अहिले आजाद भारतको छातीमा कोभिड-१९ अर्थात् कोरोना भाइरसको प्रकोपले ताण्डव नृत्य गरिरहेको छ।
फलस्वरूप लाखौँको संख्यामा यो भाइरसले गर्दा आजाद भारतका जनता मारिदैछन्।
मैले 'आजाद भारत' भनेर यी शब्दमा किन जोड दिएको भने ब्रिटिशको हातबाट १५ अगस्ट १९४७ मा भारतलाई आजाद गराउने महात्मा गान्धीको मृत्यु 'स्पेनिश फ्लू' ले भएको भए भारत ब्रिटिशहरूको हातबाट आजाद हुनेथियो कि थिएन भन्ने कुराको कुनै निदान हुने थिएन।
अनि अहिले भारतको इतिहास आजादीको सन्दर्भमा जुन किसिमले लेखिन्छ, यो इतिहास अर्कै तरिकाले लेखिने थियो।
प्रसंगवश 'स्पेनिश फ्लू'को कुरा आयो। यस विषयमा तपाईँहरूमध्ये धेरैलाई थाहा नहोला। यसैकारण म संक्षेपमा 'स्पेनिश फ्लू' को बारेमा बताउँछु।
जसरी गत वर्ष २०२० मा चीनको वुहान शहरबाट कोभिड-१९ फैलियो, त्यसरी नै 'इन्फुलुइन्जा' नामक रोग स्पेनबाट सन् १९१८ मा फैलियो। स्पेनबाट फैलिएकोले यस रोगको नाम 'स्पेनिश फ्लू' भनिने गरिएको हो।
यो स्पेनिश फ्लूले सन् १९१८ देखि १९२० सम्म विश्वमा महामारीको रूप लियो। रूप लिँदा यसले विश्वको ३ भाग जनसंख्यामा १ भाग जनसंख्याको ज्यान लियो। लगभग ५ करोड।
भारतमै त्यसबेला १ करोड ८० लाख मानिसले स्पेनिश फ्लूबाट ज्यान गुमाउनुपरेको दु:खद घटना छ। आजको जनसंख्याको हिसाबले अझ बढी मृत्यु भएको थियो, जतिको अहिले भारतमा कोरोनाले मरेका छैनन्।
यदि नियन्त्रणमा आएन भने 'स्पेनिश फ्लू' ले भन्दा बढी भारतमा कोरोनाले ज्यान लिनेछ। अक्सीजन सबै रोगीले पाउन दुर्लभ हुनेछ। लाश जलाउने दाउरा पाउन पनि कठिन हुनेछ।
धेरैलाई थाहा नहोला- महात्मा गान्धीलाई पनि स्पेनिश फ्लू भएको थियो तर उनी बाँचे। यदि उनी स्पेनिश फ्लूले मरेका भए आज हामी 'आजाद भारत' भन्ने कथाको लिखित रूप भविष्यको ऐतिहासिक पानामा छाड्नुपर्ने थियो। उनी त बाँचे तर उनकी पुत्रवधु (बुहारी) गुलाब अनि पोते (नातिनी) शान्ति भने स्पेनिश फ्लूको भोक बने।
हिन्दी साहित्यका महान् कवि सूर्यकान्त त्रिपाठी 'निराला'ले आफ्नो आत्मजीवनी 'कुल्ली भाट'मा स्पेनिश फ्लूको पनि वर्णन गरेका छन्। उनी त्यसबेला यस्तै २२ वर्षका थिए। उनी लेख्छन्- 'त्यसबेला दालमौमा थिएँ।
गंगाघाटमा लाशको थुप्रो देख्ने गर्थेँ। लाश धेरै भएर लाश जलाउने दाउरा पाउन कठिन भयो। मलाई ससुरालबाट मेरी धर्मपत्नी मनोहरा देवी र एक वर्षकी छोरी मरेको खबर आयो। त्यसबेला मलाई लाग्यो, मेरो संसार नै अँध्यारो भयो। मेरो भाइको १५ वर्षको छोरो पनि बितेको खबर आयो। पछि मलाई समाचारपत्रबाट थाहा भयो-यी सबै इन्फुल्युइन्जाको महामारीले गर्दा भएको।
यसबाट स्पष्ट हुन्छ- सन् १९१८ को स्पेनिश फ्लूबाट एउटै परिवारका धेरै सदस्य-सदस्यहरूले ज्यान गुमाएका थिए।
लाश जलाउने दाउरा भेटिदैन्थ्यो, जसरी कोरोनाको प्रकोपबाट कतिपय एउटै परिवारका सदस्य-सदस्याहरूले ज्यान गुमाउनु परिरहेको छ। अक्सिजन भेटिन कठिन भइरहेछ।
आशा गरौँ- जसरी स्पेनिश फ्लूबाट त्यसबेलाका मानवले विजय पाए, त्यसरी नै आजका मानवले कोरोनाबाट विजय पाऊन्।