प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला चीनमा छन्। चीनको आठदिने चीन भ्रमणको क्रममा उनी ह्वानझाउ पुगेका हुन्।
चीनको आठ दिने भ्रमण सुरू गर्नुअघि उनी अअमेरिकाको न्युयोर्कमा थिए। संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हने क्रममा उनी पाँच दिन अमेरिकाको न्युयोर्कमा रहेका थिए।
प्रधानमन्त्री प्रचण्डले अमेरिका छोडेपछि उनको महासभाको सहभागितालाई लिएर पोष्ट इभेन्ट मूल्याङ्न सुरू भएको छ।
आइतबार विहान न्युयोर्क आइपुगेका प्रधानमन्त्री प्रचण्डले पाँच दिन न्युयोर्कमा बिताए। आएको दिनदेखि नै विभिन्न कार्यक्रममा सहभागी उनले जाने दिन राष्ट्र संघको महासभाको मुख्य सत्रलाई सम्बोधन गरे।
प्रधानमन्त्री प्रचण्डले यो भ्रमणलाई नेपालको शान्ति प्रक्रिया अझै पूरा नभैसकेको र त्यसलाई पूरा गर्न संयुक्त राष्ट्रसंघसहित सम्बद्ध देशहरूको सद्भाव आवश्यक रहेको भाष्य निर्माण गर्नमा खर्चिए। त्यसका लागि उनले आफू इमान्दार प्रयास गरिरहेको पनि बाराम्बार दोहोर्याए।
उनले माओवादी सुप्रिम कमाण्डरको पोस्चरबाट आफूलाई निकाल्न निक्कै प्रयास गरे। त्यस क्रममा उनी विभिन्न फोरममा सक्रिय सहभागी भएर आफू पनि विश्वका जल्दाबल्दा समस्यामा उस्तै किसिमले सोच्ने मान्छे भएको दाबी निरन्तर रूपमा पेस गरिरहे।
उनी विभिन्न फोरमहरूमा मात्र सिमीत भएनन्, विश्वका केही राष्ट्रका राष्ट्र प्रमुख र संयुक्त राष्ट्र संघका उच्च पदाधकिारीहरूको साइड लाइन वार्तामा पनि व्यस्त रहे। उनले ती सबै भेटमा माओवादी समयसँगै रूपान्तरण भएर नेपालको मूलधारमा उभिएको बुझाउन प्रयास गरे।
प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्युयोर्क आसपासको क्षेत्रमा रहेका नेपाली र गैरआवासीय नेपालीलाई पनि सम्बोधन गरे। उनले आफू, आफ्नो पार्टी र सरकार गैरआवासीय नेपालीका सबै समस्या सुन्न र समाधान गर्न तयार रहेको वचन दिदै गैरआवासीय नेपालीहरूले पनि नेपालको विकासमा योगदान दिनुपर्ने शर्त राखे। उनले गैरआवासीय नेपाली नागरिकताका लागि सरकारले निर्देशिका तयार पारेको बताउँदै गैरआवासीय नेपाली नागरिकता नेपाली नागरिकताकै निरन्तरता भएको बताए। उनको भनाइ थियो, अब एकपटकको नेपाली सँधैको नेपाली भएको छ।
प्रधानमन्त्री प्रचण्डको मूल काम संयुक्त राष्ट्र संघको ७८औं महासभाको मुख्य सत्रलाई नेपाली प्रतिनिधिमण्डलको रूपमा सम्बोधन गर्नु थियो। उनले संक्रमणकालीन न्याय, जलवायु परिवर्तन र आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएर आफ्नो धारणा राखेका थिए। उनले संक्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो मुख्य राजनीतिक एजेन्डा भएको बताउँदै संक्रमणकालीन न्यायको प्रक्रियामा मानवअधिकारको गम्भीर उल्लंघनका लागि कुनै पनि आममाफी नहुने विश्वास दिलाए ।
आर्थिक एजेण्डाको सन्दभर्मा उनले नेपालको राजनीतिक गतिले स्थिर आकार लिएको उल्लेख गर्दै अबको ध्यान आर्थिक रुपान्तरणमा रहेको बताए । उनले राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक विकासले मात्र दिगो बनाउन सक्ने कुरामा आफू सचेत रहेको उल्लेख गरे ।
जलवायु परिवर्तनको मुद्दालाई हिमालसँग जोड्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका हिमाली मुलुकले जलवायु परिवर्तनको चरम पीडा भोग्दै आएको बताए।उनले जलवायु परिवर्तनले बारेमा खेलाची गर्न नहुने बताउँदै त्यसका लागि सामुहिक रूपमा प्रतिबद्ध हुनुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डको सक्रिय सहभागिता निश्चित पनि लोभलाग्दो र प्रशसनीय थियो। यद्यपि, उनको सक्रियताको खासै चर्चा भएन।
प्रधानमन्त्रीको सारा सक्रियता उनकी छोरी गंगा दाहालको छायाँमा पर्यो। उनी प्रचण्डको सचिवालयकी एक सहसचिवस्तरकी कर्मचारी भए पनि उनले प्रधानमन्त्रीकी कम्प्यानियनकै हैसियतमा हैकम जमाइन्।
राष्ट्र संघमा उनी प्रधानमन्त्री र मन्त्रीकै लाइनमा बसिन् जबकि परारष्ट्र सचिव भरतराज पौङ्याल र न्युयोर्कस्थित नेपाली नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा उनको पछिल्लो लहरमा बसेका थिए।
यसो हुनुका दुई कारण हुन सक्छन्, पहिलो गंगाको हैकम, दोस्रो गंगाको गुलामी। आमा नभएपछि कम्प्यानियनको हैसियतमा उक्लेकी गंगाले हैकम त चलाउने भइन् नै, सरकारी कर्मचारीहरू पनि उनलाई खुशी पार्न अतिरिक्त गुलामी गरिरहेका छन्।
गंगाले पोटेटो र प्रोटकोकल नछुट्याउने अहम मात्र देखाइन्, ब्राण्डेड घडी, झोला र सेण्डिलको प्रदर्शन गरेर सारा चर्चाको बजार पनि आफैतिर तानिन्।
यसैगरी कुनै बेला माओवादी पार्टीका तर्फबाट कालिकोटको तिलागुफा गाउँपालिकाकी उपमेयर रहेकी दन्ता उर्फ दर्शना नेपालीले पनि प्रचण्डको भ्रमणमा हिलो छेपिन्। उनी पदमा रहेकै बेला अमेरिका भ्रमणमा आएर यतै लुकेकी थिइन्। उनको यो भगौडा रूपलाई लिएर ठूलो आलोचना भएको थियो। तर, प्रचण्डले उनै भगौडालाई भेटेर आफ्नो भ्रमणमा कालो पोत्ने बाटो बनाइ दिए।
कतै देखिएनन् १७ हजार हत्याका गणक
अमेरिकामा प्रचण्ड र माओवादीको त्रास देखाएर शरण माग्ने नेपालीको संख्या १७ हजारको आसपास रहेको तथ्यांक छ। तीमध्ये ११ हजारले शरण नै पाइसकेका छन्।
यसरी शरण पाएका केही नेपाली शरणार्थी जहिले पनि प्रचण्डलाई १७ हजारको हत्यारा भन्दै स्यालहुँइया गरिरहेका हुन्छन्। यसरी स्याल हुइँया गर्नेमा राजावादी, कांग्रेस, एमाले पृष्ठभूमिका बढी मात्रामा रहेका छन्। आफ्नै आँखाले १७ हजार मारिएको देखेजस्तो गर्ने यी गणकहरू बिगतमा माओवादी नेताहरू आउँदा ‘कालो कपडा’को जोहो पनि गर्थे।
तर, यसपटक ती गणकहरूले त्यस्तो स्यालहुइँया गरेनन्। यसको मूल कारण उनीहरूका सबै इष्ट देउतालाई कुनै न कुनै समय प्रचण्डले सत्ताको बैतरणी तारिसकेका छन्। पुरानाको के कुरा भयो, नयाँ भनिएका रवि लामिछाने पनि प्रचण्डको गृहमन्त्री रहिसके। अहिले पनि उनको दोहोरो राहदानीको दुरूपयोगको मुद्दा नचलाउने निर्णय गरेर रविको ठूलै कल्याण गरिदिएका छन्। यस्तो परिवन्दले रविका समर्थकको पनि मुखमा बुजो लागेको देखियो।
संयुक्त राष्ट्र संघका लागि न्युयोर्कस्थित नेपाली नियोगले ७८औं महाधिवेशनको तयारी राम्रैसँग गरेको पाइयो।
नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री प्रचण्डको महासभाको मुख्य सत्रमा गरिएको सम्बोधनदेखि विभिन्न बैठक र सम्मेलनमा गरिएको भाषण लेखन पनि स्तरीय थियो। महासंघका पदाधिकारीहरूसँगको भेटघाट र साइडलाइन बार्ता पनि बाक्लै भए। र, ती सबैमा नेपालको प्रस्तुति स्तरीय थियो।
नेपालका प्रधानमन्त्रीलाई पाँच दिन नै पूरै व्यस्त राख्न जुन किसिमको तयारी संयुक्त राष्ट्र संघका लागि न्युयोर्कस्थित नेपाली नियोगले गर्यो, त्यसका लागस नियोग प्रमुख लोकबहादुर थापा र उनको टिम धन्यवादको पात्र छ।
नेपालका प्रधानमन्त्री प्रचण्ड र उनकी छोरी गंगा दाहालले अमेरिकी राष्ट्रपति जो बाइडन र प्रथम महिना जिल बाइडनसँग भेटवार्ता गरेको समाचार बाहिर ल्याइयो।
नेपालका रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यलाई स्रोत बनाएर सरकारी सञ्चार माध्यम राससले समाचार बाहिर ल्यायो। त्यस समाचारलाई नेपालका सबैजसो सञ्चारमाध्यमले समाचार बनाए।
वास्तवमा त्यो कुनै भेटवार्ता नै हैन। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन आउने राष्ट्रप्रमुख र सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति र प्रथम महिलाले स्वागत समारोहको आयोजना गर्छन्। त्यस क्रममा अमेरिकी राष्ट्रपतिले सबैसँग हात मिलाएर तस्बिर खिचाउँछन्। त्यो तस्बिर ह्वाइट हाउसका फोटोग्राफरले मात्र खिचेका हुन्छन्।
त्यो तस्बिर सम्बन्धित देशका सरकार वा राष्ट्रप्रमुखलाई ह्वाइट हाउसले उपलव्ध गराउँछ। त्यसपछि, त्यो तस्बिरलाई महत्वका साथ सार्वजनिक गरिन्छ।
यसपटक पनि भएको त्यही हो। प्रधानमन्त्री प्रचण्डले आफ्नो कम्प्यानियनका रूपमा छोरी गंगालाई लिएर गए। प्रचण्ड पत्नी सीताको निधन भैसकेकाले छोरी गंगाका लागि कम्प्यानियन बन्न सजिलो भएको छ। अमेरिकी राष्ट्रपति बाइडेन र प्रथम महिलाले नेपालका सरकार प्रमुख प्रचण्ड र उनकी कम्प्यानियनसँग तस्बिर खिचे।
यही तस्बिरका साथ समाचार बन्यो, प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेटबार्ता। यो भेटघाट मात्र हो, भेटबार्ता हैन।
यसरी एउटा प्रोटोकल भेटघाटलाई भेटबार्ता भनेर दिउँसै रात पार्ने काम गरियो। एक किसिमले भन्ने हो भने यो जनताको सुसूचित हुने अधिकारमाथिको खेलवाड हो।