दार्जीलिङमा सन् १९८७ मा 'गोर्खाल्याण्ड आन्दोलन' ले अत्यधिक उग्र रूप लियो– हिंसाको।
दार्जीलिङको भूमिमा बृटिशको पालामा निर्मित कति निधि, धरोहरहरू बंगाल सरकारको सम्पत्ति हो भनेर त्यहाँका गोर्खाहरूले आगो लाएर भष्मीभूत परिरहेका थिए। सीआरपी र गोर्खाहरूबीच भिडन्त भइरहेको थियो। दार्जीलिङका धेरै गोर्खाहरू उक्त भिडन्तमा 'गोर्खाल्याण्ड' का लागि शहीद भइरहेका थिए।
यता शिलोङमा पनि 'खासी छात्र संघ' को नेतृत्वमा खासीहरूले गाईगोठ जलाइदिएका, नेपालीभाषीहरूलाई हत्या गरिरहेकोमा मेरो हृदय आहत भइरहेको थियो। अरू हाम्रा मानिसलाई पनि यस्तै दु:खद् अनुभूति भइरहेको थियो।
यसै कारण त्यस बेला टेलिभिजनमा दार्जीलिङमा गोर्खाहरूले निधि, धरोहर जलाएको देखेर म मनमनै खुशी भएर भन्ने गर्थेँ, 'सुवास घिसिङले ठीक गरेको छ। बल्ल गोर्खाहरूले योग्य नेता पायो।' तर अहिले मलाई लाग्छ- बंगाल सरकारको सम्पत्ति दार्जीलिङका त्यसबेलाका गोर्खेहरूले जलाएनन्, बरु आफ्नै भूमिमा भएको सम्पत्ति जलाए।
त्यसबेला 'ब्लेक एण्ड ह्वाइट टीभी' को जमाना थियो तर सबैको घरमा यो मोडलको टिभी थिएन। कसै–कसैको घरमा मात्र थियो। जसको घरमा यो टीभी थिएन, त्यस घरका मानिस टीभी हेर्न त्यही घरमा जान्थे, जुन घरमा टीभी छ।
हाम्रो घरमा थिएन अनि म छ्मेकीको घरमा मौका पाएपछि टीभी हेर्न जान्थेँ। छिमेकी हुन्– प्रान्त–प्रान्तमा अविभाजित भएको सिंगो असममा सबैभन्दा पहिला नेपालीभाषीहरूबीच मणिसिंह गुरुङले निकालेका साप्ताहिक पत्रिका 'गोर्खा सेवक' का अक्षर-विन्यासकार भीमसिंह नगरकोटी।
उनकी जेठी छोरी सरस्वती प्रधान र म टीभीमा दार्जीलिङमा घर जलाइएको दृश्य देख्दा तथा समाचार सुन्दा खुशी हुन्थ्यौँ। सरस्वतीले भन्थिन्, 'सुवास घिसिङले ठीक गरेको छ।'
म भन्थेँ, 'गोर्खाल्याण्ड हामीले पाउनुपर्छ। हाम्रो अस्तित्व रहन्छ।'
सन् १९८८ आयो। त्यतिबेला जयन्तिया पहाडका जङ्गलमा गाईगोठ पालेर बसेका, खेतीपाती गरेर बसेका नेपालीभाषीहरूले शिलोङमा शरण लिन आएपछि यिनीहरूको संख्यामा बढोत्तरी भयो। अनि मेघालय सरकारले बाध्य भएर शिलाङको झालुपाडास्थित श्मशानघाटमा बाँसादिद्वारा निर्मित शरणार्थी शिविरहरू खडा गऱ्यो। अनि हजारौँको सङ्ख्यामा नेपालीभाषीहरू शरणार्थी भएर ती शरणार्थी शिविरहरूमा बस्न लागे।
ती शरणार्थी शिविरहरूमा शरणार्थी भएर दूर्दिन बिताइरहेका नेपालीभाषीहरूको अनुहारमा खुशी थिएन। ओठमा मुस्कान थिएन। दार्जीलिङका गोर्खाहरूका अनुहारमा पनि खुशी र ओठमा मुस्कान थिएनन् तर पछि यी सबै उनीहरूले पाएँ। पाएकोमा नाँचे। गीत गाए। कारण सुवास घिसिङ र बङ्गाल सरकारबीच सम्झौता भएर दार्जीलिङका गोर्खाहरूले, 'शरणार्थी शिविर' होइन, पाएका थिए- 'दार्जीलिङ गोर्खा पर्वतीय परिषद्' ! इङ्गलिशमा भन्नुपर्दा– 'दार्जीलिङ गोर्खा हिल कउन्सिल'।
यसपछि यस काउन्सिलका सर्वेसर्वा भए- सुवास घिसिङ, जसले चिहानमा पुग्ने बेलासम्म पनि शिलोङका गोर्खाहरूलाई कहिल्यै सम्झेनन्। दु:ख र लाजको कुरा- दार्जीलिङबाट 'गोर्खाल्याण्ड' लाई लिएर धेरै पुस्तकहरू लेखिए तर ती पुस्तकहरूमा शिलोङका गोर्खाहरू विषयक एक अक्षर पनि वर्णन गरिएन।
सुवास घिसिङले 'गोर्खाल्याण्ड' को सम्बन्धमा उपन्यास लेख्यो भनेर उपन्यासकार भगीरथ रावतलाई १ लाख रुपियाँको पुरस्कार दिए। उपन्यासको नाम हो- 'अनि बास सल्किरहेछ'...तर यो उपन्यासमा शिलोङका वा भनौँ, खासी पहाडमा बसोबास गरेका गोर्खाहरूका सन् १९८७ देखि १९८८ सम्म बास सल्किएको कथा लेखिएको छैन।
उसरी मैले उल्लिखित सन्मा खासी पहाडमा भारतीय गोर्खाहरूमाथि घटेको आगोसरी घटनाको सानो झिल्का, फिलिंगो मात्र तपाईँहरूका लागि यहाँ लेखिदिएँ। आफ्नो जातिको दु:खद् इतिहास बुझ्न नखोज्ने तर गोर्खे नेता भई टोपल्ने एवम् यी गोर्खे नेताहरूका चम्चे हुनेहरूको अन्धा आँखामा पनि बुझ्ने प्रकाश हालिदिन खोजेँ।
यति पनि लेखिदिएँ– अस्वस्थ हुँदाहुँदै। यदि उल्लिखित घटनाहरूलाई सिंगो रूपमा बटुलेर एवम् उक्त घटनाहरूमा परेका र अझसम्म जीवित रहेका नेपालीभाषीहरूसँग शोधखोज गरी लेखे एउटा ठूलो किताब नै तयार हुन्छ तर कसले लेख्ने?
भारतीय नेपाली साहित्यका लेखकहरूबीच गुटबन्दी छ। गोर्खे नेताहरू अनि यिनका चम्चेहरू आपसमै हानाहान र तानातानमा व्यस्त छन्। 'गोर्खाल्याण्ड' पाउन कहिले हो...खोई कुन्नि!
सन् १९८७/८८ मा खासी पहाडमा घटेको घटनाको भुँग्रोमा भारतका गोर्खाहरू मात्र परेनन्। नेपालमा बस्ने नेपाली पनि परे तर उनीहरूको नागरिकपत्र नेपालको भएको हुनाले उनीहरू त्यस बेला नेपाल भागे तर जसका थिएनन्, उनीहरू शिलोङको शरणार्थी शिविरमा बस्न बाध्य भए।
जाने कहाँ? तैपनि नेपालको नागरिकपत्र नहुने कतिपय खासी पहाडका नेपालीभाषीहरू नेपालमा पुगेका थिए– उक्त काण्ड भएको बेला नेपाल सरकारले आश्रय दिन्छ कि भनेर तर नागरिकपत्र दिएनन्। कति त भारत फर्के।
सन् १९९७ म पहिलोपल्ट नेपाल पुगेको बेला गौतम बुद्ध जन्मेको स्थल हेर्न भनेर लुम्बिनी पुगेँ। पुगेको बेला गौतम बुद्ध जन्मेको स्थलदेखि विपरीत मूल बाटोको छेवैमा १०० नेपालीभाषी परिवारहरूले शरणार्थी भएर आफैद्वारा निर्मित झुप्रो घरमा दुर्दिन बिताइरहेका थिए।
ती शरणार्थीहरू अरू कोही नभएर सन् १९८७-१९८८ मा खासी पहाडमा घटेका घटनाबाट पीडित भएका र यतै जन्मेका नेपालीभाषीहरू थिए। मैले ती पीडित परिवारका मुखियासँग भेट गरेर उनीसँगै चिया खाँदै उनको 'इन्टरभ्यू' लिएको पनि थिएँ। उनले मलाई बताएका थिए, 'नेपाल सरकारसँग नागरिकता पाउन हाम्रो संघर्ष जारी छ।'
'जीविका कसरी चल्दैछ' भनेर सोध्दा भनेर उत्तर पाएको थिएँ, 'कुल्ली काम गर्छौँ। गिट्टी बनाउन ढुङ्गा फोड्ने काम गर्छौँ।' त्यसबेला मैले एकजना भर्खरकी केटी मेरै अगाडिबाट ढुङ्गा फोड्ने काम गर्न भनेर गइरहेकी थिई। उसलाई देखेर मलाई दु:ख लागिरह्यो....दु:ख लागिरह्यो।
उपसंहार
'बंगलादेशको युद्ध' ले गर्दा बंगलादेशका लाखौं बंगाली मुसलमानहरू शरणार्थीको रूपमा भ़रतमा प्रवेशिए। यिनीहरूलाई लखेट्न भनेर सन् १९७९ मा 'असम आन्दोलन' अखिल असम छात्र संघद्वारा थालियो। यो रोग मेघालयमा सन् १९७९ मा फैलियो।
सन् १९७६-१९८७ मा यो रोग मेघालयमा व्यापक रूपमा झन् फैलियो । यसैले गर्दा 'गोर्खाल्याण्ड आन्दोलन' को जन्म भयो। यी सबै हुनुको पछि मूल कारण हो- 'बंगलादेशको युद्ध...बंगलादेशको युद्ध...'
भाग-१ः गोर्खाल्याण्डको मागमा युवाको जीवनोत्सर्ग