भाग-८ को अन्तिम पृष्ठमा लेखेको थिएँ-'डखार' भनेर, त्यसपछि सन् १९८७ देखि ताण्डव नृत्य गर्न लाग्यो...गर्न लाग्यो...
अब सन् १९८७ को घटना:
शिलोङको मौलाईमा जन्मेका, हुर्केका,बढेका,शिक्षित भएका अनि मौलाईमा छँदा विवाहित भएका नेपाली साहित्य जगतका परिचित नाम हो-साहित्यकार हेम जोशी।
भारतेली नेपाली साहित्यका अधिकांश साहित्यकारहरूले मात्र होइन, विशेष असम,मेघालय,मणिपुर अनि मिजोरमका धेरै साधारण गोर्खाहरू उनको नामसँग परिचित छन्। उनले आफ्नो युवाकालमा 'अछेता' नामक समसामयिक साहित्यिक पत्रिकाको सम्पादना गरी व्यक्तिगत रूपमा प्रकाशित गर्थे। 'अछेता'मा मेरा एकाध कथाहरू छापिएका पनि छन्। सन् १९९० दशकको पहिलो चरणमा शिलोङबाट नेपालीमा एम.ए. गर्न भनेर काठमाडौँ पुगेका। उतै एम.ए. गरेपछि काठमाडौँमै विवाह गरे।
अहिले क्यानडामा कार्यरत गोविन्दसिंह रावतले मेरो उपन्यास 'विगतको परिवेशभित्र'माथि गरेको समालोचना उक्त 'अछेता'मा छापिएको पनि थियो। उक्त 'अछेता'को प्रति मसँग नभएको हुनाले कुन वर्ष उक्त समालोचना छापिएको थियो,यसबारे मलाई अहिले थाहा भएन।मलाई लाग्छ- सन् १९८४-८५ तिर छापिएको थियो।
उनै हेम जोशी सन् १९८६ भन्दा अगावै आफू जन्मेको ठाउँ मौलाई छाडेर सपरिवारसहित म जन्मेको गाउँ बारपत्थरमा बस्न आए। बस्थे घरभाडामा। यसपछि उनी सन् १९८६-८७ मा बारपत्थरको छिमेकी गाउँ अपरमौप्रेममा बस्न आए। बस्छन् कसैको बिल्डिंगको सबैभन्दा माथिल्लो तलामा, तर भाडामा।
यो लेख लेखिरहेको बेला उनी सोही बिल्डिंगमा छन् आफ्ना सपरिवारसँग। बिल्डिंगको माथि तलाबाट शिलोङ नगरको सम्पूर्ण दृश्य-परिदृश्य दृ्ष्टिगोचर हुन्छ। अपरमौप्रेमदेखि मौलाईको दूरत्व धेरैभन्दा धेरै ४ किलोमिटर होला।
अहिले सठिक दिनांक र महिना मेरो सम्झनामा रहेन, तर घटना हो सन् १९८७ को रातीको बेला। यही घटनाको वर्णन अब म गर्छु। म त्यो राती ८-९ बजेतीर हेम जोशीकहाँ थिएँ। त्यही बेलामा हल्ला भयो-मौलाईमा आगो लाग्यो। हामी बाहिर आयौँ। साँच्चै,राती मौलाईलाई नदेखेपनि मौलाईको कुनै ठाउँमा आगो लागेको डरलाग्दो दृश्य भने हामीले देख्यौँ।
सन् १९८६ मा जयन्तिया पहाडका कोइलाखानीहरूमा काम गर्ने नेपालीभाषी मजदूरहरूमाथि भएको अमानवीय उच्छेदन-कार्य। गोर्खाल्याण्डको निहुँमा शिलोङका गोर्खाहरूमाथि 'खासी छात्र संघ'को दोषारोपण आउनु अनि यो संघसँग मेलमिलाप राख्न भनेर 'अखिल शिलांग नेपाली छात्र संघ'ले प्रयास गर्नु तर यो संघले नमान्नु।
यी सबै कुरा मेरो मस्तिष्कमा सल्बलाइहाले- मौलाईमा त्यो रात आगो लागेको दृश्य देखेपछि। त्यसपछि मलाई अनुमान भइहाल्यो- उपद्रवीहरूले कुनै गोर्खाको घरमा आगो सोझिदियो र आगोको मुश्लो अहिले राती देखिँदैछ आकाशलाई पनि ज्वालामय बनाएर। भोलिपल्ट मलाई थाहा भयो- नेपाली भाषीको घर त होइन तर गाईगोठ जलाइएको थियो। जसले गर्दा गोठमा भएका जम्मै गाईहरू जिउँदै जलेर मरेका थिए। कसको गाईगोठ थियो,यसबारे उक्त घटना घटेपछि डरले मौलाईबाट अरू ठाउँमा पलायन गरेका गोर्खाहरूलाई कसैले पनि सोधे थाहा हुनसक्छ। हेम जोशीलाई पनि थाहा होला। मलाई पनि थाहा थियो तर अहिले बिर्सेँ। ३३ वर्ष अघिको घटना हो। सम्झनाबाट हरायो- गाईगोठ कुन नेपालीभाषीको थियो भनेर।
सन् १९८७ मा यही घटनाबाट 'खासी छात्र संघ'ले खासी पहाडमा पुस्तौँ-पुस्तौँ बसेका गोर्खाका सन्तानलाई उच्छेदन गर्ने अभियान चलायो हत्यालाई पनि साथी बनाएर। अनि त यो संघद्वारा हिंसात्मक गतिविधिले खासी पहाड गोर्खाहरूको रगतले सिञ्चित हुनलाग्यो। नाम त 'खासी छात्र संघ'को थियो तर यस संघको पछि राजनैतिक हातपनि छ भन्ने अनुमान गर्न सकिन्छ। कसरी भने, त्यसबेला कांग्रेस सरकार सत्तामा थियो अर्थात् राजीव गान्धीको सरकार। मेघालयमा पनि कांग्रेस सरकार थियो।
यी दुवै केन्द्र सरकार र राज्य सरकारले मिलेर चाहेका भए 'खासी छात्र संघ'को त्यो हिंसात्मक गतिविधिलाई रोक्न सक्थे। तर रोकेन बरु साथ दिए। साथ दिए भन्नुको अर्थ त्यसबेलाको मेघालय सरकार र अर्थात राजीव गान्धी सरकारले खासी पहाडलाई हेर्ने सम्पूर्ण उत्तरदायित्व सेनालाई दिनुपर्थ्यो। कारण त्यसबेला खासी पहाडको स्थितिलाई नियन्त्रण गर्ने जिम्मेवारी सेनाको हातमा दिने खालको थियो। राष्ट्रपति शासन प्रयोगमा ल्याउनुपर्ने स्थिति थियो तर भएन। राजनैतिक हात मात्र नभएर (म सबैलाई भन्दिनँ)अधिकांश खासीवर्गले पनि यो संघलाई साथ दिएको थियो। नत्र खासी पहाडमा यत्रो भयंकर काण्ड हुनसक्ने थिएन।
हाम्रा मानिसहरू अधिकांश खासी पहाडका जंगलभित्र गाउँबस्तीमा गाईगोठ पालेर,खेतीपाती गरेर त्यसबेला बसेका थिए। उनीहरूलाई भनिन्थ्यो-'यो ठाउँ छाडेर जानु। पछि केही भयोभने हामी जिम्मेवारी हुनेछैनौँ।'
कति ठाउँमा घटनाहरू पनि घटे। कति गाईगोठ जलाइए। कति हाम्रा मानिसहरू मारिए। मोबाइल र इन्टेरनेटको जमाना थिएन कसैलाई गुहार गर्ने। यसैकारण खासी पहाडका गाउँबस्तीहरूबाट डरले आफ्नो ज्यान जोगाउन भनी सबै नेपालीभाषीहरू नै भनौँ शिलोङमा भाग्दै आए। जहाँ उनीहरूले सुरक्षित आश्रय पाउन सक्थे। आश्रय उनीहरूले त्यहीँ नै ठाउँमा पाए,जहाँ शिलोङमा धेरै गोर्खाहरू बस्छन्। अरू ठाउँमा गए मारिने त्रास। भाग्न आउने नेपालीभाषीहरूको ओइरो शिलोङमा लाग्नथाल्यो। लाखौँको संख्यामा शिलोङमा आए। उनीहरूले शरणार्थीको रूपमा शिलोङका गोर्खाहरूले स्थापित गरेका स्कूल आदितिर शरण लिए।
यता शिलोङमा पनि कतिपय खासी बहुल गाउँमा बसेका गोर्खाहरूलाई दिनमा हिँड्न, राती सुत्न डरसरी हुन लाग्यो। कारण राती सुतेको बेलामा छानामा कतिपय युवा खासीहरूले ढुंगा बर्साउँथे। यसैकारण ती गोर्खाहरू आफू बसेको ठाउँ छाडेर शरणार्थीसरह भई गोर्खाबहुल गाउँमा आउनथाले। र पनि 'खासी छात्र संघ'को हिंसात्मक गतिविधिले राेकिने नाम लिएन।
दिउँसै बाटैमा हिँड्दा हाम्रा मानिसहरूलाई छुरी रोपिदिएर हत्या गर्ने सिलसिला थालियो। अनि 'गोर्खा श्मशानघाट'मा मारिएका गोर्खाहरूको लाशैै लाश।