हिमा-६ डाँडाबाडाकी ३४ वर्षीया सुलोचना अधिकारी भेडा चराउँछिन्। उनका जेठा छोरा आर्मीमा छन्। हिमा-७ हाडुल्यामा सामूहिक स्याउ बगैँचा निर्माण गर्न लागेको उनलाई पनि थाहा छ। सामूहिक रुपमा गर्न लागेको काम उनलाई निकै मन परेको छ।
पंतिकार र नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार मानदत्त रावल ओरालो झर्नलाग्दा सेता हिमालमुनि सेता उन गरेका भेडालाई घरतिर हाँकिरहेकी उनले भनिन्, 'ठूला नेता आयाका छुन् रे। ती फर्किग्या कस ताइँ छुन्? स्याउ लाउने काम ती पुनि गद्दाछुन रे। यो काम त साह्रै राम्मो हो। तर त्यति ठूला नेता काम गन्न लागेको सुन्दा अनौठो लाग्याको छ।'
उनले काम गर्न लागेको सुन्दा अनौठो मानेका ठूला नेता नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव सी' हुन्। पछिल्लो समय नेकपाले समग्र मानव समुदायलाई समान देखाउन नामका पछाडि 'सी' लेख्ने गरेका छन्। 'सी' को अर्थ समान हो। सी लेख्ने अभियान एक सांस्कृतिक आन्दोलन हो। कम्युनिस्ट भाषामा मानिस अन्तर्राष्ट्रिय जाति हो। त्यसैले पनि नामका पछाडि सी लेख्ने गर्दा जातीय विभेदको समस्या कम हुँदै जाने उनको भनाई छ।
जनयुद्ध कालमा तीन वर्ष जुम्लामा बसेर राजनीतिक संगठन निर्माण गरेका विप्लवले माओवादीको मुल नेतृत्वबाट भएका भूलमा फरक मत राखिरहे। पछि पार्टीको मुल नेतृत्व संसदीय व्यवस्था र दलाल पुँजीवादी भासमा फस्दै गएपछि उनी फरक पार्टी निर्माण गर्ने अवस्थामा पुगे।
फरक पार्टी निर्माणको क्रममा कहिले भूमिगत जीवन त कहिले खुला राजनीतिक आन्दोलन गर्दै आएका उनले शान्ति पक्रियापछि पनि अशान्तिपूर्ण समय व्यतीत गर्नुपर्यो। कम्युनिस्ट नेतृत्वको सरकार बनेको अवस्थामा जनवादी व्यवस्था चाहने विप्लवका राजनीतिक गतिविधि प्रतिबन्धित हुन पुगे।
सँगै लडेका सहयोद्धबाट लगाइएको प्रतिबन्ध र पक्राउ पुर्जीको डटेर सामना गर्दै आएका उनले हालसम्म सत्ता र संसदको अभ्यास गरेका छैनन्। बरु यो व्यवस्थाको विकल्प खोजिरहेका छन्। अहिले उनी नेपाली विशेषताको समाजवाद र वैज्ञानिक समाजवादी व्यवस्थाको वकालत गर्दैछन्।
भूमिगत, अर्धभूमिगत, प्रतिबन्ध, पक्राउ पुर्जी जे हुँदा उनी नेपाली राजनीतिक आकाशमा छाइरहे। कहिले चम्किलो सूर्यको रुपमा होस् या कहिले मडारिएको बादलमा। सरकारलाई कर छलेका एनसेललगायतकाे ठगीहरुविरुद्धमा होस् या एमसीसीको विरोधमा विप्लवी स्वर गगनभेदी बनिरह्यो। बलियो प्रतिपक्ष स्वर सडकमा गुन्जिरह्यो।
सडकमा प्रतिपक्ष राजनीतिक आन्दोलनको नेतृत्व गरिरहेका विप्लव पछिल्लो समय बढी रचनात्मक देखिन थालेका छन्। त्यसैले उनी समग्र क्रान्तिलाई नै उत्पादन र अर्थतन्त्रसँग जोड्ने अभियानमा छन्।
भाषण र मोटा कुरा मात्रै गर्ने राजनीतिले जनतामा निराशा छाउँदैछ। त्यसैको परिणाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने लाइनले नाइल नदी जित्दैछ। यस्तो अवस्था नेकपाको उत्पादन विभागले राजनीतिक आन्दोलनसँग उत्पादन जोड्ने निर्णय गर्यो। यही निर्णयको उत्प्रेरणा बन्न उनी जुम्ला पुगेका थिए।
हामी उनको अभियानको स्थलगत रिपोर्टिङ गर्ने भनेर नाग्म पुगेको बेला रमेश रावत उर्फ कमरेड 'विक्रान्त सी'सँग भेट भयो। अखिल समाजवादी विद्यार्थी संगठनको केन्द्रीय समितिमा कार्यरत उनको कार्यक्षेत्र मधेस तोकिएको थियो। तर आफ्नो गाउँको लेकमा आफ्ना महासचिव पुग्ने भएपछि उनी आफ्ना साथमा थप विद्यार्थी नेता बोकेर हिमाल उक्ले। हामी पनि सँगै नाग्मबाट उकालो लाग्यौँ।
उनीसहितका विद्यार्थी नेतामा आफ्ना महासचिवप्रतिको असिम भक्तिभाव देखिन्थ्यो। महासचिव भेट्ने तीव्र उत्कण्ठा थियो। मुटु फुट्ने उकालोमा हिँडेर असिनपसिन भइ थाकेका धेरै कमरेडहरु हाडुल्यामा महासचिव विप्लव बेल्छा चलाइरहेको देखेपछि उत्साहित भए। सायद, उनीहरुको थकान मेटियो। आराम नै नगरी काममा लागे।
करिब २९ सय ८० मिटरको उचाइमा महासचिव विप्लवको उचाइ अझ बढेको थियो। कार्यकर्ताहरुका उत्प्रेरणा बनेका उनले पत्रकार आएको थाह पाएपछि उत्साहित हुँदै आत्मियताको हात अगाडि बढाए। सहृदयी भाव प्रकट गरे।
नेतृत्व कार्यकर्ताको मात्रै उत्प्रेरणा होइन। समाज र राष्ट्रको असल अगुवा र अविभावक हो। यस्ता प्रशस्तै गुणले भरिपूर्ण उनलाई नेपाली सत्ता केन्द्रित राजनीतिले विद्रोही, अराजक, समाजमा अशान्ति फैलाउने बिम्बको रुपमा चित्रण गर्यो। तर व्यवहारमा विप्लव उर्जाशील र क्रान्तिकारी छन्। त्यसैले हिँडेरै उनी हाडुल्या पुगेका थिए। उनको एक आह्वानले उत्तर कर्णाली व्यूरोले सामूहिक स्याउ बगैँचाको निर्माण गर्ने निर्णय लियो। देशभरबाट कार्यकर्ता आए।
चिसो सिरोटोले ओठ फुटेका कार्यकर्ताहरु काम गर्दा चिसिएका थिएनन्, बरु तातिएका थिए। शरीरमा छुट्टै खालको उर्जा थियो। अभियानले स्याउ खेती गर्ने तरिका थाहा पाएका प्राविधिकदेखि सरकारी संयन्त्रका धेरैलाई निमन्त्रणा गर्यो। अभियानमा पुगेका कृषि प्राविधिक पदम रोकायाले बुटा रोप्ने तरिका सिकाए। उनको निर्देशनअनुसार विप्लव आफैँ काममा जुटिरहेका थिए। रोकायाले भने, 'ठाउँ मिलेको छ। उचित स्याहारसुसार हुन पायो भने स्याउ उत्पादन राम्रो हुनेछ।'
यसैबीच सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल सामूहिक स्याउ खेतीको कार्यक्रमलाई ऐक्यबद्धता जनाउन फिल्डसम्म पुगे। विप्लवको नेतृत्वले नेपाली राजनीति र समाजलाई उत्पादनमा जोड्ने विश्वास व्यक्त गरे। उनले भने, 'उत्पादनको योजना नेकपाको मात्रै नभई सारा नेपालीको हो। आजकै दिनबाट यो अभियानमा हातेमालो गर्न सुरु गरौँ।'
नेकपाले आफ्नो नवौँ महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको थियो। उत्पादनबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव भएको हुनाले पार्टीले यस्तो सिर्जनात्मक नीति लिएको उनले बताए।
'किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर देश बनाउने उद्देश्यसहित जुम्लामा स्याउ खेतीको सुरुवात गरिएको हो,' उनले भने, 'हामीले तराईमा धान, गहुँ, तोरी खेती गरेका छौँ। पहाडमा फलफूल तथा हिमालमा फलफूल र जडिबुटी खेती गर्ने नीति अख्तियार गरेका छौँ।'
पार्टीलाई तीन वर्षभित्र चन्दामुक्त बनाउने भनेपनि उत्पादन परिणाम र आम्दानीको दायराले लक्ष्यमा अझ चाँडै पुग्न सकिने उनको भनाई छ। नेता विप्लवका अनुसार उत्पादन वृद्धि नभई मुलुक र जनताको समृद्धि सम्भव हुँदैन।
बाँझो जमिनलाई उपभोग गरेर पार्टी, समाज र देश बनाउने अभियान अगाडि बढिसकेको छ। नेकपाले यसअघि मुगु जिल्लामा पाँच सय बिरुवा लगाएको छ भने कालीकोटको फोइमहादेवमा यही अभियानकै दौरानमा पाँच सय स्याउका बिरुवा लगाउने योजना बनाएको छ।
अहिले जुम्लामा स्याउका बिरुवा लगाइएको जमिन हिमा गाउँपालिका-७ का बासिन्दा तथा पार्टीका केन्द्रीय सदस्य बिर्खबहादुर शाहीको जग्गा हो। उनका अनुसार हाडुल्लेको २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान छ।
'पहिलो चरणमा एक हजार पाँच सय स्याउका बिरुवा रोपिनेछ,' उनले भने, 'नेतृत्वमा श्रम गर्ने पद्धतिको विकास हुन सके जनता उत्साहित हुने र आत्मनिर्भर हुन सकिने हाम्रो विश्वास छ।'
तर जनतामा भने संशय छ। हिजो जनयुद्धमा कम्युन, सामूहिक उत्पादन, सामूहिक खेतीलगायतको अभ्यास गरेको माओवादी शहर पसेसँगै सामुदायिक संरचना भत्काउने अवस्थामा पुग्यो। माओवादीबाटै छुट्टिएर बनेको नेकपा नामको शक्ति भविष्यमा संसदीय राजनीतिकै भेलमा बग्न थाल्यो भने अहिलेका सामूहिक संरचना पुन: भत्किने सम्भावना उत्तिकै छ। जनतामा उत्पन्न शंका निवारण गर्दै विप्लवले भने, 'हामीसँग विगतको पाठ छ। यत्ति व्यवस्थापन गर्नु ठूलो कुरा होइन। सजिलै गर्छौं र निरन्तर गरिरहन्छौँ।'
केन्द्रीय सदस्य शाहीले सारा जीवन पार्टी र समाजका लागि व्यतीत गरेकाले सामूहिक स्याउ खेतीका लागि पार्टीलाई जग्गा दिने प्रस्ताव गरेपछि निर्णय गरि कार्यान्वयन प्रक्रियामा लागेको बताए।
'उमेर ५० वर्ष लागेँ। सिंगो परिवार पार्टीमा लागेको छ। सबैको समझदारी छ। त्यसैले पार्टीले उपयोग गरेको जमिनका लागि कुनै लोभ लालच छैन,' उनले भने, 'बगैंचाको रेखदेख, स्याहारसुसार सबै पार्टीले नै जिम्मा लिनेछ। लाभ समाज र पार्टी दुबैले लिनेछ।'