरन्तर अध्यापन कार्यमा संलग्न उनले आफू अध्ययन गर्दाकाे समय र हालकाे समयमा धेरै परिवर्तन पाएका छन्।

'त्यतिबेला विद्यार्थी आफ्नाे बलबुताले पास हुने काेसिस गर्थे। चिट चाेर्ने सितिमिति आँट गर्दैनथे। जाे कमजोर छन्, उनीहरु बड्ता मेहनत नगरी पास हुन सकिँदैन भन्थे', बिएल नेपाली सेवासँगकाे फाेन सम्पर्कमा उनले भने, 'तर विस्तारै परीक्षाकाे मर्यादा खस्किँदै गयाे। परीक्षमा चिट सजिलै चाेर्ने वातावरण बन्याे।'

उनले दाङबाट एसएलसी परीक्षा पास गरेका थिए। त्यतिबेला एसएलसीलाई फलामे ढाेका भनिन्थ्यो। अहिले एसएससी 'एसईई' भएकाे छ। केही विषयकाे प्रयाेगात्मक अंक थपिने बाहेक पाठ्यक्रममा उल्लेख्य सुधार हुन सकेकाे छैन। परीक्षा प्रणाली त झन् परम्पराकै निरन्तरता हाे भन्दा फरक पर्दैन।

१३ वर्षअघि केसी माेफ्ला आउँदा परीक्षा केन्द्रमा अभिभावकदेखि विषय शिक्षकसमेत गएर चिट चाेराउन लागेकाे देखेर अचम्ममा परेका थिए। 'यहाँ त माहोल अलि फरक रहेछ सर। दुई चार वर्ष हामीले पनि त्यसरी नै वितायाैं। अप्ठ्यारो त लाग्थ्याे तर विस्तारै बानी पर्दै गयाे,' उनले भने।

यस वर्ष उनी आफ्नै विद्यालयमा रहेकाे एसईई परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्षकाे भूमिकामा छन्। उनकाे स्कुलका विद्यार्थी भने परीक्षा दिन सिंजाकाे भैरव माध्यमिक विद्यालय नराकाेटमा जान्छन्। यता आफ्नै विद्यालयकाे परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्षकाे भूमिकामा रहेका उनलाई नराकाेट जाने फुर्सद हुँदैन। त्यसैले चिट चाेराउन जाने कुरै रहेन। बरु उनले आफूले पढाएका विद्यार्थीलाई चिट चाेर्न नदिनु भनेर केन्द्राध्यक्षलाई खबर गरे।

'माेफ्लामा विज्ञान पढाउने सरले आफ्ना विद्यार्थीलाई राम्राे वातावरण दिए पनि चिट चाेर्न नदिनु भन्नुभएको रहेछ,' जुम्लाका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख मक्कर भण्डारीले भने, 'हामी नराकाेटमा परीक्षा अनुगमन गर्न जाँदा यस्ताे सुन्याैं। अनाैठाे लाग्याे। साँच्चै हाेला त? भनेर ती विद्यार्थी परीक्षा दिइरहेकाे काेठामा छिर्दा माहाेल साँच्चै शान्त थियाे। विद्यार्थी चिट नचाेरी लेखिरहेका थिए।'

उनले नराकाेट परीक्षा केन्द्रकाे अरु काेठा र त्याे काेठामा भिन्नता पाएकाे बिएल नेपाली सेवालाई जानकारी दिए। उनले याे वर्ष परीक्षालाई केही हदसम्म मर्यादित बनाउने काेसिस गरिएकाे बताए। उनले भने, 'हामीले समयमै कपि पगायाैं। समयमै परीक्षा सञ्चालन खर्च पनि दियाैं। केन्द्राध्यक्षकाे विषयमा हुने विवाद अन्त्य गरियाे। परीक्षा केन्द्रमा हुने अभिभावककाे भिड अन्त्य गरियाे। तर एउटा समस्या भने बाँकी नै रहेछ। त्याे भनेकाे आफ्ना विद्यार्थी भएकाे परीक्षा केन्द्रमा शिक्षक गएर सिकाउने काेसिस गर्ने।'

यस्ताे अवस्थामा माेफ्लाका विज्ञान शिककले विद्यार्थीलाई चिट चाेर्न नदिनु भनेर केन्द्राध्यक्षलाई भन्नू सह्रानीय कदम भएकाे उनले थपे। 'उहाँले परीक्षा आफ्नाे र विद्यार्थी दुबैकाे साँचाे मूल्यांकन हाे भन्नुभएको रहेछ। यसरी शिक्षकले विद्यार्थीकाे परीक्षासँग जाेडर आफ्नाे स्वमूल्याङ्कन गर्नु साह्रै सकारात्मक पक्ष हाे,' उनले भने।

उनले माेफ्लाका विज्ञान शिक्षककाे नामसमेत थाहा नभएकाे बताएपछि हामीले भैराव मावि नराकाेटका प्रधानाध्यापक तथा त्यहाँका केन्द्राध्यक्ष मान बहादुर राेकायालाई साेधेका थियाैं। उनले आफ्ना विद्यार्थीलाई चिट चाेर्न नदिनु भन्ने शिक्षककाे नाम निम केसी रहेकाे बताए।

'उहाँले फाेन गरेर भन्नुभएको थियाे। हामीले त्यसै गर्‍यौं। हामीले परीक्षाकाे मर्यादा कायम गर्ने हाे। त्याे त गरिरहेकै हुन्छौं,' उनले भने, 'धेरैजसो विद्यालयबाट आफ्ना विद्यार्थीलाई सजिलो गराइदिनु भन्ने आउँछ। तर निम सरले वातावरण राम्राे बनाउनु, चिट चाेर्न नदिनु भन्नुभयो।'

उनैकाे माध्यमबाट हामी विज्ञान शिक्षक केसीकाे सम्पर्कमा पुगेका थियाैं। उनले परीक्षा केन्द्रमा चिट चाेराउन जाने हाे भने शिक्षकले वर्षभरी विद्यालयमा पढाउनुकाे अर्थ  नरहने बताए। 'चिट चाेराउन जाने हाे भने वर्षभरि पढाउन किन जानू सर? सिधै परीक्षाकाे दिन गएर बाेर्डमा लेखिदिने र विद्यार्थी सार्ने गरे पास भइहाल्छन् नि,' उनले भने, 'विद्यार्थीले वर्षभरि पढेकाे र शिक्षकले वर्षभरि पढाएकाे के अर्थ भयाे र?'

प्रकाशित मिति: : 2023-04-09 22:00:00

प्रतिकृया दिनुहोस्