रामेछाप रामपुरकी ३१ वर्षीया ललिता तामाङले काठमाडौंमा बसेर टेम्पो चलाउन थालेको १३ वर्ष भयो।
हाल काठमाडौंस्थित सिनामंगलमा बस्ने उनी दिनको १५ घण्टा टेम्पो गुडाउने गर्छिन्।
बिहान ५ः३० बजेदेखि बेलुका ८ः ३० बजेसम्म त उनी टेम्पो हाँक्नमै व्यस्त हुन्छिन्। ‘काम नगरी सुखै छैन’, उनले भनिन्।
टेम्पो चलाएर दिनको ४५ सय कमाउने उनी टेम्पो मालिकलाई ३३ सय ६० रुपैयाँ बुझाउने गर्छिन्।
‘टेम्पो साहुले टिपअनुसार पैसा लिनुहुन्छ’, उनी सुनाउँछिन्, ‘म दिनमा ८ टिप काम गर्छु। त्यसैले साहुलाई ३३ सय ६० बुझाउने गरेकी छु।’
साहुको टेम्पो चलाएबापत एक टिपको ४२० दिनुपर्ने उनी बताउँछिन्। दिनभरि टेम्पो हाँक्ने उनी साहुबाट मासिक १४ हजार लिने गर्छिन्।
‘साहुहरुले हामीलाई महिनाको १४ हजार दिनुहुन्छ’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्, ‘उहाँहरुले हाम्रो मेहनतको पैसा दिनुभएको हो।’
टेम्पो चलाउने ललिता आफूले चाहेको काम गर्न पाउँदा निकै खुसी छिन्। सुरुका दिनमा टेम्पो चलाउँदा आफूले गरेको सघंष सम्झँदै उनी भन्छिन्, ‘टेम्पो सिक्नका लागि म धेरै जनाको अगाडि झुकेकी थिएँ। मैले टेम्पो चलाउन जान्दिनँ भनेर मलाई टेम्पो छुनु पनि दिनुहुन्न थियो।’
१८ वर्षकी ललिताले टेम्पो चलाउन जान्दैन भन्दै टेम्पो चालकहरुले १३ वर्षअघि भनेको कुरा सम्झँदै उनले भनिन्, ‘यो नानीले टेम्पो चलाउन सक्दैन भन्नुहुन्थ्यो, तर साता दिनभित्रै टेम्पो गुडाउन जानेँ।अहिले म मेराे कामप्रति खुसी छु।’
सुरुसुरुमा टेम्पो चलाउँदा उनलाई आकाशमै उडेको महसुस भयो। ‘सरर टेम्पो गुडाउँदा हवाइजहाज नै उडाएको जस्तो लाग्यो’, हाँस्दै उनले भनिन्, ‘मेरो उदेश्य टेम्पो चलाउने नै थियो।’
अहिले टेम्पो चालिका भनेर चिनिने उनको यो पहिलो काम भने होइन। टेम्पो चलाउनुअघि नै उनी अन्य काममा आवद्ध थिइन्।
टेम्पो चलाउनुअघि के गर्थिन्, ललिता?
०५८ सालमा उनी काठमाडौं आइन्। घरको आर्थिकस्थिति कमजोर भएका कारण उनी सहर पस्न बाध्य भइन्।
बाबुआमासहित घरमा १२ जनाको परिवार थियाे। त्यसैले पैसा कमाउने उदेश्यले पाँच कक्षा पढ्दै गरेकी उनी काठमाडौं लागिन्।
‘घरमा कमाउने कोही थिएन, त्यसैले म काठमाडौंँ आएँ।’ घरकी माइली छोरी उनी घासँ काट्न जान्छु भन्दै ५०० रुपैयाँ बोकेर काठमाडौं भागेकी थिइन्।
२१ वर्षअघि रामेछापबाट १५० रुपैयाँ गाडी भाडा तिरेर राजधानी आएको बताउँदै उनले भनिन्, ‘मेरो बाख्रा पेवा थियो, त्यसैलाई बेचेर काठमाडौं आएँ।’
१० वर्षकी ललिता पहिलो पटक काठमाडौं आउँदा निकै रमाएकी थिइन्। सानै उमेरमा काठमाडौं आएकी उनी काकाको छोराको डेरा सुन्धारामा बस्न थालिन्।
‘काठमाडौं निकै रमाइलो लागेको थियाे, तर गाडीहरु गन्हायो’, पहलाे पटक काठमाडौं भित्रिएकाे अनुभव स्मरण गर्दै उनले भनिन्।
काम गर्ने उदेश्यले काठमाडौं पसेकी उनी केही दिनमै बालुवा बोक्न थालिन्। जसबाट उनले दिनको ५० कमाइन्।
‘मैले बालुवा बोक्ने काम ६ महिनासम्म गरेँ’, उनले भनिन्, ‘त्यहाँबाट कोठाभाडा ३०० तिर्न पुग्थ्यो।’
बालुवा बोक्ने काम छोडेर उनी घरघरमा गएर खाना पकाउन सुरु गरिन्।
‘खाना पकाएर महिनाको हजार कमाउँथे’, उनले सुनाइन्, ‘एउटा घरमा बसेरै खाना पकाउने काम गरेँ, त्यहाँ मलाई ९ कक्षासम्म पढाइदिनुभयो।’
२ वर्ष खाना पकाउने काम गरेपछि उनी मेनपावरमा काम गर्न थालिन्। त्यहाँ उनले सरसफाई र चिया नास्ता बनाउन थालिन्।
‘त्यहाँ मलाई मासिक ३५ सय दिनुहुन्थ्यो’, उनले भनिन्।
मेनपावरमा काम गरेको वर्ष दिनपछि उनले बौद्ध चाेकमा काम सुरु गरिन्। उनको काम थियो– गाडी ‘पार्किङ’ मा ‘सेक्यूरिटी गार्ड’ बस्ने। गार्ड बसेबापत उनले मासिक ३५ सय रुपैयाँ लिने गर्थिन्।
‘त्यसबेला मेरो डेरा नारायणथानमा र काम बौद्धमा थियो’, उनले विगत सम्झिइन्, ‘काममा हिँडेर जान्थेँ, अनि हिँडेरै आउँथे।
गाडी पार्किङमा गार्ड बसेकी उनले डेढ वर्षपछि लगनखेलको ‘ज्योती विकास बैंक’ मा ‘सेक्यूरिटी गार्ड’ को काम गर्न थालिन्।
‘मलाई चार हजार तलब दिइन्थ्यो’, उनी सुनाउँछिन्, ‘काम गरेको एक वर्षपछि नै काम छाडेँ।’
बैंकमा गार्ड बसेकी उनले फेरि धापाखेलको ‘कृषि विकास बैंक’ मा काम गरिन्। त्यहाँ पनि उनी ९ महिना मात्र टिकिन्। ‘त्यहाँबाट मैले ५४ हजार कमाएँ’, उनले भनिन्।
त्यसपछि गार्डको काम छोडेर ललिताले रिङरोडमा सहचालकको काम गर्न थालिन्। ‘काम गर्ने रहर होइन, बाध्यता थियो’, उनी आफ्नो दुख सुनाउँछिन्।
बसको ढोकामा उभिएर दिन कटाउने गरेकी उनले दिनमा ३०० कमाउँथिन्।
सहचालक बनेर चलाखी गर्न सकियाे भने पैसा कमाउने सकिने बताउने उनी भन्छिन्, ‘खलासी काम गर्ने मान्छेले अलि धेरै चलाखी गरेर पैसा कमाउने रहिछ, तर मैले त्यस्ताे गर्रन जानिनँ। त्यसैले पैसा पनि कमाइनँ।’
सहचालक बनेकी ललिता एक वर्षपछि नै चालक भइन्। उनले रिङरोडमै ‘म्याइक्रो’ बस चलाउन थालिन्।
गाडी सिक्नमा चासो राखेकी उनले एक महिनासम्म त तलब बिना नै गाडी चलाइन्। ‘मैले पैसा नलिइकन गाडी चलाएँ’, उनले भनिन्।
म्याइक्रो बस हाँकेको २ वर्षपछि उनले टेम्पो चलाउन सुरु गरिन्। टेम्पो चलाउन उनी निकै उत्साहित थिइन्। त्यसैले त उनले अहिले पनि टेम्पो चलाइरहेकी छिन्।
आफ्नो कामप्रति रमाउने उनी गत वर्ष मात्र वैवाहिक बन्धनमा बाधिँएकी हुन्। त्यसैले त उमेरले तीन दशक कटिसकेकी उनलाई मानिसले किन ढिला विवाह गरेको भन्दै सोध्ने गर्छन्।
ललिताले किन गरिन् ढिला विवाह ?
सानैदेखि काममा पोख्त उनको पैसा कमाएर परिवार पाल्ने सपना थियो। त्यसैले उनले सानो उमेरदेखि नै काम गर्न सुरु गरिन्।
आफ्नो लागि नभई बाआमाको लागि पैसा कमाउने सोच राख्ने ललिताको विवाहमा चासै गएन।
‘माया गर्छु भन्नेहरु त धेरै थिए। तर मलाई माया होइन, पैसा कमाउनु थियो’, उनले भनिन्, ‘बाआमालाई सुखी बनाउनु नै मेरो उदेश्य हो।’
छोरीको उमेर ढल्किन थाल्याे भन्दै चिन्ता लिने परिवारले नै उनको विवाह तामाङ केटासँग गराइदिएका हुन्।
‘विवाह गरेपनि, नगरेपनि काम छैन’, आफ्नो अवस्थाबारे बताउँदै उनले भनिन्, ‘आफूले पाउने केही होइन पो।’
आफ्ना बाआमालाई आफैँले पाल्ने सोच बनाएकी उनी अहिले पनि बेला–बेलामा गाउँमा खर्च पठाउने गछिन्। बाआमाले पैसा नपठाउन आग्रह गरेपनि आफूले खर्च दिने उनी बताउँछिन्।
‘मेरो बाआमालाई हेर्नु मेरो कर्तव्य हो’, उनले भनिन्, ‘आफूले सकुन्जेल मेरो बाआमालाई पाल्नेछु।’