'आजाद हिन्द बैंक' जसलाई 'इन्डिपेन्स बैंक' पनि भनिन्थ्यो। देवनागरी लिपिमा 'आजाद हिन्द बैंक' किंवा 'इण्डिपेण्डेन्स बैंक'। मलाई लाग्छ- तपाईहरू धेरैले 'आजाद हिन्द बैंक'को नाम सुन्नुभएको थिएन होला। न यसबारे पढ्नुभएको नै थियो।
'आजाद हिन्द बैंक' नेताजी सुभाषचन्द्र बोसले ५ अप्रिल १९४४ मा रंगुन, बर्मा आजको म्यान्मारमा स्थापित गरेका थिए। बैंक नेताजी सुभाषचन्द्र बोसले स्थापित किन, के कारणमा गर्नुपऱ्यो ?
गर्नुपर्ने पृष्ठभूमि यो हो– नेताजी सुभाषचन्द्र बोसले अंग्रेजको हातबाट भारतलाई आजाद गराउन भनेर अभियान चलाइरहेका बेला उनलाई सहयोग गर्न भनेर भारतलगायत अन्य देशहरूबाट पनि 'फण्ड' पठाउने गर्थे- भारतलाई अंग्रेजहरूको हातबाट मुक्त भएको हेर्न चाहने भारतीयहरूले। अरूले पनि सहयोग गरेका थिए।
यिनै 'फण्ड' हरूलाई जम्मा गर्न भनेर नेताजी सुभाषचन्द्र बोसले 'आजाद हिन्द बैंक'को स्थापना गर्नुपरेको थियो। यो बैंकलाई केही देश (१० वटाजस्तो लाग्छ) ले मान्यता दिएका थिए। बैंकले आफ्नो स्वतन्त्र बैंकको नाममा २ र ५ रूपैयाँको नोटबाहेक एक लाखदेखि १० हजारको नोट पनि छापेको थियो।
भारत सन् १९४७ मा स्वतन्त्र भएपछि नेताजी बोसले चलाएको नोट भारतमा व्यवहारमा ल्याउनुपर्छ भन्ने कुराको उठान भएको थियो। यी नोटहरूमा नेताजी बोसको फोटो भएको हुनाले भारतका तत्कालीन प्रधान मन्त्री जवाहरलाल नेहरुले व्यवहारमा ल्याउन दिएनन् कारण नेताजी बोसको फोटो देखेर भारतका जनताले उनलाई बिर्सिदिनेछन् भन्ने डरमा उनी परेर तर यसको पुष्टि भएको छैन।
केही वर्षअघि यसको चर्चा मिडियाहुँदी नभएको पनि होइन। केही वर्षअघि कुनै टीभी चेनलले दिएको समाचार एवम् सुभाषचन्द्र बोसकी छोरी हो कि वा कोही आफन्तसँग लिइएको अन्तर्वार्तामा भने मैले सुनेको हुँ- नेहरु सरकारले नेताजी सुभाषचन्द्र बोसका परिवारको पछि जासूस लगाएको थियो।
उक्त अन्तर्वार्ता मैले ध्यान लगाएर सुनेको थिएँ तर नोटको बारेमा भने नेहरूले बन्द गरेका हुन् भनेर पुष्टि नभएको हुँदा 'आजाद हिन्द बैंक' प्रति मैले ध्यानै दिइनँ- 'आजाद हिन्द बैंक' नामको कुनै बैंक छ भनेर । र, नै म 'आजाद हिन्द बैंक' लाई बिर्सिदिएकै स्थितिमा थिएँ तर अहिले बिर्सिसकेको स्थिति फेरि मेरो सम्झनाको चिहानबाट बौरी उठ्दैछ।
उठ्ने कारण हो साहित्यकार हरि धमलाको शोधात्मक पुस्तक 'धेमाजिका नेपाली जीवन' ले गर्दा...। अब म प्रासङ्गिक विषयमा आउँछु– उल्लिखित शीर्षकलाई लिएर।
यस शोधात्मक पुस्तकमा 'आजाद हिन्द बैंक' को दश हजार रुपैयाँको फोटो परेको छ। यही फोटोले गर्दा हरि धमालासँग यो नोट कहाँबाट भेटाएर उनले यस पुस्तकमा हाल्नसके भनेर मैले उनीसँग मोबाइल फोनमा जानकारी लिन चाहेँ। उनीसँग लिएको जानकारी म तपाईँहरूलाई बाँड्दैछु कतै तपाईँहरूले आफ्नो मस्तिष्कद्वारा यो जानकारी पचाउनु हुन्छ कि भनेर।
यस्तो लेखेका कारण धेरै गोर्खेहरूले पचाउँदैनन्। गोर्खेहरूको पचाउने कुरा 'जय गोर्खा... वीर गोर्खा' भन्ने बाहेक अरू केही छैन। शोधात्मक कुरा लेख्छु, पढ्छु भन्नेतिर भने ध्यानै छैन।
हाइकु, गजल, कविता, मुक्तकतिर बढी ध्यान छ। साहित़्यमा सबै विधा आउनुपर्छ तर कुन विधाले हाम्रो समाज, हाम्रो जाति संरक्षित हुन्छ, पुष्ट्याउँछ, त्यस विधामा बढी ध्यान दिनु आवश्यक छ जसले गर्दा 'एनआरसी' जस्ता समस्यासँग लड्न सकिन्छ।
दस्तावेज यस्ता समस्याहरूसँग जुझ्ने हतियार हो। खुकुरी होइन। अब खुकुरी रक्सीसँग मासु खाने भनेर मासु काट्ने बाहेक अरू काम आउँदैन। 'जय गोर्खे'लाई काम आए मात्रै कुर्लनका लागि- 'वीर गोर्खा... जय गोर्खा'..!
हरि धमला भन्छन्- 'सर, यो पुस्तकका लागि शोध मैले सन् २००० देखि २००७ सम्म गरेँ। शोध गर्दा विभिन्न ठाउँमा डुलेँ। धमलाजीमा हाम्रा पुर्खाहरूले यस्ता–यस्ता धरोहर छाडेर गएका छन् कि ती धरोहरहरूले बताउँछन् कि धमलाजीमा हाम्रा पूर्खाहरूले धेरै वर्षदेखि नै बसोबास गरेका थिए। मैले यी धरोहर हेर्न आउनुहोस् भनेर हाम्रा दिग्गज-दिग्गज साहित्यकार ,साहित्य सभा, संस्थालाई बोलाएँ तर कोही आएनन्। जगदग्नि उपाध्याय भने आए।
म हाँसेँ- 'यस्तै छन् हाम्रा साहित्यकारहरू! अरू गोर्खेको त कुरै नगरे हुन्छ।' अनि मैले सोधेँ-'तपाईँले शोध गर्दा तपाईँको शोधप्रति कतिले चासो राखे।'
उनले भने, 'कसैले चासो राखेनन्। यही भएर मेरो लेख्ने मन भएन। केही मित्रले पछि लेख्नुपर्छ भनेपछि सन् २०१६ मा बल्ल लेखेँ। छपाएँ– आफ्नै खर्चले।'
मैले सोधेँ- 'यो दस हजारको नोट तपाईँले कहाँबाट भेट्नु भयो?'
उत्तर दिँदै भने, 'मैले सन् दुइ हजारमा जजुमान कुमालेको घरमा भेटेको। जजुमान कुमाले जोगीसुतीडांधराका हुन्। मबाट धेरै टाढा छन्। पुग्न धेरै समय लाग्छ। अहिले म त्यहाँ गएको छैन। उनी छन् कि छैनन् भन्न सकिन्न। मैले भेट्दा जवान थिए। अहिले पनि होलान्। उनको घरमा जाँदा तुलसीराम पोखरेल उपाध्याय पनि मसँग गएका थिए।'
मैले फेरि सोधेँ, 'उनको घरमा यी नोट कसरी पुगे? तपाईँले उनलाई सोध्नुभएन?'
'सोधेको, सर !', उत्तर दिँदै भने, 'धेमाजीमा आजाद हिन्द फौजको सदस्य बनेका थिए, हाम्रा धेरै मानिस। आजाद हिन्द फौजसँग सम्बन्धित कुनै व्यक्ति धमलाजीमा आएर हाम्रा मानिसलाई आजाद हिन्द फौजका सदस्य बनाउँथे। आजदेखि सदस्य भयौँ भनेर प्रमाणको रूपमा यो रुपियाँ दिन्थे। अनि भन्थे, 'भारत आजाद भयो भने भारतमा यो नोट चल्नेछ।'
मैले भनेँ, 'यसको अर्थ यो कथा सन् १९४५ को हुनुपर्छ। त्यसो भए धेमाजीमा हाम्रा अरू मानिसका घरमा पनि यो रुपियाँ हुनुपर्छ।'
'खोजे भेटिनसक्छ तर मुश्किलले । कारण– अंग्रेज सरकारले यो कुरा थाहा पाएर यो नोट राख्नेहरूलाई सास्ती दिए। यसैकारण अंग्रेजको डरले धेरैजसो हाम्रा मानिसले यी नोटहरू जलाइदिए। आजाद हिन्द फौजसँग सम्बन्धित कागजपत्रहरू पनि जलादिए। कुन्नि कसरी, जजुमान कुमालेका घरमा यो नोट सुरक्षित रह्यो!'
अब म निचोडमा लेखिदिन्छु- धमलाजीजस्तो अभेक ठाउँमा त्यसबेला हाम्रा मानिस भारतलाई स्वतन्त्र बनाउन भनेर आजाद हिन्द फौजसँग सम्बन्धित थिए भने त्यसबेला असमका जम्मै नेपालीभाषीहरू पनि भारतलाई स्वतन्त्र गर्न स्वतन्त्र सेनानी भएका थिए।
तर, दु:खको कुरो ! आजका 'जय गोर्खा' भनेर नाक फुलाउने नवपिढीले भने यस्ता शोधात्मक कुराहरूतिर कहाँ ध्यान दिन्छ र? कविता लेख्यो। कविता-संग्रह निकाल्यो। विमोचन गऱ्यो। साहित्य सभा, संस्थाहरूले पनि यस्तैलाई पुरस्कार प्रदान गऱ्यो। शोधात्मक पुस्तक अनि कसले लेख्ने? लेखे पनि कसले पढिदिने? यसै कारण यस भूमिमा हाम्रा पर्खाले रोपण गरेका ऐतिहासिक निधि, धरोहर हाम्रै 'जय गोर्खे'बानीले गर्दा वटवृक्ष हुन पाएनन्। माटोभित्रै विलीन हुँदै गइरहेका छन्।
आफ्नो इतिहास नखोज्नेलाई, गोर्खा व्यक्ति, संघ, संगठन आदिलाई, ठाडो समालोचना । सहमत। इतिहास खोजनै पर्छ । तर यो लेखमा गोर्खा हुनुमा केहि आपत्ति देखीएन । सरको समालोचना सकारात्मक छ ।
सर हजुरले एतिहासिक तथ्यलाई लिएर राम्रो वर्णन गर्नू भएको रहेछ । पढेर धेरै राम्रो लाग्यो । आजाद हिन्द बारे नयाँ जानकारी तपाईं बाट जान्नु पाएँ । आजाद हिन्द फोजका १०००० रूपियाँ यो एउटा एतिहासिक सबुत हुनेछन् सम्पुर्ण गोर्खाली हरूको लागि ।