नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमणका क्रममा अमेरिकामा रहेका एकजना नेपाली डा. तिलकबहादुर श्रेष्ठ एकाएक चर्चामा आए। केन्टकी राज्यको स्टेट युनिभर्सिटीमा रिसर्च एशोसियट रहेका श्रेष्ठ कसैका लागि रातारात नायक भए भने कसैका लागि खलनायक।
प्रचण्डको विरोध गर्नेहरूका लागि उनी नायक भएका थिए भने उनको समर्थन गर्नेका लागि खलनायक। त्यतिबेलामा सामाजिक सञ्जालमा हेर्न हो भने एक किसिमको दोहोरी नै चलेको देखिन्छ।
अमेरिकामा त प्रचण्डले उनका बारेमा केही भनेनन् तर नेपाल पाइला टेक्ने बित्तिकै उनी भड्किए र श्रेष्ठलाई झारपातसम्म पनि भन्न भ्याए। यसअघि नै उनका कतपय कार्यकर्ताले त श्रेष्ठमाथि नेपाल कसरी फर्किने रहेछन् ? सम्म पनि भनेर दागा धरेका थिए।
यसरी रातारात चर्चाको शिखरमा उभ्याएका डा. श्रेष्ठको धारणा के रहेछ भनेर ब्रेक एन लिंक्सले जान्न खोज्दा उनले भने' मैले यस कुरालाई व्यक्तिगत रूपमा उठाएको हैन । माओवादी पीडितलाई न्याय मिलोस् भन्ने हिसाबले त्यतिबेलाको माओवादी आतंकका नेताको सन्दर्भमा उठाएको हुँ।' उनले अगाडि भने- 'उहाँले व्यक्तिगत रूपमा लिएजस्तो लाग्यो, किन हो त्यो चाँहि मलाई थाहा भएन। '
डा. श्रेष्ठले उजुरीका बारेमा भने- ' मैले कुनै अदालतमा उजुरी हालेको हैन र हाल्ने खालको मान्छे पनि हैन। मैले त संघीय अनुसन्धान ब्युरोलाई आतंककारी अमेरिकामा आएको छ, सम्बन्धित निकायमा जानकारी गराइयोस् भनेर सूचना मात्र दिएको हुँ।'
आफूले चर्चामा आउँन या हिरो हुन आतंककारी आएको जानकारी गराएको हैन भन्दै उनले अर्को एक प्रसंगमा भने- आफ्नो धारणाको पक्षमा जनसम्पर्क समिति अमेरिकाले रहेकोमा म त्यो संस्थाप्रति आभारी छु। '
यस विषयमा उनले अंग्रेजीमा लेखेर पठाएको पत्र हामीले नेपालीमा अनुवाद गरेका छौं । प्रस्तुत डा. श्रेष्ठले पठाएको पत्रको नेपाली अनुवाद:
म एकजना आम नागरिक हुँ- न नेता न अभिनेता।त्यसैले सार्वजनिक रूपमा खासै बोल्नु पनि पर्दैन र त्यति मन पराउँदिन पनि।यद्यपि, यसपटक नचाँहदा नचाँहदै पनि ठुलो प्रचार प्रसार र असंख्य प्रश्नहरूले घेरिन पुगें, त्यसैले केही लेख्ने जमर्को गरेको हुँ।
म साकाहारी हुँ, ध्यानमा रमाउँछु अनि अहिंसावादी गान्धी विचारको प्रशंसक हुँ। तर जे भए पनि जब हाम्रो मातृभूमिमाथि धावा बोलिन्छ, हामी जहाँ भए पनि एकसाथ उभिनुपर्छ र भन्नु पनि पर्छ- अब हुँदैन।
हाम्रो पूर्वीय मान्यतामा एउटा भनाइ छ- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन अर्थात् काम गर फलको आशा नगर। म यही भनामा विश्वास गर्छु।
पेशाले म एक वैज्ञानिक अनुसन्धानदाता हुँ। मेरो खास विषय चाँहि भूउपग्रह रिमोट सेन्सिङ हो।मैले यहाँ नेपालको कृषिमा भूउपग्रह रिमोट सेन्सिङको उपयोगिता सम्बन्धी एउटा नोट समावेस गरेको छु। म मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई मेरो ठाउँबाट मैले सक्ने सानो सहयोग गर्न चाहन्छु। म गणित र विज्ञान पनि पढाउँछु र अमेरिकी युवालाई मार्सल आर्ट्स पनि सिकाउँछु। मेरो यो सामाजिक सेवाको कदर गर्दै महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मानपत्र पनि दिनुभएको छ, यसो भन्न पाउँदा मलाई गौरव लाग्छ। यदि कसैले निम्ता दिए भने धर्मको बारेमा बताउँनु म मेरो कर्तव्य ठान्छु। मैले सेप्टेम्बर १, २०१८ मा शिकागोमा आयोजित नेपाल सम्मेलनमा प्रस्तुत गरेको धर्म, वर्ण र जातिमाथिको मेरो प्रस्तुति समावेश गरेको छु ।
सार्वजनिक रूपमा भन्ने बाहेक म अदालतमा उजुरी गर्न गएको छैन। मैले एकजना आतंककारी अमेरिका भ्रमण गरिरहेको छ, त्यसको जानकारी सम्बन्धित निकायमा जानकारी गराउँन संघीय अनुसन्धान ब्युरोलाई अनुरोध मात्र गरेको हुँ। आतंककारी मैले हैन, अमेरिकी सरकारले उसको सरकारी सूचीअनुसार नै परिभाषित गरेको छ।
आतंकबाद सबैको चासोको विषय हो, त्यसमा पनि खासगरी हामी नेपालीका लागि माओवादी आतंकवाद। म जनसम्पर्क समिति नेपाली कंग्रेस मेरिल्याण्ड अमेरिकाको त्यो भावनाको कदर गर्छु र त्यसका लागि खुशी पनि छु। म समितिको चासो र समर्थनको धेरै नै प्रशंसा पनि गर्न चाहन्छु।
जनसम्पर्क समिति नेपाली कंग्रेसले मार्च २२, २०१९ मा एक प्रेस वक्तव्य जारी गरेको थियो- Janasamparka Samiti – Public Relations Committee’, Nepali Congress, Maryland, America.
म राजनीतिज्ञ हैन न कुनै पार्टीको सदस्य नै हुँ।तर, पनि म नेपालको राजनीतिक गतिविधिबाट बिल्कुल अनविज्ञ भने छैन। यहाँ मेरा केही व्यक्तिगत धारणा छन्, कोही पनि यसमा सहमत हुनै पर्छ भन्ने छैन।
१. हामीले सन् १९९० मा प्रजातन्त्र पायौं। सम्मानीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको संविधान प्रजातान्त्रिक थियो। यसमा प्रष्टसँग लेखिएको छ कि - जनता सार्वभौम हुन्, आवश्यकताअनुसार यसका प्रावधानमा परिवर्तन ल्याउन सकिन्छ।
२. सन् १९९६ मा सुरू भएको माओवादी विद्रोह कम्युनिष्ट शासन लाद्नका लागि प्रजातन्त्रका विरुद्धमा थियो। तिनीहरूलाई आफ्नो भनाइ जनतामा राख्ने र शान्तिपूर्वक जनताद्वारा निर्वाचित हुने पूरा अधिकार थियो। तर, उनीहरूले आतंकको बाटो रोजे। माओवादी आतंक नियोजित रूपमा राजनीतिक हतियार थियो।माओवादी आतंकवादीले १७ हजार गरीव नेपालीलाई मारे। त्यो हत्या र आतकंको प्रभाव परिवारमा कति पर्यो होला हामी कल्पना गरौं त। सात खर्ब डलरको त आर्थिक आधारशीला नै नष्ट गरियो। आज ५० लाख गरीव नेपाली हात मुख जोड्नका लागि विदेशमा काम गरिरहेका छन्।
३. माओवादी आतंकले हाम्रो सम्पदामाथि पनि आक्रमण गर्यो। उनीहरूले हाम्रा मन्दिरमा पिसाब फेरे र बाहुनहरूलाई गोरूको मासु खान बाध्य पारे। वास्तवमा यस्तो निर्दयी व्यवहारले कसरी हाम्रो राष्ट्रलाई सहयोग पुग्छ ? के यही हो मार्क्सवाद ?यो त हाम्रो स्वपहिचानको बर्बादी र अर्कको पहिचान हामीमाथि लाद्ने बर्बरता मात्र हो।
४. तिनीहरूले नियोजित किसिमले जातीय विभाजन ल्याउँने काम गरे। माओवादीले विभिन्न जनजातिलाई सबैलाई आआफ्नो राज्य हुने आश्वासन दिएर गलत दिशामा भड्काए। हामीसँग दुई करोड ७० लाख जनसंख्या भएको सानो देश भएपनि १२५भन्दा बढी जाति जनजाति छन्। यस्तोमा यो नियोजित किसिमले सिर्जना गरिएको समस्याको असरका बारेमा कल्पना गर्नुहोस् त।
५. अन्तरिम संसदमा ३० प्रतिशत गैरनिर्वाचित माओवादी थिए भने ७० प्रतिशत मात्र निर्वाचित सांसद थिए। राजनैतिक सम्झौता आफैमा लोकतान्त्रिक विधिसम्मत थिएन।लोकतन्त्र ७० प्रतिशतमा झारिएको थियो। माओवादीर राजनीतिक दलहरूलाई त्यसो गर्ने जनादेश थियो त भन्ने प्रश्न सधै रहिरहन्छ।
६. माओवादी आतंकले देशमा जबर्जस्ती रूपमा धर्म निरपेक्षता, संघियता, गणतन्त्र थोपर्यो। यसअघि सार्वजनिक रूपमा कहिल्यै छलफल गरिएका यी विषयहरू लाद्ने कुनै जनादेश थिएन।तिनीहरूलाई सार्वजनिक छलफलमा ल्याएर अनुमोदनका लागि जनमत संग्रह गरिनु पर्थ्यो।आम जनतालाई सुसूचित हुन दिनुपर्थ्यो।
७. सन् २०१५ को जुलाई मा मस्यौदा संविधानमाथि गरिएको आधिकारिक सर्वेक्षण सम्झौं त। यो जनताको जनादेश र संविधानको अनुमोदन थियो। यद्यपि, यो अझै पनि दबाइएको छ।लोकतन्त्रमा जनताको आदेशलाई रोक्नु / रुजू गर्न नदिनु संविधानसम्मत हुदैन।
म वसुधैव कुटूम्बकम् अर्थात् संसार एउटा परिवार हो र सर्वे भवन्तु सुखिनः अर्थात् सुखी हुन् भन्ने मान्यतामा विश्वास गर्छु र नेपाल, अमेरिका र संसारभर छरिएर रहेका सबै नेपालीका लागि त्यसैको कामना गर्छु।जे भए पनि जव हामीलाई खराबले आक्रमण गर्छ, हामी पनि त्यसको प्रतिरोधका लागि खडा हुनुपर्छ। एक अमेरिकी भनाइ छ- जब असल मान्छे केही गर्दैनन् तब खराबले जित्छ। यदि हामी हाम्रो मातृभूमिलाई माया गर्छौं भने हामीले जे रूपमा भए पनि हाम्रो कर्तव्य पूरा गर्नैपर्छ।