उपन्यास 'माटो बोल्दो हो' को प्रसङ्ग र 'बिग बाङ' 

मैले कलेजको मुख देख्नै पाइनँ। शिलोङको सरकारी हाइस्कूलमा नौ कक्षा पढ्दै थिएँ– घरमा आर्थिक विपन्नताले सताएपछि दाजुले मेरो स्कूलको 'फी' दिन सक्नुभएन। मेरो पढाइ छुट्यो।

यसै कारण मैले दिनमा नोकरी गरेर रातीको स्कूल पढेर उच्च शिक्षा लिन्छु भन्ने सोचेँ। यसै कारण मैले हेडमास्टर हेस्टिंग (त्यसबेला उनी हेडमास्टर थिए)- लाई भनेर आठ पास गरेको अस्थायी 'सार्टिफिकेट' क्लर्कबाट टाइप गराई निकालेँ।

उक्त सार्टिफिकेटमा 'पोभर्टी' भनेर एक ठाउँमा लेखिएको छ। यसको अर्थ हो - गरीबी, दरिद्रता। यो सन् १९६६ को कुरा हो।

यही 'सार्टिफिकेट'को भरमा मैले 'सिभिल' नोकरी खोज्न भनेर 'इम्प्लोयमेण्ट एक्सचेञ्ज' मा आफ्नो नाम दर्ता गर्न पुगेँ तर मैले 'सिभिल' नोकरी पाइनँ।

कारण त्यसबेला मेरो उमेर सरकारी नोकरी गर्ने उमेरको थिएन। उक्त 'एक्सचेन्ज'ले मेरो नाम दर्ता गर्न मानेन। म त्यसबेला १७ वर्षको ठिटो थिएँ। दर्ता गर्नका लागि उमेर १८ वर्षको हुनुपर्दो रहेछ।

त्यसै साल शिलोङका हाम्रै समुदायले रातीको स्कूल खोलेको थियो। मैले यस स्कूलको बारेमा लामै लेख लेखिदिएर पहिल्यै पोष्ट गरिदिइसकेको छु। म यस स्कूलमा भर्ती भएँ।

उक्त स्कूलमा दिनुपर्ने 'फी' मेरा भिनाजु मेनसिंह थापाले 'मनी–अर्डर' गरेर पठाउनुहुन्थ्यो– महिनावारी। मैले यही स्कूलबाट 'प्राइभेट' विद्यार्थीको रूपमा 'म्याट्रिक' परीक्षा दिएँ तर परीक्षा दिँदा एउटा विषय दिन सकिनँ– बिरामी परेकाले।



भारतको स्वतन्त्र आन्दोलनमा 'स्वतन्त्रता सेनानी' बनेका असमका नेपालीभाषी



अनि म फेल भएँ तर उक्त सार्टिफिकेट मलाई काम आयो– गोर्खा पल्टनमा भर्ती हुन। अनि म सन् १९६८ मा गोर्खा पल्टनमा भर्ती भएँ। यसै कारण मैले आफूलाई आठ पास गरेको अधकल्चे पढेको मान्छे मान्छु।

म अधकल्चे अल्पशिक्षित सिपाही। यसै कारण त्यस बेला मैले राम्ररी शुद्ध रूपमा नेपाली लेख्न जान्दिनथेँ। इंगलिशको त कुरै नगरे हुन्छ। अहिले पनि म इंगलिशमा चिल्लोराम छु।

मलाई लेखक हुने रहर थियो। यसै कारण १५ वर्षसम्म फौजमा फौजी जीवन बाँचेको बेला मैले नेपाली शुद्ध लेख्नेतिर ध्यान दिएँ। छुट्टीमा घर आउँदा नेपाली कसरी शुद्ध लेखिन्छ भन्नेजस्ता नेपाली पुस्तकहरू किन्ने गर्थेँ।

शुद्ध लेख्ने अभ्यास गर्थेँ तर म अझसम्म शुद्ध नेपाली लेख्न सक्तिनँ। काम चलाउने किसिमसम्मको चाहिँ लेख्न सक्छु। लेख्दैछु पनि।

हाम्रा समुदायका तन्नेरी, अविवाहित गोर्खेफौजीहरू छुट्टीमा घर आउँदा धेरैजसोले रक्सी, तरुनीको पछि लागेर तरुनीलाई डुलाउनेतिर समय बिताउँछन् तर मैले तरुनीलाई कहिल्यै डुलाउने काम गरिनँ– त्यो तन्नेरी उमेरमा। हो, त्यसबेला मेरो तन्नेरी उमेरमा दुईजना युवतीहरू मेरो जीवनमा आए तर तिनीहरूलाई मैले जहिले पनि उच्चतामा राखेँ।

तिनीहरूले पनि मलाई उच्चतामा पुऱ्याउने भूमिका खेले। तिनीहरूलाई मेरो धेरै–धेरै चोखो माया। ती युवतीका नाम हुन्- राधिका प्रधान अनि देवुमाया भुजेल।

राधिका प्रधान त दिवंगता भइन्। देवुमाया भुजेल अझसम्म जीवित छिन् तर अविवाहित। मसँग फेसबूकमा जोडिएकी पनि छिन्। यो लेख पनि तिनले पढ्ने भइन्।

म तिनलाई भेट्न म तिनको घरमा बेला–बेलामा जान्थेँ तर अब इच्छा भएर पनि जान नसक्ने भएँ।



'प्रेमले संसार जोड्छ, सिद्धान्तले संसार फोड्छ'



मैले लेखिहालेँ- म अधकल्चे पढेको मान्छे। यही मान्छेले हिजो उपर्युक्त शीर्षकमा लेख लेख्ने भएको छु भनेर तपाईँहरूलाई जानकारी दिएको थिएँ।
मैले थालनीमै लेखिहालेँ- मैले कलेजको मुखै देख्न पाइनँ।

कलेजको मुखै देख्न नपाउने मान्छेले उपन्यास 'माटो बोल्दो हो'-को सन्दर्भमा 'बिग ब्याङ' को कुरा गर्नु वा लेख्नु हास्यस्पद कुरा हो– कारण कलेजको मुख देखेका।

युनिभर्सिटीका मुख देखेका हाम्रा कतिपय शिक्षित व्यक्तिहरूलाई पनि 'बिग ब्याङ' विषयक थाहा छैन। फेसबूकमा लेख नपढ्ने, तरुनीहरूको फोटो हेरेर मक्ख पर्ने साधारण गोर्खेहरूलाई त झन् के थाहा होस्!

ममा सानैबाट केही जान्ने जिज्ञासा रहन्थ्यो। यसै कारण कसैले चित्र बनाएको देखेँ भने त्यो चित्र नहेरेर त्यो चित्र कसरी बन्दैछ भन्नेतिर मेरो जिज्ञासा रहन्थ्यो। यसै कारण म चित्रकार हुनसकेँ।

लेखक हुनुमा पनि यही कुरा छ। मैले वेश्या हुने कुनै पनि युवतीलाई वेश्या देखिनँ। पवित्र युवती देखेँ। वेश्या त मैले ऊ किन वेश्या भई भन्ने परिस्थितिलाई देखेँ।

यिनै परिस्थिति देखाउन कथा-संग्रह 'बीसौँ शताब्दीकी मोनालिसा' लेखेँ जसमा वेश्या हुन पुगेका चार जना युवतीको भिन्न–भिन्न परिस्थितिको चार वटा कथा समावेश गरेको छु। मलाई लाग्छ- यसैकारण मैले 'साहित्य अकादेमी पुरस्कार' पाएँ।

मेरो कुनै पनि कुरामा जिज्ञासा राख्ने बानी भएकोले मलाई जहिले पनि जिज्ञासा रह्यो- यो विश्व-ब्रह्माण्ड कसले रचे? यही जिज्ञासाको सत्यापनलाई मैले सन् २००५ मा उपन्यास 'माटो बोल्दो हो' लेख्दा यस उपन्यासमा प्रश्रय दिन चाहेँ।



'खासी छात्र संघ'माथिको त्यो दमन



मेरो कानमा पर्थ्यो- यो विश्व-ब्रह्माण्डको रचना अमूक-अमूक भगवानले रचेका हुन्। अमूक-अमूक धर्मग्रन्थमा यो कुरा लिखित छ भनेर। अमूक-अमूक धर्म ग्रन्थ भनेपछि यी धर्मग्रन्थ मान्ने।

धर्मावलम्बीहरूले आफ्नै भगवानको मात्र बढाइ, प्रशंसा गर्ने भए अनि त विश्व-ब्रह्माण्डको सृष्टि हुने कुरामा मतान्तर हुनेछ भन्ने मैले बुझेँ तर मलाई चाहिएको थियो– मतान्तर नभएको एउटै सत्य कुरा।

मैले कताकता 'बिग ब्याङ' को कुरा सुनेको थिएँ। यसमा विश्व-ब्रह्माण्ड कसरी सृष्टि भयो भन्ने कुरा लेखिएको छ भनेर तर मलाई त्यसबेला यो थाहा थिएन कि 'बिग ब्याङ' कुनै वैज्ञानिकको नाम हो कि सूत्रको नाम हो।

यही भएर मैले नोंगथुमाई नेपाली हायर सेकेण्डरी स्कूल, शिलोङमा विज्ञान पढाउने र हिसाब सिकाउने शिक्षक अमर लिम्बूलाई 'बिग ब्याङ' बारे सोधेँ। उनले 'बिग ब्याङ' मा विश्व-ब्रह्माण्डको सृष्टि भएको कुरा छ भने तर कसरी भएको छ भनेर बताउन सकेनन्।

यही कुरा डा. माधवप्रसाद थापाले पनि भनेँ तर यही किसिमले विश्व-ब्रह्माण्ड सृष्टि भएको हो भनेर मलाई बताउन सकेनन्।

डा. माधवप्रसाद थापा शिलोङका हुन्। त्यस बेला उनले सिक्किम गभर्मेन्ट कलेज, तादोंग (गान्तोक)-मा पढाउँथे। मैले उनलाई सोधेको बेला उनी आफ्नो घर शिलोङ आएका थिए। यो सन् २००५ को कुरा हो।



सुवास घिसिङ भेट्न 'फण्ड' जुटाएर अमरेश पुगे दार्जीलिङ



त्यसबेला फोर–जी मोबाइल को जमाना थिएन। भएको भए यही मोबाइलको माध्यमबाट 'बिग ब्याङ' बारे  गूगल क्रोम आदिमा खोज्ने थिएँ। अनि विश्व-ब्रह्माण्डबारे उपन्यास 'माटो बोल्दो हो' मा वर्णन गर्ने थिएँ तर सकिनँ।

पृथ्वीको उत्पत्ति, मानवको सृष्टिको उत्पत्तिबारे मात्र लेख्न सकेँ। यसको सत्यापन तपाईँहरूले उपन्यास 'माटो बोल्दो हो' मा परेका र यी पानामा सजिएका मेरा विचारहरू तपाईँले पढ्न सक्नुहुन्छ।

अहिले बल्ल मैले बुझ्दैछु- 'बिग ब्याङ' सूत्र हो ,थ्यारी हो जुन थ्योरीका प्रतिपादक हुन्- जर्जेस लेमाइट्रे...।

'बिग ब्याङ' को सूत्र अनुसार एउटै विन्दु फैलिएर,बढेर यो विश्व-ब्रह्माण्डको सृष्टि भएको हो। यही 'बिग ब्याङ' सूत्रलाई विश्वका सबै वैज्ञानिकहरूले मान्ने गरेका छन्। मान्ने कारण विश्व-ब्राह्मण्ड चिर निरन्तर हामीबाट टाढा हुँदै गइरहेका छन् अर्थात् फैलिँदैछन्।

फैलिने यही प्रक्रियाबाट यो विश्व-ब्राह्मण्ड एउटै विन्दुबाट फैलिएर यति विशाल भएका हुन्। यसैमा विज्ञान एक मत छ। यही भएर स्टेफेन हाउकिङले भनेका हुनन्- 'विश्व-ब्रह्माण्ड ईश्वरले रचेका होइनन्।'

तर विभिन्न धर्म मान्ने धर्मावलम्बीहरूले भने आफ्नै भगवानले विश्व-ब्रह्माण्ड रचेका भन्छन्। एक मत कुनै धर्मावलम्बीहरूको छैन। मतान्तर भएका हुनाले एउटै बिन्दुबाट जन्मेका एउटै कुटुम्बका मानव र मानवले 'तँ हिन्दू', 'तँ मुसलमान', 'तँ क्रिस्तान' भन्दै आपासमा मनोमालिन्य ल्याएर यो धरालाई ध्वंश-विध्वंश पार्न खोजिहेको छ।



जब गोर्खे बनाउन बुबाले 'मानव खोपडी' बोकाउनुभयो

बेलायतकाे घाेषित नीतिका कारण 'भिक्टोरिया क्रस' नपाएका करवीर पुन

प्रकाशित मिति: : 2021-04-22 06:57:00

प्रतिकृया दिनुहोस्