बिहिबार, ३१ जुलाई २०२५

व्यापारीले चिनी लुकाइरहेछन्, सरकार अनुगमनको ‘कर्मकाण्ड’ गरिरहन्छ

News Image
• • •

चार दिनअघि काठमाडौँको कुलेश्वरमा रहको एउटा निजी गोदाममा ७० हजार किलो चिनी थन्काएर राखिएको भेटियो। 

काठमाडाैँ जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागको एउटा अनुगमन टोलीले त्यो गोदाम सिल गरिदियो। गुहेश्वरी ट्रेडलिंकको निजी गोदाम थियो। जहाँ चिनी लुकाइराखेको भेटियो। 

सहुलियतमा खाद्यान्न सामग्री बेच्दै आएको साल्ट ट्रेडिङ नजिकैको त्यो निजी गोदाममा चिनी थन्किइरहँदा बजारमा भने चिनी अभाव थियो।

आम उपभोक्तालाई किराना तथा खाद्यान्न पसलहरू बढीमा दुई किलो चिनी दिइरहेका थिए, त्यो पनि लगभग १४० रुपैयाँ प्रतिकिलो।

त्यो गोदामबाट निजी व्यापारीहरूले नै थोकमा चिनी किन्थे, १२७ रुपैयाँ प्रतिकेजी। तर, उसले १ सय ५ रुपैयाँको मात्रै बिल काट्थ्यो। 

सरकारको स्वामित्व रहेको नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले ९७ रुपैयाँमा बेचेको चिनी बजारमा १ सय ५० रुपैयाँसम्म बेच्दै आएको छ। 

तर, बजारमा सामान्यतया ११० मा पाइने चिनी अघिल्लो सातादेखि १४० रुपैयाभन्दा बढीमा बिक्री भइरहेको छ। कारण हो- प्रशासनले सिल गरेकोजस्तै सहरमा धेरै त्यस्ता गोदामहरू छन्, जहाँ पर्वका बेला वा बजारमा उपभोक्ताको माग बढिरहेका बेला टनका टन सामग्री लुकाइन्छन्। 

सरकारसँग कुनै त्यस्तो बलियो संयन्त्र छैन, जसले व्यापारीले लुकाएका सामन नियन्त्रणमा लिएर आम उपभोक्तालाई बजारको चल्ती मूल्यमा सामान दिन सकोस्।

पर्वका बेला बनाइने ‘कर्मकाण्डी’ अनुमगन समिति र टोलीहरूले केही पसलहरूमा ‘छापा’ मार्दैमा त्यस्ता गोदाम घरिघरि नभेटिनसक्छन्, जहाँ सामान लुकाइएको हुन्छ र बजारमा त्यही सामानको अभाव अनि चर्को मूल्य हुन्छ।

केही दिनअघि सरकारले ‘चाडपर्व लक्षित’ संयुक्त बजार अनुगमन कार्ययोजना पनि बनाएको छ। यहीअनुसार विभिन्न मन्त्रालय जोडिएका ‘टेन प्लस टु’ योजना अघि सारिएको छ।

यसमा वाणिज्य, खाद्य तथा गुण नियन्त्रण, औषधि व्यवस्था, स्वास्थ्य सेवा, आन्तरिक राजस्व, नापतौल तथा गुणस्तर, कृषि, पशुसेवा र पर्यटन विभाग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलगायत १० निकायहरू छन्।

यी निकायका प्रतिनिधिहरूको १० टोलीले हरेक दिनमा दशवटा फर्महरूको अनुगमन गर्नेछ भने अर्को दुई टोलीले चिनी, चामल, तेल, मरमसलालगायत अत्यावश्यक र उच्च माग हुने सामान बेच्ने पसल तथा गोदामहरूको अनुगमन गर्नेछ। 

काठमाडौँमा यो हल्ला चलाइए पनि जिल्लास्तरमा भने प्रमुख जिल्ला अधिकारी नै त्यसका हर्ताकर्ता हुन्छन्। उनीसँग यति ठुलो टोली छैन। जसले हरेक दिन हरेक पसलको अनुगमन र कारबाही गरोस्।

स्थानीय पालिकाहरूले गर्ने अनुगमन त सामानको ‘एक्सपायर डेट’ हेर्दैमा बित्छ।

व्यापारीले छोपेको मौका

खाद्यान्न र अरु पनि सामान चाहिने भनेको यही समय हो। ठुला पर्वहरूको मुखमा भने सधै बजारमा सामानको अभाव बनाइन्छ र मूल्य पनि चर्काइन्छ। 

बजारमा अहिले लुकाइलुकाइ अभाव देखाएर चर्काइएको मूल्य चिनीको पनि हो। यद्यपि, बजारमा अरू खाद्यान्नको भाउ पनि छोइसक्नु छैन।

दसैँ नजिकिँदै गर्दा चिनीको भाउ पनि सर्लक्कै बढेको पाल्पाली स्टोरका सञ्चालक कृष्ण आचार्य बताउँछन्। उनकाअनुसार चिनीको मूल्य व्यापारीहरूले मनपरि बढाइरहेका छन्। 

‘अहिले चिनीको भाउ छोइसक्नु छैन। हामीले गोदामबाट १२७ रुपैयाँ किनेर १३५ रुपैयाँमा बेचिरहेका छौँ’, बिएल नेपाली सेवासँग गुनासो पोख्दै उनले भने, ‘खाद्यान्नमा भाउ त बढिरहेकै थियो तर यो दसैँको मुखमा झनै बढ्यो। अब चिनी बेच्ने अवस्था नै छैन।’

चाडपर्वको माहोलमा चिनीको मूल्य बढेको भन्दै उपभोक्ता र खुद्रा व्यापारीहरूले गुनासो गरिरहँदा साल्ट ट्रेनिङ कर्पेरेशनका प्रवक्ता राजकुमार भण्डारी पनि देशैभरि चिनीको अभाव रहेको बताउँछन्। 

अहिले कम्पनीमा चिनी मौज्जाद छैन। सोही कारण साल्ट ट्रेनिङले खुद्रा व्यापारीहरूलाई दुई किलो मात्र चिनी बेच्ने गरिरहेको उनले सुनाए। ‘चिनीको गोदाममा नै चिनीको अभाव भइरहेको छ’, उनले भने। 

नेपाली उपभोक्ताहरूको चिनीको माग पूरा गर्न महिनाको ३० हजार टन चिनी चाहिन्छ। तर, कम्पनीमा मात्र ४ सय टन चिनी बाँकी छ। यही कारण साल्ट ट्रेनिङले कम मात्रामा चिनी बेचिरहेको उनको भनाइ छ। 

के छ सरकारको तयारी? 

अहिले चिनीको अभाव खट्किएसँगै सरकारले खाद्यान्न खरिदका लागि भारतलाई पत्राचार गरेको छ। तर, भारतले अझै कुनै जवाफ दिएको छैन। 

चाडपर्वका बेला चिनीको माग बढी हुने भएकोले भारत सरकारसँग ५० हजार मेट्रिक टन चिनी खरिदका लागि पत्राचार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए।

‘हामीले ५० हजार मेट्रिक टन चिनी, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक धान खरिदका लागि भारतलाई पत्राचार गरेका छौँ’ उनले भने। 

त्यसैगरी २० प्रतिशत भन्सार महसुल छुटमा १० हजार मेट्रिक चिनी साल्ट ट्रेनिङ र १० हजार मेट्रिक चिनी खाद्य व्यवस्था कम्पनीले खरिद गर्ने सहमति भएको उनको भनाइ छ।

२० प्रतिशत भन्सार छुट गरेर चिनी खरिद गरेर ल्याउँदा प्रतिकिलोमा १२ रुपैयाँ सस्तो पर्छ। यसले गर्दा बजारलाई सन्तुलन गराउन सहयोग पुग्ने महासिनीको दाबी छ। 

गत भदौ २९ गते बसेको मन्त्री परिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० र १० हजार मेट्रिक चिनीको आयातमा ५० प्रतिशत छुटसहित आयत गर्न पाउने स्वकृतिसमेत पाइसकेको छ।

‘गत वर्षको तुलनामा मूल्यवृद्धि भएको छैन’

नजिकिँदो चाडपर्वका बेलामा खाद्यवस्तुमा केही मूल्यवृद्धि भएता पनि गत वर्षको तुलनामा नभएको वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउँछन्। 

बजारमा भइरहेको मूल्यवृद्धिबारे उनी भन्छन्, ‘समग्रमा मूल्यवृद्धिको आधारलाई हेर्ने हो भने गत वर्षको तुलनामा मूल्यवृद्धि भएको देखिँदैन।’ तर, दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न आफूहरूले हस्तक्षेपकारी भूमिका बढाउनका साथै मूल्यवृद्धि गर्ने व्यापारीहरूलाई कारबाही समेत गरिने उनले बताए। 

बजारमा चिनीको हाहाकारी भइरहँदा गत सोमबार कुलेश्वको चिनी गोदाम सिल भएको छ। वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा ७० हजार किलो चिनी भण्डारण गरेको गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको थियो।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्री–वितरण गर्नुलाई कालोबजारी मानेको छ। त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र २ लाख ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ। 

सो ऐनको दफा ३ मा नाफाखोरीसम्बन्धी व्यवस्था छ। उपदफा १ मा भनिएको छ– ‘नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।’ 

नेपालमा कति हुन्छ चिनी उत्पादन?

नेपालमा वार्षिक १ लाख ४० हजारदेखि १ लाख ८० हजार टन चिनी उत्पादन हुन्छ। तर, माग भने दुई लाख ८० हजार टन छ। अपुग एक लाख टन आयात हुने गरेको छ। 

सोही कारण व्यापारीले अवैध रुपमा आयात गरेर चिनीको भाउ मनपरी लिएको चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालको भनाइ छ।

स्वदेशी उत्पादनबाट अपुग भएपछि भन्सार तिरेर चिनी आयात गर्दा मूल्य बढ्ने गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष मा १८ करोड बराबरको करिब ११ लाख ७३ हजार ४४३ किलो चिनी भित्रिएको थियो।

गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा प्रतिमहिना औसत पाँच हजार ३६ टन चिनी आयात हुन्छ।

त्यसैले पनि नेपाली उपभोक्ताको माग थेग्न नसकिरहेका बेला बजारमा अभाव र मूल्य चर्काउन गोदाममा चिनी थन्क्याइन्छ।

तर, सरकार त्यो बेलामात्रै जाग्छ, जब घरआँगनमा पर्वहरू भित्रिइसकेका हुन्छन्। नत्र बजारमा यस्तो त निरन्तर भइरहन्छ। व्यापारी भाउ बढाइरहन्छन् र उपभोक्ताहरू बरु थोरै किन्छन् तर चुपचाप भनेजति मूल्य तिरिरहन्छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!