कैलाली,धनगढीकी रोशनी कुमारी चौधरीलाई परिस्थितिले टेम्पु ड्राइभर बनायो। १४ वर्षको कलिलो उमेरमा बिहे गरेकी उनले जीवनमा धेरै उतारचढाव भोगिन्।
श्रीमान नै बिरामी भएपछि घर परिवार पाल्न रोशनीले गरेका संघर्ष कहालीलाग्दो छ।
रोजगारीका लागि विभिन्न ठाउँमा भौतारिएर काठमाडौं आएकी उनी विगत एक वर्षदेखि टेम्पु चलाउन थालेकी छन्। सानैदेखि मिहेनती संघर्षमा रमाउने उनी बिस्तारै परिस्थितिलाई बुझ्न थालेकी छन्।
२०५० सालमा पिता कोठारी चौधरी र माता अस्थुरा चौधरीको तेस्रो सन्तानका रूपमा जन्मिएकी उनका २ जना दाजु भाइ र दुई बहिनी छन्।
किसान परिवारका चौधरीले ९ जनाको परिवार राम्ररी पालेका थिए। उनीहरुलाई खान लाउन र पढ्नमा कुनै दुःख थिएन।
सानैदेखि चन्चले उनी ५ कक्षामा पढ्दैखेरि प्रेममा परिन्। प्रेमी थिए कालीप्रसाद चौधरी। जो उनको आफ्नै भाउजुको भाइ हुन्। नाताले सोल्टी पर्ने। भाउजुको आफ्नै भाइ भए पनि सानै उमेर भएका कारण उनीहरूको प्रेम परिवारलाई स्वीकार्य भएन।
तर उनीहरूको प्रेम धेरै कसिइसकेको भएकाले २०६४ साल अर्थात् उनी १४ वर्षकै उमेरमा भागेर विवाह गरिन्। त्यतिबेला उनको श्रीमानको उमेर १८ वर्ष थियो। उनले एसएलसी पास गरेका थिए।
श्रीमानको घरमा भने मातासहित दुई दाजु भाइ र ६ जना दिदि बहिनि। श्रीमानको आर्थिक अवस्था पनि ठिक्कै थियो। विवाह गरेकी रोशनीलाई कुनै दुःख थिएन। खान र लगाउन पुगेकै थियो।
श्रीमान ग्रिलमा काम गर्थे। कमाएर ल्याएको पैसा रोशनीलाई नै राख्न दिन्थ्ये। उनले ग्रिलमा काम सिकिसकेपछि आफ्नै ग्रिल खोल्ने निधो गरे। श्रीमानको सो कुरामा रोशनीको पनि सहमति नै थियो। उनीहरुले आफ्नै ग्रिल पसल खोलेका थिए। जसबाट राम्रै आम्दानी हुँदै थियो। दुई छोरा प्रशान र इशानलाई राम्रोसँग शिक्षा दिक्षा दिइरहेका थिए। कुनै दुःख थिएन।
तर २०७१ साल उनको लागि अविसाप बनिदियो। उनको श्रीमान कालीप्रसाद मानसिक रोगी भए।
‘आज भन्दा १२ वर्ष अगाडि श्रीमान कामको शिलशिलामा भारत जानुभएको थियो। छोरा सानै थियो। उहाँ मुम्बईमा एक होटेलमा काम गर्नुहुन्थ्यो। भारत गएको दुई महिनामै उहाँलाई चोरीको कसुरमा प्रहरी समातेर जेल हालिदिएछ’, उनले विगत सुनाउन थालिन्, ‘गहना र रूपैँया चोर्ने त नेपाली नै थिए तर मेरो श्रीमान थिएनन्। तै पनि चोरिको आशंकामा नै उहाँ जेल पर्नुभयो। जेल परेको २ हप्तापछि सोझो र राम्रो बानि व्यवहोरा भएकाले उहाँलाई होटलले छुटायो।’
उनका श्रीमान जेलबाट छुटे पनि उनलाई जेलमा दिएको यातनाबाट उनको हालत बिग्रिएको थियो। प्रहरीले पिटाइले तत्काल केही नभए पनि ६ वर्षपछि असर देखापर्यो। भारतबाट फर्किएको ६ वर्षपछि त्यतिबेला जेलमा दिएको यातनाले उनको मानसिक स्थिति खराब भएको थियो।
श्रीमान बिरामी भएका कारण घरको सबै जिम्मेवारी उनको काँधमा आइपर्यो। परिवार चलाउन साथै छोराहरूको शिक्षादिक्षा र श्रीमानको उपचारको खर्च सबै उनको जिम्मामा आइपर्यो।
यद्यपी सानैदेखि मिहेनती रोशनीले हार मानिनन्। उनले गाउँमै बसेर ३ वर्ष अटो रिक्सा चलाइन्। त्यसबाट उनले घर खर्च त पुर्याइन् तर श्रीमानको उपचार खर्च जुटाउन सकिनन्। उपचार गर्न पाउँदा निको हुने सोचेर उनले छिमेक र बैंकबाट ऋण निकालिन्। श्रीमानको उपचार खर्चका निम्ति उनले ऋण लिँदा धेरैले श्रीमानको उपचारका लागि खर्च नलिनु भन्दै सुझाव दिएको स्मरण गरिन्।
‘मलाई कत्तिले भन्नुहुन्थ्यो श्रीमानको उपचारको लागि ऋण लिनु पर्दैन् भनेर। तर मैले मन पराएको मान्छे उहाँ नै हुनुहुन्थ्यो त्यसैले मैले अरूले भनेको मानिनँ’, उनले भनिन्।
बिस्तारै उनलाई श्रीमानले गाली गलौज गर्नुका साथै पिट्न थाले। ‘मलाई थाहा थिएन । उहाँले नै मलाई पिट्नु हुन्छ भनेर। गालीगलौज गर्नु हुन्छ भनेर मैले सपनामा पनि सोचेको पनि थिएन। मलाई त्यस्तो मायाँ गर्ने मेरो श्रीमानले मलाई नै नराम्रो गर्नुहुन्छ होला भनेर कसरी विश्वास गरौं तर आखिर भयो त्यस्तै,’ उनले सुनाइन्।
मानसिक बिरामी श्रीमानले अरूलाई केही नगरे पनि उनलाई बाँधेरसमेत कुटपिट गर्न थालेका थिए।
घरमा दिनदिनै श्रीमानले गाली गर्ने र पिट्ने गर्नथाले उता उनको उपचारका लागि लिएको ऋणले विस्तारै चेप्न थाल्यो।
गाउँलेले पनि पहिला भनेको मानिनँ, अहिले पैसा दिने छाँटकाँट छैन भन्दै दिनदिनै गालीको वर्षाका साथै कुटपिटसमेत गर्न थालेकफ उनले सुनाइन्। ‘बाटो हिडँदा कति पटक गाला पड्काए। तर मैले केहि भनिनँ, ऋण लिएकी थिएँ,’ उनले भनिन्।
परिवारका साथै ऋण दिएका मान्छेले दिएको तनावका कारण उनले १ महिनासम्म आत्महत्याको प्रयाससमेत गरिन्। ‘मर्नका लागि मैले धेरै कोशिश गरेँ। तर सकिनँ छोराहरुको अनुहार हेरेर बाँचेकी छु,’ उनी भन्छिन्, ‘मर्छु भन्दैमा कहाँ सकिने रहेछ र? मर्न पनि जिम्मेवारीले रोक्दा रहेछन्।’
आत्महत्या गर्न विफल भएकी रोशनीले दिनैको असह्य कचकचका कारण काठमाडौँ आएर काम गर्ने निर्णयमा पुगेकी थिइन्।
दुई छोरालाई माइती घरमा राखेर उनी डेढ वर्ष अगाडि राजधानी भित्रिएकी हुन्। ‘छोरालाई श्रीमानको घरमा राखौं भने कुनै विश्वास छैन्। उहाँ आफैं नै ठिक हुनुहुन्न। छोराहरुको बिजोक हुन्छ भनेर माइतीमै छोडेँ,’ उनले आफ्नो दु:ख व्यक्त गरिन्।
काठमाडौँ आएर उनले एक जना दिदीको सहारामा झाडु पोछा लगाउने काम गरिन्। जसबापत उनले मासिक १८ हजार कमाउँथिन्। तर महिनाको १८ हजारले उनी सन्तुष्ट भइनन्। त्यसपछि उनी टेम्पो चलाउन थालिन्।
टेम्पो चलाउँदा आफूलाई कुनै लाज नभएको बताउदैं उनले भनिन्, ‘आफ्नो मिहिनेतको काम गरेर खान के को लाज? नराम्रो काम गर्नु भएन, कसैलाई ढाटेर खानु भएन र चोर्नु भएन। नभए त आफ्नो मिहिनेतले कमाएर खादाँ कुनै लाज मान्नुपर्दैन।’
उनले टेम्पो चलाउन थालेको पनि १ वर्ष पुरा भयो। ‘टेम्पो चलाए पछि उनले केही रकम जोहो गर्न थालिन्। ऋणहरु क्रमशः तिर्दै गइन्। तर कोरोनाले एकाएक उनलाई स्तब्ध बनाइदियो। हालै लकडाउन खुले पनि पहिलेझैँ कमाई नहुने उनले बताइन्।
श्रीमानको उपचार खर्चका लागि लिएको ७ लाख ऋणमध्ये ४ लाख उनले तिरिसकिन्। ‘म कसैको पनि ऋण खाएर भाग्दिनँ। ढिलो भए पनि सबैको ऋण तिर्नेछु’, रोशनी भनिन्, कसैले पनि चिन्ता गर्नु पर्दैन। मैले चलाएको ऋण म चुक्ता नै गर्नेछु।’
आफूले चलाएको सारा ऋण तिरेर छोराहरूलाई राम्रो शिक्षा दिने र श्रीमानलाई राम्रो अस्पतालमा लगेर उपचार गराउने मात्र उनको जीवनको लक्ष्य छ।