साथीहरूलाई जीन्दगीको मार्ग दर्शक बनाएकी थिइन् गीताले। १५ वर्षको कलिलो उमेरदेखि उनले साथीहरूको नक्कल गर्न थालिन्।
आफूसँग हिँड्ने केटीहरूले जे गर्याे, उसलाई पनि त्यही गरिहाल्नु पर्ने। साथीले जस्तो गर्न नपाउँदा उनलाई लाग्थ्यो, पाखे पो भए कि! त्यही सोचले गीतालाई ‘सुधार केन्द्र’को ढोका ढकढकाउन बाध्य बनायो।
कक्षा–८ मा पढ्दै गरेकी गीताको आफ्नो छुट्टै एउटा ‘ग्याङ’ थियो। कसैलाई नटेर्ने, कसैले निहुँ खोज्यो कि झगडा गरिहाल्ने। त्यही जिन्दगी नै सुन्दर लागेको थियो गीतालाई।
आफूसँग हिड्ने साथीहरू नै उनको लागि सबथोक बनेको थियो। त्यसैले त साथीहरूले भनेको कुरा मानिहाल्थिन् गीताले।
एकदिन गीतासहित पाँच जना साथीहरू खाजा खान एक होटलभित्र पसे। त्यहाँ छिर्नसाथ साथीहरूले चुरोट सल्काएर बुङबुङ्ती उडाए। त्यसपछि गीतालाई पनि चुरोट थमाउँदै एक सर्को तान्न लगाए।
सुरूमा त गीताले चुरोट पिउन मानिन्। तर साथीहरूले जिद्दी गरेपछि उनको केही लागेन। साथीको हातबाट खोसेर चुरोट तान्दा उनी हुरुक्क भइन्। चुरोट पिउन नजानेकी गीता एक्कासी खोक्न थालिन्।
‘त्यो दिन चुरोट पिउन नआउँदा खोकी लागेको थियो। तर साथीहरूले पहिलो दिन यस्तो हुन्छ, विस्तारै बानी पर्छ भनेर फकाए’, चुरोट तान्दाको पहिलो दिन सम्झिइन् गीताले।
चुरोटको धुँवा उडाउन नजानेकी गीताले दुई–चार दिन लगातार चुरोट तानिरहिन्। र, आफूलाई चुरोटको पारखी बनाइन्।
‘१–२ पटक चुरोट पिउँदा बानी हुने रैछ। मलाई पनि त्यस्तै भयो। चुरोट नपिउँदा तलतल लाग्थ्यो। पिइहाल्नुपर्याे’, उनी भन्छिन्, ‘चुरोट नपिउँदा दिनै खल्लो लाग्थ्यो।’
साथीहरूको संगतले चुरोटको लतमा फसेकी उनको बानी–व्यवहारबारे आमा अन्जानै थिइन्।
जेठी छोरीले विवाह गरेर गइसकेपछि आमाको लागि साहारा बनेकी थिइन् गीता। उनीमाथि आमा विश्वास थियो।
‘बुबा विदेशमा हुनुहुन्थ्यो। दिदीले पनि बिहे गरिसकेको थियो। त्यसैले आमाको साथी म आफैं थिएँ’, उनले भनिन्, ‘आमाले ममाथि कहिल्यै शंका गर्नुभएन।’
आमालाई नटेर्ने गीता बुबासँग भने थुरथुरी हुन्थिन्। तर घरमा बुबा नभएपछि उनलाई कुनै कुराको डरै थिएन।
आमाको आँखा छलेर चुरोटको बानी बसालेकी उनले गाँजा पनि खान थालिन्।
साथीहरूले कागजमा पोको पारेर ल्याएको गाँजा चुरोटभित्र हालेर तान्थे अनि गीतालाई पनि त्यसैगरी खान लगाउँथे।
साथीहरूले गाँजा खान सिकाइरहँदा उनी भने आफैंसँग प्रश्न गर्थिन्, ‘मैले चुरोट खान सक्छु भने यो गाँजा खान किन सक्दिन र?!
साथीहरूलाई देखाउनको लागि भएपनि उनले चुरोटमा भरेर गाँजाको धुँवा उडाइन्। पहिलोपटक गाँजाको स्वादले गीतालाई लठ्ठै बनायो।
‘संसार घुमेको जस्तो, जमिन भाँसिएजस्तो र आफू बाङ्गो हिँडेको जस्तो लाग्यो’, गाँजाको पहिलो पपले उनको दिमागै हल्लायो।
तरपनि गीताले गाँजा खान छाडिनन्। उनी चुरोटमाभन्दा गाँजामा नै रमाउन थालिन्।
चुरोटजस्तो जताततै पाइँदैन थियो गाँजा। तर खाने मुखलाई जँगाले कहाँ छेक्थ्यो र! दिनभरि उन ‘ट्रीप’मा दिनभरि झुलिरहन्थिन् गीता।
‘चिनेको एक जना दाइ हुनुहुन्थ्यो। उहाँलाई नै गाँजा ल्याउन लगाउँथ्यौं’, उनले भनिन्, ‘त्यसको लागि पनि कन्ट्याक गर्नुपर्थ्याे।’
चुरोटबाट गाँजासम्म पुगेकी उनी त्यतिमै सीमित रहिनन्। गाँजा सेवन गर्न थालेको ५–६ महिनापछि उनले शरीर झुलाउने औषधिको पनि प्रयोग गर्न थालिन्।
खासमा, गीताकी एक जना साथीको टोलमा ‘गोटी’ खाने दाइहरू थिए।
ती दाइहरूको लागि उनकी साथी भने फार्मेसी जाने गर्थिन्। त्यसैले उनले पनि ‘नशा’ दिने ट्याब्लेट खान सिकेकी थिइन्।
आफूले खान थालेको ट्याब्लेट देखाउँदै गीतालाई पनि उनै साथीले भनेकी थिइन्, ‘यो गोटीले राम्रो ट्रिप दिन्छ।’
गाँजाले भन्दापनि राम्रो नशा दिने ट्याब्लेटप्रति आकर्षित भएकी गीतालाई पनि गोटीको स्वाद चाख्न मन लाग्यो।
त्यसैले उनीहरू स्कूल सक्काएर एक होटलमा छिरे। खाजा खाने बहाना बनाएर।
होटलभित्र छिर्नसाथ साथीसँग लिएको दुई वटा गोटी निलिदिइन् गीताले। त्यो खानसाथ अलसतलस भएकी गीता वाक्न थालिन्। र, होटलमै निदाइन्।
‘त्यो गोटी खाएपछि के भो थाह छैन। तर म घर जान सकिनँ। रातभरि होटलमै झुलेर सुतेछु, उनले बिएल नेपाली सेवालाई बताइन्।
भोलिपल्ट बिहान। आँखा खोल्दा उनीसँग थिए साथीहरू। र, फेरि गोटी खान सुझाए।
पहिलोपटक खाएको गोटीले थलिएकी गीतालाई मन थिएन ‘ट्रामा’ निल्ने। तर साथीले फकाउन थाल्यो, ‘हिजो खानेले आज खाँदा केही हुँदैन। आज एकदिन त खाइदऊ न!’
बिना आफ्नो चाहना दोस्रो पटक पनि गोटी निलिन् गीताले।
तर त्यसपटक भने उनलाई केही सहज महसुस भयो। र, गोटीको स्वाद पनि मनपर्यो।
त्यसपछि त उनलाई बानी परिहाल्यो।
गोटी खाएर बेलका घर फर्किएकी गीताले साथीको घरमा बसेको भन्दै आमासँग झुठ बोलिन्। आमाले पनि छोरीलाई विश्वास गरिन्। र, केही बोलिनन्।
एक–दुई दिन गर्दै गोटी खानमा माहिर भइसकेकी थिइन् गीता।
आफूलाई गोटीको डोज पुर्याउन आमासँग ढाटेर पैसा लिन्थिन्। कहिले किताब चाहियो भन्थिन् त कहिले कापी।
‘स्कूल नजिकै थियो तर आमासँग म गाडी भाडा माग्थें अनि त्यो पैसाले गोटी किनेर खाइदिन्थें’, उनी भन्छिन्, ‘घरमा मैले यतिधेरै झुठ बोलेको थिएँ कि बहाना नै सक्कियो।’
छोरीले देखाएको व्यवहार देखेर आजित भइसकेकी थिइन् आमा। सधैं किताब किन्ने पैसा मात्र मागिरहन्थिन्।
एकदिन भने आमाले गीतालाई भनिन्, ‘तँलाई कुन किताब चाहिन्छ। म स्कूल गएरै बुझ्छु।’
आमा स्कूल गइन्। तर त्यहाँ पुगेपछि आमाले थाहा पाइन् उनकी छोरी स्कूल नगएको धेरै समय भइसकेछ।
आफूलाई छोरीले ढाँटेको थाहा पाएपछि आमाले पैसा गीतालाई पैसा दिनै छोडिन्। तर छोरीलाई भने फकाउन थालिन्, ‘तिमीले के खान्छौं मलाई भन्। नराम्रो चिज खाइरहेको छौं भने बेलैमा छाडिदेऊ!’
तर गीता आफूले केही नखाने भन्दै आमासँग तर्किन्थिन्। छोरीको व्यवहार देखेर आमाले बुझिसकेकी थिइन् छोरी कुलतमा फसेकी छन्।
‘सोबर’ बन्यो ‘टर्निङ प्वाइन्ट’
आजभन्दा ठ्याक्कै दुई वर्षअघि। मंसिर महिना। बिहानको ९ बजे। दुई महिनापछि घर फर्किएकी थिइन् गीता। आमा बिरामी भएको खबर सुनेर।
त्यही दिन। उनलाई आमासँग मिल्ने एउटी आन्टीले कोठा भाडा उठाउनका लागि साथी जाम्न भन्दै अनुरोध गरिन्।
घरमा आमा थिइनन्। त्यसैले गीता पनि आन्टीसँग साथ जान तयार भइन्।
आन्टीले उनलाई गोकर्णेश्वरस्थित आरूबारीको ‘सोबर रिकभरी वुमन ड्रग्स–अल्कोहल उपचार र पुनर्वास केन्द्र’ पुर्याइन्। आन्टीले सुधार गृहसम्म लैजाँदासमेत अन्जानै थिइन् गीता।
तर जब उनी गेटभित्र छिरिन्, त्यसपछि उनले आफू सुधार गृहमा रहेको कुरा बुझिन्।
‘मेरो आमा सुधार केन्द्रमा मलाई राख्नको लागि सल्लाह गर्नु जानु भएको रहिछ। र आन्टीलाई ल्याउन लगाउनुभएको रहेछ। त्यो कुरा मैले पछि मात्र बुझें’, पहिलोपटक गीतालाई थाहै नदिइकन सोबर राखिएको थियो।
आफ्नो खराब बानी सुधार्न रिह्याब सेन्टर राखेको बुझेपछि गीता रिसाइन्। र, मनमनै सोच्न थालिन्, ‘अब यहाँबाट निस्किएपछि झनै धेरै गोटी खाइदिन्छु।’
सोबर बस्न थालेको महिना दिन बितिसक्दा पनि उनमा सुध्रिने सोच पलाएको थिएन। उनलाई सुधार गृहबाट निस्कनसाथ गोटी खाइहाल्नुथियो।
‘मैले सुध्रिन्छु भनेर सोचिनँ। सुधार केन्द्रबाट बाहिरिएर खाइदिहाल्छु भन्ने नेगेटिभ सोच थियो’, उनले भनिन्, ‘त्यसैले पनि होला म सुध्रिन सकिनँ।’
तीन महिनापछि सुधार गृहबाट निस्किएकी गीता एक महिनासम्म घरभित्र बसिन्। आमाले घरबाहिर हिँड्नै दिइनन्।
घरभित्रै बसेर उनले दुई महिना बिताइसकेकी थिइन्। छोरी सुध्रियो भनेर आमाले गीतालाई मोबाइल पनि किनिदिइन्।
६ महिनादेखि कुलतबाट मुक्त भएकी गीता मोबाइल पाएर खुसी थिइन्। तर मोबाइलको कारण उनको भेट फेरि पुरानै साथीहरूसँग भयो।
पुराना दौतरीहरूसँग कुराकानी हुन थालेपछि गीताको व्यवहार पनि बदलिन थाल्यो। झनक्क रिसाउनु र आमासँग निहुँ खोज्नु उनको दैनिकी बन्यो।
एकदिन सानो कुरामा गीता र आमाबीच विवाद भयो। त्यही रिस र सुधार केन्द्र पठाएको इखले उनले फेरि गोटी खान थालिन्। डोज बढाएर।
‘सुधार केन्द्र जानुअघि मैले २ वटा मात्र गोटी खान्थें तर घर फर्किएपछि दिनकै ५ वटासम्म गोटी खाइदिन्थें’, उनी भन्छिन्, ‘रिसले झोक्मा मैले नशाको डोज बढाइदिएँ।
दोस्रो पटक कुलतको लतमा फसेकी गीता घरबाट हराउन थालिन्। उनी घरभन्दा धेरै सडक र आमाभन्दा धेरै साथीहरूसँग समय बिताउँथिन्।
‘मैले कयौं रात भोकभोकै सडकमा बिताएँ। घर जान मनै नलाग्ने’, गीताले बताइन्।
करिब एक महिना साथीहरूसँग सडकको बसाइँपछि उनी घर फर्किइन्। छोरी घर आएको मौका छोपेर आमाले सुधार केन्द्रलाई फोन गरिन्।
सोही दिन। साँझ पाँच बजेतिर। उनी घरमा आराम गरिरहेकी थिइन्। त्यहीबेला सोबरबाट आएका मान्छेले उनलाई गाडीमा बसाल्यो। र, फेरि सोबर पुर्यायो।
‘दोस्रो पटक पनि मलाई सुधार केन्द्र जाने रहर थिएन। तर झुक्काएर लगियो।’, दुई वर्षअघिको कुरा सम्झिएर गीता भन्छिन्, ‘त्योबेला पनि मेराे इच्छाबिना लगिएकाे थियाे।’
सुधार गृहबाट निस्किएको पाँच महिनापछि सोबर पुग्दा झनै रिसाएकी थिइन् गीता। तथानाम गाली बोलिन्। तर सोबरबाट निस्किन सकिनन्।
‘म जति चिच्याए मेरो कुरा कसले सुन्थ्यो र! त्यसपछि म आफैं विवश भएर बसें’, उनले भनिन्, ‘सोबरबाट भाग्न चाहन्थें तर मेरो लागि असम्भव थियो।
दोस्रो पटक सोबर जाँदा उनको डोज पनि बढेको थियो। त्यसैले उनलाई धेरै समस्या पनि भयो। ‘मैले कति दिन राम्रोसँग खान र सुत्न सकिनँ’, गीता भन्छिन्, ‘शरीर पूरै कमजोर भएको थियो।’
जसोतसो उनले एक महिना सोबरमा बिताइन्। सोबरमा रिकभरि भइरहेका आफूभन्दा ठुला दिदीहरूसँग समय बिताउन थालिन्।
उनीहरूको कुरा सुन्न थालिन्। त्यसपछि उनको मनमा सकारात्मक सोचहरू आउन थाले। गीताले आफैंसँग भन्न थालिन्, ‘बिग्रिएर केही हुँदैन। अब म सुध्रिनुपर्छ।’
त्यही सोचको कारण अहिले नशामुक्त छिन् गीता। र, दुई वर्षदेखि सोबरमा सुध्रिन आएकाहरूलाई ‘गाइडलाइन’ गर्देछिन्।
‘यदी म बाहिर हुन्थें भने फेरि खाएर हिडिसक्थें होला तर आज म कुलत मुक्त छु’, खुसी हुँदै उनले बताइन्।
कुलतले निल्यो ‘नर्स’ बन्ने सपना
सानोबेला गीताको सपना थियो नर्सिङ पढ्ने। जुन सपना उनले बुबाकाे कारण देखेकी थिइन्। कान्छी छाेरीलाई नर्स बनाएर फार्मेसी खाेल्न चाहन्थे बुबाले।
तर गीताले बुबाकाे सपनालाई तासकाे घरजस्तै भत्काइदिइन्। उनले त्यस्तो बाटो पछ्याएकी थिइन्, जहाँबाट उनले असफलताबाहेक केही पाइनन्।
नशाको लतमा लागेकी उनले कक्षा–८ पढ्दा–पढ्दै पढाइबाट विश्राम लिइन्। ‘कुलतमा फसिसकेपछि पढ्नुमा ध्यान नजाने रहेछ। अहिले सम्झिदा पछुतो लाग्छ’, उनी आफ्नो दुखेसो पोख्छिन्।
आफ्नै कारण कुलतको दुनियाँमा फसेकी गीतालाई अहिले आफ्नोभन्दा धेरै बुबाआमाको चिन्ताले पिरोल्ने गर्छ।
अहिले गीताको बुबा पक्षघातको रोगी बनेका छन्। जसको कारण उनी आफैंलाई बताउँछिन्।
‘मेरो बुबा पहिले एकदमै निरोगी हुनुहुन्थ्यो तर मेरो पीरले उहाँ बिरामी हुनुभयो’, उनी भन्छिन्, ‘मैले मेरो बुबाआमालाई धेरै दुःख दिएँ। मैले ड्रग्स खाएँ सजाय मेराे बाउले भाग्नुपर्याे।’
आफूले रोजेको गलत बाटोको कारण समाजको अगाडि बुबाआमाको शीर निहुँरिएको उनको भनाइ छ। अब त्यही शीरलाई उठाउने उनको लक्ष्य बनेको छ।
दुई वर्षसम्म कुलतको दुनियाँमा आफूलाई गुमाएकी गीता अब भने बुबाआमालाई सुख दिन चाहन्छिन्।
‘सुधार केन्द्रबाट निस्किएर म ब्यूटी सम्बन्धिको तालिम लिन्छु अनि ब्यूटी पार्लर खोलेर बस्छु। अब फेरि कुलतको बाटोमा हिँड्ने छैन’, उनले आफैंसँग वाचा गरेकी छन्।
(माथि लेखिएको पात्रको नाम फेरिएको हो)