बुधबार, १६ जुलाई २०२५

सामाजिक सञ्जालमा ओलीलाई भन्दा प्रचण्डलाई पछ्याउने धेरै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2024-10-04 20:00:00
Break n Links
• • •

आजभन्दा ठिक ३४ दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ६ लाख ६४ हजार मानिसले फलो (पछ्याएका) गरेका थिए। त्यति नै बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५ लाख ७८ हजार मानिसले फलो गरेका थिए। त्योबेला प्रचण्डलाई भन्दा ८६ हजार बढी मानिसले ओलीलाई फलो गरेको थिए।

त्यस समय सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर्स भएका नेताको सूचीमा ओली सातौँ र प्रचण्ड आठौँ स्थानमा थिए। तर, अहिले भने नतिजा उल्टिएको छ।

अहिले फेसबुकमा ओलीलाई फलो गर्नेको संख्या ६ लाख १० हजार छ भने प्रचण्डलाई फलो गर्नेको संख्या ६ लाख २३ हजार छ। यो भनेको ओलीलाई भन्दा १३ हजार बढी मानिसले प्रचण्डलाई फलो गरेको छन्।

यो तथ्यांकअनुसार ३४ दिनमा ओलीलाई ५४ हजार मानिसले अनफलो गरेका छन् भने प्रचण्डलाई ४५ हजार मानिसले फलो गरेका छन्।

ओलीविरुद्ध अनफलाे अभियान

फेसबुकमा ओलीकाे फलाेअर्स घट्नुकाे प्रमुख कारण काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकहरुले चलाएकाे अभियान हाे।

भदाै तेस्राे सातादेखि बालेन समर्थकहरुले प्रधानमन्त्री ओलीविरुद्ध अनफलाे अभियान चलाएका थिए। त्याे अभियानले २४ घण्टामा ओलीकाे करिब ८० हजार फलाेअर्स घटाएकाे थियाे।

बालेन समर्थकहरुकाे अनफलाे चलाएकाे केही दिनमा एमाले कार्यकर्ताहरुले फलाे अभियान पनि चलाएका थिए। तर, त्याे अभियानले ओलीकाे फलाेअर्सलाई पुरानै अवस्थामा पुर्‍याउन सकेन।

बालेन समर्थकले किन चलाएका थिए अनफलाे अभियान?

याे अभियानकाे सुरुवात ‘काठमाडाैँ उपत्यकाका नदी किनारमा थप २० मिटर छाेड्नुपर्ने’ भनी सर्वाेच्च अदालतले गरेकाे फैसलासँग जाेडिएकाे छ।

सर्वोच्च अदालतले २०८० साल पुस ३ गते याे फैसला गरेकाे थियाे। याे फैसलाकाे कार्यान्वयनका लागि मेयरस्तरीय निर्णय गर्दै काठमाडाैँ महानगरपालिकाले सूचना जारी गरेकाे थियाे।

मेयर बालेनले याे सूचना जारी गरेपछि उपमेयर सुनिता डङ्गाेलसँगै एमाले कार्यकर्ताहरुहरु विपक्षमा उत्रिए। त्यतिमात्रै हाेइन, एमाले नेताहरुले महानगरकाे कार्यालयमै पुगेर केही मागसमेत पेस गरेर असन्तुष्टि पाेखेका थिए।

यसरी फैसला कार्यान्वयनमा एमालेले अवराेध गरेपछि चिढिएका बालेनले सामाजिक सञ्जालमार्फत आक्राेश पाेखे। सुरुमा बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पात्र बनाएर ओलीमाथि प्रहार गरे। बालहिंसाजस्ताे गम्भीर मुद्दामा अदालतले मुद्दा चलाउन भनिएकी शर्मालाई पक्राउ गर्नबाट राेकेकाे भन्दै बालेनले ओलीविरुद्ध फेसबुक र एक्समा स्टाटस लेखेका थिए।

त्याे स्टाटसपछि ओली र बालेनबीच वाक-युद्ध चल्याे। देशकाे प्रधानमन्त्रीजस्ताे पदमा बसेका ओलीले दिनहुँजसाे बालेनविरुद्ध बाेलिरहे/लेखिरहे। त्यसपछि बालेन समर्थकहरुले ओलीविरुद्ध अनफलाे अभियान चलाएका हुन्।

त्यसपछि त देश नै बालेन भर्सस ओली नै बन्याे। पक्ष/विपक्षमा गालीगलाैज र फलाे/अनफलाेका अभियान चलिरहे।

अवस्था कुन तहसम्म पुग्याे भने इन्द्रजात्राकाे दिन प्रधानमन्त्री ओली सहभागी हुने वसन्तपुरकाे कार्यक्रममा ओलीविरुद्ध नाराबाजी गरेपछि बालेन समर्थकलाई पक्राउ नै गर्‍याे। त्यसपछि बालेन समर्थकहरुले ओली जहाँ पुग्छन्, त्यहीँ नाराबाजी गर्न थाले।

पछिल्ला दिनमा ओली सार्वजनिक कार्यक्रममा निर्बाधरुपमा पुग्न नसक्ने अवस्थामा पुगे। नेपालमा मात्रै हाेइन, याे क्रम अमेरिकामा समेत जारी रह्याे। नेपाली युवाहरुले कालाे झण्डा देखाउने तयारी गरेकाे सूचनापछि ओली अमेरिकाकाे एउटा कार्यक्रममा नै गएनन्।

यही नै ओलीकाे अलाेकप्रियताका प्रमुख कारण बन्याे।

सरकारका विवादित कदम

ओलीले प्रधानमन्त्री भएकाे हप्तादिन नपुग्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट निकाल्ने गरी व्यापारीकाे पक्षमा कदम चाले। उद्याेगीहरुले तिर्नुपर्ने विद्युतकाे महसुलकाे विषयमा उठेकाे विवाद ओलीकाे लागि प्रतिउत्पादक बन्याे। घिसिङलाई प्राधिकरणबाट निकालिछाड्ने ओलीकाे ढिपीलाई धेरैले रुचाएनन्।

त्यस्तै सत्ता पक्षले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गरी चालेकाे चालपछि रास्वपा कार्यकर्तासँगै पूरै प्रतिपक्षी दलहरु ओलीविरुद्ध उभिए। यसमा ओली सफल त भएनन्। अमेरिकामा ओलीलाई कालाे-झण्डा देखाउने गरी गरिएकाे तयारी यसकै सिलसिला थियाे।

त्यसका साथै सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशाेध साँधेकाे, माओवादी जनयुद्धलाई अपमान गर्नेगरी प्रस्तुत भएकाे, भ्रष्टाचारका फाइल लुकाएकाे, नियुक्ति र सरुवा-बढुवामा मनाेमानी गरेकाे, सामान्यभन्दा सामान्य मानिससँग पनि निहुँ खाेजेर बसेकाेजस्ता विषय ओलीविरुद्ध उठे। जसकारण ओलीमाथि आममानिसमा धृणा भाव पैदा भयाे।

त्यस्तै बाढीपहिराेजस्ता विपत्तिकाे समयमा सरकारले उचित कदम चाल्न नसकेकाेप्रति आमनागरिक नकारात्मक बनेका छन्।

यी सबै कदमले सामाजिक सञ्जालमा प्रत्यक्षरुपमा प्रभाव पारेकाे देखिन्छ।

अनि, प्रचण्डकाे फलाेर्स कसरी बढ्याे?

त्यसाे त सामाजिक सञ्जालमा फलाेअर्स बढ्नु वा यथावत् रहनु स्वभाविक हाे। त्यसमाथि सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुकाे संख्या दिनप्रति दिन बढिरहेकाे छ। सूचना प्रविधिकाे प्रयाेग र पहुँच पनि बढ्दाे छ।

तर, यहाँ प्रचण्डकाे फेसबुक पेजमा फलाेअर्स बढ्नुमा अनेकाैँमध्ये एउटा कारण प्रचण्डकाे सक्रियता पनि हाे।

हिजाे-आज प्रचण्ड सामाजिक गतिविधिमा बढी नै सक्रिय छन्। सायद, उनकाे याे फुर्सदिलाे समय भएर पनि हाेला। यद्यपि, यहाँ चित्तबुझ्दाे कुरा याे पनि छ कि असाेज १२ काे विपत्तिपछि राज्यकाे मुख्य भूमिकामा रहेका व्यक्तिहरु विदेश भ्रमणमा रमाइरहेका बेला, सम्मान थाप्न व्यक्त भइरहेका बेला, प्रधानमन्त्री स्वयमले ओँठे जवाफ फर्काउँदै बसिरहेका बेला र मन्त्रीहरु सिंहदरबारमा घुमिरहेका बेला प्रचण्डले पीडितकाे घर-घरमा पुगेर सहानुभूति प्रकट गरे। र, उनी जहाँ पुग्छन्, त्यहाँका दृश्यहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। यसले प्रचण्डलाई सामाजिक सञ्जालमा सक्रिय बनाइरहेकाे छ।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलाेअर्स भएका नेताहरु

१) रेखा थापा- ३३ लाख (राष्ट्रिय प्रजातन्त्र पार्टी)

२) बालेन साह- २१ लाख (मेयर, काठमाडाैँ महानगरपालिका)

३) बाबुराम भट्टराई- १४ लाख (अध्यक्ष, नेपाल समाजवादी पार्टी)

४) रवि लामिछाने- १३ लाख (सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी) 

५) रवीन्द्र मिश्र- ८ लाख ९४ हजार (उपाध्यक्ष, राप्रपा)

६) हर्क साम्पाङ- ८ लाख ७४ हजार (मेयर, धरान उप-महानगरपालिका)

७) पुष्पकमल दाहाल प्रचण्ड- ६ लाख २३ हजार (अध्यक्ष, माओवादी केन्द्र)

८) केपी शर्मा ओली- ६ लाख १० हजार (अध्यक्ष, एमाले)

अन्य नेताहरुकाे फेसबुकमा फलाेअर्स:

- सिके राउत (सचिवालय) - ६ लाख ६६ हजार (जनमत पार्टी)

- गगन थापा- ५ लाख ३० हजार (नेपाली काँग्रेस)

- ज्ञानेन्द्र शाही- ४ लाख ६८ हजार (राप्रपा)

- शेरबहादुर देउवा- २ लाख ६६ हजार (सभापति, नेपाली काँग्रेस)

- स्वर्णिम वाग्ले- २ लाख २२ हजार (रास्वपा)

- कमल थापा- १ लाख ९३ हजार (राप्रपा नेपाल)

- माधवकुमार नेपाल- १ लाख ९२ हजार (एकीकृत समाजवादी)

- विश्वप्रकाश शर्मा- १ लाख ८८ हजार (नेपाली काँग्रेस)

- सुदन किराँती- १ लाख ८० हजार (माओवादी) 

- सुमना श्रेष्ठ (सचिवालय) - १ लाख ५९ हजार (रास्वपा)

- झलनाथ खनाल- १ लाख ५० हजार (एकीकृत समाजवादी)

- शङ्कर पाेखरेल- १ लाख ४८ हजार (एमाले)

- राजेन्द्र लिङ्देन- ५३ हजार (अध्यक्ष, राप्रपा)

- भीम रावल- ४५ हजार (एमाले)

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?