यो लेख विशेषगरी "जय गोर्खा" भनेर फुर्किने अनि "वीरको सन्तान" भनेर गम्किनेका लागि हो।
सन् २०१७-१८ कोबीच मैले "जय गोर्खा" भन्ने धेरै गोर्खेहरूबाट झटारो र गाली खाएको थिएँ कमेन्टमा- 'यो विक्रमले गोर्खाहरूको बदनाम गर्ने लेख मात्र हाल्छ भनेर।'
यस्तो भएका कारण दार्जिलिङ र असमका गोर्खेहरू त्यसबेला गोर्खामय र गोर्खाल्याण्डमय भएका थिए, जय विमल गुरुंगको चेला भएर। त्यसबेला सबैले विमल गुरुङलाई "जय विमल गुरुङ" भन्थे। तर अहिले धेरै गोर्खेले "हय विमल गुरुङ" भन्ने गरेका छन्, ममता दिदीको पुच्छर भयो भनेर।
यसपालिको चुनावमा उनले जिते उनी फेरि "जय विमल गुरुङ" हुनेछन्। हेरौँ|समयले के भन्छ?
अहिले यो मेरो लेख कुनै पनि गोर्खेलाई होच्याउने लेख होइन। पहिलापनि कुनै गोर्खेलाई होच्याएर लेखिन। लेखे सुतेको गोर्खेलाई ब्यूँझाउने लेख तर मेरो लेखको गहिराइलाई बुझ्ने गोर्खे कम्ती छन्। यस्तो भएको कारण हो- गोर्खे "हान्नु,तान्नुमा अगाडि तर छान्नुमा पछाडि" भनेर।
गोर्खेकोे बहादुरी गीत गाइदिए मात्र बरु मलाई "जय गोर्खेहरू" ले मन पराउनेछन् जस्तो मलाई लाग्छ। यसैकारण गोर्खेको बहादुरीको गीत गाउने यो लेख हो- मेरो जीवनसँग सम्बन्धित सत्य घटना। यसमा गोर्खेको बहादुरीको कथा लुकेको छ। यो लेख पढेर सबै गोर्खेहरूले मलाई कमेन्टमा लेख्नेछन्, "वाह विक्रम! विक्रमले यस लेखमा गोर्खेको बदनाम गर्ने लेख लेखेन। बहादुरीको कथा लेख्यो। स्याबास विक्रम।"
मेरो जीवनसँग सम्बन्धित यो सत्य घटना मेरी आमाले म सानो छँदा मलाई सुनाउनुभएको हो,जो मेरो मानसपटलमा अझसम्म अमेट रूपमा अंकित छ। सत्य घटना यो हो, तर सत्य घटना लेख्नुभन्दा केही पृष्ठभूमि-
म जन्मेको गाउँ बारपत्थरको नजिक। आधा किलोमिटरभन्दा टाढा छैन। त्यहाँ गोर्खा श्मशानघाट लगायत चाइना, क्रिस्तान, मुस्लिम अनि मारवाडीका श्मशानघाट पनि छन्।
मेरा बाबा सुबेदार रघुवीर थापाले म दुई/तीन वर्षको छँदा मारवाडी श्मशानघाटमा मलाई लिएर जानुहुन्थ्यो। जाने कारण गाँजा तान्न। गाँजाको प्रसंगमा यो कुरा पनि जोडिदिन्छु-मेरा बाबु अत्यधिक रक्सी खाने भएर मुटु फुटी मर्नुभएको हो रगत छाडेर। गोर्खा पल्टनको पहिलो बटालियनमा भर्ती हुनुभएको। दोस्रो विश्व लड्नुभएको उहाँ आजका "जय गोर्खा"का लागि "बहादुर गोर्खा" हुनुहुन्थ्यो भनेर सम्झे हुन्छ उहाँलाई| पछि ८ गोर्खा राइफल्सको चौथो बटालियनबाट पेन्सन निस्कनुभएको।
अब गाँजा तान्ने प्रसंग- मारवाडी श्मशानघाटको देखरेख गर्न भनेर मारवाडी श्मशानघाटमा पक्का टिनले छाएको, भित्ता पनि पक्का टिनले बारिएको एउटै घर थियो म सानोमा छँदा। शिव भगवान्को मन्दिर पनि थियो। म गोर्खा पल्टनमा भर्ती भएर जाँदापनि त्यो घर थियो। मन्दिरपनि थियो तर अहिले त्यस घरको वरिपरि सिमिन्टेड घर पनि छन्। मन्दिर ठूलो बनाइयो। मन्दिरको छेउमा अहिले बर-पीपलका रूख छन्।
त्यही टिनले छाएको घरमा शरीरभरि खरानी घसेर बस्ने गर्थे एक्लै एकजना साधु। उनी साधुलाई सबैले "नागा बाबा" भन्थे। भन्ने कारण उनले आफ्नो अंगमा एउटै धजा पनि लाउने नगरेकाले। पछि हाम्रा गाउँका त्यसबेलाका गाउँलेहरूले उनलाई आग्रह गरे- नांगै नबसिदिन हुन। जवान छोरीहरू गाउँमा छन् भनेर। अनि उनले लँगौटी मात्र लाउने गरेका थिए।
मेरा बाबा त म चार वर्षको हुँदा मर्नुभएको। मलाई थाहै छैन बाबा कहिले मर्नुभएको। तर नागा बाबालाई भने म तन्नेरी हुँदासम्म मैले देख्नेगरेको थिएँ। कारण उनी धेरै वर्षसम्म बाँचेका थिए। मलाई देखेपछि खुशी हुन्थे अनि मलाई भन्थे-"तुम्हारा पिता रघुवीर मेरा अच्छा मित्र था।"
मित्र हुने कारण मेरा बाबाले उनीसँग गाँजा तान्ने गर्ने भएर। उनी चिलिममा गाँजा हालेर गाँजा तान्नमा सधैँ मस्त हुन्थे। उनीसँग सधैँ गाँजा हुनेगर्थ्यो। यही भएर मेरा बाबा मलाई लिएर गाँजा तान्न उनीकहाँ जाने गर्नुहुन्थ्यो। जो थालनीमा मैले वर्णन गरिदिइसकेको छु।
गाँजा तानेर घर फर्कि आउँदा बाबाले मलाई श्मशानघाटमा भेटाएको मानव-खोपडी बोकाएर घर आउनुहुन्थ्यो। म त सानो फुच्चे। मलाई के थाहा यो मानव खोपडी हो भनेर|
आमाले मेरो हातमा मानव-खोपडी देखेर डराउँदै भन्नुहुन्थ्यो-"यसलाई यो खोपडी किन बोकाएर ल्याउनुभएको?"
बाबाले भन्नुहुन्थ्यो-"यसको मनबाट डर भगाउन। बहादुर बनाउन। सानैदेखि मनबाट डर भाग्यो भने गोर्ख बहादुर हुन्छ। मेरो छोरा गोर्खा हो।गोर्खाको छोरा बहादुर हुनुपर्छ"
बहादुर हुनका लागि मेरा बाबुले मेरो हातमा "कलम" पक्राउनुभएन। "मानव खोपडी" पक्राउनु भयो।
धेरै गोर्खाहरू रक्सि र गाँजा पिउनमा माहिर थिए । यो कुरा राम्रो होइन । यसले अकाल मृत्यु ल्याँउछ । निशाबाट टाढा रहनु पर्यो । शिक्षामा गोर्खाहरूको रुचि कम्ति ।यो ठुलो गल्ति भयो । गोर्खा बहादुर गनिन्थ्यो । कलमको भन्दा दु:साहसीकताको शिक्षा राम्रो भन्थ्ये । शैली त सुन्दर छ तर त्यसमाथी कमेन्ट गर्ने मेरो साहस छैन । सर, मैले अलेली बुझें छु ?