बंगलादेश युद्धदेखि गोर्खाल्याण्ड आन्दोलनसम्म

कोइलाखानीका नेपाली मजदुरमाथि मेघालय पुलिसको अत्याचार

अघिल्ला भागहरूमा सन् १९७९ काे असममा आँसुले 'असम आन्दोलन' गरेको अनि आन्दोलनले उग्रता लिँदा 'नेली नरसंहार' भएको र भारततीय तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको बारे उल्लेख गरियाे।

राजीव गान्धी भारतका प्रधानमन्त्री भए र उनकै पालामा  'असम आन्दोलन' नहोस् भन्ने उद्देश्यमा 'असम सम्झौता' अर्थात् असम एकर्ड सन् १९८५ मा भएको विषयको वर्णन गरिदिएको थिएँ।

सन् १९८६ को घटना तर यो घटना लेख्नुभन्दा अगाडि जानकारी दिउँ- सन् १९८५ मा असममा 'असम गण परिषद्' नामक राजनैतिक पार्टी अस्तित्वमा आयो। त्यसबेला पार्टीले असम राज्यसभाका लागि चुवाव लड्यो। विजय पनि भयो।

प्रफुल्लकुमार महन्त असमका मुख्य मन्त्री भए। 'असम गण परिषद्'ले असमको सत्ता सम्हालेपछि अल्फा हिंसात्मक गतिविधि लिएर असममा सक्रिए भयो।

अब १९८६ को घटना 

यहीँ वर्षको जनवरी-फेब्रअरी महिनातिर मेघालयको जयन्तिया पहाडका कोइलाखानीहरूमा काम गर्ने हजारौँ-हजार नेपालीभाषी मजदुरहरूलाई मेघालय पुलिसले उत्पीडन दिँदै र उच्छेदन गर्दै मेघालयको सिमाना कटाउन ट्रकमा बलपूर्वक कोचारेर निकाल्ने अमानुषिक कार्य गऱ्यो। यो अमानुषिक कार्यमा यहाँसम्म कि कतिपय नेपाली मारिए पनि।

यहाँ जान्नुपर्ने कुरा के छ भने जयन्तिया पहाडका कोइलाखानीहरूमा भारतका विभिन्न राज्यहरूबाट आएका विभिन्न भाषीहरूले मजदुरी  गर्थे, नेपालबाट आएका हजारौँ नेपालीहरूले पनि। तर, अहिले ती कोइलाखानीहरूमा कोइला उत्खनन् गर्न भारत सरकारको तर्फबाट पर्यावरणका लागि  प्रतिबन्धित गरिएको छ तर प्रस्तुत लेखका घटनाहरू सन् १९८६ का हुन्।

मेघालय पुलिसले ट्रकमा बलपूर्वक कोचारेर नेपाली मजदुरहरूलाई पठाउने हुँदा कतिपय नेपाली मजदुरहरूका स्वास्नी, छोराछोरी एउटा ट्रकमा अनि अर्को ट्रकमा बाबु परेर एउटै परिवार छुट्टिएको कथा त्यतिबेला मेघालय राज्यको भूमिमा लेखिएको छ तर कागजमा होइन।

मलाई लाग्छ- यस्ता कथालाई यो लेखकबाहेक अन्य हाम्रा लेखकले कागज वा आफ्नो लेखमा अझसम्म सजाएका छैनन्।  त्यसरी एउटै परिवार छुट्टिएका कथाहरूमध्ये एउटा कथा यहाँ प्रमाणका साथ हालिदिन्छु।

मेघालयका जयन्तिया पहाडका ती कोइलाखानीहरूमा त्यसरी मेघालय पुलिसको उच्छेदन कार्य भएपछि कतिपय नेपाली मजदुरहरूलाई सोझै मेघालयको सिमाना कटाएर गुवाहाटी पुऱ्याउने कि त शिलाङसम्म ल्याएर छाडदिने अमानुषिक कार्य भयो।

यता शिलाङका नेपालीलाई थाहा हुन लाग्यो- जयन्तिया पहाडका कोइलाखानीहरूबाट अनगिन्ती नेपाली मजदुरहरू शिलाङको बाटो भएर गुवाहाटी ट्रकमा पठाइएको बारेमा। कति नेपाली मजदुरहरू त त्यो अत्याचारबाट बाँच्न आफैँ पनि गाडी बन्दोबस्त गरेर जयन्तिया पहाड छाडी गुवाहाटी भागिरहेका थिए। परिस्थिति नै त्यस्तो भाग्नुपर्ने। कोही शिलाङ आएर ओर्लिएका थिए।

शिलाङमा पनि त्यसरी हजारौँको संख्यामा ओर्लिएका। गाँस न बास भएका। सबैको दयनीय स्थिति। सानासाना केटाकेटीहरूको अवस्था त अवर्णनीय।

यसैकारण उनीहरूलाई गाँस दिन र अस्थायी रूपमा बास दिन भनेर शिलाङका नेपालीहरूले आफ्नो गाउँमा उनीहरूका लागि अस्थायी शरणार्थी शिविर स्थापित गरे किनभने ती पीडित नेपाली शिलाङकै नेपालीहरूका रगत नै त  थिए- एउटै दाजुभाई अनि एउटै दिदी-बहिनीहरू। अनुहार पनि एउटै मिल्ने!

अस्थायी शरणार्थी शिविर खोलिँदा शिलाङको पल्टनबजार भन्ने गाउँमा पनि अस्थायी शरणार्थी शिविर खोलियो। खोल्ने पल्टनबजारकै नेपाली।

यही पल्टनबजारको अस्थायी शरणार्थी शिविरमा मेघालय पुलिसको अत्याचारले गर्दा एकजना नेपाली छोरीमान्छे आफ्नो लोग्नेसँग छुट्टिएर रातीको बेला आइपुगी। ऊ धेरै नेपाली मजदुर अनि केटाकेटीहरूसँग मिलेर आइपुगेकी थिई।

उसको हृदयमा आफ्नो लोग्नेबाट छुट्टिएको पीडा थियो। ऊ नेपालको म्याग्दी जिल्लाकी थिई। नाम- नमासरी मगर्नी। लोग्नेको नाम- नरबहादुर मगर। ऊ उक्त अस्थायी शरणार्थी शिविरमा आउँदा गर्भवती थिई। अनि आएकी भोलिपल्ट उसले बिहान ४ मार्च १९८६ मा नानी जन्माई...नानी जन्माई।

(क्रमश:)

प्रकाशित मिति: : 2021-03-14 17:30:00

प्रतिकृया दिनुहोस्