शनिबार, १६ नोभेम्बर २०२४

प्रथम झापा- १ काठमाडौं कप फुटसलको उपाधि मेचीनगरलाई, मैत्रीपूर्ण खेलमा विश्वप्रकाशको दुई गोल

News Image
• • •

प्रथम झापा- १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ।

नेपाली कांग्रेस झापा- १ सांसद सचिवालय तथा झापा- १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो।

निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईंले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन्। प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए। तर, देवासिसले धाइजनलाई खेलमा फर्काए। त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पुर्याए। तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए। लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए।

खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे। तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन। यद्यपि, उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए।

प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए। मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो। यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले पाखा लगायो। ज्यामिरेगढीले ‘बाइ’ पाउँदै सिधैं अन्तिम चारमा स्थान बनाएको थियो। तर, उक्त मौकालाई ज्यामिरेगढीले सदुपयोग गर्न सकेन र यहीबाट आफ्नो यात्रा समाप्त गर्याे।

उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्याे। यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो। उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो। प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए। प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे। उनीहरू दुवै मेचीनगरका हुन्। मेचीनगरलाई फाइनलमा पुर्याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए।

नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी दिए।

‘निर्णायक समितिबाट एक लिस्ट पाएको छु। त्यो लिस्टबाट झापा- १ को एक टिम बनाउने छौं। त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा- १ को प्रतिनिधित्व गर्नेछ,’ उनले भने।

मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भएको छ। राजनीति दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो। शर्माले पहिलो हाफमै दुई गोल गरेका थिए। यस्तै, भास्कर काफ्ले पनि पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो। दोस्रो हाफमा भने तीन गोल भयो। राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एक-एक गोल थपे। यस्तै, कलाकारबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो।

राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए। यस्तै, कलकारबाट प्रमोद प्रसाईं, भानुभक्त ढकाल, टिका भण्डारी, सरोज वली, प्रशान्त सिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले राजनीतिक दललाई चुनौती दिएका थिए।

अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित गर्याे। महिला ‘ख का लागि युनिशा प्रसाईंले गरेको गोल नै निर्णायक बन्यो। अर्को खेलमा पेसा व्यवसायीले कर्मचारीमाथि ६–२ को सानदार जित हात पार्याे।

प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए। उनले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। राजनीतिक दलबाट यस्ता गतिविधी हुन सराहनीय भएको उल्लेख गरे।

सोही अवसरमा कांग्रेस राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीति दलहरूले यस्तो प्रतियोगिता गर्नु सिर्जनात्मक भएको बताए। विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गरेका थिए। उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो।

भिडियाे:

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?