मैले भाग-६ मा मेघालय राज्यभित्र पर्ने जयन्तिया पहाडका कोइलाखानीहरूमा काम गर्ने नेपालीभाषी मजदुरहरूलाई मेघालय पुलिसले मेघालयबाट अमानुषिक उच्छेदन-कार्य गर्दा नेपाली मजदुरहरूप्रति उक्त मेघालय पुलिसले कस्तो व्यवहार गऱ्यो, अनि व्यवहार गर्दा शिलाेङको पल्टनबजार गाउँमा खोलिएको अस्थायी शरणार्थी शिविरमा रामसरी मगर्नी आफ्नो लोग्नेबाट बिछोडिएको पीडा हृदयभरि बोकेर कसरी आइपुगिन् भन्ने घटनाको वर्णन गरिदिएको थिएँ।
आउँदा ऊ गर्भवती थिई। अनि ४ मार्च १९८६ को बिहान उसले उक्त शिविरमा नानी जन्माएकी थिई भन्ने दारुण कथा पनि मैले भाग-६ मा उल्लेख गरेको थिएँ।
नानी जन्माएपछि रामसरी मगर्नीले अन्य शरणार्थी नेपालीहरूको साथ हातमा आफ्नो नवजात शिशुलाई लिएकी फोटो खिचेका थिए- मेरा मित्रहरू ईश्वरी पौड्याल, गणेशराज बिश्व बसेल, हेम जोशी अनि भुवानन्द पाण्डे मिलेर।
कसरी खिचेका थिएँ भन्नेबारे मलाई होइन, ईश्वरी पौड्याललाई पूरा थाहा छ। यसबारे उनलाई भेटेर सोधे– उनले त्यो दिनको घटना मात्र नभएर अरू दिनका घटनाहरू पनि बताइदिनेछन्, जहिलेदेखि शिलाेङमा जयन्तिया पहाडबाट नेपाली मजदुर एवम् उनका परिवार कुन बिजोग हालतमा शिलाेङ आइपुगेका थिए भनेर।
रामसरी मगर्नीले हातमा आफ्नो नवजात शिशुलाई लिएको फोटोको एउटाप्रति गणेशराज विश्व बसेलका हातमा परेको हुनाले उक्त घटना घटेको केही वर्षपछि उनले मलाई उक्त प्रति दिँदै भने- 'विक्रमज्यू, तपाईँ लेखक हुनुहुन्छ। कुनै दिन तपाईँले यो फोटोबारे लेख्नुहुनेछ। यसैकारण तपाईँलाई यो फोटो काम आउनेछ।'
मलाई फोटोको प्रति दिँदा मैले गणेशराज विश्व बसेलसँग नानी जन्माउने आमाको नाम सोध्दा उनले नेपालको म्याग्दी जिल्लामा बस्ने नाम रामसरी मगर्नी र लोग्नेको नाम नरबहादुर मगर भनेर बताएका थिए। अनि मैले यी सबै कुरा फोटोको प्रतिको पछिपट्टि लेखेको थिएँ।
आज गणेशराज विश्व बसेल हामीबीच छैनन् तर उनले दिएको रामसरी मगर्नीको ब्लेक एण्ड ह्वाइट फोटोको प्रति मसँग अहिलेसम्म सुरक्षित छ, जुन फोटोको प्रतिलिपि मैले मुनि दिएको छु– तपाईँहरूलाई थाहा दिन।
मेघालयको जयन्तिया पहाडका कोइलाखानीहरूमा काम गर्ने नेपाली मजदुरहरूमाथि घटेको घटना ठूलो घटना भएको हुनाले यो घटनालाई भारतका विभिन्न दैनिक समाचारपत्रहरूले आफ्नो पृष्ठमा ठाउँ दिए, विशेष त्यसबेलाको असम, कलकत्ताबाट निस्कने समाचारपत्रहरूले।
यसै कारण उक्त घटना भारतव्यापी भएर सुवास घिसिंगका कानमा पनि पऱ्यो। उनले समाचार पनि पढे होलान्। यदि त्यसबेला इन्टरनेटको जमाना हुँदो हो त उक्त घटना विश्वव्यापी बन्नेथियो।
उक्त घटनाले गर्दा नै सुवास घिसिंगको मनभित्र धेरै वर्षदेखि पल्लवित 'गोर्खाको लाश गाड्ने माटो हुनुपर्छ' भन्ने विचार मूर्त्त रूप लिएर मैदानमा पनि आउनुपर्छ भनेर सल्बलाउन थाल्यो।
जयन्तिया पहाडका कोइलाखानीमा सन् १९८६ मा घटेको घटना नै हो– 'गोर्खाल्याण्ड आन्दोलन'-को सूत्र। उनले उक्त घटनाको निहुँमा गोर्खाल्याण्ड पाउनुपर्छ' भन्ने आन्दोलनको योजना बनाउन थाले।
एकैचोटी एक्लै आन्दोलन त गर्न सकिन्न। आन्दोलनका लागि दार्जीलिंगका नेपालीहरूलाई जगाउनुपर्छ।
उनीहरूलाई आन्दोलनका लागि मैदानमा नउतारेसम्म आन्दोलन हुनसक्तैन भनेर आन्दोलन गर्नुभन्दा अघि दार्जीलिंगका नेपालीहरूलाई आन्दोलनमा भाग लिने महत् उद्देश्यमा उनले आफ्नो जोशपूर्ण तर उग्र भाषणको क्यासेट निकाले जुन क्यासेट शिलाेङमा पनि आइपुग्यो|कतिले सुने पनि।
मसँग टेपरिकर्डर नभएको कारण सुन्न पाइनँ तर सुन्नेहरूबाट भने मैले थाहा पाएको थिएँ- सुवास घिसिंगको भाषण उत्तेजनात्मक छ भनेर यसै कारण त्यो क्यासेटमाथि भारत सरकार हो कि पश्चिम बंगाल सरकारले प्रतिबन्ध लगायो। मलाई लाग्छ- त्यो क्यासेट आजभोलि पनि कसै–कसैसँग होला।
उक्त घटना घटेको केही महिनापछि सन् १९८६ मा महिलाको विकाससम्बन्धी सार्क (SAARC) मिटिंग ६ -८ मे १९८६ मा शिलाेङमा हुने भयो।
शिलाेङमा सार्कको त्यो पहिलो मिटिङ थियो। त्यसपछि अझसम्म सार्कको कुनै मिटिङ वा अधिवेशन शिलाेङमा भएको छैन। त्यस मिटिंगमा नेपालले पनि भाग लिने भएको थियो।
शिलाेङका नेपालीहरूले सोचेका थिए- उक्त सार्क मिटिङमा नेपाल सरकार र भारत सरकारका प्रतिनिधिहरूबीच जयन्तिया पहाडमा भएको काण्डमाथि पनि चर्चा हुनेछ अनि भविष्यमा नेपालीहरूमाथि यस्तो अत्याचार मेघालयमा हुनेछैन। भारत -नेपालको मैत्री-सम्बन्ध सुदृढ रहनेछ।
यिनै कुरालाई केन्द्रबिन्दु मानेर त्यसबेला 'अखिल शिलाेङ नेपाली छात्र संघ' -ले सो मिटिङमा भाग लिन आउने भारत-नेपालका प्रतिनिधिहरूलाई उक्त कुराहरूमाथि ध्यानाकर्षण गर्न भनेर शिलाेङ शहरका ठाउँठाउँमा हातले पोष्टर लेखेर पोष्टरिंग गर्ने योजना बनायो।
त्यसबेला 'अखिल शिलाेङ नेपाली छात्र संघ'-का अध्यक्ष थिए- सुनिर गुरुङ, जो अहिले शिलाेङमा छैनन्। यसघरी काठमाडौँमा छन् भनेको सुनेको छु तर निश्चित रूपमा भन्न सक्तिनँ।
सचिव थिए- रामशरण गौतम, जो अझसम्म शिलांगमै छन्। म जन्मेकै गाउँ बारपत्थरको छिमेकी गाउँ अपरमौप्रेममा। सुन्दैछु- उनी मिर्गौलाको रोगले पीडित थिए, अनि उपचारका लागि भेलोर पुगेका थिए। अहिले उनको स्वास्थ्यमा सुधार आयो होला। म आफैँ रोगी भएर उनलाई भेट्न जान सकेको छैन।
सदस्यहरूमा थिए- असमबाट कलेज पढ्न भनेर आएका पुन्टु राई, दलजीत राई। शिलांगका थिए- कृष्ण शर्मा, सञ्जय राना, अमरेश थापा, रोशन लामा, रक्की लामा, संगीत गुरुङ आदि। मेरा दिवंगत साहिँलो भतिजो आनन्दकुमार थापा पनि थियो। अहिले यिनीहरूमध्ये कोहीकोही दिवंगत भइसकेका छन्।
आनन्दकुमार थापाको हस्तलिपि अत्यधिक सुन्दर थियो- मुद्रण गरिएको अक्षरजस्तो यसै कारण उक्त छात्र संघले पोष्टर लेख्ने काम आनन्दलाई दियो सो सार्क मिटिङ हुनुभन्दा केही दिनअगाडि नै। आनन्दले आफ्नै घरको आँगनमा पोष्टर इङ्गलिस र नेपालीमा लेखेर तयार पऱ्यो।
उसले लेख्ने काम गरेको मेरै आँखाले देखेका हुन्। त्यसपछि सार्क मिटिङ हुने दिनको एक दिन अगाडि नै उक्त छात्र संघले शिलाेङ शहरको ठाउँठाउँमा पोष्टरिङ गऱ्यो।