बुधबार, ०९ सेप्टेम्बर २०२६

जेनजी आन्दोलनको एक वर्षः मिराजले औंल्याए ‘तेस्रो ध्रुव’को आवश्यकता

News Image
• • •

जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन्।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित ‘जेनजी आन्दोलनको १ वर्ष र अबको बाटो’ कार्यक्रममा बोल्दै ढुंगानाले वर्तमान सरकारबाट जनजीविकामा अपेक्षित सुधारको अनुभूति हुन नसकेको दाबी गरे। उनले सरकारले नागरिकमा आशा जगाउन नसके वैकल्पिक राजनीतिक शक्तिबारे देशव्यापी बहस सुरु गर्नुपर्ने बताए।

‘आन्दोलनमार्फत नयाँ सरकार आयो, साथीहरू निर्वाचित हुनुभयो। तर के देशले वास्तविक परिवर्तन पायो? के हाम्रो जीवनस्तर सुध्रिएको छ? के महँगी घटेको छ? के जनजीविका सहज भएको छ?’ उनले प्रश्न गरे।

नयाँ सरकार गठन भएको करिब साढे पाँचदेखि ६ महिना मात्र भएकाले तत्कालै सबै उपलब्धिको मूल्यांकन गर्न कठिन हुने भए पनि सरकारले आगामी दिनको संकेत देखाउनुपर्ने उनको भनाइ थियो।

‘हुने बिरुवाको चिल्लो पात भनेझैं सुरुवाती उपलब्धिबाट भविष्यको संकेत देखिनुपर्छ। तर आधा वर्ष बितिसक्दा पनि आशा देखिएन भने त्यो गम्भीर विषय हो,’ ढुंगानाले भने।

उनले नागरिकले आफ्नै देशमा रोजगारी र अवसर पाउने वातावरण निर्माण हुन नसकेको बताए। महँगी बढेको र जनजीविका कठिन बनेको उनको आरोप थियो। विशेषगरी गृहिणी तथा सर्वसाधारण महँगीको मारमा परेको उनले बताए।

ढुंगानाले जेनजी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए।

सुरक्षा संयन्त्रबाट कानुन मिचेर निर्दोष नागरिकको ज्यान गएको भए दोषीमाथि कडा कारबाही हुनुपर्ने उनको भनाइ थियो। त्यस्तै आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र तोडफोडको समेत छानबिन हुनुपर्ने उनले बताए।

‘२४ गतेका घटनालाई बिर्सन मिल्दैन। सिंहदरबार, सर्वोच्च अदालत र ऐतिहासिक धरोहरमा भएको क्षतिको एक–एक फाइल पल्टाएर छानबिन हुनुपर्छ,’ उनले भने।

उनले वर्तमान सरकारले त्यस्ता घटनाको छानबिन नगरे भविष्यमा बन्ने वैकल्पिक शक्तिले त्यसबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने चेतावनीसमेत दिए।

ढुंगानाले आफूलाई जेनजी आन्दोलनबाट अलग देखाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए। आफूहरूले आन्दोलनका लागि विचार, आह्वान र परिचालनको काम गरेको उनको दाबी थियो।

उनले आफूलाई ‘अवसरवादी’ र ‘आन्दोलनबाट भागेको’ भन्ने आरोपको समेत खण्डन गरे।

‘चाहेको भए सत्ताको मतियार भएर सांसद वा मन्त्री बन्न सकिन्थ्यो। तर मैले कहिल्यै सत्ताको मतियार बन्न चाहिनँ,’ उनले भने।

आफूले १६ वर्षको उमेरदेखि स्वरोजगार तथा व्यवसायमार्फत आफ्नो जीवन चलाउँदै आएको उल्लेख गर्दै ढुंगानाले कुनै पद वा सत्ताको लोभ नभएको बताए।

‘मलाई पदको लोभ छैन। मलाई देशमै केही गर्न मन छ। मलाई विदेश जानु छैन,’ उनले भने।

उनले आफूले विगतमा पनि राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय भूमिका निर्वाह गरेको दाबी गरे। लिपुलेक–कालापानी अतिक्रमण, एमसीसीलगायतका विषयमा आफू हिरासतमा परेको प्रसंगसमेत उनले उल्लेख गरे।

ढुंगानाले सरकारले विभिन्न समूह तथा व्यक्तिसँग गरेका सम्झौताको कार्यान्वयनबारे पनि प्रश्न उठाए। उनले गरिमा चौधरी, गणेश नेपाली तथा जेनजीसँग गरिएका सम्झौता कार्यान्वयनको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरे।

‘राज्यले नागरिकसँग गर्ने सम्झौता कार्यान्वयन हुँदैन भने त्यसले नागरिकलाई ललिपप देखाउने काम मात्र गर्छ,’ उनले भने।

आन्दोलनका क्रममा आफूले उठाएका मुद्दा र अडानमा कुनै परिवर्तन नभएको पनि उनले स्पष्ट पारे।

ढुंगानाले वर्तमान सरकारलाई ‘जेनजीको सरकार’ भनेर व्याख्या गर्न नहुने बताए। उनले सरकारलाई संक्रमणकालमा सत्ता प्राप्तिका लागि बनेको स्वार्थ समूहको सरकारका रूपमा टिप्पणी गरे।

‘यो जेनजीको सरकार होइन। संक्रमणकालमा सत्ता प्राप्तिका लागि गठन भएको स्वार्थ समूहको सरकार हो,’ उनले भने।

उनले सत्तारूढ शक्तिहरूलाई नयाँ वा वैकल्पिक शक्ति भन्न नमिल्ने तर्क गरे। नयाँ भनिए पनि पुराना राजनीतिक दलसँग जोडिएको र वैकल्पिक भनिए पनि स्पष्ट विचार नदेखिएको उनको आरोप थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!