शनिबार, १६ नोभेम्बर २०२४

‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली!

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै यहीं साता सदनलाई सम्बोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाउँदै त्यो शब्द हटाउन माग गरे। उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो। त्यो शब्द रेकर्डबाट काटियोस्।

अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो।’ तर योगेश टसमस भएनन्। बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि त्यो नोकझोंकमा थपिए। ‘हिंसा कि युद्ध’को कलहले संसदै बरालियो। एमाले–माओवादीका सांसदबीच एकछिन चर्काचर्की नै पर्‍यो। सभामुख देवराज घिमिरे र माओवादी सांसदहरूको जुहारी पनि चल्यो। सदनको उग्रंता देख्दा यस्तो लाग्थ्यो– जनप्रतिनिधिहरू उल्टोतिर बग्दैछन्। नचाहिँदो बहसमा उत्र्रिंदैछन्।

राजनीतिक रंगमञ्चमा एमाले–माओवादीको मित्रता र शत्रुता कुनै नवीन कुरा होइन। ०७४ सालको निर्वाचनपछि ‘कम्युनिष्ट’ नामको नेकपा भन्ने दल थियो। त्यतिखेर ‘एउटा घाँटी दुइटा मुख’जस्तै बनेका थिए, यी दलका दुई टाउके। केपी शर्मा ओली र प्रचण्डले एउटै मञ्चबाट ‘जनयद्ध’ दिवस मनाएको पनि यिनै आँखाले देखेका छन्। अर्थात्, सत्तास्वार्थको भर्‍याङ चढ्दा एमालेपंक्तिले पनि ‘हिंसात्मक आन्दोलन’लाई जनयुद्ध भनेको मानसपटलमा ताजै छ। अझ भनौँ, माओवादी र प्रचण्डको प्रसंसा गरेर कहिल्यै नथाक्ने उनै योगेश कसरी एकाएक ‘हिंसा कि युद्ध’को बहसमा पुगे? योचाहिँ रोचक छ।

वादविवादको पर्दामा योगेश वा माधव देखिएपनि यसको मुख्य जरोचाहिँ ओली–प्रचण्ड नै हुन्। हिजोसम्म उनीहरू मिल्दा यी सबै कुरा जायज र स्वभाविक मानिन्थ्यो। त्यतिखेर ओलीको जिब्रोको टुप्पोबाट ‘जनयुद्ध’ झर्दा दुबैतिरका नेता–कार्यकर्ताहरू जोडतोडले ताली पड्काउँथे। तर अहिले एकअर्कालाई देख्न वा सुन्नसक्ने तहमा छैनन्, एमाले–माओवादी। कतिसम्म भने क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको लोकार्पणमा पुगेका ओलीले प्रचण्डमाथि घोचपेच गरे। दशवर्षे सशस्त्र द्वन्द्वको कहालीलाग्दो पाटो उप्काउँदै हिँडिरहेका प्रधानमन्त्रीले भने– ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने? लुटपाट गरेको छु र।’

पछिल्लोपल्ट माओवादी र प्रचण्डप्रति किन रिसाए ओली? वर्षौअघिको ‘हिंसा’ले कहाँ र किन पोल्यो ओलीलाई? यसको स्पष्टै जवाफ छ– पूर्वप्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धनलाई श्रीलंका र बंगलादेशको त्रास देखाएपछि आक्रोशित बनेका थिए ओली। उल्टै टुक्केशैलीमा हिर्काइदिए प्रचण्डलाई! हिजोआज लाग्दैछ, अब माओवादीसँग कहिल्यै मिल्नेवाला छैनन् ओली! तर यो बेल्कुल गलत हुनेछ। आउँदो ०८४ को आमनिर्वाचनमा सम्भवतः ओली–प्रचण्ड सँगसँगै हुनेछन्। यो अनुमान होइन, ‘ओली–प्रचण्ड चरित्र’को दाबी हो। तर उनीहरू क्षणिक स्वार्थको लागि कार्यकर्ता भिडाइरहेका छन्।

‘हिंसा कि युद्ध’ भन्ने अर्थहिन बहस सदनदेखि सामाजिक सञ्जालसम्म फैलिएको छ। प्रधानमन्त्री स्वयम् माओवादी आन्दोलनको विगत कोट्याउँदै खेद्न तम्सिएपछि बाँकी एमाले नेता–कार्यकर्ताहरू पनि प्रचण्डमाथि खनिनु अन्यथा होइन। तर बिडम्बनाचाहिँ चुनावी गठबन्धन वा पार्टी एकताको ढ्वाङ फुक्दै ‘१७ हजार निर्दोष नेपालीको रगत लतपत्तिएको प्रचण्ड’का हातसँग ओलीले हातमात्र मिलाएनन्, उनले मुठ्ठी नै कसे। यसअर्थमा पनि ओली ‘बा’ले कथित माओवादी जनयुद्धको विरोध गर्ने, अपमान गर्ने नैतिक अधिकार गुमाइसकेका छन्।

एमाले सुप्रिमो ओली ०५२ सालदेखि नै माओवादी आन्दोलनको खरो विरोधीका रुपममा चिनिन्थे। तर प्रचण्ड वा ‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली। सत्ताको स्वाद चाख्न बेलाबखत प्रचण्डसितै अंकमाल गरे। यो उनको सबैभन्दा ठूलो कमजोरी हो। बहस यत्तिमै छिनिँदैन– हिजो प्रचण्डसँग दशवर्ष लडेका ‘बादल’ ओलीकै उपाध्यक्ष छन्। प्रहरी खोरमा रहेका टोपबहादुर रायमाझी पनि सचिव नै थिए। त्यसो त ‘माओवादी जनयुद्ध’ लडेका हजारौँ नेता–कार्यकर्ता अहिले पनि एमालेतिरै छन्। के तिनीहरू ‘हिंसात्मक द्वन्द्व’को हिस्सेदार होइनन्? यसको जवाफ ओलीले दिनैपर्छ!

प्रचण्डले अगुवाइ गरेको ‘माओवादी जनयुद्ध’भित्र डरलाग्दो हिंसा थियो। घरभित्रै हत्या गरिएका, एम्बुस थापेर मारिएका, अपहरणपछि जिउँदै गाँडिएका यी सबै मानिसहरू युद्धमा सामेल थिएनन्। तरपनि माओवादीको आँखामा त्यो जनयुद्ध नै हो! माओवादी जनयुद्धबारे अन्य दलका आआफ्नै तर्क छन्। कतिले ‘युद्ध’ भन्छन्, कतिले ‘हिंसा’।

राजनीतिक उद्देश्य प्राप्तिका लागि दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा हत्या र हिंसा गरिएको वरिष्ठ अधिवक्त टीकाराम भट्टराईको दाबी छ। ‘पुरानो इतिहासलाई कसरी मूलयाङ्कन गर्ने भन्ने पार्टीका आआफ्ना दृष्टिकोण हुन्छन्,’ उनले भने, ‘माओवादीले गौरब ठान्ला तर अरुले हिंसा भन्छन्। यसअघि पनि हिंसात्मक आन्दोलन भनेर धेरै ठाउँमा प्रयोग भएको छ। त्यसलाई धेरै ठूलो कुरा बनाउनुहुँदैनथ्यो।’

हिंसात्मक विद्रोह आफैमा अप्रियो थियो। अब त्यो प्रक्रियाको लगभग बिसर्जन भइसकेको छ। हाल चर्चामा रहेका कतिपय शब्दहरूको बेलाबखत बहस नभएको होइन। तर शीर्ष नेतृत्वको तहबाट पुराना घाउ कोट्याउने काम गर्नू सकारात्मक मानिँदैन। त्योपनि सत्तास्वार्थ नमिल्दा, एकलेअर्कालाई राजनीतिक धोका दिएकै बेला, खाएकै बेला!

र, अन्त्यमा जहाँबाट माओवादीले द्वन्द्व फैलायो, त्यहीं भूगोलको ओलीलाई एउटा गम्भीर प्रश्न छ– रुकुम–रोल्पामा माओवादी जत्थाद्वारा रेटिएका एमाले कार्यकर्ताहरू आजपनि पीडामै छन्। पार्टी जुट्दा किन उनीहरूको बेवास्ता गरेको? पीडकलाई नै किन भोट हाल्न बाध्य पारेको? अब ओलीले रोल्पाली र रुकुमेली एमालेजनको सम्मान र सहानुभूति गुमाइसकेका छन्। माओवादीसँग चुनावी गठबन्धन वा पार्टी एकता गर्दा नै किन नहोस्, एमालेको शीर्ष नेतृत्वले यी दुई जिल्लालाई पटकपटक हेपेको छ। चुनावताका सूर्यविहीन बनाएको छ। अब भन्नोस्, ओलीले प्रचण्डको आडमा सत्ताको स्वाद पाइरहँदा कतिसम्म दुखाउँछन् आफ्नैलाई!

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?