पत्तै हुन्न कतिबेला कतिपय आदतहरू ‘कुलत’ बनिदिन्छन्। जिन्दगीको त्यो अम्मलबाट निस्किन धेरै नै संघर्ष गर्नुपर्छ जसरी निफरमानले आफू सुध्रिनका लागि गरे। एकपटक होइन पटक पटक गरे। जब लत ‘कुलत’ बन्छ अनि त्यसबाट जिन्दगीलाई छुटाउन कम्ता गाह्रो हुँदैन। तर जब मनमा सुध्रिने चाह जागिदिन्छ, त्यसले जिन्दगी बाँच्ने हुटहुटी दिन्छ। जिन्दगीका कतिपय मोडहरू फेरि यस्ता आइदिन्छन्, जहाँ सुधारकाे हुटहुटीले हुत्यादिन्छ जसरी ड्रग्सको त्यो सहनै नसकिने ‘सिक्’ हुन्छ। त्यही हुटहुटीले हुत्याएर कन्ट्रोल एडिक्सन नेपाल (क्यान) पुगेका निफरमानले पनि आठौं इनिङमा जिन्दगीलाई बदलेरै छोडे।
कलिलाे मस्तिष्कमा खेलाडी बन्ने सपना बुनिसकेका थिए उनले। तर ती सपनाका चाङहरू एक–एक गरी भत्किए। ‘तास’बाट बनेका घरहरू जस्तै।
काठमाडाैँकाे रैथाने परिवारमा जन्मिएका निफरमान श्रेष्ठ घरका एक्लाे छाेराे थिए। उनीमुनि एउटी बहिनी थिइन्। तर घरमा भने निफरमानकै रजाईं चल्थ्यो। उनले जे चाहन्थे, त्यो पाइहाल्थे।
पढाइका साथै निफर खेलकुदमा पनि अब्बल थिए। ‘ब्याडमिन्टन, टेबल टेनिसलगायत फुटबल’मा उनी सिपालु थिए। त्यसैले खेलकुदमा सधैं प्रथम हुन्थे।
उनलाई चिनेका साथीभाइहरूले पनि खेलाडी बन्न सुझाइरहन्थे। हुनत निफरमानको सपना त थियो खेलाडी बन्ने तर कुन खेलको? उनी आफैं अन्योलमा थिए।
‘म प्राय सबै खेलकुदमा राम्रो थिएँ। मेरो सपना पनि खेलाडी बन्ने थियो तर कुन खेलको खेलाडी बन्ने भनेर चाहिँ आफैं दोधारमा थिएँ’, बाल्यकालमा देखेको सपनाबारे उनले बताए।
आफूले देखेको सपनालाई पछ्याउँदै थिए निफरमान। तर साथीको संगतले उनको जीवनै बदलियो। साथीहरूकै कारण उनी ‘चुरोटे’ बने।
उनीभन्दा ठुला साथीहरूले शीतल हुन्छ भन्दै चुरोटको सर्को तानेको देखेका थिए निफरमानले। त्यसैले उनले पनि त्यो ‘शीतल’को लालसामा चुरोट पिउन थाले।
‘साथीहरूले चुरोट तानेपछि आनन्द हुन्छ, शीतल महसुस हुन्छ भनेको सुनेर मैले पनि चुरोट पिउन थालें’, पशुपतिको कैलाश डाँडाँको त्यो जंगलको रुखमाथि बसेर पहिलो पटक चुरोट तानेको अझै याद छ उनलाई।
कक्षा–६ पढ्दै गर्दा चुरोटको पिउन थालेका निफरमान पल्किदैं गए। साथीहरूले भनेजस्तै त्यो चुरोटको स्वादले शीतल दिएको उनले महसुस गरे।
‘मैले आफूले आफैंलाई हिरो सोच्न थालेको थिएँ’, चुरोटको धुँवामा रुमलिए निफरमान।
चुरोटको स्वादमा लठ्ठिएका उनले गाँजाको पनि सेवन गर्न थाले। कक्षा–१० पुगिसक्दा त उनी गाँजाको ‘एडिग’ भइसकेका थिए। त्यही लतको कारण परीक्षामा उनी बारम्बार ‘फेल’ भइरहे।
‘खाने बानी भइसकेपछि पढाइतिर कहाँ ध्यान जान्थ्यो र?’, उनी भन्छन्, ‘पढाइको मतलब लाग्नै छोड्यो। त्यही भएर एसएलसीमा फेल भएँ।’
‘एलएलसी’मा गुल्टिएर बेरोजगार बनेका उनी दिनभरि साथीहरूसँग आवारापन्तीमा रमाउँथे अनि साँझपख घर फर्किन्थे।
एक्लो छोराको हर्कत देखेर आजित भइसकेका थिए बुबाआमा। छोराले नराम्रो बाटो पछ्याइरहेको थाह पाइसकेको थिए।
कयौं पटक सम्झाए तर बाआमाको कुरा सुन्ने पक्षमै थिएनन् निफरमान। आमाबुबाले सम्झाएको कुरा त उनलाई बेक्कार लाग्थ्यो।
त्योबेला उनी सोच्ने गर्थे कि, उनको भलो चिताउने भनेकै साथीहरू मात्रै हुन्। जसलाई उनलाई लागुऔषध प्रयोगका लागि प्रोत्साहन गरिरहेका छन्।
‘गजडिया’ साथीहरूसँग दिनभरि सडकको गल्ली–गल्ली डुल्ने अनि ‘ग्याङ–ग्याङ’ बनाएर झगडा गर्नु त उनको लागि दैनिकी जस्तै बनेको थियो।
साथीहरूसँग मिलेर गरेको झगडाको कारण उनीमाथि मुद्दा समेत चलेको थियो। त्यही मुद्दाबाट बच्नका लागि उनी ‘बोर्डर’ पारी जान्थे। त्यहीबाट उनले ‘ट्याब्लेट’ खान पनि सिके। ‘बोर्डर पार गरेपछि गोटी सहजै पाइन्थ्यो’, श्रेष्ठले भने, ‘त्यसपछि मैले गोटी खान पनि सिकें।’
सीमानाकामा दुई–चार महिनाको बसाइँपछि उनी घर फर्किए। तर बिल्कुलै अलग अन्दाजमा। गाँजा मात्रै खाने निफरमानले ट्याब्लेट पनि खान थालिसकेका थिए।
गाँजाको ‘पप’मा रमाउने उनलाई अब गोटीको ‘ट्रिप’ चाहिने भएको थियो। जसलाई खाएर उनी छुट्टै दुनियाँमा रमाएको कल्पिन्थे अनि झुमेर बस्थे।
चुरोट हुँदै ट्याब्लेटसम्म पुगेका निफरमान त्यतिमै सीमित रहेनन्। उनलाई त्योभन्दा पनि अब धेरै डोज दिने नशा चाहिएको थियो। त्यसैले उनले ‘ब्राउन सुगर’को प्रयोग गर्न थाले।
...अनि टुट्यो सपना
चुरोटबाट ब्राउन सुगरसम्म पुगेका निफरमानको लागि सबैथोक ‘नशा’ नै थियो। नशाबिना त उनलाई श्वास फेर्न समेत गाह्रो लाग्थ्यो।
‘म यतिधेरै एडिग भइसकेको थियो कि सुत्न र खानको लागि पनि मलाई ड्रग्स चाहिन्थ्यो’, बिएल नेपाली सेवासँग उनले भने, ‘ड्रग्स मेरो जीन्दगी बनिसकेको थियो।’
ड्रग्सको दुनियाँमा रमाउन थालिसकेका उनलाई परिवारको कुनै मतलब नै थिएन। उनलाई त खाएर हिँड्न पाए सबैथाेक पुगेकाे जस्ताे लाग्थ्याे।
‘मलाई कसैको मतलब हुँदैन थियो। चाहिन्थ्यो त ड्रग्सको डोज’, उनी सुनाउँछन्, ‘बिहान उठ्दादेखि राति नसुतेसम्म मलाई नशा चाहिन्थ्यो।’
ड्रग्सको धुलोलाई जीन्दगीको लक्ष्य बनाएका उनले पैसा र शरीर नै त्यही अम्मलमा खर्चिरहेका थिए। जसले उनलाई कमजोर मात्र होइन आफूले देखेका सपनाहरूबाट पनि टाढा बनाइरहेकाे थियाे।
‘मेरो ध्यान मात्र ड्रग्समा हुन्थ्यो अनि कसरी पूरा गर्न सक्थे र मैले मेरा सपनाहरू’, उनी भन्छन्, ‘कुलतमा लागेकाहरूको सपना साकार नै हुँदैन रहिछ।’
‘छँटाह’ बनाउने नशालाई जीन्दगी बाँच्ने सूत्र बनाएका उनले ड्रग्सको लागि घरमा झगडा गरे। परिवारलाई लुटे। सोझा साथीहरूलाई ठगे अनि पाकेटमारहरूलाई पछ्याए।
आफूले गरिरहेका ती हर्कतहरू देखेर रमाइरहेकाे थिए निफरमान तर कहिल्यै बुबाआमाको आँसु देखेनन्।
‘मेरो अगाडि बुबाआमा र बहिनी धेरै रुनु हुन्थ्यो तर मैले उहाँहरूको आँसु कहिल्यै बुझिनँ। अहिले सम्झदा दुख लाग्छ’, उनले बताए।
ड्रग्सको कारण परिवारबाट टाढिसकेका निफरमानले नशाको लत मेटाउन धेरै प्रयत्न पनि गरे तर सकेनन्। बरू, नशा छुट्याउने विकल्पहरूलाई उनले ‘ओभर डोज’ बनाए।
त्याेबेला नेपाल सरकारले लागुऔषध प्रयोगकर्ताहरूलाई लक्षित गरेर क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ नशाको तलतल मेटाउने औषधिजस्ताे ट्याब्लेट दिने गरेकाे थियाे। तर अपसाेच, उनले त्यसैलाई डाेज बनाइदिए। ‘त्यो खाएपछि नशाको सेवन गर्नु हुँदैन थियो तर मैले सबै प्रयोग गरिदिन्थें। ओभर डोज गरिदिएँ’, उनले सुनाए।
सुरुवाती चरणमा चुरोटबाट मात्र लतमा फसेका उनले ‘सिरिन्ज’को पनि प्रयोग थाले। उनले शरीरका विभिन्न अंगहरूमा सुइँले घोचे। त्यसले उनलाई सन्तृष्टी दिलाएपनि उनले लामाे समयसम्म त्यसकाे प्रयाेग गरेनन्।
परिवार आर्थिकस्थिती राम्रै थियो। र, उनले पनि जग्गा कारोबार गरेका थिए। त्यहीबाट उनले ड्रग्सको डोज पुर्याइरहेका थिए।
‘ड्रग्स महँगो हुन्छ, त्यसैले एडिगहरूले सिरिन्जको प्रयोग गर्छन्। मैले पनि गरें तर लामोसमय गरिनँ’, उनी भन्छन्, ‘ड्रग्सको लागि प्राय मसँग पैसा टुट्दैन थियो। मैले जसरी हुन्छ खानेकाे लागि पैसा म्यानेज्ड गथें।’
बिग्रिएका छाेरालाई सुर्धानका लागि बुबाले कयौं पटक काममा लगाइदिए। तर ‘एडिग’ भइसकेका निफरमानले कहाँ काम गर्न सक्थेन र!
एक–दुई महिनाबाहेक उनले कामै गर्न सकेनन्। ‘एडिक्टहरू कोहीपनि अरूको इसारामा काम गर्न सक्दैनन्। मैले पनि सकिनँ’,आफ्नो अनुभव सुनाउँछन् निफरमान।
झुलेर हिँड्ने उनलाई एक साथी एकदिन ‘सुधार केन्द्र’काे बाटाे देखाए। साथीको कुरा सुनेर निफरमान पहिलोपटक चोभारको एक ‘रिह्याब सेन्टर’मा बस्न थाले।
दुई–तीन महिना सुधार गृहमा बसेका उनले सुध्रिन्छु भन्ने साेच त लिएका थिए तर सकेनन्। ‘सुध्रिन्छु भनेर त सोचेकै थिएँ तर समाजले हेर्ने दृष्टिकोणले फेरि एडिक्ट भएँ’, उनले बताए।
घरमा दिनरातको झगडाबाट आजित भइसकेका परिवारले उनलाई सात पटकसम्म सुधार गृहमा राखिदिए। त्यहीपनि सुध्रिएनन् निफरमान।
रिह्याबमा बसुन्जेल सुध्रिने संकल्प लिएका उनी बाहिरिने बित्तिकै लागुऔषधको प्रयोग गरिदिइहाल्थे। जसको कारण थियो–परिवारको अविश्वास, समाजको नकारात्मक दृष्टिकोण अनि एडिग साथीभाइको संगत।
‘रिह्याब बस्दा मैले सधैं छोड्छु भनेरै सोचेको थिएँ तर त्यहाँबाट निस्किएपछि खाइदिइहाल्थें’, उनी सम्झन्छन्, ‘मैले आफूलाई भन्दा अरूलाई धेरै महत्व दिएको रहेछु।’
आफूले के चाहन्छु भन्दापनि समाजले के सोचिरहेको छ भन्ने डरकै कारण बारम्बार कुलतको दुनियाँमा पाइला टेकेको निफरमानकाे बुझाइ छ।
‘म सुध्रिँदा पनि समाजले मलाई कहिल्यै राम्रो सोचेन जस्तो लाग्थ्यो। त्यही रिसले खान मन लाग्थ्यो अनि खाइदिन्थें’, विगतलाई कोट्याउँदै उनले सुनाए।
सात पटकसम्म सुधार केन्द्र बसेर नसुध्रिएपछि निफरमानले आफ्नो नजिकको मान्छेलाई गुमाए। सदाका लागि।
‘ड्रग्सको कारण मैले पहिलाे श्रीमती र छाेरीलाई गुमाएँ। मेरो व्यवहारको कारण उनीहरूले मलाई छोडेर गइन् तर अहिले सम्झदा नरमाइलो लाग्छ’, उनी दुखेसो पोख्छन्।
आफूले सबैभन्दा धेरै प्रेम गरेको मान्छेले छोडेर गएपछि उनी झनै छँटाह भए। उनलाई संसार बिरानो लाग्न थाल्यो। बाँच्ने रहर पनि हराउँदै गए।
संसार त्याग्नैका लागि उनले झन–झन ओभर डोज लिन थाले। तर उनलाई कालले पनि लैजान सकेन। सायद, निफरमानको भाग्यमा अकाल मृत्यु लेखेकै थिएन।
छोडेर गएकी प्रेमिकाको यादमा तड्पिरहन्थे निफरमान। उनमा सुध्रिन्छु भन्ने साेच अलिकति पनि थिएन। ‘उनले छोडेर गएपछि खाएरै मर्छु भनेर हिँडेको मान्छे थिएँ’, तर भाग्यले बचायाे।
तड्पिएको त्यो रात...
वि.स २०७५ साल। कार्तिक–१९ गते। रातको समय थियो। निफरमान सुतिरहेका थिए। त्यहीबेला उनले छिमेकीको घरको छठबाट आवाज आइरहेको सुने।
त्यो आवाजले ब्यूझिएका उनले छठबाट कसैले आफूलाई हेरिरहेको जस्तो अनुभव गरे। उनलाई लागिरहेको थियो कि उसैको कुरा काटिरहेका छन्, ती मानिसहरू।
ओभर डोजको कारण यतिधेरै ‘बौलाह’ भइसकेका थिए कि उनी भ्रममा बाँचिरहेका थिए। उनको अगाडि भ्रमका बादलहरू मडारिरहेका थिए, जसलाई निफरमानले सत्य ठान्दैथिए।
‘पुलिसले घर घेरेको, श्रीमतीलाई पुलिसले लगेको र समाजले आफ्ना परिवारलाई धिक्कारिरहेको’ दृश्यले उनको दिमागसँग खेलिरहेको थियो।
‘मलाई थाहा थियो, त्यो सत्य थिएन तर मलाई डर लागिरहेको थियो। हुन त एडिक्टहरू ट्रिपमा हुँदा कसैसँग डराउँदैनन् तर मैले धेरै वर्षदेखि लागुऔषधको प्रयोग गरिरहेको थिएँ। त्यसैले मभित्र डर थियाे’, त्यो रात कटाउनै मुश्किल परेको थियो उनलाई।
ड्रग्सले दिएको भ्रमबाट उनी बच्न चाहन्थे। त्यसैले भोलिपल्ट बिहानै उनी घरबाट निस्किए। आफूसँग भएको ३० हजार रुपैयाँ बुबाकाे हातमा थमाएर।
‘कहाँ जान्छु के गर्छु भनेर केही थाह थिएन तर म रिह्याब सेन्टर बस्न चाहन्थें’, उनी भन्छन्, ‘सुध्रिन्छु भन्दापनि त्यो भ्रमबाट मलाई छुटकारा पाउनुथियो।’
उनी बौद्धकाे नयाँबस्तीबाट प्रहरी चौकी खोज्दै–खोज्दै भौतारिन थाले। जहाँ उनले चौकी भेट्थे, त्यहाँ उनले भनिहाल्थे, ‘सर, मलाई रिह्याब सेन्टर पठाइदिनू। होइन भने जेलमै थुनिदिनू!’
निफरमानको कुरा सुनेर प्रहरीले उनलाई ‘पागल’ सम्झिएर चौकीबाट धपाइदिए। आफूलाई सुधार केन्द्र पठाइदिनू भनेर उनले चौकीका प्रहरीहरूसँग अनुराधे गरे तर कसैले पत्याएनन्।
‘म हिडेका सडकमा जतिपनि चौकीहरू भेटिए सबैतिर सोध्न भ्याएँ तर कसैले विश्वास गरेनन्’, उनी सुनाउँछन्, ‘त्यसपछि मेरै सुरमा हिड्न थालें।’
दिमागले काम गर्न छोडिसकेको थियो। तर उसलाई सुधार गृह जानु नै थियो। त्यहीबेला उनको मनमा एउटा नाम आयो, ‘कन्ट्रोल एडिक्सन नेपाल’ (क्यान)। जहाँ उनी विगतका दिनहरूमा पनि बसिसकेका थिए।
गाेदावरीमा रहेकाे त्याे रिह्याब खाेज्दै उनी ट्याक्सी चढेरबाट टाैखेलसम्म पुगे। बिहानकाे १० बजे घरबाट निस्किएका निफरमान साँझकाे ४ बजे टाैउखेल पुगेर क्यानलाई खाेज्न थाले। तर कत्तै पनि उनले रिह्याब सेन्टर देखेनन्।
‘मेरो परिवारले सुरुमा मलाई क्यानमा राखिदिनू भएको थियो। त्यहाँको वातावारण पनि राम्रो थियो। त्यसैले म क्यान खोज्दै टौखेल पुगें तर टोलको पूरै चक्कर लगाउँदा पनि ठाउँ पत्ता लगाउनै सकिनँ’, रिह्याबको खोजीमा भौतारिएको दिनको सम्झदै उनले भने, ‘मलाई मात्र थाह छ, त्यो दिन मैले कसरी कटाएँ। म जस्तो रिह्याब खोज्दै हिँडेकाे त सायदै म एक्लाे एडिग होला!’
आफू बसेको रिह्याब सेन्टर खोज्न नसकेपछि उनले बहिनीलाई फोन गरे। बहिनीले क्यानलाई खबर गरिन्। त्यसपछि बाटाेमा वेवारिसे जसरी बसिरहेका निफरमानलाई क्यानका टोलीले उद्धार गरे।
‘क्यान’ बन्यो ‘टर्निङ पोइन्ट’
सुधार गृह पुगेका उनी दुई महिनासम्म राम्रोसँग निदाउन सकेनन्।
मध्यरातमा उठेर चिच्याउँदै रून्थे। त्यतिबेला उनलाई सम्हाल्न क्यानका अध्यक्ष मुन्ना लामा आइपुग्थे। एउटी आमाले बच्चालाई माया गरेर स्याहारेजस्तै उनलाई लामाले स्याहारे।
‘त्योबेला मुन्ना दाइ मेरो लागि आमाजस्तै बन्नुभएको थियो। उहाँ आफू अनिन्द्राे बसेर भएपनि मलाई सम्झाएर सुताउनुहुन्थ्यो’, उनी भन्छन्, ‘दाइले मेरो लागि धेरै गर्नुभयो।’
झण्डै दुई दशक लागुऔषधमा फसेका उनले सुध्रिन धेरै संघर्ष गरे। भलै, उनको लागि रिह्याब सेन्टर नौलो थिएन तर आठौं पटकको सुधार केन्द्रमा बस्नु निफरमानको लागि सहज थिएन।
‘सबैभन्दा मैले क्यानमा बस्दा संघर्ष गर्नु पर्याे। धेरै गाह्रो भएको थियो तर दुई महिनापछि रिकबरी हुँदै गएँ’, उनले भने, ‘क्यानमा बसेको २ महिनापछि मैले राम्रोसँग खान र बस्न सकें।’
सातौँ पटकसम्म पनि सुधार गृह बसेर रिकभरी नभएका उनले क्यानबाट सुध्रिएरै बाहिरिने लक्ष्य बोकेका थिए। जुन लक्ष्यलाई क्यानका उपाध्यक्ष क्षितिज श्रेष्ठले पूरा गर्न मदत गरे। भर्याङका खुड्किला जस्तै।
एकदिन क्यानभित्रै क्षितिजको पाचौं रिकभरि सेलिब्रेशन चल्दैथियो। त्यही उत्सवमा श्रेष्ठले आफूले कुलतको बाटो पछ्याउँदा भोगेको दु:ख अनि सुध्रिएपछि पाएको नयाँ जीवनबारे आफ्ना अनुभवहरू सुनाएका थिए।
क्षितिजले ती अनुभवहरू सुनाइरहँदा निफरमानले भने आफैंसँग प्रश्न गरिरहेका थिए, ‘दाइ त सुध्रिनुभयो भने म चाहिँ किन सक्दिनँ र?’
क्षितिजकाे भाेगाइ सुनेर सुध्रिने मानसिकता बनाइसकेका उनी १८ महिना क्यानभित्रै बसे। झण्डै २ वर्षको रिकवरिपछि ‘परिवारको जिम्मेवारी उठाउनुपर्छ’ भन्ने उद्देश्य बोकेर उनी क्यानबाट बाहिरिए। त्यहीपनि सल्लाहमै।
‘म एक्लो छोरो थिएँ। म आफैंले पनि परिवारको लागि केही गर्नुथियो। त्यसैले क्यानका दाइहरूसँग सल्लाह गरेर त्यहाँबाट निस्किएँ’, उनले भने, ‘अब मलाई मेरो लागि भन्दा पनि बाआमा, श्रीमती र छोराको लागि बाँच्नुथियो।’
फेरिएको जीवन
जीवनमा केही गर्छु भनेर क्यानबाट बाहिरिएका निफरमानले २ वर्षसम्म पनि केही गरेनन्। तर परिवार धान्नको लागि भने ‘पठाओ’ चलाउने गर्थे। बिहानको ५ बजेदेखि रातको ८ बजेसम्म उनी ‘ड्राइभिङ’ गर्नमा नै व्यस्त हुन्थे।
पठाओ चलाएरै दिन बित्दैथियो। तर एकदिन साथीले पठाओ चलाएर मात्र हुँदैन भन्दै सम्झाउन थाले। र, संस्थामा काम गर्न सुझाए।
उनलाई पनि ती साथीले भनेका कुरा राम्रो लाग्यो। साथीले सुझाएअनुसार उनले ‘भ्याकेन्सी’ खुल्ला गरिएको ‘साथी समूह’ संस्थामा आवेदन दिए।
भाग्यबस! उनको नाम निस्कियो। त्यसपछि उनले ‘डिआईसी’का इञ्जार्जको रुपमा काम गर्न थाले।
‘साथी समूह चाहिँ लागुऔषध विशेषगरी सिरिन्ज प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई लक्षित गरेर खुलेको संस्था हो। र, यसले एचआईभी सम्बन्धि पनि उपचार गर्छ’, उनले भने, ‘त्यही अन्तर्गत म चाहिँ डिआईसी अर्थात् सिरिन्ज यूर्जरहरूका लागि काम गर्छु।’
साथी समूहकाे कपन शाखाका उनी इञ्जार्ज हुन्। उनकाे नेतृत्वमा ६ जना युवा छन्, जसले ‘आईटी’ युर्जरहरूलाई सुरक्षित राख्नका लागि सिरिन्ज बाँड्ने काम गरिरहेका छन्।
निफरमानलगायत ती युवाहरूकाे उद्देश्य र काम भनेकै क्षति न्यूनीकरण अर्थात् लागुऔषध प्रयेगकर्ताहरूलाई ‘एचआईभी’ र हेपटाइटिस जस्ता रोग लाग्नबाट बचाउनु हो।
उनीकहाँ सिरिन्जका लागि आउने गरेका प्रयोगकर्ताहरूलाई सुरुमा त कुलतको बाटो त्याग्न सुझाउँछन् तर लागुऔषध प्रयोग नगरीकन बस्न नसक्नेहरूलाई उनी सुरक्षित भएर प्रयाेग गर्न लगाउँछन्।
‘हामीले लागुऔषध प्रयोगकर्ताहरूलाई रोगबाट जोगाउनका लागि सिरिन्ज दिने गरेका छौं। एउटै सिरिन्ज प्रयोग गर्दा एचआईभी जस्ता रोग लाग्ने भएकाले हामीले एकपटक मात्रै प्रयोग हुने सिरिन्ज दिइरहेका छौं’, आफूले प्रयोगकर्ताहरूलाई प्रोत्साहन नगरेको बताउँदै उनले भने, ‘डिआईसी प्रोग्रामकै कारण अहिले लागुऔषध प्रयोगकर्ताहरूमा एचआईभीलगायत अन्य रोगहरू सायदै देखिएका छन्।’
कोभिड–१९ को समयमा पनि गृह मन्त्रालयले डिआईसीका टोलीलाई ‘पास कार्ड’, दिएको सम्झदै उनले भने, ‘यदी हामीले लागुऔषध प्रयोगकर्ताहरूलाई प्रोत्साहन गरेको हुन्थ्यो भने किन मन्त्रालयले पास कार्ड दिन्थ्यो र?’
लागुऔषध प्रयोगकर्ताहरूलाई कुलतको बाटो छोड्न आग्रह गरेतापनि ड्रग्सको प्रयोग नै नगर भन्न सक्ने अधिकार आफूसँग नभएको उनी बताउँछन्। ‘हामीले उहाँहरूलाई त्यो भन्न मिल्दैन’, उनले सुनाए।
कुनैबेला लागुऔषध प्रयोग गरेर समाजको लागि आँखाका कंसिर बनेका निफरमान अहिले त्यही समाजमा प्रेरणाको स्रोत बनेका छन्।
‘म यहाँसम्म आइपुग्नुमा मेरो सबैभन्दा ठुलाे हात परिवारसहित क्यानका दाइहरूको सर्पोट छ’, खुसी हुँदै उनले भने, ‘अहिले र पहिले धेरै विभिन्नता छ। कुनै समय म समाजको लागि खराब व्यक्ति थिए तर आज मेरै प्रंशसा गरिन्छ।’
लागुऔषध दुर्व्यसनीहरूलाई एचआईभीलगायत हेपटाइटिसबाट बचाउनका लागि आफूले चालिरहेको कदमप्रति अहिले खुसी र सन्तृष्ट छन् निफरमान।
सुध्रिन खोज्छन् तर सक्दैनन्
क्यानबाट निस्किएपछि उनलाई लागुऔषधमा चासो थिएन।
तर दुई वर्षपछि उनलाई एक्कासी ‘सिकनेस’ले सताउन थाल्यो। त्यहीपनि उनको जन्मदिनमा।
निफरमानसहित श्रीमती, बहिनी र क्षितिज ठमेलको एक क्लबमा गएका थिए। क्लबमा उनले खाएर रमाइलो गरिरहेको मानिसहरू देखे।
त्यो देखेर उनमा सिकनेस बढ्यो। मनमनै उनले सोच्न थाले, ‘उनीहरू खाएर रमाइलो गरिरहेको छ, म पनि अब त खाइदिन्छु।’
सुधार गृहबाट निस्किएको दूई वर्षपछि एक्कासी नशाकाे यादमा तड्पिएका निफरमानले क्षितिजलाई क्लब बाहिर ल्याएर आफ्नो भावनाहरू व्यक्त गरे। उनले भने, ‘दाइ, मलाई खान मन लाग्यो। कि मलाई क्लबबाट लैजानुस्। होइन भने खान दिनुस्।’
निफरमानको विवशता देखेका क्षितिजले उनलाई सम्झाए। र, केही समयपछि क्लबभित्र लगे। अच्चम! त्यतिबेला उनको सिकनेस नै हराएर गयो।
‘दाइसँग कुरा गरेर भित्र पस्दा मेरो खाने तलतल मेटिसकेको थियो’, त्यसपछि उनलाई आजको दिनसम्म नशाको यादले तड्पाएाकाे छैन।
१८ महिना रिह्याब सेन्टर बसेर उनी त रिकवर भए। तर उनीजस्तै धेरै युवाहरू छन्, जो सुध्रिन चाहन्छन् तर सकेका छन्। जसको कारण भनेको छ, परिवारकाे आर्थिकस्थिति।
‘अस्ति मकहाँ आएका एक भाइले सुध्रिन चाहेको बताएका थिए तर पैसाको कमीले सुध्रिन नसकेको बताए’, उनी भन्छन्, ‘पैसामा त जुनसुकै सुधार गृहमा बस्न सकिन्छ तर कुनै संस्थाले सित्तैमा राखेर दिखाओस् न।’
पैसाको कारण रिकवरि हुन नसकेका युवाहरूलाई लक्षित गरेर सरकारले निःशुल्क सुधार गृह सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
‘कुलतमा फसेकाहरूलाई सुध्रिन त सबैले सुझाव दिन्छन् तर कसरी सुध्रिने?’, उनी प्रश्न गर्छन्, ‘युजर्सहरूले कसैसँग मागेर या लुटेर त एक डोज पुर्याउन सक्छन् होला तर बिना पैसा रिह्याब सेन्टर बस्न सक्दैनन्।’
देशभर जति पनि लागुऔषध प्रयोगकर्ता युवाहरू छन्, उनीहरूलाई सुधार्नका लागि सहज हुने सुधार केन्द्र हुनुपर्ने बताउँदै उनी भन्छन्, ‘कुलतमा फसेका युवाहरूले सुध्रिने मौका पाउनुपर्छ।’
याे पनि...