शनिबार, १६ नोभेम्बर २०२४

अध्ययनको यात्रालाई यहीँ टुंग्याउने निधो गरेँ...

News Image
• • •

स्नातकोत्तर तहको पढाइ हल्का लागेर हो वा बाध्यताका अघि सामान्य लागेको हो थाहा छैन। त्यो समयले बताउला। तर स्नातकोत्तर तहको पढाइ थोरै अनुभवमा सीमित गर्ने सोचमा पुगेको छु।

भारतको फिल्म उद्योगमा ‘ट्वल्थ फेल’ अर्थात बाह्र फेलको सिनेमाले नेपालमा चर्चा बटुलिरहेको छ। सिनेमाले फेल भएपनि हार मान्नुहुन्न भन्ने सन्देश दिएको छ। पढाइ जीवनमा अति आवश्यक छ भन्ने देखाएको छ।

यता म भने हाल शैक्षिक प्रमाणपत्रको मात्र काम नहुने अवस्था देखेर स्नातकोत्तरको पढाइलाई यहीँ टुंग्याउने निधो गरिरहेको छु। माध्यामिक शिक्षा रोल्पाको दुर्गम गाउँबाट अध्ययन गरेर मैले प्रमाणपत्र र स्नातक तहसम्मको पढाइलाई दाङ जिल्लामै रहेर पूरा गरेँ।

स्नातक तहसम्मको पढाइ पूरा गरेको उर्जासँगै स्नातकोत्तर तहको पढाइ मार्क कलेज घोराहीबाट पूरा गर्छु भनेर प्रवेश गरेको थिएँ। स्नातकोत्तर अध्ययन गर्छु भन्ने उत्साह ममा थियो। तर अहिले भने म बीचबाटो नपुग्दै अलमलिएको छु।

करिब १६ वर्षको लामो अध्ययनको संघर्षमय यात्रामा आधा समय छिमेकी जिल्ला दाङमा रहेर अध्ययन गरेको छु। मेरो स्नातकोत्तरको पढाइ लामो समय त भएन करिब डेढ-दुई महिना मात्र अध्ययनको समय बनेको छ।

स्नातकोत्तर अध्ययन बिट मार्नुको कारण के थिए? समय आएपछि पुन: यस विषयमा अवश्य लेख्ने छु। दुर्गम गाउँबाट सहर छिरेको म। अध्ययनको समयमा थुप्रै कुराहरु सिक्ने अवसर पनि पाएँ। दु:ख भएपनि यात्रमा निरन्तर दौडिन प्रयास गरेँ।

अहिले म दुई बर्षको स्नातकोत्तर अध्यनलाई पूरा गर्न नसक्ने बाध्यात्मक परिस्थितिमा पुगेको छु। देशको बढ्दो बेरोजगारी समस्याले चर्चा पाइरहेको समयमा, अस्थिर राजनीति र राजनीतिक दलहरूप्रतिको वितृष्णा, मैले प्राप्त गरेको शिक्षाबाट हासिल ज्ञान, सीप, क्षमता र दक्षता आदिको कारणले स्नातकसम्मको पढाइ पूरा हुँदा पनि न त स्वरोजगार बन्न सकेँ, न त कुनै सरकारी–गैरसरकारी निकायमा जागिर खाने तारतम्य मिल्न सक्यो।

गाउँको म कमजोर आर्थिक अवस्थामा हुर्केकाे भएकाेले पनि म स्वरोजगार बन्न सकेनँ कि!

उज्ज्वल भविष्यको चाहना राखेर म हुर्केको गाउँबाट सहरमा आएर अध्ययन गर्न सजिलो पक्कै पनि थिएन। एक दशक सहरमा बसेर अध्ययन गर्दा कति चुनौतीको सामना गरेको छु,  त्यो चुनौती, सिकाइहरु जीवनको डायरीमा सुरक्षित छन्।

आजसम्म मैले आर्जन गरेको ज्ञान, सिपलाई प्रयोग गर्ने अवसर पाप्त हुने वातावरण नै देखिएन। डिग्रीधारी प्रमाणपत्र बोकेर मैले न रोजगार पाउन सकेँ, न रोजगारीको ग्यारेन्टी छ, न अध्ययनबाट आत्मसन्तुष्टि नै पाउन सकेँ।

दुई दशक लामो औपचारिक अध्ययनको यात्रालाई बिट मार्ने निर्णयमा पुग्दै गर्दा शैक्षिक यात्रालाई स्मरण गरेँ। रोल्पामा कक्षा १ देखि ४ सम्म अमर सत्य प्राथमिक विद्यालय झुलाउने टाकुरा, ५ देखि ८ सम्मको पढाइ सरस्वती माध्यमिक विद्यालय बल्ले पोखरी, ९ देखि १० पढाइ जीवनज्योति माद्यामिक विद्यालय देवलटाकुरामा आरोहअवरोह पार गरेँ।

कक्षा ७ मा पढ्दै गर्दा साथीहरुको लहलहैमा भक्तपुरको इँटा उद्योगमा काम गर्न पुगेको स्मरण गरिरहेको छु। सानै उमेरमा कामको खोजीमा भएको दु:ख स्मरणयोग्य नै छन्। त्यही पीडालाई सम्झेर पढाइलाई निरन्तरता दिएको थिएँ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षामा प्रथम श्रेणामा पास गरेको मैले २०७१ सालमा एसएलसी परीक्षा सन्तोषजनक नतिजा लिएर उत्तीर्ण भएको थिएँ। कक्षा १० को परीक्षा दिएपश्चात् साथीहरुसँगको लहलहैमा घरमा सरसल्लाह नगरी भारतको उत्तराखण्ड प्रदेशका विभिन्न ठाउँमा ज्याला मजदुरी गरेको अनुभव पनि लिएको छु।

भारतमा काम गर्दा पाएको दु:खको तितो अनुभव बारम्बार आइरहन्छ। मजदुरी केही समय गरेपछि मनमा हजारौँ सपनाहरू सजाएर नेपाल फर्केर अध्ययन गर्न सहर छिरेँ म। त्यसबेला सहर मेरो लागि निकै अपरिचित थियो। न मैले सहरमा कसैलाई चिनेको थिएँ।

२०७१ सालमा लिटिलहेभन माध्यमिक विद्यालयमा कमर्स पढ्ने निर्णय गरेँ। २०७४ सालमा कक्षा १२ को परीक्षा दिएँ। त्यसपछि फेरि भारतको हिमाचल प्रदेशमा गएर केही समय काम गरेँ। राज्यले कमाउँदै पढ्दै कार्यक्रम लागू गरिरहँदा काला पहाडमा गएर कमाउनु अनि नेपाल फर्केर पढ्नु मेरो मजवुरी थियो।

राज्यको नीतिको पहुँचमा म पुग्न सकिनँ। केही समय मजदुरी गरेर पुन: नेपाल फर्किएको थिएँ। १२ कक्षासम्म अध्ययन पूरा गरेपश्चात् घरको जेठो छोरा हुनुको नाताले घरको आर्थिक अवस्था, भाइबहिनीहरुको पढ्ने रहर पूरा गर्नलाई विदेश जानुपर्छ भन्ने सोचाइ मनमा आयो। राहदानी बनाएर राजधानीका म्यानपावरहरु पुगेँ।

विदेशकोबारेमा सबैसँग बुझेँ। विदेशको काम, कमाउने तलब र समय यस्तै केही कुरा नमिलेपछि ‘होइन अझै पढ्नुपर्छ, पढेपछि केही नेपालमै गर्ने अवसर आइहाल्छ कि’ भन्ने लाग्यो। पुन: दाङ फर्किएर नोभेक्स कलेजमा स्नातक पढ्न सुरु गरेँ।

स्नातक तह अध्ययनको समयमा निकै उतारचढाव आयो। पढ्दै कमाउँदै गर्नुपर्ने सोच पलायो। एउटा रेडियोमा एक हप्ते पत्रकारिता तथा रेडियो उद्घोषक तालिम सञ्चालन सूचना पाएँ र तालिममा सहभागी भएँ पनि। तालिममा केही सिक्ने र आफ्नो रहर पूरा गर्ने उदेश्य थियो। तालिम पाएपछि २/३ वटा एफएम रेडियोहरुमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेँ। रेडियोमा सोचेजस्तो आर्थिक लाभ नहुने भएपछि काम छोड्ने निष्कर्षमा पुगेँ। पढाइकाे निरन्तरता सँगै सुहाउँदो कामको खोजी पनि गरिरहेँ।

स्नातक पासपछि पनि सुहाउँदो काम नपाउँदा मनमा छट्पटी भइनैरह्यो। अध्ययनमा इमान्दारिता र लगनशीलतालाई कहिल्यै छोडिनँ। सक्दो कोशिस गरिरहेँ। सधैँ लगनशीलतामा विश्वास गर्ने म तर जिन्दगीलाई आफैँले धोका दिएको चाल पाइनँ।

बायोडाटा बनाएर विभिन्न ठाउँमा दिएँ। चिनेजानेका सबैलाई काम मिलाइदिन अनुरोध गरेँ, अँह! कहीँकतै मेरो केही चलेन। उता १२ कक्षा फेलको पात्र आइपिएस बनिरहँदा म भने नेपालमा काम नपाउने निश्चित भएर पुन: मरुभूमिको यात्रा तय हुनेमा फरक मत रहेन नै। नेपालको शिक्षा नेपाली जनजीविका सुहाउँदो नहुनु पनि बिडम्वना रहेछ।

उता आइपिएस बनेर बधाई थापिरहँदा यता म भने रोजगारीको खोजीमा थाकिसके! थाकिसके!! थाकिसके !!!

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?