टेम्पोवालीकाे कथा-६

टेम्पो चालिका भन्छिन्–‘पहिले हिरोइन बन्ने सपना थियो, अब ठूला सवारी चलाउने मन छ’

वीना मोक्तान, २१, को सपना थियो– हिरोइन बन्ने। त्यसैले उनी सानैदेखि नृत्य गर्न निक्कै उत्साहित  हुन्थिन्। 

वीना नाँचेको देखेर सबैले उनको तारिफ गर्थे। यसबाट उनमा हौसला बढ्दै गयो। उनले मनमनै सोच्न थालिन्, ‘म भविष्यमा हिरोइन भएर चिनिने छु।’ 

रामेछापको खाडादेवी गाउँपालिकाबाट जब उनी काठमाडौँ खाल्डो छिरिन्, त्यसपछि उनले देखेको सपनाभन्दा यथार्थ भिन्न पाइन्। 

०७२ सालमा गाउँकै ‘श्री मानेडाँडा माध्यमिक विद्यालय’ बाट उनले ‘एसएलसी’ पास गरिन्, अनि उच्च शिक्षाका लागि राजधानी छिरेकी थिइन्। 

काठमाडौंमा उनका नजिकका नातेदार पनि खासै थिएनन्। मित्रपार्क (चावहिल) मा उनको ‘सोल्टीनी’ ( भाउजूकी बहिनी) बस्थिन्, जो पेशाले टेम्पो–चालिका थिइन्। 

सोल्टिनीसँगै बस्न थालेकी वीना लगनखेलको एउटा कलेजमा भर्ना भइन्। सो कलेजमा भर्ना हुनुको कारण थियो– सोल्टिनीको टेम्पो लगनखेलमा चल्नु।

जब कलेज छुुट्टी हुन्थ्यो, वीना पनि सोल्टिनीसँगै टेम्पोमा हिँड्न थालिन्। सोल्टिनीले टेम्पो चलाएर पैसा खेलाएको देख्दा उनलाई पनि इच्छा जाग्यो–  त्यसै गरी पैसा कमाउने। 

रामेछापबाट पढ्नलाई शहर छिरेकी वीनाको रुचि पढाइभन्दा पैसा कमाउनतिर लाग्यो। त्यसपछि उनी पनि ‘ड्राइभिङ सेन्टर’मा टेम्पो चलाउन सिक्न थालिन्। उनले भनिन्, ‘मलाई रुचि भएर पनि होला, दुुई सातामै टेम्पो चलाउन सक्ने भएँ।’

२०७३ सालबाट टेम्पो चलाउन थालेको उनले बताइन्। टेम्पो ड्राइभरको लाइसेन्स बनाउने क्रममा उमेर बढाउनुपरेको उनले सुनाइन्। 

सुरुका दिनहरूमा टेम्पो चलाउँदा परिवारले गाली गरेको वीनाको भोगाइ छ। ‘पढ्न गएकी छोरी काममा लाग्यो भन्दै बाबाआमा चिन्तित हुनुभएको थियो’, उनले सम्झिइन्।

छोरीको इच्छाका सामु बाबुआमाको सोचाइको के जोड चल्थ्यो र! छोरीको रहर नै बाबा ड्याङबहादुर र आमा लालीमायाको पनि खुशी हुन बाध्य भयो।

बाबुआमाले पनि उनलाई ड्राइभर भएकोमा गाली गर्न छाडे। उनीहरु हौसला दिँदै भन्न थाले, ‘छोरी मान्छे भएर पनि हिम्मत गरेर काम गरेकी छ। मेरी छोरी बहादुर छे !’

बाबुआमाबाट प्रशंशा पनिपछि आफूमा काम गर्ने जाँगर थपिएको वीनाले बताइन्। उनले भनिन्, ‘म उमेरभन्दा सानी देखिन्थे। त्यसैले यति सानी मान्छेले कसरी टेम्पु हाँक्छे’ भन्दै अरु अरु ड्राइभर साथीहरुले जिस्काउनुहुन्थ्यो।’ 

सानी देखिने भएकाले आफूले धेरै टिप्पणी सुन्नुपरेको उनको भोगाइ छ। उनले भनिन्, ‘अरुको कुरालाई वास्ता गरिनँ। म आफ्नो काममा लागि रहेँ। आफ्नो रुचिले लागेको काम भएकाले टेम्पो चलाउनमा सहज भयो।’ 

टेम्पो चालिका बनेर काम गदैँगर्दा उनले वाल्यकालमा सोचेको हिरोइन बन्ने रहरसँग पनि आफूलाई जोड्न सफल भइन। उनले सुनाइन्, ‘मैले चार–पाँच वटा म्युजिक भिडियोमा अभिनय पनि गर्न पाएँ।’ 

म्युजिक भिडियोमा अवसर पाएको बारेमा उनले भनिन्, ‘एक जना चिनेकै सर हुनुुन्थ्यो, उहाँले नै मलाई भिडियोमा खेल्न प्रस्ताव गर्नुभयो। मैले केही अभिनय गरेँ तर त्यसैलाई निरन्तरता दिन सकिनँ।’ 

आफ्नो कान्छो भाइ प्रवीण सानै भएकाले ‘म्युजिक भिडियो’ खेल्न नसकेको उनले बताइन्। ‘मैले भिडियोमा खेलेको भए बाहिर पनि जानुपर्ने हुन्थ्यो, सात वर्षको भाइलाई डेरामा एक्लै छोडेर जाने कुरा पनि त भएन’, म्युजिक भिडियोमा निरन्तरता दिन नसक्नुको कारण उनले सुनाइन्।

चार जना छोराछोरीमध्येकी उनी माइली छोरी हुन्। उनीमाथि एक दाजु र उनीभन्दा पछि बहिनी र भाइ पनि छन् । बहिनी अहिले पनि रामेछापस्थित घरमै बसेर पढिरहेकी छिन्। 

आफूले कमाउन थालेपछि कान्छो भाइलाई काठमाडौंमा राखेर पढाएको उनले बताइन् । काठमाडौंमा राखेर भाइलाई पढाउने इच्छा थियो। 

नयाँ बानेश्वरमा रहेको ‘श्री रत्नराज्य माध्यमिक विद्यालय’ मा पढिरहेका भाइलाई धेरै पढाउने सोच बोकेकी वीनाले भनिन् ‘मैले त पढिनँ तर पनि मेरा भाइलाई धेरै पढाउँछुु।’

पढाइलाई निरन्तरता दिन नसकेकी वीना कामप्रति भने निकै लगाव राख्छिन्। उनले भनिन्, ‘मलाई छोरी मान्छे भएर केहीँ गनुपर्छ भन्ने चाहिँ लाग्छ।’ 

वीना बिहानदेखि बेलुका अबेरसम्म नै काममा खट्ने गरेकी छन्। उनी बिहानको ५ः३० बजेदेखि बेलुकाको ८ बजेसम्म टेम्पो चलाउनु उनको दैनिकी हो। घर गएर खाना खाँदा समय धेरै लाग्ने भएकाले बिहानको खानासमेत उनी होटलमै खाने गरेको उनले बताइन्। 

दिउँसो टेम्पो चलाउँदै गर्दा ट्राफिकले नभई यात्रुले बढी दुःख दिनेगरेको उनको भोगाइ छ । उनले भनिन्, ‘ट्राफिकले त्यत्तिकै दुख दिँदैन तर यात्रुले कहिलेकाहीँ गाडी भाडा नदिएर धेरै किचकिच गर्छन्।’ 

आफूले काम गरेको पाँच वर्ष लागि तीन–चार पटक ट्राफिकले चिट काटेको उनले सुनाइन्। ‘नियममा बसेर काम गरेपछि कसले के गर्छ, कसले के भन्छ, र ?’ उनी भन्छिन्।

दिउँसोभरि खटेर आठ ‘ट्रिप’सम्म गर्ने उनी दिनको तीन हजार पाँच सय रुपैयाँसम्म कमाउने गर्छिन्, जसबापत टेम्पो मालिकलाई २६०० दिनुपरेको उनले सुनाइन्। दैनिक साहूलाई बुझाएर नौ सयदेखि एक हजार पाँच सयसम्म आफूले राख्ने गरेको उनले बताइन्। 

त्यति मात्र नभई टेम्पो चलाएबापत उनले महिनामा १० हजार तलब पाउने गरेकी छिन्। ‘कोरोनाको महामारी अगाडि त १५ हजार पाउने गरेको थियौँ’, उनले भनिन्। 

आफूले गरेको काममा सन्तुुष्ट उनी टेम्पो समितिले चालकलाई केहीँ सुविधा दिनुपर्ने उनको सुझाव छ। ‘बिरामी परेर काम गर्न नसकेका बेला समितिले उपचार खर्च हेरेमा हाम्रालागि सहज हुन्थ्यो’, उनले भनिन्, ‘अरू त सबै ठिकै छ।’ 

सानी छँदा हिरोइन बन्ने रहर साँचेकी वीनाको लक्ष्य अब बदलिएको छ। उनी ड्राइभर पेशाभित्र आफ्नो लक्ष्य निर्धारण गर्न थालेकी छिन्। ‘अब मेरो लक्ष्य हो– ठूल्ठूला गाडी चलाउने’, उनले भनिन्, ‘सफा टेम्पो चलाएर पुगिसक्यो, अब ठूलो गाडी चलाउनु छ।’



टेम्पोचालिका भन्छिन्– ट्राफिकबाट मिठाे बाेली कहिल्यै सुन्न पाइनँ (भिडियाे)

२५ वर्षीया टेम्पोचालिका भन्छिन्- लभ गर्नलाई समय छैन (भिडियो)

मलाई जति दुःख छोराछोरीलाई नपरोस् (भिडियो)

टेम्पुचालिका मीना भन्छिन्- गल्ती नगरी ट्राफिकले कहाँ दुःख दिन्छ र

टेम्पो ड्राइभर रोशनी भन्छिन्, ‘श्रीमानको उपचारका लागि लिएको ऋण खाएर म भाग्दिनँ, केही पर्खनुहोस् सबैको तिर्छु’




 

प्रकाशित मिति: : 2021-04-22 21:25:00

प्रतिकृया दिनुहोस्