मुहमलालका छोरा तिलचन, तिलचनका तीन छोरा- सिद्दिकर्ण, शालिग्राम र यज्ञनिधि।
सिद्दिकर्णका पाँच भाइ छोरामध्ये साइँला दुर्गाप्रसादको ‘छोरो’ हुँ म, लिलाराज।
मुहमलालका बारेमा मलाई खासै ज्ञान छैन। यद्यपि, उनी पाँचथरको रानीगाउँमै थिए। यो अहिले ‘कुम्मायक गाउँपालिका’ भएको छ।
हाम्रा जिजुबुबा तिलचन नामी ज्योतिषी थिए। गर्भेचिना लेख्थे। अहिलेको म्यानमार, त्यतिबेलाको बर्मा धाउँथे।
घ्याम्पामा सुन राख्थे।
तर, अनाज राम्रोसँग नफल्ने स्थान- रानीगाउँ वा स्याब्रुम्बा वा हालको कुम्मायक नै किन छानेर बसे होलान् मेरा पूर्खा? जब घ्याम्पाहरुमा सुन राख्थे भने, उनीहरुले त्यो बेलाकै उत्कृष्ट जमीन खरिद गर्न सक्थे। तर, वर्षभरि खान पनि नपुग्ने रुखो जमिन ओगटेर किन बसे मेरा पूर्खा, थाहा छ?
यो रहस्य म अहिले खोल्न चाहन्नँ।
यसको पछाडि निकै अद्भूत रहस्य छुपेको छ। त्यो पछि भनुँला। आफ्नो खानदानको सबैकुरा समय नआउँदै खोल्दा मजा पनि आउँदैन!
पिता-पूर्खाले जोडेको यासोक उत्तर स्याब्रुम्बाको हाम्रो जमीन अझै जीवित र ऊर्जामय छ। भित्र अन्तरआत्मामा मलाई उक्त जमीनले शक्तिशाली तरङ्गहरु पठाएर बारबार बोलाइरहन्छ। मास्तिर सिद्धथान त मेरा हजुरबुबा सिद्दिकर्णले नियमित पूजाअर्चना गर्ने शक्तिपीठ हो। वरिपरि घुमे पनि म त्यहाँ अझै चढ्न पाएको छैन।
अब बाँकी जिन्दगी स्याब्रुम्बा गएर बिताउने जुनून मभित्र बलियो गरी सवार छ। खासगरी लिम्बू, विश्वकर्मा, चर्मकार र क्षेत्रीहरुका बिचमा छ हाम्रो पुर्खाले रोजेको जमीन। अत्यन्तै समावेशी र मैत्रीपूर्ण !
हजुरबुबा सिद्धिकर्णलाई त्यहाँका बुढापाकाले अझै स्मरण गर्छन्। २००७ सालको क्रान्तिमा कतिपय लिम्बू तन्नेरीहरुका ‘गडफादर’ नै थिए, मेरा हजुरबुबा। अझै पनि स्याब्रुम्बा, रानीगाउँ वा याशोकतिर पुग्दा मैले आफूलाई सिद्धिकर्णको नाति हुँ भन्दा छर्लङ्ग चिन्छन्। अनि बल्ल मलाई सोधिन्छ - ‘जेठो, माइलो, साइँलो वा कान्छो - कुन भाइको छोरो ?’
मेरो जन्मस्थान उर्लाबारीतिर चाहिँ मलाई ‘दुर्गा सर’को छोरो भनेर चिन्छन्। अनि उता बाउको जन्मस्थानमा चाहिँ ‘सिद्धिकर्णको नाति’ भनेर चिन्छन्। ‘दुर्गा सर’ को हो? उनीहरुले त्यहाँ सिधै नचिन्न पनि सक्छन्। किनभने, बाउ किशोरावस्थामै परदेशिएका थिए।
अहिले ‘तमोर करिडोर’ खुलेपछि सिँचाइ र खानेपानीको सुविधा भएको छ। नत्र हाम्रा पितापूर्खाले त्यहाँ कैयौँ दशक न ठिकसँग अनाज उब्जाउन सके न त भरपूर प्यास मेटाएर पानी नै खान सके।
त्यसैले बाउहरु जन्मथलोलाई थाँती राखेर क्रमशः तराइ झरे। कठोर कर्म र संघर्ष गरे।
मेरा बाउ प्रायः भन्ने गर्दथे, ‘बिहान ४ बजे कोदाको निस्तो ढिँडो वा खोले खाएर निगालेबाट मेहेलबोटे स्कुल पढ्न पैदल जानुपर्थ्यो। बेलुका घर आउन्जेलसम्म कतै केही खान पाइँदैन थियो।’
त्यो ४/५ घण्टा जान र ४/५ घण्टा आउन समय लाग्ने गोरेटो पहाडी बाटो। एकदिन मेहेलबोटे स्कूलमा पुग्नासाथ बाउलाई हुलुक्क भएछ। उनले घरमा पानीसँग निलेको कोदो छादे। कोही साथीले उनको टाउको थामिदिए। कतिले अवहेलना गरे। कतिपय मत्वालीका छोराहरुले हाम्रा बाउहरुलाई गाली गर्दा ‘कोदेबाहुन’ पनि भन्थे रे। बिहान सबेरै कोदाको ढिँडो वा खोले खाएर घरबाट स्कूलतर्फ निस्किँदा दाँतमा कोदाको बोक्रा अड्किएको छ कि छैन भनेर साथीहरुमा सोधासोध पनि हुन्थ्यो रे।
बाउ सुनाउँथे, ‘एउटा रिजाल केटाले त्यसदिन मलाई निकै हेपेर बोल्यो। उसले सबैको अगाडि मलाई भन्यो, हेर् यसले कोदो खाएर आएको रहेछ। ओये, तेरो घरमा चामल पाक्दैन?’
त्यसदिन मेरा बाउलाई निकै ठूलो चोट परेको थियो रे। कोदोफापर त ठिकसँग नफल्ने रानीगाउँ वा निगालेतिर चामलको अनुहार सायद त्यतिबेला बिरलै देख्न पाइन्थ्यो होला।
त्यसपछि बाउलाई घर बस्न औडाहा भयो। कतै गएर केही गर्ने हुटहुटीले उनी रातभर निदाउन असमर्थ हुँदै गए। त्यसपछि उनले तेह्रथुमको आठराइ, काठमाडौं र सुनसरी जिल्लाका विभिन्न स्थानमा कैयौँ वर्ष बिताए। अनेक जागीर र हण्टर पनि खाए। उनको सपना थियो, उच्च शिक्षा हासिल गर्ने र अघाउँजी दालभात खाने ! फलस्वरूप म जन्मिनु अगावै उनले मोरङको उर्लाबारीमा केही जमीन खरिद गरे र शिक्षण पेशामा आफूलाई समर्पित गरिदिए। उनी कुशल किशान पनि थिए। मेरा बाउ आँसुकवि थिए। उनले आफ्नो जवानीमा केही अखबारको संवाददाता भएर पनि काम गरे। लामालामा लेख, चिट्ठीपत्र र निबन्धसमेत लेख्थे। उनी एक जुझारु कम्युनिस्ट कार्यकर्तासमेत थिए। तर उनले जीवन समर्पित गरेको एमाले पार्टीले उनको देहावशानमा कुनै शोक-समवेदना समेत दिएन! मेरा बाउले उक्त कम्युनिस्ट पार्टीलाई वर्षौँ तिरेको ‘लेबी’को एकदिन हिसाब हुने नै छ।
मेरा बाउले आफ्ना तीन सन्तानलाई कमसेकम ब्याच्लर पास गराउँछु भन्ने कसम खाए। गराए पनि। हामी तीन सन्तान मात्रै के? शिक्षण पेशामा जवानी र जीवन सकेका मेरा बाउले हजारौँलाई ब्याच्लर उत्तीर्ण गर्ने सामर्थ्य दिए।
सबै सन्तानको बिहेबारी गराइदिएर नातिनातिनाको मुखसमेत हेरिवरी मेरा बाउ १९ वर्ष अघि यस पार्थीव जगतबाट शेष भए।
उर्लाबारीको घरमा मार्क्सवादमा विश्वास गर्ने उनले धेरैपटक हामीलाई भनेका छन्, ‘साँच्चै मनभित्रको कुरा खोल्नु हो भने, म चामलको भात खानैका लागि तराई झरेको हुँ!’
त्यतिबेला दूरदराजका गाउँहरुमा कुपोषण थियो। अहिले शहरहरुमा कुपोषण छ।
त्यसैले आज देश, काल र परिस्थितिले उनको सन्तान खासगरी ‘म’लाई कोदोको ढिँडो खान पाँचथर पठाउन खोजिरहेको छ। मलाई वास्तवमै चामलको भात मन पर्दैन। चामल मेरो बाध्यता मात्रै हो। किनभने, यहाँ जताततै चामल पाक्छ। आज बुझेर भन्नुपर्दा, अन्य अनाजको तुलनामा चामल बिल्कूलै लागूऔषध जस्तो हो। चामलको भातमा मस्त मात् हुन्छ!
१९९८ साल मंसिर १३ गते रानीगाउँमा जन्मिएका मेरा बाउले १४ वर्षको उमेरमा इलाम फुँएतप्पा निवासी शशीधर खनालकी १२ वर्षीय माइली छोरी केवलकुमारी अर्थात् मेरीआमासँग विवाह रचेका थिए। मावलका हजुरबुबा राणाकालमा मुखिया थिए। जुद्धशमशेरले निकै दु:ख दिएका कथा उनले सुनाएका थिए। केही समयअघि ९७ वर्षका उमेरमा उनले फुँएतप्पामा नै शरीर त्याग गरे। शशीधरका हजुरबुबा वाराणशी नामी पण्डित थिए। फुँएतप्पाको हाम्रो मावली घरमा उनले हातले लेखेका अमूल्य ग्रन्थहरु सुरक्षित छन्। अहिलेका छापाले नभ्याउने अक्षर त्यहाँ जस्ताको त्यस्तै छन्। यसैको असर हुनुपर्छ, हाम्री आमालाई वेद, उपनिषद्का धेरै श्लोकका साथै रुद्री, चण्डी पनि कण्ठस्थै!
आफ्नो विवाहको एक पीडादायी घटनालाई रमाइलो मानेर हाँस्दै बाउले हामीलाई सुनाउँथे, ‘मैले खाली खुट्टामै बेहुली लिन जानु परेको थियो। किनभने, बिहेका लागि अत्यावश्यक लत्ताकपडा र अन्य सामग्री किन्ने सिलसिलामा हतार भएर भनौँ वा पसलेको लापरबाहीका कारण किनेर ल्याइएका जुत्ता दाहिने-दाहिने परेछन्!’
तिलचनका तीन भाइ छोरामध्ये कान्छा यज्ञनिधि बिबाह पश्चात् सन्तान नहुँदै परलोक भएका रहेछन्। माइला शालिग्राम बेलैमा दमक झरे। उनी पण्डित थिए। उनका एकमात्र छोरा भोला ओभरसियर थिए। माइला बा ज्योतिषी भए पनि भोला काकामा कुनै धार्मिकपना वा अध्यात्म मैले भेटिँन। उनी ‘चेनस्मोकर’ थिए र मस्त तास खेल्न रुचाउँथे। हाम्रो पारिवारिक आउजाउ प्रसस्तै भए पनि उनीहरु आफूभन्दा कमजोरलाई अलिक हेप्ने वा दवाउने खालका भएकाले मलाई चाहिँ उनीहरु प्रति खासै लगाव भएन। बाल्यकालमा अत्यधिक हिमचिम भए तापनि निकै वर्षदेखि माइला बा शालिग्रामका सन्तानहरुसँग मेरो कुनै सम्पर्क छैन। शालिग्राम बा निकै धार्मिक र आध्यात्मिक प्रवृत्तिका थिए। अग्लो कदका उनी बुढेसकालमा पनि हृष्टपुष्ट र हट्टाकट्टा थिए। नियमित ध्यान, योग र प्राणायाम गर्दथे। जथाभावी खाँदैन थिए।
म ९ वर्षको हुँदा उनले पद्माशन कसेर प्राणायाम क्रिया देखाउँदै हामी केही केटाकेटीलाई भनेको सम्झिन्छु, ‘हेर नानीहरु हो, यसरी ध्यान गर्नुपर्छ। जोडले सास लिने, अनि जोडले नै छोड्ने। यसरी नाकको प्वाल पालैपालो थुनेर नियमबद्ध सास लिने र छोड्ने। राम्रोसँग मिलाएर ध्यान गर्दा फाइदै फाइदा छ।’
अनि उनी आफ्नो छाती खेलाउँदै भन्थे, ‘ध्यान गर्यो भने फाँचा यी यत्रा ठूला हुन्छन्!’
नभन्दै माइला बाका दुवै फाँचा स्त्रैण थिए - अपेक्षाकृत रुपमा ठूल्ठूला।
त्यतिबेला उनका कुरा सुनेर हामी मजाले हाँसेका थियौँ। तर, आज म उनका कुरा प्रष्ट बुझ्न सक्छु। साँच्चै नै ध्यान-साधनाले मानिसको हर्मोन बदल्न सक्छ। ठिकसँग गरिएको ध्यानले पुरुषभित्र सुषुप्त स्त्रैण र स्त्रीभित्र सुषुप्त पुरुषेय भाव सतहमा ल्याइदिन्छ। पश्चिमका हार्वाड लगायत केही अरु विश्वविद्यालयमा यस कुराको पुष्टि भइसकेको छ। तर, पूर्वीय सभ्यतामा कृष्ण, राधा, बुद्ध, ताराहरुले उहिल्यै अफूमा यस्तो रुपान्तरण घटित गरेर देखाइदिएका थिए।
शालिग्राम बा बास्तवमै एक रुपान्तरित योगी थिए ! बुढेशकालमा पनि उनको चेहराको कान्ति अति चहकिलो थियो र उनले निकै स्वस्थकर जीवन बाँचे। पछि उनलाई डायबिटिज भयो। तर, उनी मुख बार्दैन थिए। मने, पृथ्वीबाट एकदिन बिदा हुन सबैलाई यहाँ केही न केही बहाना त अवस्य चाहिन्छ नि। चाहिँदैन र?
जेठा सिद्धिकर्णको एउटा नाति म भइहालें। अरु पनि छन्। हाम्रा ४ भाइ बाउहरु मध्ये काइँला काका १३ वर्षको कलिलो उमेरमा बिते। हजुरआमाले उनलाई मेलापात गर्दागर्दै जन्माएकी रे। बुढीबजू समेत रहेकी हाम्री हजुरआमाले हसिँयाले आफैँ सालनाल काटेर डोकामा छोरो बोक्दै घर पुगेकी थिइन्। काइँला काकालाई त्यही भएर सबैले ‘मेले’ भनेर बोलाउँथे रे। मेलापात गर्दा जन्मिएको भएर। तर उनी धेरै बाँचेनन्। मलेरियाले उनलाई तानेर लग्यो।
बाउले मलाई सुनाएका थिए, ‘मेरो काइँलो भाइ निकै महसूर थियो। आँगनमा हामी खुब लाप्पा खेल्थ्यौँ। प्रायः उसले मलाई पछार्थ्यो। म भने, बेलाबेला मात्रै उसलाई पछार्न सक्थें।’
हाम्री २ वटी फूपू हुन्। दुवै जना बुबाका दिदी। जेठी फूपू यासोक पारी प्वाँ भन्ने ठाउँमा आचार्यलाई र कान्छी फुपू तमोर किनारको कात्तिके भन्ने ठाउँमा गजुरेललाई बिहावारि गरिएकोमा अहिलेसम्म दुबै फूपू र फुपाजुहरु परलोक भइसके। तर उनीहरुका सन्तानले भने डाँडाकाँडा ढाकेका छन्।
जेठा बडाबा खडानन्द एक गौप्राणी नै थिए। उनी कहिल्यै कसैको कुभलो नचिताउने, कर्मयोगी र बैरागीसमेत थिए। बडाबाले मलाई खूब माया गर्थे। साह्रै मजाले शिलोक र भजन गाउँने उनको बानी थियो। म १०/१२ वर्षको छँदा बडाबासँग राँगागाडामा निकैपटक पथरी (जरायोडोल) र उर्लाबारी गरेको स्मरण छ। राँगागाडा एकजना फुँयाल दाजुले हाँक्थे भने बडाबा र म आरामसँग बसेर गीत गाउँदै यात्रा तय गर्थ्यौँ। बिचबिचमा हसिँला र फरासिला फुँयाल दाइ सेलो हान्थे। उर्लाबारीको हाम्रो घरबाट जरायोडोलको ‘खेती’ पुग्न त्यस्तै १५ किलोमिटर होला। केही दशक अघि पाँचथरको आफ्नै जन्मस्थानमा बडाबाले शरीर छाडे।
उर्लाबारी र जरायोडोलमा बाउले जोडेका हाम्रा जमीनहरु अंशबण्डा भइसके। तर, बेचिएका भने छैनन्। यो बेग्लै कुरा हो कि अप्ठ्यारो पर्दा आमाले २/४ कठ्ठा बेच्नुपरेको थियो। बाउले जोडेका जमीनहरुमा अंशबण्डा नहुन्जेल मैले कैयौँ सपनाहरु देख्ने गर्थें- यसो गर्छु, उसो गर्छु। तर, अंशबण्डा भएपछि मेरा ती सब सपनाहरु पनि कता गायव भए? यता जन्मस्थानमा छताछुल्ल भएका मेरा सपनाहरुलाई जोडजाड तुल्याएर मैले केही महिनाअघि मुम्बई शहरभन्दा ८० किलोमिटर पूर्वोत्तर आबलखेड भन्ने गाउँमा २५ वर्षका लागि ५ एकड जमीन ‘लीज’ गरेको छु। मेरा मराठी सहयोगी भाइहरुले अहिले त्यहाँ प्रसस्तै फल्ने काजु, बयर र चुथ्रोका बिरुवाहरु सार्दैछन्। त्यहाँ सिंदाना अर्थात् बदाम पनि राम्रो हुन्छ।
माइला बडाबा बिष्णुभक्त जवानीमै आसाम भासिए र ५० वर्ष जागिरोडको अमिलिघाटमा बिताए। केही दशकअघि उनी स्वदेश फर्किए र धनकुटामा प्राण त्यागे। उनी साह्रै मिलनसार, बहिर्मुखी र मेहनती थिए। स्वदेश फर्किँदा गाँजा नताने पनि आसाममा खुब गाँजा खाएका स्मरणहरु उनले मलाई सुनाएका थिए।
सिद्धिकर्णका साइँला छोरा अर्थात् मेरा बाउ चाहिँ आजभन्दा १९ वर्ष अघि वीर अस्पतालको एउटा थोत्रे क्याबिनमा बोल्दाबोल्दै र बसीबसी बिदा भए! मेरा बुबा ‘चेनस्मोकर’ थिए। गाँजा वा रक्सी सेवन गर्दैन थिए। तर शिवरात्री र होलीजस्ता पर्वहरुमा भाङको घोट्टा खान्थे। शरीर छाड्नुभन्दा निकै अघि नै उनले चुरोट त्यागेका थिए। उनले मिल्काएका ठूटा सल्काएर कहिलेकाहिँ म पनि लुकिलुकी तान्थें, ९/१० वर्षको उमेरमै ! बाउले तान्ने जिनीश छोराले कसरी नकार्नू?
कान्छा काका लक्ष्मीप्रसादको बसोबास दमकमा छ। अघिल्लो महिना निकै वर्षपछि उहाँसँग उर्लाबारीको घरमा प्रत्यक्ष भेट भयो।
सँधै ‘करेलो-अर्ती’ दिने कान्छा काकाले त्यस दिन मलाई निकै उत्साहित मुद्रामा भने, ‘लौ, खुशी लाग्यो केटा। तैँले विश्व खाइभ्याइस्!’
म जोडले हाँसे!
अनि जवाफमा हल्कै भनें, ‘विश्व नै त नभनौँ, काका। तर एकलट नेपाल चाहिँ स्वाट्टै निलियो। अब त्यस् निलेको नेपाललाई वान्ता गर्दैछु !’
हाहाहा...
अब काका हाँसे। मलाई उनको त्यो प्रफुल्ल हाँसोमा आफ्ना पाँचैजना बाउहरुको झलक मिल्यो! हाम्रा पाँच भाइ बाउहरुमध्ये अब उनी मात्रै बाँकी छन्।
(लिलाराज खतिवडाको भर्खरै बजारमा आएको इबुक ‘अन्तिम प्रहर‘बाट।)
लेखकसँग सम्पर्क -
authorlilaraj@gmail.com