बिएल संवाददाता
अमेरिका
अमेरिकामा यसपटकको चुनावी खेल सकिएको छ । खेलमा ट्रम्प र अपवादलाई छोडेर उनका सबैजसो अनुयायीहरू विजयी भएका छन् । परिणामतः अमेरिका चार वर्षपछि फेरि एकपटक ट्रम्पेरिका हुने भएको छ । यो कसरी भयो ? किन भयो ? के कारणले भयो ? यस बारेमा अमेरिकामा मात्र हैन, संसारभरि नै तर्क बितर्क जारी छन् । यही मेसोमा नेपाली मिडियामा पनि बाक्लैसँग बसिबियालो भएकै छ ।
संसारको एक मात्र महाशक्ति राष्ट्रकै जीवनमा सबैभन्दा महत्त्वपूर्ण भनिएको चुनावको परिणामलाई लिएर यस्तो खाले मिडिया–बसिबियालो हुनु अस्वभाविक पनि होइन । तर, आकार छामेर जन्तु पत्तो लगाउने जस्तै अवस्था भएकाले यी प्रश्नहरूको उत्तर सहज छैनन् ।
यो स्तम्भकार पनि त्यही मेसोमा बिलखबन्द छ । नलेखौँ भने पनि अमेरिकाकै जीवनमा यति महत्त्वपूर्ण मानिएको चुनाव, लेखौँ भने पनि सबैखाले तर्क र सत्यभन्दा फरक पृष्ठभूमिमा ठिङ्ग उभिएको तथ्य अर्थात् ट्रम्पको दुन्भूभि छ ।
एक किसिमले भन्ने हो भने ‘नखाउँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ जस्तै मात्र हो यसपटकको मेरो बिलोम पनि । हुन त यसै पनि स्तम्भको नाम नै बिलोम छ । संयोगले नामजस्तै भएको छ, मेरो अवस्था र लेखनको कोण पनि ।
वास्तवमै यसपटकको अमेरिकी चुनाव केवल एक राष्ट्रपति छान्ने चुनाव मात्र थिएन, यो अरू पनि थुप्रै महत्त्वपूर्ण प्रश्नहरूको चुनाव थियो । ती प्रश्नहरूको वरियतामा सबैभन्दा माथि त अमेरिकाले एक ३४ अभियोग प्रमाणित भएको दोषी (फेलोन) राष्ट्रपति छान्ने कि विकल्प छान्ने भन्ने नै थियो ।
त्यो छनोटसँग एक स्त्रीद्वेषी पुरूषलाई राष्ट्रपति छान्ने कि २४८ वर्षसम्म पुरूष मात्र राष्ट्रपति भएको पेज पल्टाएर एक महिला राष्ट्रपति छान्ने भन्ने पनि थियो । त्यससँगै गर्भपतन जस्ता मुद्दालाई लिएर महिलाले आफ्नो शरीरमाथिको अधिकार आफैँले राख्न पाउने कि नपाउने भन्ने विषय पनि जोडिएको थियो ।
यति मात्रै पनि थिएन, अमेरिकामा श्वेत वर्चस्व मात्र कायम गर्ने कि बहुलतालाई स्विकार्ने भन्ने पनि थियो । अर्को महत्त्वपूर्ण मुद्दा अमेरिकालाई एक देशका रूपमा मात्र खुम्च्याउने कि यसको भूमिकालाई एक महाशक्ति राष्ट्रकै रूपमा रहन दिने भन्ने पनि थियो । समग्रमा यी सबै मुद्दाहरूलाई एक ठाउँमा राखेर हेर्दा यसपटकको चुनाव अमेरिका अगाडि जाने कि पछाडि फर्कने भन्ने नै थियो ।
अमेरिकाले निर्णय दियो– हामीलाई एक फेलोन राष्ट्रपति नै मन्जुर छ । यसमा कुनै बहानाबाजी नै छैन । यो अमेरिकी जनताले जानीजानी गरेको निर्णय हो । अमेरिकाको नक्सामा केही नीला दागहरू बाँकी रहे, बाँकी सारा अमेरिका रातो छ ।
अझ गजब त के भने नक्सा मात्र हैन, मानिसको संख्या पनि रातो नै बढी भयो यसपटक । सरकारका सबै तीन अंग कार्यपालिका– ह्वाइट हाउस रातो, व्यवस्थापिका– क्यापिटल हिल रातो, न्यायपालिका– सर्वोच्च अदालत रातो ।
सारा बैजनी राज्यहरू रातो । श्वेतहरू त राता थिए नै, गैर–श्वेतहरू पनि रातो । रैथानहेरू त राता थिए नै, आप्रवासीहरू पनि रातो । एक किसिमले भन्ने हो के रातो भयो भन्ने थेसिसले भन्दा पनि के रातो भएन भन्ने एन्टी थेसिसले काम गरेको समय हो यो ।
अर्थात्, यसपटक अमेरिकामा ट्रम्प भन्ने ब्रान्ड नै बिक्यो । उनको महँगी बिक्यो, मुद्रास्फीति बिक्यो, पर्खाल बिक्यो, सीमाबन्दी बिक्यो, कागजपत्रविहीनलाई निष्कासन गर्ने कुरा बिक्यो, घृणा बिक्यो, स्त्रीद्वेषी अभिव्यक्ति बिक्यो, गर्भपतनमाथि प्रतिबन्ध बिक्यो, युक्रेन र मध्यपूर्व युद्ध बन्द गर्ने कुरा बिक्यो, तानासाह हुने कुरा बिक्यो ।
अर्थात्, उनले कालोलाई रातो भन्दा पनि बिक्यो । अझ, उनीमाथि गोली लाग्यो । त्यो गोली डेमोक्रेट्सले हान्न लगाएका थिए । त्यसबाट उनलाई अमेरिकाकै राष्ट्रपति बन्नका लागि यिशुले बचाएको भन्ने भाष्य पनि बिक्यो ।
अमेरिकालाई चलाउने दुई शक्ति जी– गड (नदेखिने) र गन (देखिने) दुवै उनको पक्षमा भएपछि कसैको दैया चलेन, स्वयं अमेरिका पनि ट्रम्पेरिका हुन मन्जुर भयो । यसका लागि सन् २०१६–२० को बाइडेनको सुस्त राष्ट्रपति कार्यकाल र डेमोक्रेटिक पार्टीको खियापर्दै गएको नीति, चमक गुमाउँदै गएका नेता र गुम्दै गएको जनाधार पनि सहायक तर त्यतिकै महत्त्वपूर्ण कारण रह्यो ।
प्रजातन्त्रमा जनता नै जनार्दन हुन् । त्यसैले उनीहरूको निर्णय नै अन्तिम हो । तर, जनता जनार्दन हुन् भन्दैमा सधैँ सही नै निर्णय गर्छन् भन्ने हुँदैन । इतिहासमा जनताले अनेकपटक गलत निर्णय पनि गरेका छन् र त्यसको मूल्य उनीहरूले, उनीहरूको देशले र भावी पुस्ताले पनि चुकाएका छन् । मलाई लाग्छ, यसपटक अमेरिकी जनताले गरेको निर्णय पनि त्यस्तै एक गलत निर्णय हो । गलत हुने अरू कारण त तपसिलमा होलान् र समयक्रममा जाँचिँदै पनि जालान् ।
तर, यतिबेलै भन्न सकिने मूल कारण के हो भने अमेरिकी जनताले एक ३४ फेलोनलाई राष्ट्रपति बनाएर कलंकको टीका लगाए । यो निर्णयले उनीहरूले सुशासनको अर्ती दिने नैतिक धरातल मात्र गुमाएनन्, एक योग्य महिलालाई राष्ट्रपति हुन नदिएर महिला समानताको पाठ पढाउने भूमिका पनि छोडिदिए ।
चुनावपछिको परिदृश्य
चुनावको अनौपचारिक नतिजा आइसकेको छ । कमलाको २२६ कलेज इलेक्ट्रल मतविरूद्ध ३१२ कलेज इलेक्ट्रल मतका साथ ट्रम्पले जितेका छन् । औपचारिक नतिजा भने जनवरी ६मा मात्र प्रमाणित हुनेछ । चुनावको परिणामले अमेरिका स्तब्ध छ । तर पनि शान्त छ । यो सबै कमलाको हार र हारलाई स्वीकार गर्नै डेमोक्रेटिक संस्कृतिका कारण हो ।
कथम् ट्रम्पले हारेको भए अहिलेको जस्तो शान्तिको कल्पना गर्न गाह्रो थियो । किनकि, उनले चुनावकै समयमा हार भएमा त्यो परिणाम स्वीकार नगर्ने धम्की दिएका थिए । परिणाम हेर्दा त्यो धम्कीबाट डराएर पनि केही नीला अमेरिकी राता भएर मुर्दाशान्ति रोजेको जस्तो देखिन्छ ।
यही बिचमा डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्वीकार गर्दै ट्रम्पलाई बधाइ तथा शुभकामना दिइसकेकी छिन् । राष्ट्रपति बाइडेनले पनि ट्रम्पलाई बधाइ दिदै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताइसकेका छन् । उनले ट्रम्पलाई ह्वाइट हाउसमा निम्ता पनि दिइसकेका छन् । चार वर्षअघिको चुनावमा आफ्नै जीत भएको दाबी गर्दै आएका ट्रम्प पनि बाइडेनको निम्तो मान्न ह्वाइट हाउस जाने भएका छन् । यो विकसित परिदृश्य ट्रम्प बाइडेनलाई राष्ट्रपति मान्न बाध्य भएको परिदृश्य हो ।
अब के हुन्छ ?
सन् २०२५ को जनवरी १९ सम्म ह्वाइट हाउसमा बाइडेन–ह्यारिस नै रहन्छन् । त्यतिञ्जेलसम्म उनीहरूले सिनेटमा बहुमत रहेकोले डेमोक्रेट पार्टीको लाज बचाउन र ड्यामेज कन्ट्रोल गर्न केही टालटुले कामहरू गर्न प्रयत्न गर्नेछन् । त्यसमा कति सफल हुन्छन्, कति असफल ?, अहिले नै प्रक्षेपण गर्न सकिन्न । तर, नैतिक र गणितीय दुवै हिसाबबाट पछाडि परेको डेमोक्रेटिक ल्याम–डग ह्वाइट हाउस सफल हुने भन्दा पनि असफल हुने नै सम्भावना बढी छ ।
विगतमा पनि ल्याम डग भैसकका डेमोक्रेटिक राष्ट्रपतिहरू रिपब्लिक जिद्दीका सामु निरीह भएका एक हैन अनेक दृष्टान्तहरू छन् । अझ यसपटक त सरकारका तीनवटै अंग कब्जा गरेको रिपब्लिकन पार्टी नै ट्रम्पकन भएको अवस्था छ ।
यही बिचमा ट्रम्प आफ्नो ह्वाइट हाउस पुनरागमनका लागि तयारीमा जुट्ने छन् । अहिले उनको प्राथमिकता सहकर्मीको छनोट हो । यसै पनि पूरा गर्नै नसकिने चुनावी वाचा गरेका उनी ती सबै वाचा कसरी पूरा गर्ने भन्ने ठूलो दबाबमा छन् ।
अमेरिकालाई ठाडो चिरामा विभाजित गरेर र रिपब्लिकन पार्टी कब्जा गरेर अतिवादीहरूका मात्र नेता भएका ट्रम्पसँग ती दबाब थेग्न सक्ने निर्विवाद मानिसको खडेरी छ । भएका कतिपय क्षमतावान् मानिस पनि लहडी स्वभावका घोषित तानासाह ट्रम्पले कतिबेला फायर गर्ने हुन् भनेर नियुक्ति लिन संकोच मानिरहेका छन् ।
ट्रम्पका सामु केही निर्णय भैसकेका र केही निर्णय हुन बाँकी संगीन मुद्दाहरू छन् । चुनावअघि सबै मुद्दाहरू स्थगित गरेर उनलाई राष्ट्रपति हुन काजमा खटाइए जस्तै अवस्था थियो । अब निरूपण भैसकेका मुद्दाको फैसला कार्यान्वयनमा लैजान र बाँकी रहेका मुद्दा न्यायिक निरूपणमा लैजान प्रयास गरिने छ । तर, त्यो प्रयास पनि त्यति कामयाव होला जस्तो देखिदैन । ट्रम्पले तिनीहरूलाई लम्ब्याएर जनवरीपछि आफूले आफैँलाई माफी दिने स्थितिमा लैजान्छन् । अमेरिकामा राष्ट्रपतिले आफूले आफैलाई माफी दिन सकिने अचम्मको व्यवस्था छ । केही समय अगाडि मात्र अमेरिकी राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने खालको गजबको व्याख्या पनि अमेरिकी सर्वोच्च अदालतले गरिसकेको छ ।
सन् २०१६ मा ट्रम्पले जित्दाभन्दा पनि अहिले अमेरिकामा भय र अनिश्चितताको माहौल छ । खासगरी अल्पसंख्यक गैर–श्वेत आप्रवासीहरूका लागि ट्रम्प नाम नै आतंकका लागि पर्याप्त छ । तर, यसपटक गजब त के भयो भने यो आतंकलाई ह्वाइट हाउसमा पु¥याउन गैर–श्वेत आप्रवासीहरूको अहम् योगदान छ ।
त्यो योगदानमा अमेरिकामा रहेका नेपालीभाषी नेपाली–अमेरिकीहरूको पनि उल्लेखनीय हिस्सा छ । उनीहरूको दिमागमा एउटै परपीडक सोचले ठाउँ पायो, त्यो के थियो भने ‘हामी त आइहाल्यौं, अरूलाई किन आउन दिने ? ट्रम्पले जिते भने अरूलाई आउन दिदैनन्’ । यही सोचका कारण उनीहरू ट्रम्पकन भए । केहीलाई ट्रम्प आए कम कर तिर्नुपर्छ भन्ने लाग्यो भने केहीलाई कोभिडको बेला ट्रम्पले धेरै पैसा दिएकोले त्यसको नुनको सोझो गर्नु पर्ने थियो ।
अझ केही आफूलाई व्यापारी ठान्नेले त आफ्नो वर्ग उत्थान भएकाले आफ्नो नेता ट्रम्प भैसकेको भन्ने पनि ठाने । केही सेयर बजारमा चुर्लुम्म डुबेकाहरूलाई ट्रम्प आए उक्सिन्छु भन्ने पनि थियो । केहीलाई आफ्नो ‘पेटी शत्रु’ कमलातिर लागेकाले उसलाई देखाउन ट्रम्पकन हुनु थियो । धेरै नेपाली मूलका भुटानीलाई आफू भारतका कारणले देश छोड्नु परेकाले भारतीय मूलकी कमलामार्फत् बदला लिनु पनि थियो । यी र यस्तै कारणले धेरै नेपालीभाषी अमेरिकी नेपाली पनि ट्रम्पकै कित्तामा पुगे ।
अब के गर्ने त ?
ट्रम्पले पहिलो दिनदेखि नै तानासाह हुने मात्र बताएका छैनन्, शत्रुको सूची बनाएर सबैलाई कारबाही गर्ने घोषणा पनि गरेका छन् । यति मात्र हैन, पहिलो दिन नै रुस युक्रेन युद्ध र मध्यपूर्व युद्ध बन्द गराउने भनेका छन् । महँगी र मुद्रास्फीति घटाउने भनेका छन् ।
पहिलो दिन नै उनी तानासाह भएर कारबाही त सुरु गर्न सक्लान् । बाँकी काम त केही गर्न पनि सक्नेवाला छैनन् । त्यसपछि अर्को १०० दिन नपुग्दै ट्रम्पकनहरू हुस्सु भएको महसुस गर्नेछन् र ट्रम्पलाई सत्तोसराप गर्न थाल्नेछन् । यो क्रम २०२६ को मध्यावधिमा पुग्दासम्म राताहरू बैजनी हुदै नीलो भैसक्नेछन् । संसद् नीलो भएपछिका बाँकी दुई वर्ष ट्रम्पले केही गर्नै सक्दैनन् । परिणामतः ट्रम्पले पछाडि धकेलेर ट्रम्पेरिका बनाएको अमेरिका सन् २०२८ मा फेरि अमेरिका नै हुने छ ।
कमला ह्यारिसले पराजयपछिको शान्त्वना सम्बोधनमा भनेकी थिइन्, अबको चार वर्ष औंशीको रात हुनेछ, हामी त्यो कालो रातमा पनि ताराझैं प्रजातन्त्र, न्याय र समानताको लागि चम्किरहनेछौँ । त्यसपछि त सन् २०२८ मा फेरि उज्यालो हुनेछ । त्यो बिहानसम्म हामी नथाकी ताराझै टिलपिलाइ रहनुपर्छ ।
कामना गरौं, कमलाले भनेजस्तै होस् । अहिलेका लागि भने गैर–श्वेतहरू हुलमुलमा ज्यान जोगाउनतिर लाग्नु नै श्रेयस्कर हुन्छ । अमेरिका ट्रम्पेरिका भैसकेको सत्यलाई बिर्सने गल्ती सम्बन्धित जो कोहीले गर्नु हुँदैन ।
पूरा होला त ‘ट्रम्प–बाचा’ ?
२०१६ मा भन्दा पनि यसपटक ट्रम्पले पूरा गर्नै नसक्ने चुनावी बाचा गरेका छन् । एकातिर अहिले नै अमेरिकामा एक करोड ३० लाख कामदार कम छन्, अर्कोतिर भएका एक करोड १० लाख कागजपत्रविहीन कामदार पनि देश निष्कासन गर्छु भनेका छन् । बाहिरबाट आउने सामानमा कम्तीमा २० प्रतिशत कर लगाउने भनेका छन्, अमेरिकामा उत्पादित सामान प्रयोग गर्ने भनेका छन् । यस्तो अवस्थामा न बाहिरबाट आउने सामान सस्तो हुन्छ न अमेरिकामा सस्तोमा सामान उत्पादन हुन्छ ।
यसरी कसरी महँगी र व्यापार घाटा घट्छ । अरूले त परै जाओस् ट्रम्प इकोनोमीमा विश्वास गर्नेहरूले पनि यसलाई हावा खुस्केको नीति भनेका छन् । दक्षिणी सिमानामा मेक्सिकोको पैसाले पर्खाल लगाउने र आप्रवासीलाई सीमा बन्द गर्ने भनेका छन् । कर घटाउने भनेका छन् ।
चर्का कुरा गर्नलाई त सजिलो छ तर यथार्थमा यी सबै कुरा हुनेवाला छैनन् । विश्वभूमण्डलीयकरणको यो युगमा सारा विश्व नै एउटा सानो गाउँ भैसकेको बेला ट्रम्पले चाहँदैमा अमेरिका कुनै एउटा टापूको देश हुन सक्दैन। त्यसमा पनि अमेरिकाको संसारभरका देशहरूप्रति कुनै न कुनै किसिमको मित्रता वा शत्रुताको ‘इङ्गेजमेन्ट’ छ ।