फेरिएका जीवनहरु (श्रृङ्खला- १४)

कुलतमुक्त सपना पछ्याइरहेका सन्जीवकाे ‘मुक्तिदय’ (भिडियाेसहित)

Break n Links
Break n Links

एउटा सानाे रहर अनि देखासिकीले मान्छेकाे जिन्दगीलाई कस्ता कस्ता माेडमा ठाेक्काइदिन्छ? सन्जीवले बाँचेकाे त्याे ‘कुलत’काे जिन्दगीलाई आज सम्झिल्याउँदा पनि मन भरङ्ग हुन्छ।

तर जब मनमा अठाेट जाग्छ। आफूले आफैंलाई मान्छेले चिन्न थाल्छ अनि सुधारका बाटाहरू सजिला लाग्छन्। जीवन नै ‘सिकसिकाउने’ ती ‘डोज’हरू छोडेर सन्जीवले सुरु गरेकाे ‘मुक्तिदय सेवा’ले आज उनीजस्ता कैयाैंकाे जीवन सुधारकाे त्यही मार्गमा हिँडाइरहेकाे छ। जुन बाटामा सन्जीवका संकल्प अनि सुधारका पदचापहरू छन्। 


‘ड्रग्स’ खाएर हिड्ने मान्छेलाई आफ्नो ‘आइडल’ मानेका थिए, सन्जीव खड्काले। यतिसम्म कि उनी पनि ‘ड्रग्स युजर’ बन्न चाहन्थे। 

टोलका केटाहरू ड्रग्सको नशामा लठ्ठिएर हिड्ँदा उनलाई लाग्थ्यो ड्रग्स खाने मान्छे अरूभन्दा बेग्लै देखिन्छन् अनि समाजले हेर्ने दृष्टिकोण पनि भिन्नै। कलिलो मस्तिष्कमा भरिएकाे त्यही भ्रमले सन्जीवलाई कुलतको दुनियाँमा ढकल्दैथियो।

१२ वर्षको उमेरदेखि नै ड्रग्सप्रति चासो बढेको थियो उनको। त्यही उत्सुकताले सन्जीवलाई चुरोटको पहिलो खिली सल्काउन सिकायो।

कक्षा–६ मा पढ्दै गर्दा सन्जीवले पहिलोपटक साथीहरूसँग मिलेर जानी–नजानी चुरोट तानेका थिए। 

‘त्योबेला हामी सानै भएकोले चुरोट किन्नु धेरै डर लागेको थियो तर पनि हामीले जसोतसो चुरोट किनेर तान्यौं’, उनले भने, ‘सुरुमा चुरोट खाँदा रिँगटा लागेको थियो। त्यहीपनि खान छाडेनौं।’

समाजमा आफूलाई बेग्लै देखाउनका लागि पहिलोपटक चुरोटको धुँवा उडाएका सन्जीवलाई थाहै थिएन, त्यो त मात्र सुरुवाती चरण थियो। ‘एडिग’ बन्ने। 

साथीहरूसँग मिलेर चुरोटलाई आदत बनाएका सन्जीवले विस्तारै गाँजाको ‘पप’देखि ट्याब्लेटको प्रयोग गर्न थाले। तर चुराेटबाट कतिबेला  ट्याब्लेटसम्म पुगे उसैले पत्ताे पाएनन्। ‘म यति छिट्टो कुलतमा बढिरहेको थिएँ कि आफैंलाई थाहा भएन’, उनले भने, ‘मैले आफैंलाई राेक्न सकिनँ।’

दिनभरि उनी झुलेर हिँड्थे तर छोराले लागुऔषधको प्रयोग गर्छन् भनेर बुबाआमाले सोचेका पनि थिएनन्। 

‘मैले पिल्स खाँदासम्म पनि मेरो परिवारले थाहा पाउनुभएको थिएन’, उनी सम्झिन्छन्, ‘मैले धेरै प्रयोग गर्न थालेपछि मात्र बुबाआमाले छाेराले केही खान्छ भनेर शंका गर्न थाल्नुभयाे।’

आमाबुबालाई छोरा कुलतमा फसेको कुरा यकिन भइसक्दा सन्जीव प्रहरी चाैकी पुगिसकेका थिए। उनकाे साथबाट लागुऔषध भेटिएको थियो। 

प्रहरीले छोरालाई समातेर बुझेपछि सन्जीवका बाआमा अत्तालिदैं चौकी पुगे। र, छाेरालाई त्यहीबाट पहिलोपटक सुधार गृहमा पठाए।

‘लागुऔषध प्रयोगकर्ताहरू एक पटक चौकी पुगेपछि परिवारले नै युजरहरूलाई रिहाब सेन्टर पठाउँछन्’, उनले भने, ‘त्यसैले म पनि चौकीबाट सिधैं सुधार केन्द्र पुगेको थिएँ।’

खुल्ला आकाशमा उड्ने पन्छीजस्तै भएर बरालिने बानी परेका सन्जीवलाई सुधार गृह जाने रहर थिएन। तर आमाबुबाको अगाडि उनको केही लागेन। 

‘अधिकांश युजरहरू रिहाब जान मान्दैनन्। मलाई पनि त्यहाँ बस्ने रहर थिएन’, उनी भन्छन्, ‘तर चौकी पुगेपछि रिहाब जान्नँ भनेर भएन।’

बुबाआमाको कारण सुधार गृह बसेका सन्जीवलाई सुध्रिने साचे थिएन। त्यतिबेलासम्म उनलाई ड्रग्स खानै पुगेको थिएन। 

‘मलाई रिहाब सेन्टरमा भर्ना गरिदिएको भएपनि कहिल्यै सुध्रिन्छु भनेर सोचिनँ। किनकी ड्रग्सले म अगाएकै थिइनँ’, बिएल नेपाली सेवालाई उनले बताए। 

सानै उमेरमा ‘एडिग’ बनेका सन्जीवले सुधार गृहबाटै ‘एसएलसी’को परीक्षा दिए। तरपनि उनमा सुध्रिने इच्छा जागेन। किनकी उनको लागि सबथोक ‘नशा’ नै बनिसकेको थियो। 

‘अहिले सम्झदा मलाई हाँसो लाग्छ तर मैले रिहाब बसेरै परीक्षा दिएको थिएँ’, विगतलाई कोट्याउँदै उनले भने, ‘त्यतिबेला पनि सुध्रिन्छु भनेर सोचिनँ। म आफ्नै ड्रग्सकाे दुनियाँमा खुसी थिएँ।’     

सुधार गृह बसेको करिब चार महिनापछि सन्जीव घर फर्किए। तर सुध्रिने छाँटकाँट थिएन उनमा। झनै ओभर डोज लिन थाले।

सुधार केन्द्रबाट निस्किएको केही दिनमै उनले लागुऔषधकाे प्रयाेग गरेर पुरानै लयमा फर्किए। 

नशामा लठ्ठिएर घर फर्किदा आमाबुबाले सम्झाउँथे, सन्जीवलाई। तर अभिभावकहरूसँग रिसाउँदै उनी भन्ने गर्थे, ‘खाएर हिडेंपनि मेरै पैसा सक्काएँ। तपाईंहरूसँग मागेर खाएको छु र?’

‘ड्रग्स’ खानको लागि आफैं पैसा जुटाउँथे उनले। यातायात कार्यालयमा उनी सवारी धनीहरूका लागि काम मिलाइदिन्थे। त्यहीबाट सन्जीवले आफ्नो लागि खर्च बटुल्थे, डाेजका लागि।  

उनले भने, ‘अधिकांश एडिगहरूले घरमा पैसा माग्छन् तर मैले आफैंले काम गरेर डोज पुर्‍याउँथें। कहिलेकाहीं मात्र बुबाआमासँग पैसाको लागि झगडा गरें।’

सन्जीवको कारण सधैंजसो घरमा कलह मच्चिरहन्थ्यो। एक्लो छोरालाई सुधार्न बाआमाले धेरै प्रयत्न गरे। पाँच पटकसम्म सन्जीवलाई सुधार केन्द्रमा भर्ना गरिदिए। त्यहीपनि नशा छाड्न सकेनन् उनले। बरू, परिवार नै त्याग्न तयार थिए।

पाँचौं पटकसम्म रिहाब बस्दा सुध्रिने कोसिस समेत गरेका थिएनन् उनले। 

सुधार केन्द्रमा आफूभन्दा ठुला उमेरका मान्छे देख्दा सन्जीव सोच्ने गर्थे, ‘मेरो त अहिले सुध्रिने उमेरै भएको रहेनछ। मेरो उमेर त अझै खाएर हिड्ने हो।’ त्यही सोचले उनलाई बारम्बार कुलतको दुनियाँमा पुर्‍याइरह्यो। 

...अनि सुध्रिने हुटहुटी

पाँचौं पटक रिहाब बसेका सन्जीव सन् २०१३ सालमा फेरि सुधार केन्द्र पुगे। त्यहीपनि आमाबुबाको करकापले। ‘६ पटक रिहाब बस्दा म सुध्रिन सफल भएँ’, सन्जीवले सुनाए।

एक दशकसम्म कुलतमा रमाएका सन्जीवले अन्तिम पटककाे रिहाब बसाइँमा पनि सुध्रिने साेचेका थिएनन्। त्यहाँबाट बाहिरिएलगत्तै ड्रग्स खाने उनको योजना थियो। तर भनिन्छ, नि सोचेजस्तो केही हुँदैन जीवनमा।

सुधार केन्द्र बस्न थालेकाे महिना दिनपछि उनमा बदलावहरू आउँदै गए। आफ्नो जीवन देखेर निराशिएका सन्जीवले आत्मग्लानी गर्न थाले। त्यसपछि सुध्रिने अठाेट गरे। 

‘अन्तिमपटक रिहाब सेन्टर बस्दा मैले सेल्फ रिलाइजेशन गर्दै गएँ’, उनी सुनाउँछन्, ‘मैले आफैंले आफ्नाे जीवन बिगारिरहेकाे बुझें। त्यसपछि अब सुध्रिनुपर्छ जस्ताे लाग्याे।’

६ पटकसम्म रिहाब सेन्टर बस्दा सन्जीवले आफूसँगै पढेका दौतरीहरूको प्रगति अनि निर्दोष बुबाआमाले छोराका लागि कयौं पटक बगाएको आँसुलाई सम्झिएका थिए। त्यही बन्याे उनकाे लागि सुध्रिने ‘ट्रनिङ पोइन्ट’।

अब उनमा सुध्रिने हुटहुटी थियो। त्यो उत्साहले उनलाई सुधार गृहमा अनुशासित बनायो। र, विभिन्न क्रियाकलापमा ‘एक्टिभ’ पनि।  

एक दशक लामो समय लागुऔषधलाई अँगालेका सन्जीवका लागि सहज थिएन सुध्रिनु। नशाकाे लत छाेड्नका लागि उनले धेरै संघर्ष गर्नुपर्‍यो।

दस दिन नसुतेरै बिताए। शरीर कमजोर भए। तर सुध्रिने बलियो अठोट थियो उनमा। त्यसैबाट प्रेरणा भइरहे। 

कुलतको बाटो त्याग्ने अनि नयाँ जीवनलाई अपनाउने आत्मविश्वास बोकेका सन्जीवले एक वर्ष रिहाब सेन्टरमै बिताए। 

१२ महिना सुधार गृहमा बसेर सुध्रिसकेका थिए सन्जीव। तर कसैले पत्याएनन् उनलाई। बुबाआमालाई उनीमाथि शंका थियो। अझै पनि लुकेर लागुऔषधको प्रयोग गर्छ कि!

तर सन्जीवले पहिलोपटक आमाबुबालाई गलत साबित गरिदिए, ड्रग्स नखाएर। 

‘मैले उहाँहरूलाई धेरै दु:ख दिएको थिएँ। मलाई विश्वास नगर्नु पनि स्वभाविकै थियो तर पछि मैले केही खाँदैन भनेर पत्याउनुभयो’, उनले बताए। 

कुलतको संसारलाई अलविदा भनिसकेका सन्जीव केही काम गर्न चाहन्थे। तर के काम? 

काम सिक्नुपर्ने उमेरमा त उनले लागुऔषधमै समय खेर फ्याँलेका थिए। यदी उनी ‘एडिक्ट’ हुन्थेनन् भने यतिबेला ‘नेपाली सेना’को पोशाकमा सजिएका हुन्थे सन्जीव। 

तर अपसोच, त्यो मात्र उनको सपना रह्यो।

‘सानैबेला आर्मीले लगाएको बर्दीमा आकर्षित थिएँ। म पनि आर्मी हुन्छु भनेर कल्पिन्थें तर आफ्नै कारण हुन सकिनँ’, उनी सुनाउँछन्, ‘नशाले शरीर मात्र गलाएन मेरो सपना पनि मारिदियो।’

सरकारी जागिरे बन्ने धोको पूरा हुन नसकेपनि उनले लागुऔषध प्रयोगकर्तालाई सुधार्ने ‘सूत्र’ सिकेका थिए। त्यसैले उनले ‘एडिग’हरूको उपचार हुने अस्पताल अर्थात् ‘सुधार गृह’ सञ्चालन गर्ने सोच बनाए। 

‘काम सिक्ने उमेरमा मैले ड्रग्स खाएर हिडेँ। त्यसैले मजस्तो युवालाई सुधानुपर्छ जस्तो लाग्यो’, उनले भने, ‘त्योबेला रिहाबभन्दा धेरै युजरहरू हुन्थे। बस्न असहज जस्तो हुन्थ्यो। त्यसैले मैले सबै सुविधा सम्पन्न रिहाब खोल्ने योजना बनाएँ।’

सन्जीवको त्यही योजनाले स्थापना भयो, ‘मुक्तिदय सेवा’। 

वि.स २०७० सालमा सुरु भएको मुक्दियले अहिलेसम्म सयौं जना लागुऔषध प्रयोगकर्ताहरूलाई सुधारिसकेको छ। 

र, अझैपनि कुलतको बाटो पछ्याइरहेका युवाहरूलाई नयाँ जीवन दिइरहेको छ।  

उनी भन्छन्, ‘नयाँ काम सिक्नुपर्ने उमेरमा म एडिक्ट भएँ। मैल सिकेको र जानेकै काम यही हो। त्यसैले अब यो काममा खुसी हुँदैछु।’

कुनैबेला नशामा रुमलिएर आफैंंलाई सक्काउन खोजेका उनी अहिले धेरै जनाको लागि प्रेरणाको स्रोत बनेका छन्। टोल–टोलमा गएर लागुऔषधविरुद्ध जनचेतनामुलक कार्यक्रम फैलाउँदै हिँडिरहेका छन्। 

अहिले आफ्नो विगत सम्झदा दुखी हुन्छन् उनी तर आफूले गरिरहेको कामप्रति सन्तृष्ट छन् सन्जीव। भन्छन्, ‘मैले गल्ती गरे पनि अहिले युवाहरूलाई सुधारिरहेको छु। धेरै खुसी छु।’ 

याे पनि...
प्रकाशित मिति: : 2024-10-17 17:58:00

प्रतिकृया दिनुहोस्