आज नागाल्याण्ड प्रगतिपथमा लम्किरहेछ। आधुनिकताको संसारलाई पछ्याइरहेछ। यसै कारण यस राज्यका नागा युवक-युवतीहरूको सोचाइ आफ्ना पूर्वजभन्दा भिन्न भइसकेको छ र नै यहाँका युवतीहरूले मोडलिङमा प्रवेश गरिसकेका छन्।
सुन्दरी प्रतियोगिताका लागि भारतलाई विश्वमा प्रतिनिधित्व पनि गरिसकेका छन् तर जतिबेला सुवास घिसिंगले भारतीय गोर्खा राइफल्समा सिपाही छँदा अनि सन् १९६०को दशकमा नागाल्याण्डमा हुँदा नागाल्याण्डको स्वरूप आजजस्तो आधुनिक थिएन।
मैले यसै लेखको भाग-१ मा नागाल्याण्डको कुरा ल्याएको थिएँ।अझ ल्याएको थिएँ– एक जना नागा महोदयले भनेका कुरा- 'अरूको लागि किन लड्छौ? आफ्नो माटोको लागि लड।' यही प्रसंगमा उनको दुईवटा उपन्यास 'लुंखुम क्याम्प' र 'मने'-को कुरा ल्याएर भाग -१ लाई टुंग्याइदिएको थिएँ यसरी-' आफ्नो माटोको लागि लड..
अब भाग-२ यसरी बढ्छ-
उक्त नागा महोदयले ती कुरा भनेको सुनेर नै होला– उनलाई आफू कार्यरत पल्टनसँग वितृष्णा जाग्छ अनि उनले आफ्नो पल्टनबाट नाम काटेर घर दार्जीलिङ आउँछन् अनि वितृष्णासम्बन्धी उपन्यास 'लुंखुम क्याम्प' लेख्छन् तथा माटोका लागि संघर्ष गर्नुपर्ने उद्देश्यमा 'गोर्खाको लाश गाड्ने माटो चाहिन्छ' भन्न उपन्यास 'मने' लेख्छन्।
मैले यी दुवै उपन्यास धेरै वर्षअघि पढेको थिएँ। 'लुंखुम क्याम्प' सन् १९७४ मा रगिलमा म आफ्नो पल्टन २/५ गोर्खा राइफल्ससँग हुँदा पढेको थिएँ।म स्पष्ट लेखिदिन्छु- सुवास घिसिंगलाई साहित्यको क्षेत्रमा जिउँदो राख्ने एक मात्र यही उपन्यास हो।
यो उपन्यासले नागाल्याण्डको 'लुंखुम' भन्ने गाउँलाई केन्द्रबिन्दु बनाएर सैनिक जीवनको भोगाइलाई सैनिक जीवनको हुकूम मान्नैपर्ने विसंगतिलाई तथा सेनामा प्रेम भन्ने होइन तर 'मर' वा 'मार' भन्ने भा़वनालाई यस उपन्यासभित्र सुवास घिसिंगले भावनात्मक एवम् संवेदनशीलनात्मक ढंगले परिभाषित गरेका छन्।
यस उपन्यासको कथावस्तु लुंखुम क्याम्पसँग जोडिएको अनि प्रमुख पात्राचाहिँ लुंखुम भन्ने गाउँसँग जेडिएकी नागा युवतीसँगसम्बन्धित छ,जुन पात्रालाई गोर्खे सिपाही पात्रले प्रेम गरेको छ।
अर्को अर्थमा लेख्नुपर्दा दुवै़मा प्रेम छ, माया छ तर यही नागा युवतीलाई गोर्खे पात्र तारो हान्नमा पहिलो भएको अर्थात् मार्क्सम्यान भएको कारण सैनिकले अधिकारीको हुकुम मान्नुपर्ने विसंगतिमा परेर नागा युवतीलाई गोली ठोकी मार्नुपर्छ जुन नागा युवतीले आफ्ना गाउँलेहरूको सहयोगबाट लुंखुम क्याम्पमा रहेका पेट्रेलिंग पार्टी गोर्खा सिपाहीहरूलाई खाना ल्याएर जीवनदान दिने गरेकी थिई । कारण, एयर ड्रप नभएर राशन नआएकोले लुंखुम क्याम्पका गोर्खे सिपाहीहरू भोको बस्नुपरेको थियो।
नागा युवती मारिनुपर्ने कारण अधिकारीको नजरमा नागा विद्रोहीको गुप्तचर थिई, जबकि ऊ थिइन्। यो कुरो गोर्खे सिपाही पात्रले जान्दथ्यो । यही भएर आफ्नै मायालुलाई आफ्नै हातले गोली ठोकी मार्नुपरेको दु:खद् घटनाले गर्दा उक्त पात्रलाई फौजबाट वितृष्णा जागेर राती डियूटीको बेला राइफल लिएर ऊ आफ्नो पल्टन छाडी भाग्छ।उपन्यास 'लुंखुम क्याम्प' यहीँ नै टुंगिन्छ।
यो उपन्यास कारगिलमा खटिँदा पढेको हुँदा म आफैँले पनि सैनिक जीवन कस्तो हुन्छ भनेर बुझेको हुँदा पढेपछि मलाई पनि त्यसबेला आफ्नो पल्टन छाडेर भाग्न मन लागेको थियो। यो उपन्यास जीवन्त छ। कतै कृत्रिमता छैन- सैनिक जीवन कस्तो हुन्छ भनेर।
मलाई लाग्छ- सुवास घिसिंग नागाल्याण्डमा आफ्नो पल्टनसँग हुँदा लुंखुम गाउँमा सेवारत थिए कि ? अनि त्यहाँ छँदा उल्लिखित उपन्यासभित्र परेका घटनासँग उनी साक्षात्कार भएका थिए कि? नभएका भए यति सजीव उपन्यास उनीबाट जन्मने थिएन।
तपाईंहरु सबैलाई थाहा दिऊँ- नागाल्याण्डमा साँच्चिकै लुंखुम (Longkhum) गाउँ छ। म सन् २००२ मा असमको उरियामघाटमा पुगेको बेला उरियामघाट नागाल्याण्डको सीमामै परेकोले गर्दा मैले कसैलाई सोधेको थिएँ- 'लुंखुम गाउँ नागाल्याण्डमा छ?'
सोध्दा थाहा पाएको थिएँ- उरियामघाटबाट नजिकै देखिने र नागाल्याण्डभित्र पर्ने पहाड काटेपछि पहाडको पल्लोपट्टि लुंखुम गाउँ छ भन्ने।
अब उपन्यास 'मने'को कुरा। 'मने' नामको पात्रबाट यस उपन्यासको शीर्षक 'मने' राखिएको हो । कथा-वस्तु राम्रो छ।मनलाई छुन्छ तर लेखन-शैली 'लुंखुम क्याम्प'को जस्तो उत्कृष्ट छैन।
कथावस्तु कल्पनाबाट टिपिएकोले उपन्यास 'लुंखुम क्याम्प'जस्तो जीवन्त बनेको पनि छैन। विषय-वस्तु दार्जीलिंग र पूर्व नेपालको वरिपरि घुमेको छ।पात्रा पूर्व नेपालकी। पात्र "मने" दार्जीलिंगको।दुवैमा माया-प्रेम छ तर कारणवश पात्रा पूर्व नेपाल फर्कनुपर्ने हुन्छ। फर्कने बेलामा मनेलाई पनि जाऊ भन्छे तर मने मान्दैन दार्जीलिङ आफ्नो जन्मभूमि ठानेर। ऊ चाहन्छ- आफ्नो जन्मभूमिमा गोर्खाको लाश गाड्ने माटो हुनुपर्छ.. माटो हुनुपर्छ...!
('मने' धेरै वर्षअगाडि पढेको हुनाले यसको कथा-वस्तुको स्वरूप मेरो सम्झनामा टडकारोसँग रहेको छैन। धूमिल सम्झनाको भरमा सारांशचाहिँ लेखिदिएँ। कतै त्रुटि भएकै होला। त्रुटी पढेर मलाई कमेन्टमा झटारो हान्नुभन्दा अगाडि झटारो हान्न खोज्नेलाई मेरो विनम्र अनुरोध- मेरो त्रुटीलाई सच्याएर त्रुटिहीन बनाइदिन हुन्)