दिनभरि टेम्पोकाे स्टेरिङ घुमाउनमा व्यस्त हुन्छिन्, सुनसाङ तामाङ। कपन रुटमा काम गर्ने उनी ‘३८०६’ नम्बरकाे टेम्पाे चलाउँछिन्। कपनदेखि शंखमूलसम्मकाे टेम्पाे गुडाउने उनी यात्रुहरुलाई गन्तव्यस्थलसम्म पुर्याउँछिन्।
बिहानको ५ बजेदेखि साँझ ६ बजेसम्म काममा रमाउने उनकाे साथी बनेका छन्, टेम्पाेमा चढेका यात्री। दिनभरि टेम्पाे हाँक्नमा व्यस्त रहने उनी तीनै अस्थायी साथीहरुसँग कहिले हाँसो-मजाक गर्छिन् त कहिले आफूले भोगेका दुख सुनाउँछिन्।
विगतमा धेरै दुख गरेकी उनी अहिले टेम्पोकाे स्टरिङ घुमाएरै दिनको पाँच हजार कमाउँछिन्। जुन पैसा उनले घरमा खर्चिनका साथै दुई छोराहरुकाे भविष्यका लागि बचाएर राखेकी छिन्।
आफूले पढ्न नपाएपनि उनी छोराहरुलाई धेरै पढाउन चाहन्छिन्। त्यसैले त उनी श्रीमान विदेशमा भएपनि घर खर्च जुटाउन आफैँ दुख गरिरहेकी छन्। माइतीघरकाे आर्थिक स्थिति कमजाेर भएकाे कारण आफूले पढाइ बीचैमा छाड्नु परेकाे दुख सुनाउँदै उनी भन्छिन्, ‘मैले पढ्न नपाएपनि मेरा छोराहरुलाई धेरै पढाउनेछु।’
छोराहरुको निम्ति काममा खटिरहेकी उनले कान्छा छोरालाई पढाउनका लागि ‘इण्डिया’ पठाएकी छिन् भने जेठा छोरालाई कपनमै राखेर कलेज पढाइरहेकी छन्। आफूले दुख सहे पनि छोराहरुलाई सुखमा राख्न चाहेकी सुनसाङ भन्छिन्, ‘मैले जस्तो दुख छोराहरुले कहिल्यै नपाओस्।’
के महिला ट्राफिक प्रहरीकाे जिस्किने साधन हुन्?
दोलखाकी सुनसाङले दुख गरेर कक्षा ८ सम्मको पढाइ पूरा गरिन्। उनलाई पढ्ने मन नभएको होइन तर पारिवारिक पस्थितिले उनलाई पढ्नै दिएन। घरको आम्दानीको स्रोत थियाे, कृषि। तर बाआमाले गरेको खेतीपातीको कामले घरमा न खान पुग्थ्यो, न त पढ्न नै पुगेकाे थियाे।
आफ्ना दौतरीले सानैबेला भविष्यमा ‘यो बन्छु’ भनेर सोचिरहँदा उनका लागि भने पढ्न पाउनु नै ठूलो कुरो थियो। घरमा दुख भएपनि आफूले पढ्न पाएको कुरामा नै खुसी थिइन्, सुनसाङ।
‘म सानी छँदा ठूली भएर याे बन्छु, त्याे गर्छु भनेर कहिल्यै पनि साेचिनँ। सोचौँ पनि कसरी, त्याेबेला पढ्न पाउनु नै खुसीकाे कुराे थियाे। जाेसुकै मान्छेले पढ्न पाउँदैन थियाे तर भाग्यबस मैले पढ्न पाएकी थिएँ’, उनले बिएल नेपाली सेवासँग सुनाइन्।
उमेरले सानै भएपनि सुनसाङ घरको एकसरो काम जानिसकेकी थिइन्। स्कुल गएपनि उनी घरको काममा दिदीलाई सघाउने गर्थिन्। कामकाजी, इमान्दार र मिजासिलाे स्वभावकी थिइन्, उनी। त्यही स्वभावका कारण उनलाई आफ्नै फूपुका छोरा प्रमाेद लामाले मन पराउन थाले।
इमान्दार र कामकाजी नै थिए, प्रमाेद। जसकारण उनी पनि प्रमाेदप्रति मोहित हुन थालिन्। र १६ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिइन्।
‘त्योबेला प्रेम भनेको के हो, थाहा थिएन तर विवाह भयो’, विगतका कुरा सम्झिएर हाँस्दै उनी भन्छिन्, ‘म कक्षा ८ मा पढिरहेकी थिएँ, मेरो श्रीमान १० मा पढ्नहुन्थ्यो।’
विवाह भएपछि उनले घरको काम सम्हाल्न थालिन् र श्रीमान कामकाे शिलशिलामा काठमाडौं हानिए। काठमाडाैं आएका श्रीमानले ‘ट्याक्सी’ चलाउने काम सुरु गरे।
श्रीमानले कमाएर पठाइदिएकाे पैसाले नै उनी घर चलाउँथिन्। तर विस्तारै उनमा आत्मग्लानी हुन थाल्यो। ‘मेरो श्रीमानले हाम्रो लागि काम गरिरहेका छन् भने मैले किन नगर्ने? जस्तो कुरा मनमा खेल्न थाल्यो’, उनी भन्छिन्, ‘त्यसपछि मैले श्रीमानलाई काममा साथ दिने सोच बनाएँ र काठमाडौं जाने निर्णय गरेँ।’
काठमाडौं गएर काम गर्ने दृढता लिएकी उनी २०५८ सालमा दुई छोरा च्यापेर राजधानी आइन्। र श्रीमानसँगै जोरपाटीमा बस्न थालिन्।
दोलखाबाट काठमाडौं आएकी उनले जोरपाटीकै एक स्कुलमा काम पाइन्। जहाँ उनको काम थियो, ‘साना नानीबाबुको हेरचाह गर्नु’। जुन काम गरेबापत उनले मासिक १५०० कमाउँथिन्। ‘मैले त्यो स्कुलमा काम गरेको कारण मेरो छोरालाई पनि पढाइदिएको थियो’, उनी सम्झिन्छिन्।
कामकाजी तामाङ दम्पत्ति नै छोराहरुको भविष्यका लागि दिनरात खटिरहेका थिए। तर हुर्किँदै गरेका छोराहरु र काठमाडौंको बढ्दो महँगीको कारण श्रीमान साउदी हानिए। श्रीमान बाहिर गएपछि एक्ली भएकी उनी काम र छोराहरुको हेरचाहमा जुट्न थालिन्।
श्रीमानले विदेशमा चुहाएकाे पसिना र स्वदेशमा आफूले मेहनत गरेर कमाएकाे १५ लाख पैसाले उनले टेम्पो किनिन्। ‘गाडी किन्ने हामीसँग धेरै पैसा थिएन, त्यसैले टेम्पाे किन्याैँ’, उनले भनिन्, ‘१५ लाखमा किनेकाे टेम्पाेमा बैंकबाट पनि ऋण निकाल्याैँ।’
टेम्पो किनेर आम्दानीको स्रोत बनाउने उनको सपना थियो। तर दुर्भाग्यबस उनको सपना सबै टुट्याे। ‘टेम्पो किनेर नोक्सान भयो, सबै पैसा टेम्पोको ब्याट्रीमा नै सकियो’, उनले भनिन्, ‘घाटा खाएरै टेम्पाे बेच्नुपर्याे।’
पहिलाे टेम्पाेबाट नाेक्सान सहेकी उनले दाेस्राे पटक १४ लाखमा अर्काे टेम्पाे किनिन्। जसका लागि उनले नयाँ ड्राइभर राखिन्। उनलाई टेम्पो चलाउन सिक्ने ठूलो रहर थियो। ७ वर्षअघि उनले सडकमा देखेकी थिइन्, महिलाले टेम्पो हाँकेको। त्यसैले उनमा आत्मविश्वास बढ्यो, टेम्पो चलाएरै छोड्ने।
टेम्पो गुडाउने सोचेकी उनी दिनभरि टेम्पोमा घुम्थिन्। ‘मलाई टेम्पो चलाउनु थियो, त्यसैले सिक्नका लागि दिनभरि घुमिरहन्थेँ’, उनले बताइन्।
कामप्रति उनको लगाव र मेहनतका कारण साता दिनमै टेम्पाको स्टेरिङ घुमाउन सिकिन्। त्यही पनि बिनागुरु। ‘अरु ड्राइभरले पैसा तिरेर सिक्छन् तर मैले टेम्पो गुडाउन आफैँ जानेँ’, उनले भनिन्।
६ वर्षदेखि निरन्तर टेम्पाे चलाएर आत्मनिर्भर बनेकी आफूलाई मान्छेले ‘ओई! ड्राइभर’ भनेर हेप्ने गरेको उनी बताउँछिन्। ‘मलाई ड्राइभर हुनुमा कुनै लाज छैन। बरु मलाई गर्व लाग्छ, म एउटी महिला चालिका हुँ। मान्छेले हामीलाई ड्राइभर भनेर हेप्छन् तर म त्यो हेपाइमा बसेकी छुइनँ’, उनी भन्छिन्, ‘मैले जिन्दगीमा धेरै संघर्ष गरेँ, धेरै ठाउँमा हन्डर खाएँ तर मैले कहिल्यै पनि हरेस खाइनँ। निरन्तर संघर्ष गरेँ र अहिले पनि संघर्ष गर्दै अगाडि बढिरहेकी छु।’
मेहनतका साथ काम गरिरहेका चालकलाई ट्राफिक प्रहरीले दुख दिने गरेकाे उनी बताउँछिन्। ट्राफिकले आफ्नाे ‘मुड’ अनुसार चालकहरूसँग व्यवहार गर्ने उनकाे बुझाई छ। ‘यदि ट्राफिकको मुड राम्रो छ भने उनीहरु चालककाे गल्ती हुँदा पनि चिट काट्दैनन् तर उनीहरुकाे मुड बिग्रिएको छ भने हाम्रो गल्ती नहुँदा नहुँदै पनि चिट काट्दिन्छन्, हामीले त्यसको आवाज उठायौँ भने उल्टै हामीलाई नै थर्काउँछन्’, चालकहरूले सहनु परेकाे दुख पाेख्दै उनी सुनाउँछिन्, ‘हामी ट्राफिककाे इशारामा चलिरहनु परेकाे छ।’
ट्राफिक प्रहरीको ज्यादती पुरुषहरुले भन्दा दुखसँग लडाइँ गरेर उठेका महिला चालकले बढी सहनु परेकाे उनले बताइन्।
‘सबै ट्राफिकहरु त्यस्ता छैनन् तर कोही ट्राफिकहरु यस्ता पनि छन् कि महिला चालकसँग नम्बर माग्छन् र बेलुका फोन गरेर जिस्काउँछन्’, उनी प्रश्न गर्दै भन्छिन्, ‘के महिला चालक ट्राफिकको जिस्किने साधन हो र?’
अहिलेसम्म ट्राफिकको चङ्गुलमा आफू नपरेपनि साथीहरुले ट्राफिकले गरेको व्यवहार बताउने गरेको उनले सुनाइन्। ‘हामी महिला चालक धेरै दुख गरेर यहाँसम्म आइपुगेका हौँ, त्यसैले हामीलाई नराम्रो दृष्टिले हेर्ने कसैको अधिकार छैन’, उनी भन्छिन्, ‘यदि हामीलाई कसैले नराम्रो गर्छ भने हामी महिला चुप लागेर पनि बस्ने छैनौँ।’
राजधानीमा घर बनाउने सपना
टेम्पाे चलाएर जीविकाेपार्जन गरिरहेकी सुनसाङकाे अबकाे लक्ष्य भनेकाे ठूलाे गाडी हाँक्नु हाे। महिला काम गर्ने मामलामा पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण बन्न चाहेकी उनी भन्छिन्, ‘अब मलाई ठूलो गाडी हाँक्ने मन छ।’
ठूलाे गाडी गुडाउने साेच बाेकेकी सुनसाङकाे राजधानीमा घर बनाउने सपना छ। जसका लागि उनी र प्रमाेद दिनरात काममा खटिरहेका छन्। दाेलखाबाट साना छाेरा च्यापेर काठमाडाैं आउँदा आफूसँग केही नभएपनि यहाँसम्म आइपुगेकाे उनी बताउँछिन्।
‘गाउँबाट खाली हात आउँदा त यहाँसम्म आइपुग्यौँ भने अहिले काम जानिसकेका छौँ, कसो काठमाडौंमा एउटा घर बनाउन नसकिएला र!’, उनले भनिन्।
धेरै दुख र संघर्ष गरेर आत्मनिर्भर बनेकी सुनसाङ घरगृहर्णीलाई भन्न चाहन्छिन्, ‘तपाईंहरुले गर्नुभएको काम धेरै प्रंशसायोग्य छ। तपाईंहरुकै कारण तपाईंका श्रीमान र छोराछोरी काम गर्न सक्षम छन्। तर तपाईंहरु कुनै हिंसामा पर्नुभएको छ भने आवाज उठाउनुहोस्। तपाईंहरुलाई हामी साथ दिनेछौँ।’