बंगलादेश युद्धदेखि गोर्खाल्याण्ड आन्दोलनसम्म

गोर्खाल्याण्डको मागमा युवाको जीवनोत्सर्ग

मैले उल्लिखित शीर्षकमा लेख्नुपर्ने तथ्यहरू आस्तिको लेखमा हालिदिइसकेको छु। लेखको नाम थियो- 'शोधात्मक लेख लेख्न साह्रो छ।'

वास्तवमा हो पनि जेहोस्, अहिलेचाहिँ उपर्युक्त शीर्षकमा लेख लेखेर अगाडि म बढ्दैछु तर अस्ति दिएका सबै तथ्यहरूलाई एकैचोटी लिएर लेख्दा लेख लामो हुने। मुहार-पुस्तिका (फेसबुक) मा एकैपल्टमा लेखेर भ्याउन पनि नसकिने भएर तथ्यहरूलाई क्रमानुसार राखेर खण्ड-खण्डमा विभाजन गरी लेख्ने विचार गरेँ- खण्ड-खण्ड गरिएका तथ्यहरूभित्र तल दिइएका आज ४ वटा तथ्यमाथि।

अब म  लेखनीबद्ध गर्छु। वास्तवमा लेख्ने हो भने उल्लिखित शीर्षकमा एउटा सिंगो विशाल पुस्तक लेख्नुपर्ने हुन्छ तर अधिकांश गोर्खेहरूले पुस्तक पढ्दैनन्। मुहार-पुस्तिका पढ्छन्। यही भएर तपाईँहरूले पढ्नुहुन्छ कि भनेर उपर्युक्त शीर्षकमा लेख लेख्ने धृष्टता गरेको हुँ तर संक्षेपमा।

म निश्चिन्त लेखिदिन्छु-

आजका शोधार्थी छात्रछात्राहरूलाई खण्ड-खण्डमा  लेखिनुपर्ने यी लेखहरूका आवश्यक कुराहरू टिपोट गरे, उनीहरूलाई पछि काम आउनेछन् तर मलाई लाग्छ- टिपोट गर्ने सम्भवत: कोही होलान् तर अनर्गल कमेन्ट गर्ने धेरै छन्।

अब लेख्नुपर्ने चारवटा तथ्य- (१) सन् १९०७ (२) नागाल्याण्ड (३) सुवास घिसिंगका उपन्यास लुंखुम क्याम्प अनि (४) मने...।

म सबैभन्दा पहिला सन् १९०७ लाई लिन्छु। यही सन्मा  दार्जीलिङका गोर्खाहरू तत्कालीन भारतका बृटिश सरकारको पालामा पश्चिम बङ्गालबाट छुट्टिन चाहेका थिए- गोर्खा भूमि होस् भन्ने माग गरेर बृटिश सरकारसँग तर त्यो भूमि 'गोर्खाल्याण्ड' को नाममा थिएन। माग मात्र गरेका थिए। गोर्खा भूमिको नाममा तर आन्दोलन गरेका थिएनन्। यसैकारण त्यो मागलाई 'आन्दोलन' भनिन्न।

'आन्दोलन' त्यसलाई भनिन्छ, जहाँ आफ्नो मागका लागि जीवनोत्सर्ग गरिन्छ। 'गोर्खाल्याण्ड' को मागमा दार्जीलिङका धेरै युवाले सन् १९८६/८७ मा आफ्नो जीवनोत्सर्ग गरेका थिए। यो हो 'आन्दोलन'। अनि यो आन्दोलन गराउने नेतृत्वकर्ता थिए- सुवास घिसिङ । यसै कारण सुवास घिसिङलाई 'गोर्खाल्याण्ड आन्दोलन' को जनक मानिन्छ।

उनले नै भारतीय गोर्खाका लागि भारतभित्रको संविधानको वृत्तमा रही गोर्खाका लागि अलग्यै राज्य 'गोर्खाल्याण्ड' चाहिन्छ भनेर भारत सरकारलाई ध्यानाकर्षण गर्न सन् १९८६ मा आन्दोलन गरेका थिए। यही भएर यस लेखको शीर्षक मैले राखेको हुँ– 'बंगलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म।'

यहाँ कतिलाई आश्चर्य लाग्नसक्छ- यो लेखकले 'गोर्खाल्याण्डको आन्दोलन' मा 'बंगलादेशको युद्ध' लाई यहाँ बलपूर्वक किन कोचारिरहेछ? यसबारे म पछि लेख्नेछु।

अर्को प्रश्न पनि उठ्नसक्छ- घिसिङले गोर्खाल्याण्डको आन्दोलन गर्ने सूत्र कहाँबाट पाए? यसबारे पनि म पछि लेख्नेछु।

अब प्रश्न उठ्छ- सन् १९०७ मा गोर्खाभूमिको माग भएको थियो। यसै कारण सुवास घिसिङले 'गोर्खाभूमि' नामकरण गरेर किन आन्दोलन गरेनन्? 'गोर्खाल्याण्ड' को नाममा नै किन आन्दोलन गरे? 'भूमि' को ठाउँमा 'ल्याण्ड' राखिनुपर्छ भन्ने मानसिकता किन उनमा थियो? अब यसमाथि विश्लेषण गरौँ-

विश्लेषण गर्दा हामी नागाल्याण्ड पुग्नुपर्छ। तपाईँहरू धेरैलाई थाहा नहोला- घिसिङ भारतीय सेनाको गोर्खा राइफल्सका सिपाही थिए। सन् १९६० को दशकमा उनी आफ्ना पल्टनसँग नागाल्याण्डमा थिए । भनिन्छ- कुनै नागा महोदयले उनलाई भनिदिएछन् कि 'अरूका लागि किन लड्छौ, आफ्नो माटोका लागि लड।'

तर, उनले नागा महोदयबारे आफ्नो लेखमा कतै उल्लेख गरेका मैले अझसम्म पढ्न पाएको छैन। अरू कुनै  लेखकले आफ्नै पाराले उल्लिखित कुरालाई लेखेको मैले कतै पढेझैँ लाग्छ। अहिले बिर्सेँ तर घिसिङले लेखेका धेरै उपन्यासहरूमध्ये लेखिएका दुईवटा उपन्यास 'लंखुम क्याम्प' र 'मने' पढेपछि यस्तो लाग्छ- नागा महोदयले उनलाई  भनेका कुरा- 'आफ्नो माटोको लागि लड" साँचो होझैँ लाग्छ...साँचो... 

प्रकाशित मिति: : 2021-02-02 13:41:00

प्रतिकृया दिनुहोस्