समय-समयमा गोर्खा फौजको निकै चर्चा सुनिन्छ। पछिल्लो पुस्तालाई गोर्खाको गर्वलाग्दो इतिहासबारे मसिनो जानकारी होस् भन्ने मनसायले यो आलेख तयार पारिएको छ। बिएल नेपाली सेवामा यसअघि पनि युद्व अनुभव र गोर्खासँग सम्बन्धित थ्रुपै आलेखहरू प्रकाशित भइसकेका छन्।
गोर्खा कहाँबाट विश्व प्रसिद्ध हुन पुग्यो? आजभोलि सामाजिक सञ्जालतिर कसै-कसैले पुर्ख्यौली इतिहास नजानी ‘जय गोर्खा-वीर गोर्खा’ भनेर कुर्लेको देख्छु। कुर्लनुको आधार पनि हुनुपऱ्यो नि! त्यो आधारबारे उनीहरूलाई सोध्दा निरूत्तर हुन्छन्।
अब गोर्खा अर्थात् इतिहास तिर जाउँ। आजभन्दा २०० वर्षअघि सन् १८१४-१६ भारतलाई राज गर्ने तत्कालीन ‘इष्ट इण्डिया कम्पनी’ र नेपालबिच युद्व भयो। यो सन् १८१४-१६ को कुरा हो। यस युद्वलाई एङ्ग्लो नेपाल वार भनिन्छ। त्यस युद्वमा देहरादूनको नालापानीस्थित खलंगा किल्लामा नेपालको तर्फबाट बलभद्र कुँवरले लडेका थिए ६०० जति केटाकेटी, महिला अनि योद्वाहरूको साथमा वीरतापूर्वक। जुन इतिहासलाई आज पनि उतिकै प्रेमपूर्वक स्मरण गरिरहेका छौं।
हुन त यस युद्वमा नेपालको हार भयो। अंग्रेजको जित्यो, ता पनि बलभद्र कुवँरले वीरतापूर्वक लड्दा गोर्खा बहादुर हुन्छन् भन्ने मान्यता स्थापित भयो। वीर बलभद्र कुँवरको वीरताको सम्मान गर्न अंग्रेजहरूले उनको वीरताको गाथा शिलालेखमा लेखिदिए, जुन शिलालेख नालापानीमा आज पनि छँदैछ। त्यहाँ उनको छुट्टै र विशेष सम्मान गर्ने गरिन्छ।
नालापानीमा राखिएको शिलालेखले गर्दा नै गोर्खाहरू वीर हुन्छन् भनेर गोर्खाको वीरताको पहिलो शिलालेखकीय पाना यही शिलालेख हो। यही शिलालेखले नै सबैभन्दा पहिला गोर्खाहरू वीर हुन्छन् भनेर विश्व प्रसिद्ध गराउने प्रथम भूमिका खेल्यो।
सन् १९६८ मा भारतीय गोर्खा पल्टनको ५ जीआरमा म पनि भर्ती भएँ। यसको तालिम सेन्टर देहरादूनमा थियो। देहरादून तालिम गर्न पुगेँ। मैले स्कूलमा बलभद्र कुँवर र नालापानीको युद्वबारे पढेको थिएँ, यसैकारण देहरादून पुगेपछि मलाई बलभद्रको वीरताबारे खोपिएको शिलालेख हेर्ने इच्छा भयो। तालिम सकिने बेलामा जंगल तालिम हुन्छ। संयोगले जंगल तालिम नालापानीमा हुने भयो। म असाध्यै खुशी भएँ किनकि, नालापानीमा पुगेर त्यो शिलालेख हेर्न पाउँछु भन्ने थियो। तर हेर्न पाइएन। कारण, नालापानी सालघारी र झारजंगलले भरिएको थियो। अनि उचित हेरचाह नभएकोले त्यो शिलालेख नालापानीको जंगलभित्र कतै नदेखिने गरि हराएको थियो।
सन् १९८३ मा पेन्सन निस्केँ। सन् १९८८ मा आजभन्दा ३१ वर्षअघि ‘हिमालय बुक स्टल’ शिलाङको तर्फबाट ‘नालापानी’ को सचित्र कथात्मक पुस्तकको सम्पादन गर्ने सुयोग मलाई जुऱ्यो। मलाई लाग्छ, भारतीय नेपाली साहित्य जगतमा यही नै पहिलो र अन्तिम रंगीन सचित्र- कथा पुस्तक हो।
सम्पादन गर्ने ताकानै मैले नालापानीलाई सालघारीले घेरेको, शिलालेखको पनि हेरचाह नभएको थाहा पाएँ। यसैकारण मैले ‘नालापानी’ सचित्र-कथाको सम्पादकीयमा यी कुराको उल्लेखसमेत गरेको छु।
देहरादूनका गोर्खालीको सत्प्रयासमा नालापानी पर्यटनस्थल हुन पुगेको सम्पादन गरेको केही वर्षपछि जानकारी पाएँ। यसमा भारत सरकारले पनि सघाएको रहेछ। अहिले बर्सेनी नालापानीमा ठूलो मेला लाग्ने गरेको छ।
अबको पुस्ताले सधैं सम्झना गर्नू- बलभद्रले नालापानीमा देखाएको वीरता अनि अंग्रेजहरूले नालापानीमा बलभद्रको वीरगथा लेखिदिएको शिलालेखले गर्दा गोर्खा विश्व प्रसिद्ध हुने पहिलो खुड्किलो भेटेको हो। नालापानीसँग जोडिएको गोर्खाको गर्वलाग्दो इतिहास यही हो।