एचआईभी भाइरसबाट पीडित एक व्यक्ति रोगमुक्त भएका छन्। चिकित्सकहरूले लन्डनका एक एचआईभी–१ भाइरस पीडितलाई मूल कोषिका (स्टेम सेल) प्रत्यारोपण गरी निको गराएको बताएका छन्।
पेरिसमा आयोजना गरिएको चिकित्सा सम्मेलनमा यो अद्भूत कार्यका बारेमा घोषणा गरिएको हो। एचआईभी संक्रमण भएका व्यक्ति निको भएको यी दोस्रा व्यक्ति हुन्। एचआईभी संक्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो।
उनलाई ‘लन्डन विरामी’ को उपनाम दिइएको छ। विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको ‘नेचर’ जर्नलमा उल्लेख छ।
दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो। उनलाई ‘बर्लिन विरामी’ नाम दिइएको थियो। उनलाई सन् २००८ मा एड्सबाट मुक्त भएको घोषणा गरिएको थियो। उनले केही वर्षपछि आफू टिमोथी ब्राउन भएको खुलासा गरेका थिए।
लन्डन विरामीलाई रगतको क्यान्सर उपचारका लागि विरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो। एचआईभी संक्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोषिका (स्टेम सेल)लाई पनि जेनेटिक उपचार गरिएको थियो।
‘उपचार सफल देखिएकाले बर्लिन विरामीको पनि सफल उपचार हुनेछ’, क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक एवम् मुख्य लेखक रवीन्द्र गुप्ताले भने। विश्वमा लाखौं मानिस एचआईभीबाट पीडित छन्। लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्। तर, कुनै पनि विरामी पूर्णरूपमा निको हुन सकेका छैनन्। ‘अहिले एचआईभीको उपचार गर्ने एकमात्र विधि औषधि सेवन मात्र हो, जसले भाइरसको फैलावट रोक्छ र यो औषधि विरामीले आजीवन सेवन गर्नुपर्छ’, गुप्ताले भने, ‘यसले विकासशील मुलुकलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ। यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन्।’
विश्वमा हाल ३ करोड ७० लाख मानिसमा एचआईभी छ। यसमा करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन्। एचआईभीसँग सम्बन्धित कारणबाट वर्षेनि झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ।
एचआईभीकै स्वरूपमा एउटा नयाँ औषधिप्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरूको भनाइ छ। गुप्ता र उनको टोलीले हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण उपचार विधि एचआईभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ।
यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ। यद्यपि यो प्रत्यारोपणले वैज्ञानिकहरूलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट विरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाइ छ।
उनलाई सन् २००३ मा एचआईभी संक्रमण भएको थाहा भएको थियो। उनले सन् २०१३ मा यसको उपचार गराउन शुरु गरेका थिए। उनलाई सन् २०१२ मा कडकिन लिम्फोमा नामको क्यान्सर भएको थियो।
उनको क्यान्सरको उपचार भइरहेका बेला चिकित्सकले मूल कोषिका (स्टेम सेल)का दाता फेला पारे। ती दाताको शरीरमा दुर्लभ जिन भेटियो, जसले प्राकृतिक रूपमा एचआईभीका विरुद्ध प्रतिरोधक क्षमता प्रदान गर्थ्यो। यो जानकारी पाएपछि उपचारमा संलग्न चिकित्सकले क्यान्सरका सँगै एचआईभीको उपचार गर्ने प्रयास गरे। उक्त जिन उत्तरी यूरोपमा हुने एक प्रतिशत व्यक्तिमा हुन्छ। शोधकर्ता रवीन्द्रले भने, ‘यस्तो जिन मिल्नु लगभग असम्भवप्रायः हुन्छ।’
मासी प्रत्यारोपणपछि लन्डन विरामीको पूरै प्रतिरक्षा प्रणाली परिवर्तन भएको थियो। उनी स्वस्थ भइसकेका थिए। एचआईभीका जीवाणु फेरि सक्रिय हुन्छन् कि हुन्न् भन्ने जिज्ञासा भने बाँकी थियो। यसैले केही समयपछि विरामीले स्वेच्छाले एचआईभीको औषधि लिन बन्द गरेका थिए। सामान्य रूपमा औषधि लिन बन्द गरेको दुईतीन सातामा जीवाणु सक्रिय हुन्छन्। लन्डन विरामीमा भने तीन साता बित्दा पनि यस्तो भएन। १८ महिनासम्म एड्सका जीवाणु फेरि सक्रिय हुन्छन् कि भनेर उनलाई चिकित्सकको निगरानीमा राखियो। कुनै पनि अवस्थामा ती जीवाणु नदेखिएपछि चिकित्सकले उनको बारेमा जानकारी सार्वजनिक गरेका हुन्।
एचआईभी संक्रमणबाट मुक्त भएका पहिला विरामी ब्राउनले भने, ‘म लन्डन विरामीलाई भेटेर आफ्नो पहिचान सार्वजनिक गर्न भन्नेछु। यसबाट एचआईभी संक्रमित व्यक्तिमा नयाँ आशा सञ्चार हुनेछ।’