स्थलगत वल्कबाः

मैनावती खोला किनारको करूणा (भिडियाेसहित)

सिरहाको गोलबजार नगरपालिका–११ वल्कबा गाउँ प्रवेश गर्न मैनावती खोला तर्नुपर्ने हुन्छ। 

मैनावती खोला तर्दै गर्दा बाटो हिँड्ने जो कोहीको ध्यान खिच्ने मैनावती खोला किनारमा लस्करै फुसले छाएका घरहरू देख्न सकिन्छ। सदाय समुदायका १८ घरपरिवार यही वस्तीमा ओत लाग्छन्।

वस्तीका प्रायः सबै भोक, अभाव र रोगसँग लड्न विवश छन्। वृद्धवृद्धाले उपचार पाएका छैनन्। युवाहरू भरपर्दो रोजगारको अभावमा विदेशिन बाध्य छन्। 

वस्तीका अधिकांश लालावालाले स्कुलको अनुहार अहिलेसम्म देख्न पाएका छैनन्।  बिहान–बेलुका हातमुख जोड्न सबै जना बनिबुतो गर्छन्। सिकिस्त बिरामीले मृत्यु कुर्नुको विकल्प छैन।

६५ वर्षीय बेचनी सदाले वस्तीको कथाव्यथा सुनाइरहँदा स्थानीय सरकारका प्रतिनिधि वडाध्यक्ष राजकुमार यादव छेवैको चिया पसलमा चियामा गफिरहेका थिए। बेचनीले कार्तिकमै पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पाउन सकेकी रहेनछिन्। 

भनिन्, ‘बैंकबाट आउँछ भनेका छन्। कहिले पाउने हो थाहा छैन।’ बेचनीका श्रीमान बिरामी परेको धेरै भयो। उपचार कठिन छ।

वस्तीमा खानेपानीको समेत व्यवस्था छैन। ‘अलि टाढा एउटा पुरानो कल छ, त्यहीँबाट पानी खान्छौँ,’ बेचनीले सुनाइन्।

कठ्याग्रिँदो जाडोमा तातो लुगा धेरै टाढाको कुरा भयो। धुनिको समेत व्यवस्था गरेको रहेनछ वडा कार्यालयले।

कोरोनाकालमा वितरण गरेको राहतमा समेत वडाले यो वस्तीमा पक्षपात गरेको गुनासो पनि सुनियो। सरकारले दलित निमुखालाई घर बनाइदिने व्यवस्था गरेको खबर सुनेकी छन्, बेचनीले।

‘वडाध्यक्षलाई घर बनाइदिनु पर्यो भनेर माग राखेको धेरै भयो तर हाम्रो माग सुनुवाई भएको छैन,’ बेचनीले भनिन्।

१८ घरधुरी भएको सदाय परिवारले मैनावती किनारमा बसोबासका लागि स्थान रोजेको यो हिउँदमा एक वर्ष पुरा हुनेछ। वल्कबाको सरकारी विद्यालयको ऐलानी जग्गामा ठाउँको अभाव भएपछि उनीहरू यहाँ बस्न थालेका हुन्। यो जग्गा पनि ऐलानी भएको बेचनीको भनाई छ।

वडाध्यक्ष राजकुमार यादवले वल्कबामा दलित समुदायको २ सय ५० घरधुरी रहेको जानकारी दिए। उनले भने, ‘दलितहरूको लागि सकेको गरिरहेको छु। तर नगरपालिकाले एक आर्थिक बर्षमा ६०–७० लाखभन्दा बढि बजेट नै दिदैन। यति बजेटले के नै पो गर्ने? 

खोलाको चिसो सिरेटोसँग भिषण संघर्ष गरेर रात बिताइरहेका यस वस्तीका लालावालातिर स्थानीय सरकारको ध्यानाकर्षण हुन जरूरी छ। 

यस वस्तीको भोक, अभाव र रोगको उचित सम्बोधन केन्द्रले गर्नु जरुरी छ। अर्को हिउँदमा आउँदा यस वस्तीका बेचनी सदाहरूको मुस्कानको फेहरिस्त लेख्न पाइयोस्।

प्रकाशित मिति: : 2020-12-26 17:54:00

प्रतिकृया दिनुहोस्