प्रधानमन्त्री प्रचण्ड भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड बुधबार मध्याह्न १३ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरे। सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत गएका छन्।

गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: : 2023-05-31 13:28:00

प्रतिकृया दिनुहोस्