शुस्मा तामाङ, उमेर २५ वर्ष । घर हेटौँडा मनहरी।
तीन बहिनीकी दिदी उनले नौ कक्षासम्म पढेकी छन्।
पढाइमा खासै रूचि नभएकी उनले थप अध्ययन गरिनन्।
उनका ५० वर्षिय बुवा भीमबहादुर फर्निचरको काम गर्छन् भने ४० वर्षिया आमा डोल्मा गृहणी हुन्। कमजोर आर्थिक अवस्थाको पारिवारिक स्थितिबिच उनले काठमाडौं गएर केही काम गरेर बुबा आमालाई आर्थिक रूपमा सघाउने निधो गरिन्।
नभन्दै उनलाई काठमाडौंमा टेम्पो चलाइरहेकी गाउँकै अम्बिका तामाङ दिदीले राजधानी बोलाइन्।
‘म पढाई छोडेर त्यतिकै बसिरहेको थिएँ, दिदीले मलाई काम गर्ने भए काठमाडौं आइज भनेर बोलाउनु भयो’, शुष्माले बिएल नेपाली सेवासँग भनिन्।
२०६९ सालमा काठमाडौं छिरेकी उनी दिदीसँगै काठमाडौंको बासबारीमा बस्न थालिन्। केही दिनपछि दिदीले उनलाई टम्पो सिक्ने ठाउँमा पुर्याइदिइन्।
दोलखाकी पवित्रा गुरूङले महिलालाई आत्मनिर्भर गराउन ड्राइभिङ सिकाउने गरेकी रहेछिन्। सहयोगी स्वभावकf पवित्राले उनलाई एक सातामै टेम्पो चलाउन सिकाइन्। तर उनको उमेर १८ वर्ष मात्र भएकाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न पाइनन्। ‘पवित्रा दिदीको सहायताले छिट्टै टेम्पो चलाउन सिकेँ। तर टेम्पो चलाउन थालेको एक वर्षपछि आफू १९ वर्ष भएपछि मात्र लाइसेन्स निकालेँ’, उनले भनिन्।
टेम्पो चलाउन थालेको एक वर्ष पछि उनको सोच बदलियो। गाँउका आफ्ना साथीहरू विदेश गएर धैरै पैसा कमाइ हुने भनेपछि उनी पनि विदेशीने विचार गरिन्।
२०७० सालमा उनी रोजगारीका लागि मलसिया उडिन्। तर, विदेश कहाँ सहज थियो र?
उनी विदेश पुगेपछि गाउँका साथीसँग छुट्टिनु पर्यो।अस्पतालमा काम पाएकी उनलाई सोचेजस्तो काम भएन। ‘सोँचे जस्तो छैन विदेश’, उनले बिएलसँग भनिन्, ‘अरूको खटानमा बस्नुपर्छ, काम साह्रै गाह्रो हुन्छ।’
मासिक २५ हजार नेपाली कमाउने उनले खाना बस्न राखेर बचेको खर्च घर पठाउँथिन्।
जसो तसो मलेसियामा चार वर्ष बिताएर फर्किइन्।
अब बिदेश जान्न बरू टेम्पf] चलाएर जिविका चलाउँछु भन्दै उनले नेपाल आएपछि पुनः टेम्पो चलाउन थालिन्। ‘अरू काम जानेको थिइनँ, केही समय सिलाई सिके पनि पुरा गरेको थिइनँ’, उनले भनिन्, ‘आफूले अरू काम नजानेकाले फेरि टेम्पो नै चलाउन थालेँ।’
हरेक दिन बिहान ६ बजेदेखि रातको ८ बजेसम्म उनी टेम्पु चलाउँछन्। कोठाबाट बिहानै निस्किने उनी खाना होटलमै खान्छिन्।
दिनमा ७ टिपसम्म चलाउने उनी दैनिक ३ हजार देखि ३५ सयसम्म कमाउने गर्छिन्।
‘टेम्पो मालिकलाई २२३० बुझाउनुपर्छ। आफूलाई थोरै बच्छ, तर पनि मलेसियामा काम गर्नुभन्दा यहाँ खुसी छु’ उनले भनिन्, ‘इमान्दार भएर टेम्पो चलाएबापत मालिकले ३६० रूपैया बोनस दिन्छन्।’
टेम्पो चलाउने क्रममा उनको प्रायजसो ट्राफिक प्रहरीसँग विवाद हुन्छ। ‘हुनत गल्ती नगरी ट्राफिक प्रहरीले त्यतिकै चिट काट्दैन। तर, कहिले चाहिँ त्यतिकै दुःख दिने गर्छन्’, सुश्माले भनिन्, ‘कहिलेकाही त १५ सय रुपैँयाको पनि चिट काट्छन्।’
एकै दिनमा दुई पटकसम्म ट्राफिक कारबाहीमा परेकी उनले अनाहकमै आफूलाई दुःख दिएको बताइन्।
‘ट्राफिकले औँला तेर्स्याएर तँ भन्दै गाली गर्छन्। मलाई त्यस्तो मन पर्दैन, अनि कहिलेकाही भनाभनसमेत हुन्छ’, उनले भनिन्।
उनले काम गरेवापत घरमा पाँचदेखि दस हजारसम्म पठाइदिने गरेकी छन्। ‘केही रकम त आफूलाई पनि त राख्नुपर्यो नि,’ उनले भनिन्।
चावहिलमा गाउँकै एक बहिनीसँग बस्दै आएकी उनी तत्काल बिहे गर्ने पक्षमा छैनन्।
‘विवाहमा मलाई कुनै चासो छैन। उमेर पनि त खासै पुगेको छैन नि’, उनले भनिन्, ‘विवाह गर्छु भन्दैमा हुँदैन्। भाग्यमा जे लेखेको छ, त्यही हुन्छ।’
२४ वर्षिया शुस्माले आफूसँग लभ गर्ने कुनै समय नभएको बताइन्। ‘स्कूल पढ्दा एक जना केटासँग अफेयर थियो, तर अहिले छैन्। मसँग समय पनि त छैन् नि लभ गर्ने,’ उनले भनिन्।
भविष्यमा विवाह गर्दा धनी वा गरिब नहेर्ने भन्दै आफ्नो हुनेवाला श्रीमान माया गर्ने खालका हुनुपर्ने बताउँछिन्।
भविष्यको बारे आफूले केही नसोचेको भन्दै उनले आफूले सोचेको केही पनि पुरा नहुने बताइन्।
‘साथीसँग कतै घुम्न जाने योजना बनाउँदा त पुरा हुँदैन। मलेसिया जान्छु र टेम्पो चालिका बन्छु भनेर पनि सोचेकै थिएन’, उनले भनिन्, ‘आफूले सोचेको कुरा कहिल्यै पनि पुरा नहुने र कल्पनानै हुने भएकाले अगाडि जे आउँछ त्यही टर्छ।’
तीन बहिनीको दिदी उनी घरमा बुबा आमालाई छोराकf] अभाव पुरा गरेर छोरा समान बनेर परिवार पाल्ने रहर छ।
पुनःप्रकाशन – सम्पादक
यो पनि हेर्नुहोस्-