पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
ईश्वरी राई (इशु)
टेम्पुवालीकाे कथा- ३

बिनु तामाङ, उमेर ३१ वर्ष । घर सिन्धुपाल्चोक मेलम्ची। पेशा टेम्पाे ड्राइभर ।
दुई दाजुकी एक्ली बहिनी र घरकी एक मात्र छोरी भएर पनि उनले उचित शिक्षा दिक्षा पाइनन्।
कमजोर आर्थिक अवस्थाले उनले पढ्न पाइनन्। दुई दाजुहरू पनि त्यति पढ्न पाएनन्। एउटा दाजुले ३ कक्षासम्म पढे भने अर्को दाजुले ५ कक्षासम्म मात्र पढे।
बुबा पोते तामाङ घरमै डोको नाम्लो बुन्ने काम गर्थे। आमा ज्यानमायाँ दृष्टिविहीन थिइन्।
‘पढ्नका लागि भनेर कक्षा १ मा भर्ना भएकी थिएँ, बिनुले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्, ‘कमजोर आर्थिक अवस्था र छोरी भएकै कारण २ महिना मात्र विद्यालय जान पाएँ।’
२०६४ सालमा बुबाको निधन भएपछि परिवारमा आर्थिक संकट झन गहिरियो। आमाकै सेवा गरेर र घरधन्दा गरेरै उनी दिन बिताउँथिन्।
गाउँका अन्य केटीभन्दा भिन्दै स्वभावकी उनी सानोमा धेरै नबोल्ने र शान्त स्वभावकी थिइन्।
मेलम्चीकै साङबो लामाले उनलाई खुबै जिस्काउँथे। परिवारमा तीन दाजुका माइला भाइ साङ्बोको कुनै काम थिएन। दिनभरी गाउ डुल्ने मात्र उनको काम थियो।
तर साङ्बोका बुबा आमाले उनलाई धेरै मायाँ गर्थे। छोरासँग बिहे गर्न सल्लाह दिन्थे।
बिनुको परिवारमा पैसाको संकट बढ्दै गयो। फलस्वरूप २०५९ सालमा उनको विवाह उनै साङबोसँग भयो।
बिहे अगाडि खुबै माया गर्ने सासु र सासुराको बानी पनि विवाह अगाडि मात्रै सिमित भयो।
२०६२ सालमा उनले श्रीमानलाई थाङ्का सिक्नका निम्ति राजधानी पठाईन्। उनी दिउँसो घरको काम सकेर बेलुका रक्सी पार्थिन्। ८ रूपैँया मानाको रक्सी बेचेर उनैले श्रीमानलाई काम सिकाउन घरबाटै रकम पठाउने गर्थिन्।
६ महिना काम सिकेर उनी गाउँ फर्किए। तर, उनी पहिले भन्दा बदलिसकेका थिए।
२०६३ सालमा विनुले छोरी सन्जुलाई जन्म दिइन्। छोरीको जन्मपछि साङबोले श्रीमतीप्रति चासो दिन छोडे। सासु ससुराले पनि उस्तै व्यवहार देखाउन थाले। त्यसको केही समयपछि साङबोले अर्की श्रीमती भित्र्याए।
श्रीमानसँगै घरका मान्छेको व्यवहार परिवर्तन भएपछि उनले घर छोडेर मेलम्चीमा एउटा होटेल खोलेर व्यवहार चलाउन थालिन्। त्यही क्रममा उनको भेट गणेश मान तामाङसँग भयो। बिस्तारै भेटघाट बाक्लियो। उनीहरू मायामा परे।
श्रीमान छोडेको एक वर्ष पछि उनले गणेशमानसँग विवाह गरिन्। गणेशमानसँगको बिहेपछि उनलाई गाउँ बस्न मन लागेन। २०६४ सालमा श्रीमान र छोरीसँग उनी काठमाडौं आइन्।
काठमाडौंमा आएपछि उनीहरू नयाँ बानेश्वरमा रहेको मामाकी छोरी ‘साइली दिदी’को घरमा बस्न थालिन्। दिदीको घरमा तीन दिन बसेपछि उनीहरूले चुच्चेपाटीमा डेरा लिएर बस्न थाले।
काठमाडौं कहाँ भनेजस्तो सजिलो थियो र । सुरूमा उनले ८ महिनाजति ज्यामी काम गरिन्। तर, गर्भवती भएकाले उनलाई काम गर्न गाह्रो भयो। काठमाडौं आएको एक वर्षपछि उनले दोस्रो सन्तानको रूपमा छोरा विकासलाई जन्म दिइन्।
तर काम नगरी कहाँ खान पाइन्थ्यो र उनले नेपाली कागज र कुखुराको फर्ममा अन्डा टिप्ने काम गर्न थालिन्। परिवार धेरै भएकाले उनी दिनमा दुई ठाउँमा काम गर्नुपर्ने बाध्यता थियो। श्रीमान भने भारी बोक्ने काम गर्थे।
तर जति काम गरे पनि उनलाई खासै सन्तुष्टि दिएन। त्यसपछि उनले टेम्पो सिक्ने निर्णय गरिन्। परिवारमा सल्लाह गरेर उनी टेम्पो सिक्न बतीसपुतलीस्थित ‘एव स्कील र जेसीआई नेपाल’ नामक संस्थामा गइन्। तर, त्यहाँ रामेछाप, सिन्धुली र ओखलढुंगाका मान्छेलाई मात्र सिकाउने गरिँदो रहेछ।
उनी सिन्धुपाल्चोककी भएकाले सिक्न नपाउने भइन्। तर उनले हार मानिनन्। आफूले पाउँदै आएको दुःखको सबिस्तार लगाएपछि त्यहाँ उनले मौका पाइन्। ‘मैले दुःख पाउँदै आइरहेकी छु। जसरी भए पनि मलाई काम सिकाईदिनुहोस्। मैले रूदै भनेकी थिएँ,’ उनले विगत सुनाइन्, ‘मेरो दुःख देखेर संस्थाका मान्छेले हुन्न पनि भन्न सकेनन्।’
उनलाई दोलखाका पवित्र गुरूङले टेम्पो चलाउन सिकाए। हरेक महिलालाई पवित्रले नै टेम्पो चलाउन सिकाउने गर्थे। ‘पवित्र दाइ एकदमै असल हुनुहुन्छ। २ महिनाको तालिम मैले १० दिनमै चलाउन सिकेकी थिएँ,’ उनले भनिन्।
तर चलाउन मात्रै आएर हुदैन रहेछ। ‘हात सफा’ अर्थात् सडकमा राम्ररी चलाउन सक्ने पनि हुनुपर्थ्यो। यसक्रममा उनले धेरै खर्चसमेत गरिन्। तर, उनलाई सोलित कुमारले हात सफा गराउन सहयोग गरिदिए। ‘सुरूमा त मान्नु भएको थिएन। तर आफ्नो दुःख बिसाएपछि उहाँले बल्ल तल्ल मान्नुभयो।’
सोमितलाई नै आफ्नो गुरू मान्ने उनले २०६६ सालबाट नियमित टेम्पो चलाउन थालिन्।
बिहानको साढे ५ बजेदेखि बेलुकाको ७ बजेसम्म ‘बा.१ ह ३६०५’ नम्बरको टेम्पो दिनमा ९ टिपसम्म चलाउँछिन् उनी।
जोरपाटीदेखि शंखमुल, कहिले चावहिलदेखि शंखमुल त कहिले आरूबारीदेखि शंखमुलको रूटमा उनी टेम्पो चलाउने गर्छिन्।
बिहानै घरबाट निस्किएकी उनले कहिले काहीँ त खाना खान समेत भ्याउँदिनन्। ‘बिहानको खाना खाँदा कहिले त ३ पनि बज्छ’, उनले भनिन्।
उनलाई ट्राफिक प्रहरीले अनाहकमा दुःख दिने गरेको बताइन्। ‘ट्राफिकले टेम्पो देख्यो कि पारा तातिन्छ भनेर हामीलाई ओइ टेम्पो भन्दै हप्काउँछन्’, उनले भनिन्, ‘तेरो बाउ र तेरो आमा भन्ने शब्दको प्रयोग गरि हामीलाई कराउने गर्छन्।’
ट्राफिकले मनलागी चिट काटेको पनि उनको भनाइ छ। ‘कहिले ५ सय लिन्छ त कहिले एक हजार’ बिनुले दुःखेसो पोखिन्।
दिनभरी खटेर कमाएको पैसा ट्राफिक प्रहरीलाई त्यतिकै दिनुपर्दा उनलाई खल्लो लाग्छ। दैनिक ४-५ हजार कमाउने उनले टेम्पो चलाए वापत मालिकलाई ३३३० बुझाउनुपर्छ।
अहिलेको पेशामा भने आफूलाई पनि चित्त बुझेको उनी सुनाउँछिन्।
‘अरू पेशा जानेको छैन। यही पेशा नै ठिकै छ,’ उनले भनिन्।
ट्राफिकले मात्र होइन, टेम्पो चलाउनेले साथीहरूले समेत रिस गर्ने गरेको उनको भनाइ छ। ‘आफूले मात्रै कमाउनुपर्छ भन्ने भावका छन् साथीहरु पनि’, उनले भनिन्, ‘ तर म जति कमाउँछु त्यतिमै खुसी हुन्छु।’
पेशाले ड्राइभर उनका श्रीमान अहिले साउदीमा छन्। दुबैले राम्रै कमाउने भएकाले उनीहरूको घर राम्ररी चलेको छ।
छोरा ४ कक्षामा पढ्छिन् भने छोरी ६ कक्षामा पढ्दैछन्।
आफूले राम्रोसँग पढ्न नपाए पनि छोरा छोरी दुबैलाई राम्रो शिक्षा दिक्षा दिएर ठूलो मान्छे बनाउने उनको रहर छ।
‘मेरी छोरीले सानोमा धेरै दुःख पाइन्। राम्रोसँग खान र लगाउन पनि पाइनन्। त्यही भएर म उनलाई पनि धरै पढाउन चाहन्छु,’ उनले भनिन्।
अब गाउँ गएर पिता साङ्बोँसँग छोरी सन्जुको लागि अंश लिने पनि उनको चाहना छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया