नेपाली कनेक्सन

नेपाली मजदूरको रगतमा लतपतिएको 'कतार–विश्वकप'

जीवन डाँगी

काठमाडौं
© John Holmes, for Human Rights Watch

कतारको राजधानी दोहामा विश्वकप फुटबल–२०२२ उद्घाटन हुँदैछ। ‘विश्वव्यापी–उत्सव’को उत्साह विश्वभर छाएको छ। लाखौँ फुटबल प्रेमीहरू मध्यपूर्वको मरुभूमितिर उडिरहेका छन्। अनि कतिपय चाहिँ स्वदेशमै बसेर विश्वकपको मजा लिने तयारीमा छन्।

विश्वकपको फिभर बढिरहँदा ‘खाडी संसार’ कतारको बेग्लै रौनक छ। समुन्द्र छेउमा व्यापक चहल–पहल छ। विश्वकप आयोजना गरेर कतारले नयाँ इतिहास रच्दैछ। विश्वकपका दावेदार राष्ट्र उपाधिको दौडमा छन्।

कतारले विश्वकप–२२ का लागि दोहामा अत्याधुनिक संरचना ठड्याएको छ। मानौँ, ऊ विश्वलाई आफ्नो हैसियत प्रदर्शन गर्ने पर्खाइमा छ। पर्खालहरू रंगिएका छन्। दर्जनाैँ फुटबल ‘स्टार’का प्रतिमूर्तिहरू सजिएका छन्। उजाड खाडी रातारात हरियाली सहरको रुपमा निर्माण गरिँदैछ।

नयाँ रंगशालादेखि रेलमार्गसम्म। राजमार्गदेखि विमानस्थलसम्म। गगनचुम्बी भवनको छेउछाउमा कैयन होटलदेखि स्वास्थ्य केन्द्र। दोहाको सुरक्षार्थ बाक्लो सुरक्षा संयन्त्र परिचालन गरिएको छ। मरुभूमि प्रायद्वीपमा ‘विश्व–जगत’को नजर खिच्न दिनरात नभनी दौडिरहेको छ– कतार

त्यो बेला धन्न बाँचेँ, अब कतार जान नपरोस्

दोहाको चम्किलो रंगशालाभित्र कैयौँ कहालीलाग्दा कथा छन्। थोरै दर्शकले ती मजदूरहरूलाई सम्झिने छन्। ज–जसले क्रूर यातना भोगे। गम्भीर घाउचोट बोकेर नेपाल फर्के। कसैले अकालमै ज्यान गुमाए। त्यो ‘आप्रवासी–रगत’ले रंगिएका आठवटा रंगशालाभित्र एउटा ठुलो रोदन गुञ्जिएको छ।

खाडीको तातो घाममा ‘रगत, पसिना र आँसु’ बगाएका हजाराैँ नेपालीहरू आज पनि रोइरहेका छन्। आप्रवासी कामदारहरू ‘कतारी अत्याचार’ बाट पीडित छन्। लाखाैँ नेपाली कामदारका सपना चकनाचुर भएका छन्। ‘कतार–उत्सव’अघि आप्रवासी कामदारहरू त्यहाँबाट खेदिएका छन्।

सुनौलो सपनासँगै दोहा पुगेका नेपालीहरू सबैभन्दा धेरै दुःखी छन्। मनभित्र भारी चोट बोकेर जन्मभूमि फर्किएका छन्। एघार महिना कतारको तातो घाम खपेर सन् २०१९ को अन्तिमतिर नेपाल आएका ३४ वर्षीय दीपकबहादुर कतार बसाइ सम्झियो कि डरले काँप्छन्। भव्य त्यो रंगशालाको विगत उनी सम्झिँदा मन अमिलाे पार्छन्।

‘कतारले फुटबलबाट नयाँ इतिहास रच्ने नाउमा मजदूरमाथि अत्याचार गरेको छ’, यस्तै–यस्तै तीता यादहरू लिएर थुप्रै नेपाली श्रमिक अहिले घर फर्किएका छन्।

कतारको कथा बोल्ने कैयौँ दीपकबहादुर छन्, जो मृत्युको मुखबाट जोगिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका कामदारहरू कतारी हर्कतविरूद्ध खुलेर विरोध गर्न सक्दैनन्। बोले पनि परिचय लुकाउन खोज्छन्। कारण– बेरोगजारी अर्थात् फेरि खाडी जानुपर्ने बाध्यता।

‘खाडीको चर्को घाममा काम गर्दागर्दै धेरै साथीहरूले मृत्युवरण गरेको मेरै आँखाले देखेको छु। नेपाली मात्रै होइन, भारतीय र बंगाली पनि धुरुधुरु रुन्थे। तर कतारमा बस्नैपर्ने बाध्यता छ। त्यहाँ राम्रो खाना थिएन। मान्छेमाथि मान्छे खप्पिएर सुत्नुपर्छ। गल्तीले त्यहाँ पुगिएछ,’ अर्कोपटक कतार नजाने कसम खाएर घर फर्किएका ४१ वर्षीय देवीलाल खनाल बताउँछन्।

मनोहर यादव काम गर्दागर्दै रंगशाला छेउमा बिरामी भएपछि कतार पुगेको छोटो समयमै नेपाल फर्किने मध्ये एक हुन्। उनी आफूलाई भगवानले बचाएको विश्वास गर्छन्। ‘मैले पनि १७ महिना फुटबल मैदानमा काम गरेँ। त्योबेला असाध्यै गर्मी थियो। दिउँसोतिर लडेछु। भारतीय साथीले उठाएर चाँडै अस्पताल लगेछ,’ यादवले भने, ‘मलाई अहिले राम्रो छ। कहिलेकाहीँ टाउको दुख्छ। अरु सबै ठिक छ। अब फेरि कतार जान नपरोस्। त्योबेला धन्न बाँचेँ।’

मृत्युको सस्तो मूल्य

सन् २०१० मा फिफामार्फत् खाडी राष्ट्र कतारले विश्वकप–२२ आयोजनको पूर्णअधिकार पाएपछि आप्रवासी कामदार कतार पुगे। पैसा कमाएर परिवार पाल्ने सपना बोकेर दोहा भित्रेका हजारौँ कामदारले अकालमै ज्यान गुमाएका छन्। मरुभूमिको उखरमाउलो गर्मीले गरिबीबाट थेचिएका ती मजदूरहरूले ‘रगत, पसिना र आँसु’ बगाएका छन्।

विभिन्न समाचारमा उल्लेख भएअनुसार कतारमा साढे ६ हजारभन्दा बढी आप्रवासी कामदारले मृत्युको मूल्य चुकाएका छन्। तीमध्ये अधिकांश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफ्रिकी मुलुका नागरिक छन्।

कतारमा आफूहरूले कठोर समय गुजारेको नेपाल फर्केका कामदारहरू दुखेसो पोख्छन्। घण्टौँसम्म तातो घाममा खटिँदा पनि कामदारहरूले आराम गर्ने फुर्सद नै पाएनन्। काम गर्दागर्दै केही नेपाली त्यहीँ मरे। कतिले चर्को घाममा काम गर्दा बेहोस भएर लडे। विश्वकप आयोजना गर्दा कतारको अमानवीय हर्कत विश्वसामु उदाङ्गाे भएको छ। तर, सब मौन छन् कतारसामु।

नेपाली सञ्चारमाध्यममा उल्लेख भएअनुसार रंगशाला निर्माणका क्रममा ३७ जना नेपाली मजदूरको मृत्यु भएको कतारी दाबी छ। कतार हालसम्म आफ्नो कुकर्मबाट भाग्दै आएको छ। एघार सयभन्दा बढी नेपालीहरूले पूर्वाधारको काम गर्दा ज्यान गुमाएका छन्। तर मृत्युवरण गरेका कामदारलाई ‘अज्ञात र हृदयघात’ वा ‘प्राकृतिक मृत्यु’ भनेर कतार पन्छिरहेको छ। उनीहरूको वास्तविक मृत्युको कारण पनि खुलाइएको छैन। पोस्टमार्टम रिपोर्ट पनि कहिल्यै दिइएन।

कमाउन कतार गएको परिवार धान्ने जिम्मेवार सदस्य गुमेपछि परिवार झन् गहिरो गरिबीमा धकेलियो। कतारमा मृत्यु भएका श्रीमानको सम्झना गर्दा मधुरो कोठाभित्र उभिइरहेकी दाङकी ३३ वर्षीया एक महिलाको ठुलो रोदन गुञ्जिन्छ। विगत पाँच वर्षदेखि सताइरहेका प्रश्नहरूको जवाफ खोज्दै श्रीमानको तस्बिर पल्टाउँछिन्। तर उल्टै तनाव झेल्न बाध्य हुन्छिन्, उनी।

‘आजभोलि हातमुख जोड्नै धौ–धौ। श्रीमानको कतारमै मृत्यु भयो। उहाँ काम गर्दागर्दै मर्नुभएको हो रे। अहिलेसम्म एक पैसो पाएका छैनौँ। दुईवटा छोरा छन्। साहुले तनाव दिइरहेको छ। हाम्रो अवस्था यस्ताे छ,’ कतारमा श्रीमान गुमाएपछि बिछिप्त बनेकी ती महिला ६६ वर्षीया सासु–आमाको छेउमा आफ्नो पीडा सुनाउँछिन्।

कामदारहरू रातदिन फुटबल मैदान बनाउने काम गर्थे। अग्ला–अग्ला भवन बनाउँथे। उनीहरूले काममा खटिएकै बेला ज्यान गुमाएका हुन्। तातो घाममा नेपालीहरूले रातो रगत बगाएका छन्।

दलालबाट ठगिँदै, जोगिँदै मरुभूमिसम्म पुगेका हजारौँ नेपालीहरू गम्भीर चोटपटक बोकेर घर फर्केका छन्। उनीहरू छट्पट्टीमा बाँचिरहेका छन्। उनीहरूका लागि न राज्य छ। न फिफा। न कतार। तर उनीहरू बेचैनीमा छन्। प्रियजनको घाउखत देखेर आफन्तका प्रश्नहरू अनुत्तरित छन्।

‘ज्यानमारा’ रंगशालाहरू

कतारले विश्वकप फुटबलको पूर्वाधारको विकासका लागि २ सय २९ बिलियन अमेरिकी डलर खर्चेकाे छ। त्यहाँ भिन्नभिन्नै विशेषताका आठवटा सुन्दर रंगशाला बनाइएको छ। रंगशाललाई मेट्रो प्रणालीसँग पनि जोडिएको छ।

नेपाली रगतले लतपतिएका लुसेल, अल जानोव, अल बेयट रंगशाला, अहमद विन अली एजुकेसन सिटी, अल थुमाना रंगशाला, स्टेडियम–९७४ र खालिफाजस्ता बहुचर्चित रंगशालामा विश्वकप फुटबल–२२ आयोजना हुनेछ। अब ती आधुनिक रंगशालामाथि लाखौँ दर्शक र ‘स्टार’ खेलाडीहरू महिना दिनसम्मै रम्ने छन्। ‘ज्यानमारा’ रंगशालामा पालैपालो दर्शक–खेलाडीले भरिने छन्।

चर्को मूल्य तिरेर कतार गएका नेपाली कामदारहरूले रंगशालाकाे काम गर्दा आफ्नो अमूल्य जीवन गुमाउन बाध्य भए। २४ घण्टासम्म काममै झुन्डिँदा उनीहरूले उखरमाउलो गर्मीबाट ज्यान फाले। विश्वकपकाे काम गर्दा आराम पनि पाएनन्। आवास र खाना राम्रो थिएन। पानीसमेत पिउन पाएनन्। काममै खटिए, उपचार पाएनन्। काममै मारिए।

उनीहरू दोहा उड्नुअघिकाे भविष्य चकनाचुर भएको छ। गम्भीर चोट बाेकेर घर फर्किँदा मानसिक दबाब थपिएकाे छ। परिवार खुसी राख्ने सपना टुटेको छ। कतारी कानुनले अवरोध गर्दा आप्रवासी कामदारहरू संगठित हुन सकेनन्। कुरा उठायो कि हिरासतमा लगेर याताना दिएका थुप्रै घटना छन्।

अनेकौँ प्रलोभनमा परेर कतार पुग्नेहरू अधिकांश ग्रामीण भेगका हुन्। जहाँ रोजगारीका अवसरहरू सीमित छन्। रोजगारदाता कम्पनीले तलब नदिएपछि कामदाहररू विरोधमा उत्रिन्थे। कतारले दर्जनौँ कामदारहरूलाई त्रर्साउँदै देश निकाला गरेको छ। हिरासतसम्मै पुर्‍याएका घटनाहरू छन्।

अन्ततः विश्वभरिका मानिसहरू त्यही ज्यानमारा रंगाशालमा रमाउनका लागि तम्तयार भएर खाडीको उडान भर्दैछन्। तर नेपाली कामदारहरू सग्लो जीवन ‘कतारी नयाँ इतिहास’लाई सुम्पिएर घर फर्किरहेका छन्।

प्रकाशित मिति: : 2022-11-11 22:10:00

प्रतिकृया दिनुहोस्