शनिबार, १६ नोभेम्बर २०२४

विपत्तिको घडीमा लापत्ता ‘सिंहदरबार’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

एघार दिनदेखि ‘पशुपतिनाथले चलाएको देशमा’, सोमबार दिउँसो करिब चार बजेतिर ‘विपद्ले थलिएको खण्डहर खाल्डो’मा एकाएक झुल्किए प्रधानमन्त्री केपी शर्मा ओली। त्योपनि ‘भीभीआईपी’को नाउँमा घन्टौँदेखि विमानस्थल ठप्प पारेर। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा, त्यहाँको अवस्था भद्रगोल थियो।

हजारौँ यात्रुहरू उड्नुअघि अलपत्र थिए। समयमै गन्तव्य टेक्न पाइरहेका थिएनन् उनीहरूले। बाढीपहिरो र डुबानले त्रसित् नागरिकहरू राज्य–संयन्त्रप्रति आक्रोशित देखिन्थे। उडान कुरिरहेको ‘यात्रु–जमात’ ओलीको स्वागतमा होइन, ‘विपद्मा प्रधानमन्त्री हराएको’ भन्दै आलोचना गरिरहेको थियो।

दुनियाँलाई पत्तो छ– प्रधानमन्त्री ओली ‘भैँसी दुहुन न्युयोर्क गएका होइनन्।’ अर्को कुरा, यो विपत्ति उनले निम्त्याएका पनि होइनन्। तैपनि उनी अमेरिका भ्रमण छोट्याएर बेलैमा स्वदेश फर्किएको भए, ‘संकटमा बाँचिरहेका नेपाली नागरिकको यादमा तड्पिँनु पर्दैन्थ्यो।’ खैर, उनको ज्यान र मुटु पनि नेपालमै हुन्थ्यो।

विपद्को समयमा देश नेतृत्वविहीनजस्तै थियो। का.वा. प्रधानमन्त्री प्रकाशमान सिंह जिम्मेवारीमै मख्ख थिए, खटनपटनमा शून्य। गृहमन्त्री रमेश लेखक पीडितसामु दर्शाउँदै थिए सरकारको कमजोर ‘भिजिबिलिटी’। अर्थात्, प्रधानमन्त्री ओलीले सिंहको काँधमा थमाइदिएको सरकारी संयन्त्र लाचार देखिन्थ्यो।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएकैबखत देशमा प्राकृतिक विपत्ति आइलाग्यो। तर, ‘शनिबारको विपद् बाजा बजाएरै आएको थियो।’ अत्यधिक वर्षाको पूर्वजानकारी हुँदाहुँदै राज्यसंयन्त्र उदासिन बन्यो। ‘खप्रओ–शेबदे’तन्त्र कानमा कपास कोचेर सुत्यो।

शुक्रबार राति दशै बाढीपहिरोले तहसनहस बनायो। नागरिकलाई तड्पाइतड्पाइ राज्यले नै मार्‍यो। बाढीपहिरो र डुबानले दर्जनौँ नागरिकको ज्यान लियो। हजारौँ मानिसहरू घरबारविहीन बने। उनीहरूको जिउधन ‘बाग्मती’ले बगायो। स–साना नानीबाबुहरू पहिरोमा पुरिए। कतिपय भाग्दाभाग्दै डुबानमा परे। नक्खुतिर उद्दारका लागि याचना गर्नेहरू ‘टिनको छाप्रो’सँगै बगे। कतिपय यात्रुहरू बसभित्रै पुरिए। बिरामीहरू अस्पताल नपुगी एम्बुलेन्समै मरे। अझ भनौँ– हिजोआज नागरिकहरू मात्र बेपत्ता छैनन्, विपत्तिको घडीमा सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद्, सुरक्षा–संयन्त्र र मेयर नै लापत्ता छन्।

आशा गरौँ, अब सबतिर सरकारै–सरकार भेटिने छ। तामझामसहित स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले पीडितको पेटमा अन्नपानी नपुर्‍याइ ‘राष्ट्रिय शोक’ घोषणा गरेका छन्। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झन्डा तीन दिन झुकाउन उर्दी जारी गरेको छ। बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन कार्यदल बनाएको छ। मृत्यु भएकालाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने लोकप्रिय निर्णय गरेको छ। घाटा खाएरै इन्धनको मूल्य घटाइएको छ।

तैपनि फलफूल, तरकारी र दालचामलको भाउ आकासिँदै छ। दशैंको मुखमा हवाई भाडाले टुप्पी नाघ्दै छ। अर्को, कहालीलाग्दो दृश्य– घाइतेहरूले राम्रो उपचार पाएका छैनन्। घरबारविहीनहरूले त्रिपाल पाएका छैनन्। पहिरोले गाउँ नै बगाएकाहरू सुरक्षित स्थान खोज्दै खाली खुट्टा हिँडिरहेका छन्। अर्थात्, ओली फर्केपछि सब ठिकठाक चल्दैछ, देश लयमा फर्किंदैछ!

बाढीपहिरोले करोडौँको लागतमा निमार्ण गरिएका राजमार्ग, पुलपुलेसा, विद्यालय, स्वास्थ्य चौकी भवन र खोला थुनेर खडा गरिएका महल–झुपडीहरू भत्काएको छ। नदी वा खोलाछेउको गाउँबस्ती बगरजस्तै बनाएको छ। कमिसनको लोभमा मनलाग्दी खनिएका बाटोघाटो र गिट्टी–बालुवा उत्खन्नको घिनलाग्दो रबैयाले भ्रष्टतन्त्रको आँखा खोलिदिएको छ।

विपत्तिको सामना सबैले गर्नुपर्छ। यो समयमा विरोधका लागि ‘विरोध’ र नचाहिँदो राजनीति गर्नुहुँदैन। तर, देश बगिरहेको बेला, जनता तड्पिरहेको बेला मुलुकको कार्यकारी प्रमुख– ‘विदेशमा बसेर स्वकीय सचिवमार्फत् हावादारी पोस्ट लेखाउँदै सामाजिक सञ्जालमा रोएजस्तो गर्नू पनि स्वभनीय मानिँदैन्थ्यो।’ किनकि, जनता पीडामा छन्। पीडित नागरिकलाई फेसबुकको सहानुभूति होइन, तत्काल उद्दार र राहतको आवश्यकता थियो।

‘नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको छ,’ भन्दै सञ्जाल प्रयोगकर्तालाई उल्लू बनाइरहेका ओलीले किन बाढीपहिरो प्रभावितको उद्दारमा तत्परता देखाएनन्? कि उनले का.वा.को जिम्मेवारी सुम्पिएका ‘सिंहराज’ सिंहदरबारमै रुमल्लिए? घन्टौँसम्म घरको छत र बगरको बीचमा ज्यानको बाजी लगाइरहेका निमुखा नागरिकको उद्दारका लागि गणतन्त्र दिवसमा फूल बर्साउँदै काठमाडौँमा फन्को मार्ने हेलिकप्टर दिएनन्? विध्वंसकारी वर्षाको पूर्वानुमान भइरहँदा किन सुरक्षा निकायलाई शुक्रबार साँझै परिचालन गरिएन? किन उनीहरूलाई स्रोतसाधनबाट बञ्चित गरियो? प्राकृतिक विपद्‌को समयमा राज्य सम्पर्कविहीन हुँदा नागरिकले ज्यान र धनमालको सुरक्षाका लागि कसको मुख ताक्ने? हेर्नोस्, प्रधानमन्त्री ओली पत्रकारको प्रश्नबाट भाग्न सक्लान् तर नागरिकको प्रश्नबाट कहिल्यै उम्किन सक्दैनन्।

प्रधानमन्त्री ओलीसँगै अमेरिका पुगेका जापानी र भारतीय प्रधानमन्त्री तीन दिनमै देश फर्के। युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति दुई दिनमै फर्के। तर देशमा बाढीपहिरो र डुबानबाट ‘पीडित नागरिक’का प्रधानमन्त्रीचाहिँ बेलैमा स्वदेश फर्किन चाहेनन्। उनी स–साना गैरआवासीय नेपाली समूहको स्वागत–सत्कारमै रमाइरहे।

विपद्को बेला उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल चीनमा थिए। मुलुकको विपद् व्यवस्थापनको जिम्मेवारी बोकेका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल शुक्रबार राति बेलायत उडे। प्रहरी प्रमुख बसन्तबहादुर कुवँर पनि विदेशतिरै थिए। मुख्यसचिव एकनारायण अर्यालचाहिँ उपत्यका डुबिरहेका बेला गृहजिल्लामा बधाई–सम्मान थापिरहेका थिए। मानिसहरू भन्छन्, यहीँ हो ओलीतन्त्रको असली अनुहार। यहीँ हो ओली सरकारको गैरजिम्मेवार रवैया।

विपत्तिमा राज्य र राजनीतिक नेतृत्व झूर देखिएपनि राज्यकै कतिपय अंग सेना, प्रहरी, वा सामाजिक संघ–संगठन र चणिकलाल तामाङहरू सहिष्णु र सहयोगी भावका साथ पीडितसामु प्रर्कट भए। उनीहरू सीमित स्रोतसाधन र अनेकौँ अभावका बाबजुत पनि उद्दार कार्यमै खटे। बधाईका पात्र थिए उद्दार कार्यमा खट्नेहरू।

धिक्कारचाहिँ ती पात्रलाई छ– जसले ओभानो नहुन्जेलसम्म नाकमुख देखाएनन्। जब बाढी खोलामै फर्कियो, पीडितलाई सुरक्षित स्थानमा सारियो। अनि, घाम लागेपछि झण्डा हल्लाउँदै पीडितलाई जिज्याइरहेका थिए जसले! फेरि भनौँ, पशुपतिनाथले चलाएको देशमा ‘निरो’ प्रवृत्तिका प्रधानमन्त्री, विपद्मा तमासा देखाउने गैरजिम्मेवार मन्त्री, लुकेर बस्ने मेयर र प्रलयको चेतावनी छल्न खोज्दा यात्रुको ज्यान लिने सिडिओचाहिँ सबैका शत्रु हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?