बंगलादेश युद्धदेखि गोर्खाल्याण्ड आन्दोलनसम्म

सुवास घिसिङ भेट्न 'फण्ड' जुटाएर अमरेश पुगे दार्जीलिङ

भाग--७ मा लेखेको थिएँ-
सन् १९८६ को जनवरी-फरवरी महिनामा मेघालयको जयन्तिया पहाडका कोइलाखानीहरूमा काम गर्ने नेपाली मजदुरहरूलाई मेघालयको सिमाना कटाउन भनेर मेघालय पुलिसले अमानवीयपूर्ण ढंगले उनीहरूलाई बलपूर्वक ट्रकमा कोचारेको। 

रामसरी मगरनी आफ्नो लोग्नेबाट बिछोडिएर पल्टनबजारमा स्थापित अस्थायी शरणार्थी शिविरमा आइपुगेकी। नानी जन्माएकी। जयन्तिया पहाडका कोइलाखानीहरूमा काम गर्ने नेपाली मजदुरहरूमाथि घटेको घटनाले गर्दा 'गोर्खाल्याण्ड आन्दोलन' गर्ने सूत्र सुवास घिसिंगले पाएको।  क्यासेट निकालेको। सार्क मिटिंग भएको।

'अखिल शिलांग नेपाली छात्र संघ'-को तर्फबाट दिवंगत आनन्दकुमार थापाले पोष्टर लेखेको। शिलांग शहरको ठाउँठाउँमा पोष्टरिंग भएको।  पोष्टरिंग अर्थहीन भएको। सुवास घिसिंगले 'गोर्खाल्याण्ड आन्दोलन'-को थालनी गरेको। नेपालका 'नेपाली' अनि भारतका 'गोर्खा' भनेर एउटै रगतमा सीमारेखा कोरिएको।  यही सीमारेखाको वर्णन गरेर  भाग-७ मैले टुंग्याएको थिएँ। 



'गोर्खाको लाश गाड्ने माटो हुनुपर्छ'



वास्तवमा नेपालका 'नेपाली' र भारतका 'गोर्खा' भनेर वर्गीकृत गरिएन भने भारतमा बस्ने शंकालु समुदायको सोचाइमा भारतीय नेपालीहरू नेपालका 'नेपाली' हुने अनि 'विदेशी' ठहऱ्याइनेछ भनेर नै सुवास घिसिंगले भारतीय नेपालीहरूको चिन्हारी  'नेपाली' नभनेर 'गोर्खा' दिनु उचित ठानेका थिए। चिन्हारी दिए।  फलस्वरूप आज भारतीय नेपालीहरूको मानसिकता 'नेपाली' नभएर 'गोर्खा' भएको छ। यो मानसिकता बोक्ने गोर्खाहरूले आफ्नो पुर्खाको देश चिन्दैनन्  । आफूलाई सोझै आकाशबाट भारतमा झरेको सम्झन्छन्!

अब भाग-८ यसरी अगाडि बढ्छ-

यस भागबाट म भारतीय नेपालीहरूलाई 'गोर्खा' भनेर प्रयोग गर्छु। 

उता दार्जीलिङमा सुवास घिसिंगले 'गोर्खाल्याण्ड आन्दोलन'-को  थालनी गरेपछि यता शिलांगका 'अखिल शिलांग नेपाली छात्र संघ'-का कुनै सदस्यले  'गोर्खाल्याण्ड'-का लागि फण्ड पठाउने सोचाइ राखे। यसै विषयले गर्दा यस संघका सदस्यहरू दुई गुटमा बाँडिए। 

एउटा गुटको भनाइ थियो--'फण्ड नपठाउने। पठाए यहाँकाहरूले हामीमाथि नराम्रो दृष्टि राख्नेछ यसैकारण यहाँकाहरूले थाहा नपाउने गरी भित्रभित्र गोर्खाल्याण्ड आन्दोलनलाई मोरल सपोर्ट गरिरहनुपर्छ। फण्ड (चन्दा) नउठाउने।'

अर्को गुटको भनाइ थियो--'फण्ड जमा गरेर फण्ड दार्जीलिङ पुगी सुवास घिसिंगको हातमा दिने।'



बेलायतकाे घाेषित नीतिका कारण 'भिक्टोरिया क्रस' नपाएका करवीर पुन



दुई गुटमा कुरा नमिल्दा यस संघका सचिव रामशरण गौतमले सचिवको पद त्यागिदिए अनि यस संघका सचिव भए- अमरेश थापा।  यिनै अमरेश थापा 'फण्ड' लिएर सुवास घिसिंगलाई भेट्न दार्जीलिङ पुगेका थिए भन्ने कुरा छ। यो घटना सन् १९८६ को हो। 

यसघरी म अर्थोराइटिस्टको रोगले गर्दा राम्ररी हिँड्न सक्तिनँ। यो लेख पनि ओछ्यानमा बसेर ३४ वर्षअघिका घटनाहरूलाई सम्झनाको घेरोमा ल्याउने मेरो बुढ्यौली प्रयास मात्र हो। अहिले म राम्ररी  हिँड्न सक्ने र रामशरणलाई भेट्नसक्ने स्थितिमा भएको भए उनीसमक्ष पुगेर उनीसँग सोध्ने थिएँ- अमरेश थापाबाट ती बेला कस्तो गतिविधि भएको थियो भनेर अनि तपाईँहरूले त्यसबेलाको उक्त संघको यथार्थ चित्र यहाँ चित्रण गरिदिने थिएँ। 

अमरेश थापालाई भेटूँ भने उनी बादलपारिको देशमा बास बस्नपुगेका छन्। उनी दार्जीलिङ चाहिँ पुगेका थिए तर उनले सुवास घिसिंगलाई भेटे कि भेटेनन्  । 'फण्ड' दिए कि दिएनन् ,मलाई स्पष्ट थाहा छैन। 

उता दार्जीलिङमा गोर्खाल्याण्डको आन्दोलन। यता 'खासी छात्र संघ'-ले गोर्खाल्याण्डको नाममा व्यूह-रचना रचिरहेको थियो खासी पहाडमा बस्ने गोर्खाहरू 'डखार' हुन्। डखारलाई खासी पहाडबाट लखेट्नुपर्छ भनेर। 'डखार' शब्द खासी भाषा हो। अर्थ--'खासी नभएर अरू जाति....बाहिरिया...। व्यूह-रचना रच्ने कारण 'खासी छात्र संघ'-लाई डर थियो कतै शिलांगका गोर्खाहरूले यहाँ पनि गोर्खाल्याण्ड माग्छ कि भनेर। 
यही निहुँमा 'खासी छात्र संघ'-ले शिलांगका गोर्खाहरूमाथि  दोषारोपण गरेका घटनाहरू थुप्रै छन् सन् १९८६ मा यसैकारण यी  घटनाहरूलाई मेटाउन,सच्याउन  भनेर 'अखिल नेपाली छात्र संघ'-ले 'खासी छात्र संघ'-सँग भेट्ने काम पनि गरेको थियो मेलमिलाप गर्न अनि भेटेको कुराबारे शिलांगका गोर्खाहरूलाई अवगत गराउन भनेर भारतभरिमै सबैभन्दा पहिला नेपाली भाषामा पढाइने थालिएको गोर्खा पाठशालामा 'अखिल शिलांग नेपाली छात्र संघ'-ले धेरैपल्ट  मिटिंग राखेको पनि थियो। 



कोइलाखानीका नेपाली मजदुरमाथि मेघालय पुलिसको अत्याचार



यो लेखक पनि धरैजसो ती मिटिंगहरूमा सहभागी भएको थियो। अमरेश थापा उक्त संघका सचिव भएका कारण उनले नै 'खासी छात्र संघ'-सँग भएको घटना सुनाउने गर्थे। सुनाउँदा भन्थे--'खासी छात्र संघले हाम्रो कुरा मान्दैमान्दैन।'

अमरेश थापाले त्यसबेला शिलांगका गोर्खाहरू एवम् खासी पहाडमा बस्ने गोर्खाहरूका हितका लागि अलिखित (अहिलेचाहिँ यो लेखकद्वारा लिखित) धेरै अथक भूमिका खेले तर असफल भए..असफल भए..।  

नमान्ने हुँदा नै 'खासी छात्र संघ'-ले पुस्तौपुस्तौँ शिलांगमा बसिआएका पुराना गोर्खाहरूको सन्तानमाथि तथा  खासी पहाडमा बसेका गोर्खाहरूमाथि 'डखार' भनेर त्यसपछि सन् १९८७ देखि  ताण्डव नृत्य गर्न लाग्यो...गर्न लाग्यो उच्छेदनको...उच्छेदनको.... 

क्रमश...
 



गोर्खाको लाश गाड्ने माटोको खोजीमा 'मने' उपन्यास

मजिबर रहमान महिला कलेजको त्यो रक्तरञ्जित इतिहास       

प्रकाशित मिति: : 2021-04-03 20:35:00

प्रतिकृया दिनुहोस्