प्रेमन्यास (कथा)

BreaknLinks
BreaknLinks

शुक्रबार
पल्टेको छु पलङमा।
यही छ तन। घुमफिरमा मन।
एक सातादेखि म, मजस्तो लागेको छैन। अन्यौलग्रस्त छ मनस्थिति।
कस्तो छ उसलाई, थाहा छैन। सायद मलाई जस्तै होला उसलाई पनि।
मोबाइलमा गीत बजाउँछु। जो आफूभन्दा बढ्ता मनपर्छ मलाई।
त्यसै कहाँ मनपर्नु। उसलाई मन परेकैले मलाई नि मनपर्छ यो गीत।

०००

थकित छु, एकदम आज। हिजोको हिँडाइले। वाफ रे ! हिँडाइ पनि कस्तो। सम्झँदै भाउन्न छुटेर आउँछ।
कस्तो रोजियो पेसा नि। यार, न त गर्न सकिने, न त छोड्न नै।
भनेझैँ भाछ, ‘फल खान गएकी बूढी, झोलमा डुबेर मरी।’

०००

जेसुकै होस्।
आज नि लेखिएन समाचार।
दिनभर सुतेँ, अफिसमै। गइएन कतै पनि।
मेरो जिन्दगी नि के भो के भो यार।
शनिबार
साथमै छ छोरो। आफ्नो होइन्, दाइको।
खुब पछ्याउँछ मलाई।
गधा!, देख्यो कि घोडा बन भन्छ।
आज नि भन्दैछ त्यही, ‘काकु घोरा बन्, काकु घोरा।’
साह्रै जिद्दी छ केटो। जितिरहन्छ हरबखत।
उसका सामु जहिले नि लत्रिन्छु म।
लत्रिन्छु या लतार्छ ऊ। अन्यौलमै छु म।
घोडा बन्नु/बनाउनु। दैनिकी हो। उसको या मेरो।
र त बनिदिन्छु–विवेकशील घोडा।

०००

छोरो मख्ख छ मसँग यता।
उता दाइभाउजू रच्दैछन् संसार।
सानो होइन, विशाल।
पराई होइन, आफ्नो। जहाँ अट्नु छ उनीहरू। अटाउनु छ सपनाहरू।
साक्षी छु म संसार अनि सपनाको।
थाकेको छु म। थाकेका होलान् मभन्दा उनीहरू। र त गुनगुन बन्दैछ धिमा।

०००

पठाइदिएँ छोरा। सँगसँगै उसका सपनाहरू। ढुक्क भएँ म।
उनीहरूभन्दा बढी। जितेजस्तो लाग्यो संसार मलाई।
आइतबार
एघार बज्नु, ऊ आउनु। भयो एउटै।
रातजस्तै छ रात।
सुनसान।
निश्चल।
रातभन्दा निश्चल छन् उसका सपनाहरू।
आउँछे ऊ, समीपमा होइन, तरङ्गमा। करेन्टको प्रवाह दिन।
देख्छे/देखाउँछे असंख्य सपनाहरू।
देख्छु सपना म या देखाउँछे ऊ।
खेल्छु या खेलाउँछे ऊ।
लठ्ठिन्छु या लठ्याउँछे ऊ।
सल्किँदैछौं–भूससरि हामी। डढाउन भित्रभित्रै सिंगो संसार।
थाहै नपाई सकिँदैछु। रित्तिँदैछु।
साँच्ची भनूँ हुँदैछु स्खलित ऊविना।

०००

यता रित्तिँदा म ऊ नि रित्तिँदै छे। सुन्दा उसलाई लगाउँछु, यही अड्कल।
काश !
साथमा हुँदी हो त ऊ, रात निदाउँथ्यो।
दिन लजाउँथ्यो।
रच्थेँ म नि, सुन्दर संसार। दाइभाउजूकोझैं।
साँघुरो होइन, विशाल। सानो होइन, ठूलो–ठूलो। दाइको भन्दा ठूलो।
फगत कल्पनामै।
काँ सक्नु दिनरात जुटाउन।
सोमबार
बहिनी भान्सामा छे।
देख्दिनँ फुपूफुपाजु। गए होलान्– कतै। त्यस्तै लाग्छ मलाई।
परिवेश सुनसान।
मसँग छ त केवल, उसलाई छोएर बगेको हावा।
त्यति टाढा छैन म। मनभन्दा नजिक छे ऊ।
ऊ, ऊ जस्ती छैन आज। बदलिएकी छे, खै किन हो ? चाहेर नि सकिनँ जान्न।
जल्दै/पग्लिँदै।
बग्दै/सकिँदै।
साँच्ची भनूँ, मध्यान्हमा सन्ध्या भई एकाएक।
बोल्दैछे, अमुक भाषा। निमन्त्रणाको शैलीमा।
अलमलमा छु। बाटो बिराएको बटुवाझैं म।
निमन्त्रणा सकारूँ/नकारूँ। धरमरमा छु।
एकोहोरो सोचिरहन्छु केवल।
तनमनको अन्तर्द्वन्द्वमा पर्दा बल्ल था भो। तनभन्दा बलियै रैछ मन।
समाहित हुनै खोज्दा तन, प्रतिपक्षमा बस्यो मन। र त तानेरै ल्यायो बाहिर।
परिवेश बदलिँदा बदलिइन ऊ।
एक्लै छे कोठामा धुमधुमती/सोचमग्न।
सकिनँ बदल्न चाहेर नि।
केवल टाढिइ मात्र।

०००

म हुस्सु पनि कस्तो। चिनिनँ उसलाई। बुझिनँ उसलाई (निमन्त्रणालाई)। साँचो भनूँ उसको भोकलाई। पेटको होइन।
मन होइन, तन नपाएरै टाढिइ ऊ। बर्बराउँदै। साला नपुँसक !
शनिबार
राप्ती बगिरहँदा हामी स्थिर छौं।
चाहेर नि सकेनौं बग्न ऊसँगै।
हेर्छु उसलाई, राप्तीभन्दा निर्मल लाग्छ।
कस्तो लाग्छ मु। उसैलाई थाहा होला। सकिनँ मनभित्र पस्न र त पाइनँ चाल।
राप्तीको बगर जस्तै भएको छु, उसका लागि म। जसको कुनै कामै छैन।
ऊ बोलिनँ। ऊ नबोल्दा बोलिनँ म पनि।
मलाई थाहा छ, ऊ रिसाएकी छे मसँग।
किनकी त्यो दिन, रित्याउन सकिनँ उसलाई।
खुलेरै भनूँ, गरिनँ सम्भोग। गर्नै मन लागेन। बास्तवमा।
आइतबार
आज आइतबार। भोलिबाटै हो परीक्षा।
बुझ्न त के थियो र। तैपनि पढ्दैछु। सुलोचनाका हरफहरू।
देवकोटाको लेखन मनपर्छ। बुझेर होइन। नबुझेरै। सबैभन्दा सिनियर लाग्छ उनी।
सिध्याइयो सुलोचना। पढेर होइन, पाना पल्टाएर।
बितेछ एक घण्टा। पाना पल्टाउँदै। दिक्क लाग्यो।
पल्टिहालेँ पलङ्गमा। मन पुग्यो ऊ कहाँ। विपनामा होइन, सपनामा।

०००

दिनभर अफिसमै थिएँ म। कति हिँड्नु, बटुल्दै समाचार। दिक्क लाग्दो।
फोन आउँछ। उसको होइन, सम्पादकको।
साला, थर्काउनु थर्कायो। समाचार लेखिनँ रे।
गालीले दिलायो, उसको याद।
फोन गर्नुपर्यो, सोचेँ। गरेँ पनि।
लगातारको घण्टीमा उठ्यो फोन। बोलिन ऊ, बोल्यो म जस्तै कोही।
मन आत्तियो, को होला ऊ?
सोधेँ। ‘म उसको श्रीमान्’, जवाफ आयो।
अलमलिन्छु। घटना या दुर्घटना? २४ घण्टामा ऊ उसको श्रीमान्, ऊ उसकी श्रीमती। उफ, दुनियाँको जात्रा।
सोमबार
आज परीक्षा।
जिन्दगीको भयङ्कर ठूलो। कहिल्यै नगर्ने। गर्नै नपर्ने।
आफू रित्तिने/रित्याउने। परीक्षा नौलो।
बसेको छु–परीक्षा हलमा।
दिनु नै थियो परीक्षा। दिइयो पनि।
थाहा छैन, परीक्षा लिइयो या दिइयो।
उत्तर लेखेँ या लेखाइयो। अलमलमा छु म।
पहिल्याउँछु यथार्थता।
बस्, जान्दछु यतिमात्र, म भुल्दैछु–आफूलाई।
सत्यतालाई, कर्तव्यलाई।
नढाँटी भनूँ–सपनालाई। आफ्नो होइन, आमाको।

०००

काँप्दैछ–थर्थरी शरीर।
गह्रुङ्गो भो टाउको। अघिभन्दा बढी।
बढ्दैछ मात्रा शोकसँगै भोकको।
खाएँ वा खाइनँ बिहान खाना। खाको भए भोक लाग्यो किन? उध्रेको घटना सम्झन छु म। भान्छाकोठामा
बोलाएको भाउजूले। खाना दिएको भाउजुले।

०००

सडकमै छु। सुनसान होइन, व्यस्त सडक।
बढ्दैछ ओहोरदोहोर।
छैन वास्ता कसैलाई कसैको।
अरूले नगर्दा गरिनँ मैले पनि अरूको वास्ता।
एक्लो लाग्छ, आफू।
हराउँदैछ उर्जा। उर्जा हराएसँगै मर्दैछन् आशाहरू।
घरिघरी सुन्दैछु उही आवाज, सिल्ली बनाउँदैछ जसले मलाई।
गिज्याएझैं लाग्छ। उही आवाजले नै घरिघरी।
‘म उसको श्रीमान्।’

०००

नजाँदा अफिस। लेखिनँ समाचार पनि।
गर्यो होला, सम्पादक गाली।
फत्फतायो होला, उसैगरी। जसरी फत्फताउँथ्यो, अरू दिन पनि।
खान मन लागेन र त खाइनँ। भाउजूले बोलाएझैं लाग्छ।
गइनँ। नजाँदा खाइनँ पनि।
म नजाँदा आएनन् उनीहरू पनि।
आएन छोरो (भतिजा,जो मलाई उसको सपनाको घोडा बनाउन खोज्थ्यो बारबार)। आओस् पनि किन? आफ्नो भए पो आओस्।
भाउजू रिसाइन्। लगाउँछु, अड्कल यही।

०००

सुतिसक्दा उनीहरू। ब्युँझैछु म।
पल्टेको छु बिछौनामा।
चाहेर पनि सक्दिनँ निदाउन।
सम्झन्छु आमासँगका दिनहरू। जहाँ थिए हामीसँगै निश्चल सपनाहरू मेरा।
म खान्थेँ, आमाका लागि। आमा मेरा लागि।
म नखाँदा खानुहुँदैनथ्यो आमा। उहाँ नखाँदा खादैनथेँ म पनि।
आमा नभएसि भोकै छु आज। नपाएर होइन,नख्वाएर।
आमा हुनुहुँदो हाे त उहाँ नखाने डरले खानैपर्थ्याे मलाई।
किन किन आमा खोज्दैछ मन। हिजोभन्दा अलि बढ्ता।
आमाको यादसँगै फेरिँदैछु म। फेरिँदैछ, परिवेश।
एकाग्रता बढ्दैछ ममा।
त्यसै त हिजोदेखि भुल्दैछु, आफैँलाई। कर्तव्यलाई। सपनालाई।

०००

‘एउटा चिठी लेख्न मन लाग्छ
जुन मायाले धर्धरी रूवायो
त्यही मायालाई भेट्न मन लाग्छ।’
झस्काउँछ गीतले। हिजोदेखि मेरो मोबाइलको रिसिभटोन बनेको छ, यही गीत। हेर्छु मोबाइलको स्क्रीन। देख्छु पाँचवटा मिसकल।
कसको होला? पहिल्याउन नसक्दै फेरि बज्छ उही गीत।
हेर्छु नम्बर उसैको (२४ घण्टामा बिहे गर्ने प्रेमिका) हो।
उठाऊँ/नउठाऊँ। गिलमिलमै सकिन्छ, गीत।
उफ ! आउँछ फोन उसैगरी।
उठाउँछु। अवाज हो उही। जसले मलाई बनायो यस्तो। पुर्यायो यहाँसम्म।
‘मित्र! पठाइदिनु मेरी उनका फोटा। ’
भन्दैछ मलाई, ‘हाम्रो बीचमा तपाईं नआएकै राम्रो।’
सकिनँ सुन्न। भाउन्न छुटेर आयो। काटिदिएँ फोन।
मन त थियो उसैलाई काट्न। सकिनँ। रन्थनिदै काटेँ केवल फोनमात्र।
कति सजिलै माग्दैछ–फोटाहरू। ‘के फोटासँगै मेटिन्छन्, वाचाहरू? कसमहरू? सपनाहरू? यादहरू?’ सोध्न मन थियो उसलाई। सकिनँ तर।
चाहेर नि सकिँदोरहेनछ।
अहँ ! सकिनँ मैले। सक्दैसकिनँ।

०००

उर्लिँदो आवेगका बीचमा सम्झन्छु–फोन कट्नु अघिको एक वाक्यांश, ‘तपाईं ऊसँग के के गर्नुभयो ?.. ……..’ धेरै थिए, उसका जिज्ञासाहरू।
मनमा पलाएको टिठसँगै दया पलायो एकाएक।
आफूभन्दा बढ्ता दुःखी लाग्यो ऊ।
म नपाएर दुःखी हुँदा ऊ पाए नि खुसी नभएको महसुस गरेँ।
जिस्काउन मन लाग्यो उसलाई।
प्रयास नगरेको होइन, गरेँ।
सफल हुन दिएन। समयले। नेटवर्कले।
थाहा छैन, म यता छटपटिँदा उसलाई कस्तो छ। चाहेर नि सकिनँ जान्न।
मंगलबार
फोन गर्यो। उसैले आज पनि।
शैली उही। फरक यत्तिमात्र हो, आज धम्की थिएन। थियो त केवल सम्झौता मात्र।
भन्दैथ्यो, ‘मित्र मनविनाको तन। अँह, रमाउन सकिनँ म। सक्नुहुन्छ भने फर्काइदिनुस्, यादहरू। जसले मलाई राहत होइन, आहत दिनेछन्।
सकिनँ उसको बन्न। सकिनँ बनाउन आफ्नो पनि।
ऊ खोज्छे मभित्र सिर्फ तपाईंमात्र।
सायद, सक्दिन भेट्न। सकोस् पनि कसरी।
अनि, के चाहियो र। बर्सन्छे ऊ। बर्साउँछे–नुनिला गण्डकहरू।
कायल छु म। कायल बनाई दुईदिनमै उसले।’
उसलाई भन्न त मन थियो, ‘मित्र आउनुस्। निकाल्नुस्। अनि लैजानुस् धड्कनहरू। जहाँ छे त केवल ऊमात्र।’
सकिनँ। सक्दैसकिनँ। सकूँ पनि कसरी?
म हार्दा जित्ने ऊ, आखिर जितेर नि हार्दैछ। र त भनिनँ चाहे जति सबै।
भनेँ, केवल यत्तिमात्र। ‘आइ.विल.ट्राइ।’
ऊ चुप थियो।
शनिबार (दुई महिनापछि)
आज अचम्मै भो। आमा आउनुभयो। बसाउनुभयो काखमा उसैगरी। जसरी बितेका बिस वर्ष बस्थेँ म। आमाको काखमा। सुम्सुम्याउनुभयो। सुम्सुम्याउँदै जानुभयो कपाल। अनि बूढो वयले मेरा अंगप्रत्यङ्गहरू।
लठ्ठिएँ म। पग्लिएँ। भक्कानिएँ। आमाको काखमा। म रूँदा रूनुभएन आमा। बरू बोल्नुभयो, ‘के भयो कान्छा तँलाई। किन यस्तो गर्दैछस्। भुल्दैछस् आफूलाई। कर्तव्यलाई। मेरा सुइनालाई। तँलाई थाहा छ, तेरो नाम्रो देखेर कति रमाइथेँ म। तर, आज रून्छ मन। हेर्न बाबु, तैँले मलाई दुःखी बनाइस्। उसका लागि बिगारिस् मलाई अनि मेरा सुइनालाई…।’
बर्बराइरनुभो आमा। बोल्न खोज्दा म। दिनुभएन बोल्न केही पनि। बस् रूनुभयो। रोइरनुभयो।
चाहेर पनि सकिनँ रोक्न, आमालाई, आँसुलाई, बर्बराहटलाई।
हेर्दाहेर्दै बदलिनुभयो आमा। बदल्नुभो आफ्नो रूपरङ्ग।
हावासरि हुत्तिनुभो–बाहिर।

०००

झल्याँस्स ब्यूँझन्छु म। ब्यूँझिएसँगै बदलिन्छ परिवेश।
गुमाउँछु आमासँगै ममता पनि। चाहेर पनि सक्दिनँ भेट्न आमा। आमाको न्यानो स्पर्श।
हेर्छु भिजेको छ सिरानी। ज्याद्रै रोइएछ सपनामा। बगाइएछ, नुनिला गण्डकहरू।
दोधारमै छ मन। आमाको अभिव्यक्ति– ‘के भयो कान्छा तँलाई। किन यस्तो गर्दैछस्। भुल्दैछस् आफूलाई। कर्तव्यलाई, मेरा सुइनालाई। तँलाई थाहा छ, तेरो नाम्रो देखेर कति रमाइथेँ म। तर, आज रून्छ मन। हेर्न बाबु तैँले मलाई दुःखी बनाइस्। उसका लागि बिगारिस् मलाई अनि मेरा सुइनालाई…।’ खुट्याउन सक्दिनँ भ्रममा छु या…मा। आमा नभएनि स्पर्श सँगै छ आमाको। गडेको छ मनभित्र अधुरो आमाको गुनासा ‘के भयो कान्छा…।’
बिहीबार
आकाशभन्दा खुला छ मन।
दौडिएँ निस्फिक्री दिनभर। बल्ल सम्हालेँ भत्किएको दैनिकी।
शुक्रबार
काग नकराउँदै ब्युँझन्छु म। ऊ आउनुसँगै ब्युँझिएको म। प्रत्यक्ष काँ हुनु। उसैगरी फोनमा मात्र। ऊ आइन एक्लै। ल्याइसँगै एउटा लामो इतिहास। जहाँ मभन्दा द्रबिट बनि रे ऊ।
‘कस्तो छ, तिमी अनि उसलाई?’, सोध्छु।
झस्किन्छे र भन्छे‘, को? ऊ भनेको? तपाईंको मतलब?’
‘तिम्रो जिन्दगी। यार ! तिम्रो श्रीमान्?’
अत्तालिन्छे र भन्छे, ‘के भन्नुहुन्छ तपाईं? काँ हुनु मेरो श्रीमान्। सब कल्पनामात्र। त्यसमा पनि मेरा लागि।’
‘यार तिम्रो बिहे भा होइन र, देवसँग ? ऊ त्यही भन्दैथ्यो त।’
‘पत्याउनुभयो पागलको कुरा’, थप्छे ‘त्यसकै कारणले त बर्बाद भएँ म। म सँगै बनायो बर्बाद मेरा सपना पनि।’
‘साँच्ची तिम्रो बिहे नभएकै हो त? भन न यार! साँचो के हो?’
‘म त्यही भन्न चाहन्थेँ। गर्थेँ, फोन पनि त्यसकै लागि। तर, तपाईंको फोन…। नसोध्नुस् म के भएँ? के बनाइएँ? अहिले कस्ती छु? सक्नुहुन्छ भने एकपल्ट भेट्नुहोला। म कर गर्दिनँ। त्यो अधिकार त रहेन अब। एउटै इच्छा छ, भेट्ने। प्लिज निराश नबनाइ दिनुहोला।’
‘सानू ! कसरी आउँ अर्काको जुठो स्याहार्न?’, यही भन्न चाहन्थेँ। सकिनँ बोल्न केही पनि।
ऊ रोइरही। सम्हाल्नै सकिनँ। माँ कसम ! रूवाइ यार मलाई पनि।
शनिबार
दोधारमा छु।
जाऊँ या नजाऊँ? जुठो सकारूँ/नकारूँ?
उपरान्त
स्थानः तुलसीपुर (घोराही चोक)
समयः दिनको २ बजे।
परिवेशः चहलपहल।

०००

साथीको पर्खाइ। उखरमाउलो गर्मी। आत्तिँदो मन। पर्खाइको लामै इतिहास रचिसकेँ। र पनि झुल्किँदैन ऊ। उसको चालै यस्तै हो। कुराउँछ जहिले नि यसैगरी। दिक्क लाग्छ। बेपर्वाह हिँड्दैछन् मानिसहरू। यत्रतत्र। देख्छु सबैलाई हतारमा। सागर भेट्न दौडिरहेछन् नदीहरू।

०००

कुल्चियो। फेरि पनि उसैगरी। थिचियो पहिल्यै जस्तै गरी। जो थिचिँदैछ। मिचिँदैछ। कुल्चिँदैछ– घरिघरी। म साक्षी छु। ऊ थिचिएकै हो, बीच सडकमा। सहेकै हो हजारौं लातका पर्राहरू। हेर्दाहेर्दै भाँचियो मेरूदण्ड। कुरूप बन्यो ऊ अर्थात् कसैको डायरी। घिसारियो। पछारियो। हुत्याइयो।
छिया–छिया बनाइयो देह। नढाँटी भनूँ–धोती न टोपीको बनाइयो ऊ।

०००

राहत भो बल्ल मलाई। हुत्याइयो ऊ मैतिर। जसलाई चाहेर नि सक्याथिनँ टिप्न। बचाउन।

हातैमा छ डायरी। मेरूडण्ड भाँचिएको। कुरूप।
हेर्छु, बाहिरीफेर जम्मै च्यातिएको। खोज्दा भेटिनँ कुनै पत्तो।
काश ! पत्तो हुँदो हो त फर्काउँथेँ। थमाउँथेँ उसैको हातमा। फगत कल्पनामात्र।

०००

दिन ढल्किदैछ। मलाई पर्खाउने आएन अझै पनि। सायद्, आउँदैन ऊ। लगाउँछु यही अड्कल।
देख्छु, सबैका आँखा मैतिर। हेर्दैछन्, घृणीत नजरले–उनीहरू।
हातैमा छ ऊ। अर्थात् कुरूप डायरी। जसलाई फोहोर ठान्थे, उनीहरू।

०००

बढ्दैछन्, घृणीत नजरहरू। यस्तै लाग्छ मलाई। ठान्दिनँ उपयुक्त बसिरहन त्यहाँ। हुन उपेच्छित पात्र। र त गर्छु निर्णय। अनि हुइँकिन्छु पूर्वतिर।
आइपुग्दा अलिवर। हेर्छु लुकिङग्लासमा। देख्छु उस्तै दुरूस्तै उनीहरू। उनै घृणीत नजरहरू। जसले हेर्दैथे मलाई। म धेरै वर आइपुग्दा पनि हेर्दैथे–मेरो बहान। अनि पुछारमा लेखिएको रा १ प ४१६०।

प्रकाशित मिति: : 2023-06-03 07:48:00

प्रतिकृया दिनुहोस्