फिप्नाले भव्य रूपमा मनायाे १४८औं लखन थापा स्मृति दिवस

आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मनाउँदै आइरहेकाे नेपालका प्रथम शहिद लखन थापा मगरको १४८औं स्मृति दिवस अमेरिकामा भव्य रुपमा मनाइएकाे छ।

नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नोबल किशोर शाह सुडीको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएकाे हाे। 

त्यसैगरी  विशेष अथितिको रुपमा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र माननीय कमला विक संविधान सभा सदस्य समेतकाे उपस्थिति रहेकाे थियाे। 

प्रथम शहिद लखन थापाको तस्बिरमा माल्यापर्ण तथा दीप प्रज्ववलन गरी कार्यक्रमको उद्घाटन गर्दै शाहले जनजाति, दलित मधेशीले आफ्नो अधिकार स्थापित गर्नका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए। 

त्यसैगरी सुशीला श्रेष्ठले प्रथम शहिद थापाको मार्ग दर्शन र त्यागको सम्मान गर्दै हाल नेपालको समसामयिक राजनीतिक बारेमा आफ्नो धारणा व्यक्त गरेकी थिइन्। 

उनले लिम्बू जातिको संस्कृति सम्पदा मुकुम्लुङमा सरकारलाई अनाश्वयक हस्तक्षेप नगर्न चेतावनी समेत दिएकी थिइन्। 

सरकारले यसरी जबरजस्ती केबलकार निर्माण गरिए दीर्घकालिन सञ्चालन नहुने र भविष्यमा हुने क्षति अकल्पनीय हुने उनकाे भनाइ थियाे। 

प्रतिनिधिसभा सदस्य कमला विकले पनि कार्यक्रममा बोल्दै लखनलाई वर्षमा एकदिन नसम्झी उनको नाममा स्वास्थ्य संस्था तथा शैक्षिक संस्था स्थापना गर्नुपर्ने बताएकी थिइन्।

स्मृति दिवसमा संघीय परिषद्को उपसभामुख निमा गोले तामाङ, सामाजिक अभियान्ताहरु केशबराम राई, समीर महर्जन, शेर्पा किदुङका अध्यक्ष तेम्बा शेर्पा, कलाकार संघकी अध्यक्ष बसन्ती राईले पनि आ–आफ्नो मन्तव्य राखेका थिए।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव दीपक चौधरीले सञ्चालन गरेका थिए। 

उक्त अवसरमा संस्थाका सचिव शान्ति गुरुङ, कोषाध्यक्ष कृष्णमाया महार्जन र महासंघको सल्लाहकार कुलदीप रानामगरलगायत नेपाली डायस्पोराको सामाजिक व्यक्तिहरूकाे पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2025-03-18 12:10:00

प्रतिकृया दिनुहोस्