ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध’ निम्त्याउन खोजेको आरोप लगाएपछि…

Break n Links
Break n Links

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ।

जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्चा पाइरहेको छ।

ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ। वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए।

ट्रम्पले भनेका थिए, ‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनी ‘तेस्रो विश्वयुद्धका लागि जुवा’ खेल्न खोज्दैछन्।’

अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिकाको अपमान गरेको आरोप लगाएपछि बैठक तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पले जेलेन्स्कीको अवस्था कमजोर रहेको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गरेका थिए।

जवाफमा जेलेन्स्कीले आफू गम्भीर रहेको बताउँदै रूसप्रति नरम नहुन चेतावनी दिएका थिए। उनले अमेरिकाले यसको प्रभाव केही समयपछि देख्ने चेतावनी दिएका थिए।

ट्रम्पले भने आक्रोश र दवाबपूर्ण वार्ताले धेरै कुरा सिकाएको र त्यसको नतिजा अचम्मको रहेको दाबी गरेका थिए। उनले अमेरिकाको साथ रहेसम्म युक्रेनलाई बार्गेनिङ गर्न सहज हुने भएकोले जेलेन्स्की शान्तिको लागि तयार नरहेको आरोप लगाएका थिए।

ट्रम्पले भनेका छन्, ‘आज ह्वाइट हाउसमा हाम्रो धेरै अर्थपूर्ण बैठक भयो। धेरै कुरा सिकियो जुन यस्तो आक्रोश र दबाबमा गरिएको कुराकानी बिना कहिल्यै बुझ्न सकिँदैन। भावनात्मक कुराबाट जे निस्किएको छ त्यो कुरा अचम्मको छ, र मैले यो बुझेको छु कि यदि अबसम्म अमेरिका यसमा संलग्न हुन्छ तबसम्म राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन्, किनभने उनलाई लाग्छ कि हाम्रो संलग्नताले उनलाई वार्ताका लागि ठूलो फाइदा दिन्छ।’

आफूले कुनै पनि फाइदा नचाहेको र शान्ति मात्र चाहेको दाबी गर्दै ट्रम्पले जेलेन्स्की शान्तिको लागि तयार भएको अवस्थामा फेरि ह्वाइट हाउस आउँन सक्ने बताएका छन्।

उनले भनेका छन्, ‘म फाइदा लिन चाहन्न, म शान्ति चाहन्छु। उनले ओभल अफिसमा संयुक्त राज्य अमेरिकाको अनादर गरे। उनी जब शान्तिको लागि तयार हुन्छन् तब उनी फेरि आउँन सक्छन्।’

प्रकाशित मिति: : 2025-03-01 17:30:00

प्रतिकृया दिनुहोस्