चार दशकअघि ज्योतिषले नन्दमाया ढकालको हात हेर्दै भनेका थिए, ‘तिमीलाई छोराछोरीले हेर्दैनन् तर सरकारले पाल्छ।’
त्यतिबेला उनलाई लागेको थियो त्यो भविष्यवाणी झुठो हो। बुबाआमालाई आफ्नै छोराछोरीले नपालेर कसले पाल्छ त? तर अहिले सात जना छोराछोरीकी आमा नन्दमायालाई सन्तान हुनु र नहुनु उस्तै लाग्छ।
हिजोआज उनी सोच्ने गर्छिन्, ‘काम गर्न सकुन्जेली मात्र रहेछ सन्तानको माया पाउने। बुढेशकालमा छोराछोरीकै लागि बोझ भइँदो रहिछ।’
000
वि.स २०१० सालमा रसुवाको जिबजिबेमा जन्मिएकी थिइन् नन्दमाया पोखरेल।
घरकी पहिलो सन्तान उनलाई बुबाआमाले माया गरेर ‘नन्दा’ भनेर बोलाउँथे। एक्ली छोरी सबैको प्रेम पाएर पुलपुलिएकी थिइन् उनी। तर पाँच वर्ष नपुग्दै उनी भाइ र बहिनीको दिदी भइन्।
आफूसँग खेल्ने साथी पाएर निकै उत्साहित भएकी थिइन् नन्दा तर त्यो खुसी धेरै समय टिक्न सकेन।
तीन सन्तानलाई जन्माएपछि सदाका लागि अस्ताइन् आमा। ‘म आमासँग धेरै बस्न पाइनँ’, उनी भन्छिन्, ‘उहाँ कस्ती देखिनुहुन्थ्यो भनेर पनि याद छैन।
बालखैमा आमा गुमाएपछि टुहुरो जस्तै बने उनीहरू। न खानाको टुङ्गो न त सुत्नको नै।
छोराछोरी हुर्काउनका लागि बुबा दिनभरि खेतीपातीको काममा व्यस्त हुन्थे। नन्दाले नै भाइबहिनीका रेखदेख गर्थिन्।
तर उनी आफैं पनि एउटी बच्ची थिइन् के बुझ्न सक्थिन् र भाइबहिनीको भोक। खाली पेटलाई उनीहरू रुएरै भर्थे।
‘म आफैं सानी थिएँ। भाइबहिनीको हेरचाह कसरी राम्रोसँग राख्न सक्थे र? मलाई धेरै कुरा याद छैन। उनीहरू सधैं रुएरै बस्थ्यो’, तर अहिले उनले बुझिसकेकी छिन् ‘त्यो त भोकको रुवाइ रहिछ।’
आमाले छाडेर गएपछि बुबा एक्लैलाई धौ–धौ पर्यो तीन छोराछोरीलाई सम्हाल्न। त्यसैले बुबाले नन्दाको विवाह गरिदिने निधो गरे।
त्यतिबेला मात्र पाँच वर्षकी थिइन् नन्दा। तर उनको विवाह गाउँकै एक ‘बाहुन’ केटोसँग हुने पक्का भयो।
आफ्नो बिहेको कुरा सुनेर पनि केही बोलिनन् नन्दा। त्योबेला उनलाई विवाहको मतलबै थाह थिएन। हुन्थ्यो भने पनि उनको कुरा कसले सुनिदिने?
‘छोरीहरूको विवाह सानै उमेरमा गरिदिनुपर्छ’ भन्ने त्यतिखेरको मान्यता र चलनै थियो।
‘मलाई अल्लि–अल्लि थाहा भएअनुसार ढकाल परिवार राम्रो छ। नन्दाले सुख नै पाउँछ भनेर विवाह पक्का भएको थियो’, उनी सम्झिन्छन्m ‘अहिले जस्तो भए त कहाँ बिहे गथें होला र!’
श्रीमानको ‘लात’
बुबाले कन्यादान दिएपछि उनी २० वर्षका चेतनाथ ढकालसँग बस्न थालिन् चेतनाथकै घरमा।
‘मलाई मेरो घरमा बस्ने मन थियो तर बुबाले नयाँ घर पठाइदिनुभयो’, उनी भन्छिन्, ‘सुरुमा त नयाँ घर देखेर अप्ठारो लागेको थियो।’
विवाह गरेको केही महिनासम्म उनलाई घरमात्र होइन चेतनाथ पनि अजनबी थिए। तर विस्तारै बानी परिहाल्यो।
उमेर सानी भएपनि कामबाट कहिल्यै तर्किनन् नन्दा। आफूले सक्नेजति काम सबै भ्याउँथिन्। मुख्यगरी घरमा कुँचो लगाउने र पँधेरोबाट पानी ल्याउने काम नन्दाको थियो।
‘खाना पकाउन जान्ने भएकी थिइनँ। सबै सासुआमाले गर्नुहुन्थ्यो। सानोतिनो कामहरू मात्र मैले गथें’, उनले भनिन्, ‘मेरो काम कोठा र आँगन बडाल्ने अनि पानी थापेर ल्याउने थियो।’
घरबाट एक किलो मिटर टाढा थियो पँधेरो। त्यही उनी स–साना भुल्टुङ बोकेर पानी भर्न जान्थिन्।
कहिलेकाहीं पानी बोकेर घर फर्किदा माइतीका बुबाले उनलाई देखेर बोलाउँथे अनि भन्थें, ‘बेलाबखतमा घर आइज् न छोरी!’ तर उनी कहिल्यै पसिनन् माइत घर। बिना चाडपर्व।
‘बिहे गरिसकेपछि माइत घर पनि पराइको घर जस्तो हुँदो रहेछ’, स्वगीय बुबालाई सम्झदै उनले भने, ‘उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो।’
सानै उमेरमा विवाह गरेर आएकी नन्दाले सासु–ससुराबाट भरपूर्ण माया पाइन्। कहिल्यै गाली खाइनन्।
तर श्रीमानको भने कहिलेकाहीँ ‘लात’ सहिन्। काम बिगार्दा उनलाई चेतनाथले लात्तले हान्थे अनि मनपरि गाली गर्थे।
छोराले बुहारीलाई कुट्दा सासु–ससुराले भने नन्दाको साथ दिन्थे। ‘सानी बुहारीलाई किन कुटेको काम पाएको छैनस्’ भन्दै छोरालाई दिनभरि कराउँथे।
‘मेरो लोग्ने अग्लो थियो। उसको एक लातले म गुल्टिन्थे’, नन्दाले भनिन्, ‘ म सानी थिएँ। उसँग झगडा गर्नै सकिनँ।’
घरमा आमाबुबालाई काममा सघाउँदै अनि श्रीमानको प्रेम र गाली खेप्दै उनी १८ वर्षकी भइन्। त्याे बेलासम्म उनकाे एउटा छाेरा भइसकेकाे थियाे।
आमा बनेको पहिलो दिन उनी यतिधेरै खुसी थिइन् कि आफ्नी स्वर्गीय आमालाई सम्झिएर भक्कानिइन्। ‘आमा कस्ती हुँदो रहेछ भनेर मैले त्यहीबेला थाह पाएकी थिएँ’, नन्दा सुनाउँछिन्, ‘आमा बन्नु सजिलो कहाँ रहिछ र।’
छोराकी आमा कहलिएपछि नन्दाको दिनचर्या पनि बदलिदैं गयो। आफ्नोभन्दा धेरै उनलाई छोराको पीर लाग्थ्यो। बरू, आफू भोक्कै बस्थिन् होला तर कहिल्यै छोरालाई भोकै सुताइनन्।
‘दुई छाक खानको लागि समस्या थिएन तर छोराको लागि मैले धेरै कुरा त्यागेकी छु। तर बुबाआमाको जस्तो मन छोराछोरीको नहुँदो रहेछ’, बिएल नेपाली सेवासँग दुखेसो पोख्छिन् नन्दा।
ज्योतिषको त्यो भविष्यवाणी
चेतनाथ र नन्दाले विवाह गरेको साढे तीन दशकमा ७ जना छोराछोरी जन्मिए।
६ जना छोराछोरीलाई नन्दाले गाउँमै हुर्काइन्। तर कान्छा छोरालाई भने उनले श्रीमानसँगै बसेर काठमाडौं पालिन्।
उनका श्रीमान चेतनाथ ज्योतिष थिए। नन्दा र ६ छोराछोरीका लागि उनले काठमाडौंबाट खर्च पठाइदिन्थे।
तर कान्छो छोरालाई भने उनले काठमाडौं हुर्काउने सोचिन्। र, २०४१ सालमा नन्दाले पहिलो पटक राजधानीमा पाइला टेकिन्।
त्यसपछि उनी श्रीमानसँग भृकुटी मण्डपमा डेरा लिएर बस्न थालिन्। चेतनाथ दिनभरि भृकुटी चोकअगाडि बसेर काम गथे अनि छेउमा बस्थिन् नन्दा।
चेतनाथलाई हात हेराउन मानिसहरूको भीड लाग्थ्यो। कौल्तुहलता बोकेर आएका उनीहरूले विभिन्न प्रश्नहरू तेर्साउथे। त्यो देखेर नन्दा पनि उत्साहित भएकी थिइन्।
एकदिन नन्दाले ज्योतिष श्रीमानका अगाडि हात फैलाएर हाँस्दै सोधिन्, ‘मैले छोराछोरीबाट सुख पाउँछु कि पाउँदिनँ?’
श्रीमतीको कुरा सुनेर चेतनाथले राम्रोसित हात हेर्दै भने, ‘छोराछोरीबाट तँलाई सुख हुँदैन। उनीहरूले पाल्दैनन् पनि। तर चिन्ता नगर् सरकारले पाल्छ।’
श्रीमानको जवाफ सुनेर निराशिइन् नन्दा। बुढेसकालमा छोराछोरीले नपालेर कसले पाल्छ त? भन्दै रिसाइन् पनि। तर फेरि मन भुलाइन् ‘ज्योतिषले बोलेको सबै कुरा कहाँ पुग्छ र?’
भविष्यवाणीलाई बिर्सिएर उनले तीन छोरा र चार छोरीलाई मज्जै पालिन्। आफू नपढेपनि सातै सन्तानलाई धैरथोर भएपनि शिक्षित बनाइन्।
‘छोराछोरीलाई धेरै पढाउन सकिनँ। तर अक्षर चिन्ने बनाएँ’, त्यो कुराले अहिलेपनि खुसी हुन्छिन् नन्दा।
छोराछोरीको राम्रो लालनपोषण गर्ने ढकाल दम्पत्तिकै सपना थियो। त्यसैले नन्दाले पनि केही काम गर्ने निर्णय गरिन्।
उनले चेतनाथ बसेर काम गर्ने ठाउँ नजिकै बदाम बेच्न थालिन्। भृकुटी मण्डप आउने घुमन्ते उनीकहाँ बदाम किनेर खान्थे। त्यही बेचेर उनले पनि दुई–चार पैसा कमाउन थालिन्।
श्रीमान–श्रीमतीले नै काम गरिरहेको थियो। त्यसैले त्यतिधेरै दुख थिएन। धेरै परिवार तर खुसी थियो। दुई चार पैसा भएपनि बचत गरेर राखेका थिए।
तर काँचो शरीर। कतिबेला बिरामी भइदिन्छ, पत्तै हुँदैन।
घरका खम्बा बनेका चेतनाथ नै थलिन थाले। पेटको समस्याले उनलाई च्याप्न थाल्यो। नन्दाले उनलाई कयौं अस्पताल लगिन्। तर कतै रोगको पत्ता लाग्न सकेन।
तर एकदिन उनलाई कसैले सुझाएका थियो, ‘चेतनाथलाई एकपटक भक्तपुरको क्यान्सर अस्पताल लैजाऊ’।
नन्दाले श्रीमानलाई क्यान्सर अस्पताल पुर्याइन्। तर धेरै ढिला भइसकेको थियो। चेतनाथ क्यान्सरसँग लडिरहेका थिए। त्यहीपनि चौथो चरणको।
७० वर्ष पुगिसकेका चेतनाथलाई नन्दाले धेरै बचाउने कोसिस गरिन्। तर सकिनन्। अन्ततः श्रीमानले उनलाई सदाका लागि छाडेर गए।
सात जुनी सँगै बाँच्ने र मर्ने कसम खाएका श्रीमानले त्यसरी छाडेर जाँदा छँटाहा भएकी थिइन् नन्दा। उनलाई संसार नै बिरानो लाग्न थाल्यो।
कयौं दिन त उनले चेतनाथसँग बिताएका क्षणहरूलाई सम्झिएर रुएरै बिताइन्। तर छोराछोरीको अगाडि कहिल्यै दुख देखाइनन्।
चेतनाथको निधनपछि घरको सारा खर्च उठाउने जिम्मेवारी नन्दाको थाप्लोमा पर्यो।
‘श्रीमानले बाँचुञ्जेली कमाएर खुवाउनुभयो। उहाँ गएपछि सबै खर्च मैले उठाउनुपर्यो’, उनी भन्छिन्, ‘हामीले बचाएर राखेको दुईचार पैसा पनि उहाँको उपचारमा सक्कियो।’
मृत्युको मुखबाट फर्किदा...
चेतनाथको मृत्युपछि उनी टोखामा सरिन्। अनि नयाँ काम पनि गर्न सुरु गरिन्।
बदाम मात्र बेच्ने नन्दाले मकै पोल्ने र केरा बेच्ने काम पनि गर्न थालिन्।
उनी बिहानै बल्खु पुग्थिन्। एक धोक्रो काँचो मकै किन्थिन् अनि दिनभरि ‘ग्रीन सिटी’ अस्पताल नजिकै बेच्थिन्।
त्यही मकै, बदामले थेगिरहेको थियो नन्दाको परिवार।
बुढो शरीरले लिएर एक्लै सडकमा दिनभरि व्यापार गर्थिन् नन्दा। तर कुनै छोराछोरीले
कहिल्यै काम सघाएनन्। बरू, ६ जानै छोराछोरी लाखापाखा लागे।
जेठा छोरा विवाह गरेर बुहारीसँगै ससुरालीमा बस्न थाले। माइला छोरा विवाहपछि छुटिट्ए अनि चारै छोरी पनि विवाह गरेर गइहाले।
उनीसँग मात्र कान्छो छोरा थिए। त्यही छोरालाई उनले साउदी पठाए। केही वर्षपछि छोरा फर्किए तर रित्तो हात। ‘छोराले पैसा कमाउन सकेन’, उनले बताए।
टोखाको एउटा गल्लीमा डेरा लिएर गुजारिरहेका थिए आमाछोरा। दिनभरि आमा ज्यापार गर्न निस्किन्थिन्। छोरा घरमै बस्थे। कामैबिना।
सदाझैं बिहानदेखि साझँसम्म नन्दाले नाङ्ग्लो पसल थापिन्। हजार रुपैयाँ कमाएर घर फर्किदैंथिइन्।
बाटोमै चिनेकी एउटी पुरानो बहिनी भेटिन्। ती बहिनीले नन्दालाई आफ्नो घर लैजान खोजिन्। तर नन्दा मानिनन्।
‘जमानामा सँगै बसेको बहिनीलाई भेटेकी थिएँ। उसले घरमा चिया पिउनु लैजान्छु भनिन् तर म मानिनँ। सायद त्यो घटना घट्नुथियो रहिछ’, लामो श्वास तान्दै उनले बताइन्।
रात छिप्पिदैं थियो। त्यसैले नन्दालाई घर पुग्नै हत्तार थियो। सदाजस्तै उनी घर जान सडक पार गर्दैथिइन्। अचनाक उसलाई बसले ठक्कर दियो।
उनको आँखा अगाडि कालो छायो। त्यसपछि के भो उसैलाई थाह छैन।
एक सातापछि नन्दाको आँखा खुल्यो। चारैतिर आँखा डुलाइन्। उनी त सिटी अस्पतालको बेर्डमा पो सुतिरहेकी रहिछ।
‘म कसरी अस्पतालसम्म पुगे आफैंलाई थाह छैन’, उनी भन्छिन्, ‘होश आएपछि दुर्घटना भएको कुरो थाह पाएँ।’
त्यो दिन बसको ठक्करबाट रगताम्य हुनेगरी घाइते भएकी थिइन् नन्दा। उनलाई मरणासन्न हुनेगरी घाइते बनाएर बस भागिहाल्यो। त्यसपछि उनलाई त्यहाँका बासिन्दाले चिनेर अस्पताल पुर्यायो।
‘धन्न! मेरो बाँच्ने दिन थियो। म मृत्युको मुखबाट फर्किएँ’, उनी भन्छिन्, ‘दुर्घटना हुने दिन बहिनीसँग गएकी भए दुर्घटना हुँदैनथियो होला। तर भएरै छाड्यो।’
सात दिनपछि होशमा फर्किदा पनि उनका सबै छोराछोरी साथमा थिएनन्। कान्छा छोरा र केही चिनेका मान्छे मात्र थिए।
अस्पतालमा ६ जना छोराछोरी नदेख्दा नन्दाको मन कुडिएको थियो। त्योभन्दा धेरै जेठा छोराले गरेको व्यवहारले उनलाई गलाएको थियो।
एक साता अस्पतालमा बस्दा नन्दाले जीवनभर कमाएर राखेको २५ लाख रुपैयाँ जेठा छोराले लगिदिएछन्।
‘म अस्पतालमा हुँदा छोराले मेरो बैंकबाट २५ लाख लगेछन्। कसरी लग्यो थाह छैन। तर छोराले नै लग्यो’, श्रीमान बितेपछि काम गरेर कमाएको पैसा पनि छोराले नै सक्काइदिए।
२० वर्ष सडकमा नाङ्लो दोकान चलाएर जमाएको पैसा जेठो छोराले लगेपछि नन्दासँगै रिसाए, ६ जना छोराछोरी। बोल्न चाहेनन् नन्दासँग। त्यसपछि उनले आश्रमको ढोका ढकढकाउनुपर्याे।
000
कान्छा छोरालाई राख्न दिएको पैसाले उपचार भएको थियो नन्दाको। तर निको भइसक्दा पनि कुनै छोराछोरी उनलाई लिन अस्पताल आएनन्। त्यसपछि अस्पतालले नै उनलाई मानव सेवा आश्रम पठाइदियो।
उनी मानव सेवा आश्रम बस्न थालेको वर्षदिन पुगिसक्यो। अहिलेसम्म कुनै छोराछोरीले उनलाई घर लगेका छैनन्। छोरीहरू आएर जान्छन् तर ‘घर जाम् आमा’ भनेर कहिल्यै भन्दैनन्।
बरू, उल्टै बुबाआमा पाल्ने कर्तव्य छोराको हो भनेर जान्छन्। छोरीहरूको त्यो बिझाउने शब्द सुन्दा उनलाई लाग्छ, ‘श्रीमानले जस्तो छोराछोरीले माया नगर्दो रहेछ।’
अहिले नन्दाको जेठा छोराको पशुपति नजिकै चार तले घर छ। छोरीहरू पनि व्यवस्थित छन्। तर आश्रम बसेकी आमालाई कसैले सम्झदैनन्।
उनलाई रहर छ, छोराछोरीसँगै बस्ने। तर बिडम्बना, उनको भाग्यमा सन्तानको माया नै लेखिएको रहिनछ।
‘जीन्दगीमा आफूले चाहेको जस्तो कहाँ हुँदो रहिछ र!’, उनी भन्छिन्, ‘अब त आफैं काम गरेर खान पनि सक्दिनँ। दुर्घटनाले मलाई कमजोर बनायो। राम्रोसँग हिड्न सक्दिनँ। छोराछोरीले पनि हेर्दैन।’
हुनत अहिले नन्दाले पनि छोराछोरीको माया पाउने आश गुमाइसकेकी छन्। उनी भन्छिन्, ‘जीन्दगी भनेको आफ्ना मान्छे पराइ हुने अनि पराइ चाहिँ आफ्ना हुँदो रहिछ।’
अहिले आश्रमलाई नै घर सम्झिएकी छिन् नन्दाले। र, त्यहाँका मान्छेलाई परिवार। ७१ वर्षकी नन्दा भन्छिन्, ‘यहाँ म धेरै खुसी छु। सबैको माया पाएकी छु।’