
मदन भण्डारी फाउन्डेसनले काठमाडौंको गैरीधारामा शनिबार ‘जर्नल विमोचन र विमर्श कार्यक्रम’ आयोजना गर्यो। कार्यक्रमकी मुख्य अतिथि थिइन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी।
यसअघिका मदन भण्डारी फाउन्डेसनका स-साना कार्यक्रममा पनि एमाले नेता–कार्यकर्ताहरूको खचाखच उपस्थिति देखिन्थ्यो। तर शनिबारको कार्यक्रम भने फितलो देखियो। कारण थियो एमाले अध्यक्ष केपी ओली पक्षको अघोषित बहिष्कार।
विद्या भण्डारी ओलीलाई नै चुनौती दिँदै सक्रिय राजनीतिमा फर्किएपछि एमालेका गुटहरू फेरि चलमलाउन थालेका छन्। एकले अर्कालाई अघोषित वा घोषित रुपमै बहिष्कारकै तहसम्म पुगेका छन्।
कार्यक्रममा विद्या भण्डारीपक्षीय नेताहरू एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सांसद तथा भण्डारीकी पूर्वस्वकीय सचिव दीपा शर्मा, पूर्वमन्त्री तथा पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे, एमाले सांसद दामोदर बैरागीलगायत नेताहरूको मात्र उपस्थित देखिन्थ्यो।
युवा संघ, प्रेस चौतारी, अखिललगायत जनवर्गीय संगठनमा ओली समूहलाई चुनौती दिएकाहरू भण्डारीको समर्थनमा खुलेका छन्। उनीहरूले विद्यालाई अहिले एमालेमा ओलीको विकल्पमा अघि सारेर प्रचार गरिरहेका छन्। शनिबार फाउन्डेसनको कार्यक्रममा पनि जनवर्गीय संगठनका तिनै विद्यापक्षीयहरू सहभागी थिए।
उपाध्यक्ष पाण्डे विद्याको पक्षमा खुलेपछि एमालेभित्र उनको विरोधमा गाइँगुइँ आवाज सुनिन थालेको छ। त्यसो त पाण्डे एमालेमा महासचिवको आकांक्षी रहेको एमालेका नेताहरू खासखुस गर्छन्।
फाउन्डेसनको कार्यक्रममा ओली समूहको किन बहिष्कार?
एक केन्द्रीय सदस्यका अनुसार कतिपय ओलीपक्षीय नेता कार्यकर्ताहरूले कार्यक्रममा सहभागी हुने/नहुने बारे स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग सोधेका थिए। ढकालले त्यसपछि विद्या सहभागी कार्यक्रममा नजान उर्दी जारी गरेको उनको भनाइ छ।
विद्या भण्डारी एमालेबाट सक्रिय राजनीतिमा फर्किँदासम्म एमालेमा खासै उनको विपक्षमा खुलेर आवाज उठेका थिएनन्। तर, उनले आफूलाई ओलीकै उत्तराधिकारीका रुपमा प्रस्तुत गर्न थालेपछि ओलीपक्षीय नेताहरू चिढिएका हुन्।
ओलीपछि एमालेमा उनको उत्तारीधिकारीका रुपमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललाई हेरिन्छ। महासचिव पोखरेल त विद्याको विरोधमा खुलेरै लागिसकेका छन्। उनले कार्यकर्ताहरूलाई भण्डारीको पक्षमा नलाग्न निर्देशन नै दिइरहेका छन्।
केही दिनअघि पार्टी निकट जनसंगठनहरूका पदाधिकारी भेला राखेर स्थायी कमिटी सदस्य ढकालले पनि संस्थागत निर्णय नमान्नेहरू पार्टीको नोटिसमा रहेको चेतावनी नै दिएका थिए।
सोही कारण होला सँधै खचाखच हुने मदन भण्डारी फाउन्डेसनको कार्यक्रम शनिबार फितलो देखिन्थ्यो। सीमित प्राज्ञिक व्यक्तित्वहरू र विद्या समर्थकहरूको मात्र उपस्थिति थियो।
१ .
२ .
३ .
४ .
५ .