मुठ्ठीदानमा ‘आमाको माया’ जहाँ कैयौं सपनाहरू हुर्किरहेछन्

धनगढी उपनगरपालिकाको कार्यालयबाट दक्षिण पश्चिमतिर झण्डै तीन सय मिटरको दुरी पार गरेपछि देखिन्छन् दुईटा घर अनि एउटा टहरा। 

जहाँ टाढैबाट देखिन्छ एउटा साइनबोर्ड। जसमा लेखिएको छ, ‘जनजाती कल्याण आश्रम, आमाको माया छात्रावास…।’

सेवामुखी भावनाले खोलिएको उक्त छात्राबासलाई अझै ब्यवस्थित र प्रभावकारी  ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयको छलफलमा जुटिरहेकै हुन्छन् संचालकहरू। बडो आत्मीय, भावपूर्ण, स्नेहिल र ममतामयी शब्द हो ‘आमा’। ‘आमा’ शब्दको आभा नै छुट्टै छ। त्यही शब्दबाट राखिएको छ छात्रावासको नाम आमाको माया।  

सोही छात्रावासमा बस्ने कक्षा ४ मा अध्ययनरत मुगुका प्रकाश शाही भविष्यमा डाक्टर बन्ने लक्ष लिएर पढिरहेका छन्। सुरुमा आदिवासी जनजाति र बिपन्न वर्गका पाँच जना बच्चालाई भर्ना गरी सुरुवात गरिएको छात्रावासमा हाल १ जना दलित, ५ जना जनजाति र अरु बाहुन क्षेत्री लगायतका समुदायका गरी २७ जना छन्। तिनीहरूमध्ये बागमती प्रदेशका २, कर्णाली प्रदेशका ९ र बाकी सुदूरपश्चिम प्रदेशका छन्।  यहाँ आमा गुमाएका, बुवा गुमाएका, आमा र बुवा दुबै गुमाएका वा विभिन्न कारणले आमाको माया पाउन नसकेका देखि विपन्न वर्गका, दुर्गम भूगोलका आर्थिक अभावका कारण पढ्न नसकेका बच्चाहरूलाई आश्रय दिई संस्कारसहितको शिक्षा दिने गरिन्छ। 

छात्रावास प्रमुख सुवास तामाङ स्वयम पनि विद्यार्थी नै हुन्। धादिङ घर भएका तामाङ आफू पनि स्नातक तहमा अध्ययनरत छन्। काठमाडौंबाट बाह्र कक्षा पास गरेका उनी हाल धनगढी कैलालीमा स्वयमसेवकको रुपमा कुशल छात्रावास प्रमुखको जिम्मेवरी निर्वाह गरिरहेका छन्। नेपालभरिमा उनी जस्तै अन्य छात्रावास प्रमुख र उपप्रमुखहरू स्वयम् सेवककै रुपमा आफ्नो भूमिका निर्वाह  गरिरहेका छन्।
पछिल्लो समयमा सहरमा विभिन्न नामका छात्राबासहरू देखिन्छन्। नाफामुखी हिसावले खोलिएका ब्यक्तिद्वारा संचालित हुन् वा बाहिरबाट सहयोग लिएर कुनै संस्थाद्वारा सञ्चालित छात्रावास नै किन नहुन् त्यस्ता छात्राबास अन्तर्गत पर्दैन आमाको माया छात्राबास। जसको आफ्नो छुट्टै पहिचान छ र  छुट्टै अद्देश्य पनि। तर, यो सञ्चालन गर्न निकै कठिन पनि छ। तथापि स्थापना कालदेखि अहिलेसम्म राम्रै ढंगले चलिरहेको छ। त्यसैले पनि प्रसंसाका पात्र बनेका छन् यसका संचालकहरू। छात्रावासका संस्थापक सदस्य योगेन्द्र चन्द बताउँछन्,  ‘एक विशुद्ध गैरसरकारी संस्था भए तापनि यसले कुनै राष्ट्रिय वा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले उपलब्ध गराएको सहयोग स्विकार गर्दैन। समाजमा रहेका उदार हृदय भएका मानिसहरू र केही दाताहरूको सहयोगबाट नै छात्रावास सञ्चालन भैरहेको छ।’ 

यसरी बन्यो छात्रावास  

समाजमा धार्मिक, सामाजिक, साँस्कृतिक गतिविधिहरू अघि बढाउने हेतुले २०६१ सालमा जनजाति कल्याण आश्रम विधिवत रुपमा दर्ता हुन गयो। जसको एउटा उद्देश्य शिक्षा क्षेत्रमा काम गर्ने थियो। दूरदराजका बस्तीमा होस् वा सुगममा नै किन नहोस् कमजोर आर्थिक स्थिति भएका देखि अनाथ, असहाय, बिपन्न वर्ग  र आदिबासी जनजाति क्षेत्रका बच्चाहरूलाई संस्कारसहितको शिक्षा दिने उद्देश्यले जनजाति कल्याण आश्रम खुल्न गयो। सोही संस्था अन्तर्गत २०६२ सालमा आमाको माया छात्रावास दर्ता गरियो। यसरी दर्ता गर्ने क्रममा एउटा जिल्लामा मात्रै छात्रावास दर्ता गरिएन। 

जनजाति कल्याण आश्रमका संगठन सचिव भट्ट मिलनका अनुसार सुरुमा २०६२ सालमा काठमाडौं, बिरगञ्ज, बिराटनगर, जनकपुर र धनगढीमा गरी पाँच ठाउँमा छात्रावास संचालन हुन गए। जसको केन्द्रीय कार्यालय बिरगञ्ज र प्रशासनिक कार्यालय काठमाडौंमा राखियो। बिस्तारै दोलखा, धादिङ, नुवाकोट, चितवन, नेपालगञ्ज गरी देशभर ११ वटा छात्रावास संचालन भैरहेका छन्। जसमध्ये चितवनको छात्रावास छात्राहरूका लागि संचालनमा ल्याइएको छ। 

जनजाति कल्याण आश्रमका स्थापक महासचिव प्रेम थुलुङ बताउँछन्,‘जसको जुन धर्म, संस्कृति, परम्परा छ त्यसलाई भुल्नु हुँदैन। आयातित धर्म, संस्कार, संस्कृति अँगाल्नु हुँदैन भन्ने मान्यताका साथ आमाको माया छात्राबासको स्थापना भएको हो।’ 

थुलुङका अनुसार नेपालमा जनजातीको संख्या १ करोड २० लाख छ। जसमा सबैभन्दा बढी जनसंख्या भएको जाती हो मगर। त्यसपछि क्रमैसँग आउँछन् चौधरी र तामाङ। चेपाङको जनसंख्या हेर्ने हो भने ८४ हजार छ। तर उक्त समुदायमा हालका दिनसम्म पि एचडी गरेको कोही छैन। न त कोही इन्जिनियर बनेको छ न डाक्टर। जनजाति पनि यो देशका नागरिक हुन। उनलाई पनि अगाडी बढाउनु पर्छ। अगाडी बढ्ने क्रममा तिनले आफ्नो पहिचान, संस्कृति, संस्कार र परम्परालाई छोड्नु हुँदैन। हरेक मानिस आफ्नो सनातन संस्कृतिका साथ नै विकसित हुने हो र हुनु पर्छ। ब्यक्तिगत, सामाजिक, आर्थिक हिसाबले जे जस्तो खाले विकास हुन्छ त्यो माटोको संस्कारसँग जोडिएको हुनु पर्छ। त्यसलाई भुल्नु हुँदैन। 

यसरी चलिरहेछ यो छात्रावास 

नेपालभरिका सबै छात्रावासहरू सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका रहेको छ समाजका सहयोगी हातहरूको। त्यस्तै व्यक्तिगत हिसावले सहयोग गर्ने दानबीरहरू पनि छन्। धनगढीमा यस्ता थुप्रै दानबीरहरू छन्। सामाजिक अगुवाहरू छन् परोपकारी मन र उदार हृदय भएका मनहरूको जमघट छ। तिनै ब्यक्ति र समाजको सहयोगमा चलिरहेछ छात्रावास। दसैंमा घर जान नसक्ने बच्चाहरू तिनै दानबीरकोमा गएर टीका थाप्छन्। त्यस्तै अन्य प्रमुख चाडपर्वमा पनि त्यतै माया, ममता र स्नेह पाई रमाइरहेका हुन्छन्। 

धनगढीको छात्रावासको सुरुवातिका दिन सम्झिदै संस्थापक सदस्य योगेन्द्र चन्द बताउँछन्, ‘सुरुमा जनजाति र बिपन्न वर्गका पाँच जना बच्चाहरूलाई लिएर लक्ष्मी नारायण मन्दिरको छेउमा रहेको एउटा सानो कच्चि घरबाट छात्राबासको सुरुवात गरिएको हो। त्यतिबेला म जिल्ला विकासमा कार्यरत थिएँ। यहाँ नजिकै दलबहादुर सुनार बस्थे। ती बृद्ध सुनार सामाजिक भावना भएका थिए। मलाई तिनले खोला किनारकमा रहेको ऐलानी जमिन हेर्न मानिस आइरहेका र चलखेल भैरहेको कुरा सुनाइरहे। जुन हाल छात्रावास रहेको जमिन हो। ततत्पश्चात हामीले व्यवस्थापन समितिबाट १०-१५ हजार जम्मा गरी उक्त जमिनलाई घेरबार गरी साइनबोर्ड लगायौं।  नगरपालिकामा सर्वदलीय संयन्त्र भन्ने हुन्थ्यो। जहाँ जग्गा उपलब्ध गराइदिन अनुरोध गर्‍यौं। उक्त संयन्त्रले निर्णय गरी भोग चलनका लागि अनुमति दियो। जिबिसले भवन निर्माणार्थ बजेट छुट्याई सहयोग गर्‍यौं।’ 

यसरी बिस्तार बिस्तारै गति लिदै गयो छात्राबास संचालनको कार्यले। चन्दका अनुसार धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमाल छात्रावासको स्थापनाकालदेखिकै दाता हुन्। यो वर्ष भौतिक पूर्वाधारका लागि नगरपालिकाले ३० लाख रकम छ्ट्टयाएको छ।  

छात्रावास संचालक समितिकी अध्यक्ष शारदा शाह बताउँछिन्, ‘छात्रावासमा बस्ने बच्चाहरू निजी र सरकारी दुबै प्रकारका विद्यालयमा अध्ययन गरिरहेका छन्। कसैको पढाइखर्च सम्पूर्ण रुपले तिर्ने दाता भेटिएका छन् भने कसैलाई केही विद्यालयहरूले पनि सहयोग गरिरहेका छन्। मासिक रुपमा पाँच सय हजारका दरले सहयोग गर्ने दाताहरू पनि हुनुहुन्छ। खाना र नास्ताका लागि अन्न सङ्कलन गर्ने हेतुले विगतदेखि नै टोल बस्तीका घरघरमा गई मुठीदान थैली दिने गरिएको छ। उक्त मुठीदान थैली अर्थात झोलामा उहाँहरूले आपूmले खाना पकाउने क्रममा साँझ बिहान एक एक मुठी अन्न र दैनिक एक रुपैया अंशदान भनी राख्ने गर्नु हुन्छ। यसरी जम्मा भएको अन्न र अंशदान बापतको रकम हरेक महिनाको अन्तिम दिन कसैले आफैं छात्रावासमा पुर्‍याइदिनु हुन्छ भने कतै संचालक समितिका सदस्यहरू र छात्रावास प्रमुख उपप्रमुख स्वयम् गई ल्याउने गरिन्छ।’

त्यस्तै एभरेष्ट बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरूको छाता संगठनले २ जना विद्यार्थी (हुम्लाका खेमराज जैशी र सञ्जिव जैशी) को सम्पूर्ण खर्च ब्यहोरिरहेको छ। जसका वर्तमान अध्यक्ष हुन् खेमराज जोशी। त्यस्तै बेलाबखत आफ्नो जन्मदिन र पितृकार्य जस्ताअवसर पारेर छात्रावास संञ्चालनार्थ आवश्यक सामग्री दिनेहरू पनि आएकै हुन्छन्। 

धनगढीस्थित छात्रावासको संस्थापक अध्यक्ष थिए परशुराम चौधरी। जो त्यतिबेला त्रिनगर माबिमा अध्यापनरत थिए। त्यसपछि देब कुमार चौधरी, हिक्मतसिंह थापा, प्रचण्ड बम हुँदै वर्तमान अध्यक्षमा छन् शारदा शाह। 

विद्याार्थीहरूको कार्यतालिका:
छात्रावास प्रमुख र उपप्रमुख बसेर कुन समयमा के पकाउने भनी सेड्युल तयार गर्छन्। सोही अनुसार विद्यार्थीको समूहले खाना नास्ता तयार गर्नु पर्ने हुन्छ। तीन चार जनाको समूह बनाएर कार्य बिभाजन गरिएको हुन्छ। सोही अनुसार खाना बनाउनेदेखि सरसफाइसम्मका क्रियाकलापहरू हुँदै आइरहेका छन्। 

छात्रावास प्रमुख सुवास तामाङका अनुसार पढाइसँगै अतिरिक्त क्रियाकलाहरू पनि हुने गरेका छन्। बिहान सबैजना उठिसक्छन्। हातमुख घोएर प्राथना कक्षमा सबै जनाले उपस्थित भैसक्नुपर्छ। जहाँ बिहानको प्राथनाका साथै योगा गराइन्छ। त्यसपछि चिया नास्ता गरेर सबै जना आफ्नो पढाइमा व्यस्त हुन्छन्। बिहान नौ बजे खाना तयार हुन्छ। खाना खाइसकेपछि विद्यालय जाने तयारी गर्न थाल्छन्। 

विद्यालयबाट फर्किएपछि खाजा नास्ता तयार गर्नुपर्ने हुन्छ। नेतृत्व विकासका निम्ति साँझ एक घन्टा खेलकुद, गीत, चुट्किला, दन्त्यकथा जस्ता क्रियाकलापहरूमा सहभागी गराइन्छ। छात्रावास उपप्रमुख रोमन चौधरीका अनुसार चार जनाका बीचमा उभिएर बोल्न सकुन भन्ने उद्देश्यले यस्ता क्रियाकलापहरू गराउने गरिएको हो। बेलुकी साढे ६ बजे आरती हुन्छ। तत्पश्चात भोजनको समय सुरु हुन्छ। भोजन ग्रहण गर्नु अघि मन्त्र उच्चारण गर्न लगाइन्छ। खाना खाएपछि दस बजेसम्म सबै जना पढ्न थाल्दछन्। राती दस बजेको समय सुत्ने समय हो। ओछ्यानमा जानु अघि सबैले शान्ति मन्त्र पाठ गर्नु पर्ने हुन्छ। यसरी आमाको माया छात्रावासमा विद्यार्थीहरूलाई शिक्षा र संस्कार सँगसँगै दिने गरिएको छ। कमजोर विद्यार्थीहरूका लागि समय मिलाएर निशुल्क रुपमा ट्युसन पढाउन बिभिन्न विषयका शिक्षक पनि आउने गर्दछन्। 

मार्गदर्शक तथा प्रचारकहरू 
छात्राबासको अनुगमनका साथै मार्गदर्शन गर्नका लागि नेपालभरिका चौध वटै छात्राबासमा बेलाबखत पुगिरहन्छन् मार्गदर्शक अर्थात् प्रचारकहरू। ती मार्गदर्शक सबै अविवाहित छन्। तिनको सोच नै आजीवन समाज सेवामा समर्पित हुन लागिपरे जस्तो देखिन्छ। यसरी सेवा गर्ने सोचले आफ्नो मार्गमा तल्लीन देखिन्छन् सुदूरपश्चिमबाट संस्थाका पूर्णकालीन प्रचारक भट्ट मिलन। जो जनजाति कल्याण आश्रमका संगठन सचिव पनि हुन्। 

जनजाति कल्याण आश्रम देखि छात्रावाससम्म सबै जना सेवामुखी भावले नै काम गरिरहेका देखिन्छन्। अधिराज्यभर छात्रावास प्रमुख उपप्रमुख लगायत ३० जना स्वयमसेवक कार्यरत छन्। ती सबै उदार हृदय भएका मनकारी मनुवा हुन्। जो उपयोगी समाजका लागि अर्थपूर्ण कार्य गरिरहेका छन्। 

संस्थाले बच्चाहरूलाई जिल्ला जिल्लामा सरुवा गर्ने नियम पनि बनाएको छ। विगतमा धनगढीबाट सरुवा भएर काठमाडौं पुगेका विरोचन चौधरीले बाह्र कक्षामा राम्रो नतिजा ल्याएको कुरा बताउँछन् संस्थापक सदस्य योगेन्द्र चन्द। जनकपुर सिप्ट गरिएका लक्ष्मण चौधरीले पनि पढाइमा राम्रो गरिरहेको छन्। जो हाल स्नातक तहमा अध्ययनरत छन्। चन्दका अनुसार आमाको माया छात्रावासमा बसी अध्ययन गरेका हरिराम थापा नेपाल इन्डष्ट्रियल बैंक चितवन शाखामा म्यानेजर छन् भने अरविन्द चौधरी लक्ष्मी माबि उदाशीपुरमा कक्षा एघार बाह्रमा अध्यापन गरिरहेका छन्। यी त उदाहरण मात्रै हुन्। यस्ता थुप्रै छन् प्रगति पथमा लम्केका पाइलाहरू जो संस्कारी मन लिएर स्वाभिमानीपूर्वक सहज ढंगले जिन्दगी चलाइरहेका छन्। 

यसरी केन्द्रीय अध्यक्ष सुरेश रुङ्टाको नेतृत्वमा सञ्चालन भैरहेको जनजाति कल्याण आश्रम अन्तर्गत रहेको आमाको माया छात्रावासको छुट्टै गरिमा छ। छात्रावास सञ्चानलन भैरहेका हरेक जिल्लामा जिल्ला समिति र छात्रावास समिति गरी छुट्टा छुट्टै छन्। तर, कैलालीको हकमा हालसम्म जिल्ला समिति गठन हुन सकेको देखिदैन। विगतमा पनि समाजले रेखदेख गर्ने गरी अनाथालय, देवालय, आश्रम, पाटीपौवा संचालनमा ल्याइएका हुन्थे। विगतमा पुर्वजले गर्ने गरेका तिनै कार्यको निरन्तरताका रुपमा लिन सकिन्छ आमाको माया छात्रात्रावासलाई पनि। जो विशुद्ध रुपले सामाजिक भावनाले ओतप्रोत परोपकारी मन भएकाहरूको हातेमालो हो भन्दा अत्युक्ति नहोला। प्रचारक कृष्ण आचार्यका अनुसार आमाको माया छात्रावास हाम्रो देश, हाम्रा पूर्खा र संस्कृतिका बारेमा चिन्तन गर्दै सर्वे भवन्तु सुखिन, वशुदैव कुटुम्बकम् र बाँचौं र बाँच्न दिऊँ भन्ने मान्यतालाई आत्मसाथ गरी सञ्चालनमा ल्याइएको संस्था हो।

प्रकाशित मिति: : 2024-11-26 14:26:00

प्रतिकृया दिनुहोस्