बिएल संवाददाता
काठमाडाैँ
बसन्त-शरदावेव सर्वनास करावुभौ।
तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधै: ।।
बसन्त अनि वर्षा ऋतु र शारदीय मौसमको आरम्भसँगै एउटा भव्य सांस्कृतिक सुगन्ध छाउँछ दसैंको। यो श्लोकमा दसैंको सांस्कृतिक, प्राकृतिक अनि मानवीय संस्कारको एउटा आदिम साइनो गाँसिएको छ। जसको अर्थ हुन्छ बसन्त अनि वर्षायामसँगै शारदीय मौसम सुरु भएसँगै चण्डीपाठ गर्दा त्यो बीचमा भएका अनि आउँदा सकंटहरू पनि सबै नाश भएर जान्छन् भन्ने मान्यता हो। दसैंको सांस्कृतिक पक्ष अर्थात् यो पर्वमा हुने पूजाआजाहरू त्यही मान्यताका आधारशिलाहरू हुन्।
वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैंको उल्लास छरिइसकेको छ। मौसम नै एकप्रकारले दसैंको भावमा सुगन्धित हुन थालेको छ। देशको सबैभन्दा ठूलो यो पर्वले फेरि एकपटक सम्पूर्ण नेपालीलाई एउटा आत्मीयताको मालामा गाँसेको आभाष छाएको छ।
हिन्दकुश हिमालय पर्वतको काखमा अवस्थित नेपाल राज्य स्थापनाका आफ्नै बैदिक अनि परम्परागत मान्यताहरू छन्। उसै पनि आध्यात्मिक पवित्रभूमिका रुपमा चिनिने नेपाल राज्यमा सनातनदेखि नै दसैंको परम्परा सुरु भएको देखिन्छ। नेपालको इतिहासमा लिच्छविकालको सुरुवातदेखि नै यस्ता वैदिक सनातन संस्कारहरू प्रचलनमा आएको देखिन्छ। यहाँको आदिमानव सभ्यतामा वैष्णव, शैव, शात्तललगायत धर्ममा गरिने देवीको पूजाआजाको धार्मिक परम्परा नै दसैंका रुपमा स्थापित हुँदै गएको पाइन्छ। यद्यपि यसका अनेक किंबन्दतीहरू छन्। यसका बैदिक अनि धार्मिक मान्यताहरू छन्। र यसका आआफ्नै मौलिकता छन्। धर्म अनि परम्पराबाट अलि परबाट हामीले यसलाई महसुस गर्यौं भने दैशैं एउटा सामाजिक उत्सव पनि हो। जहाँ नेपाली समाजको बिविधताबीच एकता पनि झल्किन्छ।
अनेक बिविधताले भरिएको नेपालमा हरेक पर्वहरू मनाउने सबैका आआफ्नै तरिका छन्। संस्कार अनि परम्परा छन्। तथापि हरेक पर्व अनि उत्सवहरूले दिने सन्देशहरूमा भने तात्विक अन्तर देखिन्छ। अर्थात् हरेक पर्वले सामाजिक र सांस्कृतिकसँगै एउटा मानवीय सन्देश पनि दिइरहेका हुन्छन् जो अन्तत: मानव जाति र प्रकृतिको चक्रसँग गाँसिएको हुन्छ। दसैं पनि त्यस्तै हो। दसैं मान्ने तरिका फरक छन्, कसैले टीका लगाउँछन्। कसैले रातो लगाउँछन् कसैले सेता। कसैले कालो। कसैले मासु खान्छन् कसैले खाँदैनन्। कसैले कस्तो भेष धारण गर्छन् कसैले कस्तो। जसले जे नाम वा जसरी मनाए पनि दसैंको महिमा अनि महत्व पनि एउटै हो। यो मानवजाति र प्रकृतिको अनन्य सम्बन्ध र पारस्परिक परिचक्रसँग जोडिएको छ। यसको अन्तिम लक्ष्य भनेको मान्छे र प्रकृतीको आदिम साइनो पनि हो। जसको चक्रमा यो सिङ्गो ब्रह्माण्डको अस्तित्व अनादिकालदेखि नै रहि आएको छ।
धार्मिक किंवदन्तीअनुसार देवीले दैत्यहरूको नाश वा बध गरेपछि त्यसलाई उत्सवका रुपमा मनाउने क्रममा दसैं स्थापित भएको मानिन्छ। त्यसैलाई बिजयादशमी पनि भन्ने गरिन्छ। अनि कतिपय शास्त्रहरूमा रामले देवीको पूजा गरेपछि रावणमाथि बिजय प्राप्त गरेका मान्यताहरू स्थापित छन्। हिन्दु परम्परामा मानिंदै आएका कोटीकोटी देवीदेवता वा भगवानहरूमध्ये दसैंमा खासगरी शक्तिपीठ अर्थात् देवीहरूको पूजा हुन्छ। त्यो भनेको दसैं असत्यमाथि सत्यको बिजयोत्सवका रुपमा पनि लिइन्छ। यस अर्थमा दसैंलाई शक्ति उपासनाको पर्वका रुपमा लिन सकिन्छ।
हिन्दुशास्त्रहरूमा यसका आआफ्नै विधि र प्रक्रियाहरू छन्। जस्तो कि बिजयादशमीका बेला हामीले लगाउने टीका, जमरा अनि आशीर्वादका पनि आफ्नै मान्यता र अर्थहरू छन्। यसका बैज्ञानिक ब्यख्यातिर नजाने हो भने यी दसैंका यी सबै अवयवहरूमा मानव सभ्यताका गहिरा अर्थहरू गाँसिएका छन्।
जस्तो कि- दसैंका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्तहरू दसैंमा टीका लगाउँदा यसरी आशीर्वाद दिने चलन छ-
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे।
ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्योधने।।
सौर्य शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते।
विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे।।
यसमा अष्ठ चिरञ्जीविको जस्तो दीर्घायू, राजा दशरथको जस्तो धनसम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति, भीष्मका पराक्रम अनि कृष्णका दाजु बलरामको शक्ति, युधिष्ठिरको सत्यवादिता, विदूरको ज्ञान-विज्ञान अनि नारायणको अविनाश कीर्तिहरूको सन्देश गाँसिएको छ। खासगरी पुरुषहरूलाई दिइने यस्तो आशीर्वादमा मात्रै धर्म वा किंवदन्तीहरू छैनन् बरु यसमा ज्ञान- विज्ञानका कुराहरू पनि गाँसिएका छन्। यसरी दसैं र यसलाई मनाउने तरिका अनि परम्पराहरूमा विज्ञान पनि मिसिएको छ। हामीले दसैंका बेला अपनाउने कतिपय संस्कारहरू बैज्ञानिक पनि छन्। यी अनुसन्धानहरूले पनि प्रमाणित गरेका कुराहरू हुन्।
जयन्ती मङगला काली भद्रकाली कपालिनी।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते।।
महिलाहरूका लागि टीका,जमरासँगै दिइने यो आशीर्वादको अझ गहिरो अर्थ लाग्छ। यो भनेको हाम्रा सृष्टिका हरेक नारीहरूको सम्मान हो। अर्थात् नारीलाई देवी शक्तिका रुपमा पूजा गर्ने हाम्रो सनतान परम्पराअनुसार नारीलाई देवीकै अवतारका रुपमा लिइन्छ। यसरी दसैंले मानवसभ्यता र यसको सृष्टीलाई धर्मका माध्यमले बलियोगरी बाँधेको हुन्छ।
अर्को हिसाबबाट हेर्ने हो भने दसैंका सामाजिक अनि आर्थिक शास्त्र पनि छन्। वर्षायामभरि खेतिपाति सकेर यो समयमा हरेक किसानले आनन्दपूर्वक दसैं मनाउने गर्छन्। टाढा टाढा रहेका आफन्त अनि परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी र आत्मीयता साट्ने यो पर्वको आफ्नै सामाजिक मान्यताहरू पनि छन्। यसबेला बजार पनि चलायमान हुन्छ। नयाँ नयाँ सामानहरू भित्र्याउने अनि किनमेलका लागि यो पर्वले राज्यको अर्थबजारलाई पनि गतिशिल बनाइरहेको हुन्छ। तसर्थ दसैं आफैमा धार्मिक पर्व त हो नै त्यसमा लागि सामाजिक अनि आर्थिक हिसाबले पनि दसैं एउटा परिवार, समाजमात्रै नभइ सिङ्गो राष्ट्रका लागि पनि महत्वपूर्व अवसर मानिन्छ। योसँगै सुरु हुने तिहार अनि छठ पर्वले पनि एकअर्को समुदायलाई धार्मिक र आत्मिक गाथामा बाँधेको हुन्छ। यसबाट हाम्रो सनातन समाजको सहिष्णुता र मिलाप दर्शाउँछ। त्यसमा पनि नेपाल आफैमा एउटा बहुधार्मिक अनि बहुसांस्कृतिक समाज मिलेर बनेको एउटा सार्वभौम र स्वायत्त राष्ट्र हो त्यसैले पनि यहाँका परम्परा अनि संस्कृतिहरूको पहिचान विश्वमाझमै अलग प्रकारको छ।
जे होस् अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वहरूले सामाजिक सद्भाव, भ्रातृत्व अनि हरेक समुदाय र समाजलाई प्रेमील बनाउन सघाइरहेका हुन्छन्। त्यसैले पनि नेपाली समाज आफैमा सभ्यता र संस्कृतिको बिराट भूमि पनि हो।