कमरेड करिश्मा उर्फ सूर्यकुमारी !

तेजन खड्का

काठमाडौं

केही दिन कपिलवस्तुमा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वानरको नाम ‘सूर्यकुमारी’ रहेको बताएपछि उक्त अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो। करिश्माको ‘कपिलवस्तु कथन’लाई लिएर गसिप बन्ने क्रम रोकिएको छैन्। आफ्नो भनाइलाई व्यंग्य समेत भएपछि उनले मुख खोलिरहेकी छिन्। भन्छिन्,‘मलाई मेरो नामसँग लाज थियो। नेपालको राजनीतिक परिस्थितिसंग लाज थियो। तर, आज बेला आएको छ। परिवर्तन सम्भव छ।’

आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन्। बिएल नेपाली सेवासँग भनिन्,‘म भाषण गर्न त्यहाँ गएको थिइन्, मलाई बोल्न दिनुभयो। एमालेकाे चुनाव चिन्ह सूर्य भएकाेले मैले मेराे न्वारानकाे नाम सूर्यकुमारी सम्झिएँ। र, सबैलाई सुनाएँ। त्यसमा मैले के गल्ती गरेँ ?’

नेपाली चलचित्र क्षेत्रको सफल चर्चित अभिनेत्री तथा चलचित्र निर्माता करिश्माको अबकाे राजनीतिक यात्रा कस्तो रहला ? त्यो हेर्न बाँकी नै छ। उनको न्वारानको नामबाट आएका गसिफ र आमागी राजनितीक यात्राबारे बिएल नेपाली सेवाकाे लागि तेजन खड्काले गरेको कुराकानीकाे अंश उनकै शब्दमा :-


सूर्यकुमारी मेरो न्वारानको नाम हो। न्वारानको नाम सबैलाई भन्दै हिँड्ने कुरापनि भएन। म एमाले प्रवेश गर्दैगर्दा झट्ट मैले न्वारानको नाम सम्झेँ। एमालेको चुनाव चिन्ह सूर्य देखेपछि झल्याँस्स म ‘नोस्टालिज’ भएँ। ओहो! मेरो नाम त सूर्यकुमारी होनी भन्ने सम्झेँ। न्वारानको नाम भनौँ वा कसैले दिएको नामको चिनो सबैलाई भन्ने कुरा थिएन। सबैलाई जानकारी भएको अवस्था होइन, जानकारी हुन आवश्यक पनि छैन।

जब एमालेमा प्रवेश गरेँ, सूर्य चिन्ह अंकित झण्डा देखेँ, सूर्य देखेँ, अनि मेरो नाम त सूर्यकुमारी हो भन्ने ठ्याक्कै याद आयो। अनि सुनाएको हुँ। यो नाम मेरी आमा, घरपरिवारलाई बाहेक निकटका साथीसम्मलाई थाहा छैन, थिएन।मेरो न्वारानको नामलाई लिएर मिडियाहरुले महत्व दिनुपर्ने थिएन। तर, महत्व दिनुभयो, त्यसलाई उहाँहरुको खुबी नै मान्छु। खुसी लाग्यो। अन्यथा मिडियालाई मेरो भन्नु केही छैन। म फटाइँ कुरा बोल्ने मान्छे होइन।

३० वर्षे मेरो कलायात्रामा मैले याेगदानका हिसाबले नै कमाएको नाम हो, करिश्मा मानन्धर। मैले गलत तरिकाले झुटा कुरा पस्केर नाम कमाएको होइन। न्वारानको नाम सूर्यकुमारी कस्तो प्रसंगमा आयो भने, मैले निजी कुरालाई व्यक्त गर्ने माध्यम पाएँ। पार्टी प्रवेश कार्यक्रममा बोलेकै कारण मिडियाकर्मीलगायत सबैले मेरो न्वारानको नाम चिन्न पाउने अवसर पाएका हुन्। कसैले मेरो नामलाई उडाउँछन् भने त्यो मेरो समस्या हैन, उहाँहरुको व्यक्तिगत समस्या हो।

मेरो नामअनुसारको राशी कुम्भ हो। संयोग नै भनौँ सूर्यकुमारी नाम मैले नेता साथीहरुलाई पनि सुनाएको थिइनँ। पार्टी प्रवेश कार्यक्रम एउटा अवसर भयो। विश्व नै सूर्यले धानेको छ, सूर्यविना कुनै औचित्य रहँदैन। त्यसैले मेरो नामप्रति गर्व गर्छु। दैनिक रुपमा सूर्यलाई पानी चढाउने मेरो बानी छ। हाम्रो परिवार धार्मिक आस्थामा विश्वास गर्छ। मलगायत मेरो परिवार नै हिन्दू सनातन धर्मप्रति आस्थावान, निष्ठावान छ।

निश्चय नै पृथ्वीका सबै ग्रहहरुको सूर्यसँग अन्तर्निहित सम्बन्ध छ। सूर्यविना यो ब्रह्माण्डमा केहीको अस्तित्व, अनि औचित्य छैन। हामीले यही कुरा पढेको छौँ, सिकेको छौँ। मेरो नामसँग जोडिएकोले पनि म सूर्य भगवानप्रति नतमस्तक छु। दैनिक पूजाआजा गर्ने गर्छु सूर्यलाई। म आवद्ध रहेको पार्टीको चुनाव चिन्ह सूर्य भएको कारण मैले अलिकति ठट्यौली पारामा प्रसंगबस भनेको त्यो नामको कुराले कतिलाई सिरियस बनाउला, बाधा पुग्ला, जलन होला भनेर मैले सोचेकै थिइनँ। मेरो नामले कसैकसैलाई पोल्यो त नाम नै चेन्ज गर्ने कुरा भएन नि!

पार्टी प्रवेश गरेपनि मैले चुनावको लागि केही सोचेको छैन। म कुनै बार्गेनिङ गरेर एमाले प्रवेश गरेको पनि होइन। राजनीति बुझौँ, सिकौँ, जानौँ भनेर पनि यहाँ (एमालेमा) लागेको हाे। सूर्यकुमारी ललितपुरमै जन्मिएकोले यहाँका अगुवा नेता कमरेडहरुसंग राजनीति सिकौँ र उहाँहरुले दिएको जिम्मेवारी पुरा गराैँ भन्ने हो। मेरो काम भनेको एमालेलाई कसरी अगाडि बढाउने, कसरी राम्रो बन्छ बनाउन सकिन्छ, त्यो काम पुरा गर्नु यतिबेला मेरो मुख्य पाटो हो।

मैले पटकपटक पार्टी फेरेको पनि होइन। मैले राजनीति सुरु गरेको डा. बाबुराम भट्टराईको नयाँ शक्तिबाट हो। बाबुरामको धारणा एउटा वैकल्पिक धार भएकोले उहाँले ‘तपाईंको नाम राखुँ’ भनेर सोध्नु भो। मैले यथार्थ नबुझेरै हुन्छ भनेँ। खासमा त्यो पार्टी प्रवेश रहेछ। समाचार आएपछि बल्ल थाहा पाएको थिएँ। नयाँ शक्तिमा लागेको भने होइन, तर नाम जोडिएपछि दुई तीन वर्ष त लागि परेरै काम गरियो। नयाँ शक्तिमा लागेपछि त्यतिबेला राजनीति अलिअलि बुझेको हुँ। त्यसपछि मेरो राजनीतिप्रति इच्छा, चाहना झन धेरै बढ्दै गयो। अरु संगठनलाई नियालेर हेरेँ, बुझेँ, अनि नयाँ शक्ति पार्टी मेरो लागि उपयुक्त होइन रहेछ भन्ने बुझेर ‘ब्याक’ भएको हुँ।

म कुनै पदको लोभ खोजेर नभइ केपी शर्मा ओलीबाट प्रभावित भएर, साँच्चिकै उपयुक्त लागेर एमाले प्रवेश गरेको हुँ। अहिलेको समस्या भनेकै पाँच बर्षसम्म सरकार स्थिर रहन नसक्नु हो। जसरी पनि सरकार ढाल्नुले गर्दा विकासले गति लिन सक्दैन। पटक–पटक सरकार ढाल्नु नेपालको मुख्य समस्या हो। यो सरासर गलत हो। राम्रो गर्दागर्दै केपी ओलीको सरकार पनि ढाल्दिए।

हो, केपी ओलीले समय अनुरुप नाम–बदनाम कमाउनु भो, त्यो ‘पावर’ भनेको एउटा शक्तिशाली लिडरमा मात्रै हुन्छ। उहाँको अद्भुत क्षमता देखेर जानी, बुझिकनै उहाँप्रति आकर्षित भएको हुँ। एकदमै तल्लो तहको नेता/कार्यकर्तालाई समेत यसरी चासो दिएको कारण पनि म उहाँको सुभचिन्तक कार्यकर्ता हो। केपी कमरेडको सबैलाई गर्ने व्यवहार, बिहानै उठेर पत्रपत्रिका अध्ययन गर्ने शैली निकै राम्रो छ। विचार उहाँको राम्रो छ। विगतमा नयाँ शक्तिमा जोडिएका कयौँ साथीहरु पनि यता (एमालेमा) लाग्नुभएको छ। तिनै साथीहरुले मलाई पटक–पटक फोन गरेर साँच्चिकै राजनीतिमा लाग्ने भए ठिक बाटो रोज्न आग्रह गर्नुले पनि म एमालेसंग जोडिनुको एउटा कारण हो। मेरो सोचाई एक/दुई बर्ष पहिलेबाटै एमाले प्रवेश गर्ने थियो। चुनावपछि प्रवेश गर्ने सोच बनाएको थिएँ, तर चुनावसम्म पनि कुर्न नसकेर, हतार लागेर अहिले पार्टी प्रवेश गरेको हुँ।

कलाकारिताका हिसाबले सबैले माया गर्नु भो। कोहीकोहीले महानायिकाको ट्याग पनि भिराइदिनु भो, तर त्यस्तो महान भने होइन। सम्मान गर्न पाइन्छ। दर्शकले दिएको उपमा अस्वीकार गर्दिनँ। सबैले जो-कोहीलाई महान मान्दैन, जसले मान्छ त्यो स्वीकार नगर्ने कुरा हुँदैन। कलाकारिता यो एउटा क्षेत्र हो, तर पार्टी भनेको सबै क्षेत्रलाई समेट्ने पाटो हो। आफूले गरेको काम, बोलेको कुरा चारैतिर पुग्ने एउटा मुख्य पाटो राजनीति हो।कलाको प्रतिनिधित्व पनि हुने भएकाले सबै कलाकारहरु कहिँ न कहिँबाट राजनीतिमा जोडिएका छन्। सचेत नागरिक राजनीतिमा जोडिनु उचित हो।

बलिउड, हलिउडलाई हेरौँ- त्यता पनि कलाकारहरु राजनीतिमा लागेको देखिन्छ। एमालेकै कुरा गरौँ- आधा शताब्दी बढी ५५/५६ बर्ष पुरानो पार्टी हो, यो। जनताहरुले राम्रैसंग बुझेका छन्। कलाकार पार्टीमा आवद्ध भएकै कारण जनसहभागिता बढीभन्दा बढी जुटाउने भन्ने हुँदैन। काम र नीति राम्रो भएकाले जनता एमालेसंग जोडिएका हुन्। अरु पार्टीले पनि कलाकार बोकेरै हिँडेका छन्। तर एमालेमा त्यस्तो हुँदैन, जिम्मेवारीको हैसियतले बोल्ने र सम्मान गर्ने हुन्छ।

म पार्टी प्रवेश गर्दा मेरो बोल्ने हैसियत नै थिएन। तर, बोल्न पाएँ, मेरो आफ्नो नाम सार्वजनिक गर्न पाएँ, खुसी लाग्यो। आउने दिनहरुमा आफ्नो हैसियतअनुसार जिम्मेवारी बहन गर्न सक्छु भन्ने आत्मविश्वास छ। अहिलेकै अवस्थामा स्थानीय तहसम्म हाँक्न सक्ने मेरो हैसियत र अधिकार हो। राजनीति भनेको मेहनत पनि हो। मेहनत नगरे नेता बन्न सकिँदैन। सबै नेताको यहि हो।

जतासुकै गएपनि कलाकारको ठाउँमा हामी कलाकार हो। सबैको राजनीति एकै हुँदैन। फरक–फरक हुनु स्वाभाविक छ। दीपकराज गिरी, रेखा थापालगायतका कलाकारहरुले पनि शुभकामना दिएका छन्। राजनीति कलाकारहरुको सम्मान हो, जो-कसैले अब मलाई कमरेड करिश्मा भन्दा फरक पर्दैन। महानायक (राजेश हमाल) पनि राजनीतिमा आउने चर्चा सुनेको छु। त्यो कुरा त उहाँको आफ्नै विचार होला, म केही भन्न सक्दिनँ। अब सक्रिय रुपमा राजनीतिमा लागेर समाज परिवर्तनमा योगदान गर्नेछु।

प्रकाशित मिति: : 2022-04-01 20:00:00

प्रतिकृया दिनुहोस्