 
                                            
                                        
                                    अमर अधिकारी
 
                                दसैं नेपालीहरूको महान चाडमा पर्दछ। दसैं आउनुअघिदेखि नै विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने र नेपालभित्र पनि कामविशेषले कर्मक्षेत्रमा विभिन्न भागमा रहेका कर्मचारी, ब्यवसायी र अध्ययनको सिलसिलामा विभिन्न सहरमा छरिएर रहेका विद्यार्थीहरू दसैं मान्नकै लागि आ–आफ्नो जन्मथलोमा फर्किनेहरूको लर्को लाग्नेगर्दछ।
यातायातको अस्तब्यस्ताका कारण कसैकसैलाई यात्रा असहज लागेतापनि महत्वपूर्ण चाड मान्नका लागि गन्तब्यमा जानपाउनु नै ठूलो कुरा मानिन्छ। कहिलेकाहीँ असोज महिनाको छिटै नै दसैं आउनु र मनसुन लम्बिने हुँदा लामो दूरीका यात्रामा कठिनाइ आउनु स्वभाविकै हो। यसपाली पनि वर्षाले दुःख दिन्छ कि भन्ने शंका धेरैलाई लागेको पाइएको थियो। दसैंअघिको वर्षाले ठुलो क्षति गरेको भए पनि अहिले भने पानी रोकिएपछि मानिसहरू आफ्नो थातथलो ढुक्कका साथ फर्कन थालेका छन्। यद्यपि फाट्टफुट्ट बादल भने देखिने गरेको छ।
दसैंलाई लगातार दश दिनसम्म मनाउने पर्व भनेर बुझिन्छ। दसैंको सुरुवात आश्विन शुक्ल प्रतिपदादेखि हुन्छ। जसलाई नवरात्र वा नवरथा पनि भनिन्छ। घटस्थापनाका दिन घर–घरमा जमरा राखिन्छ र दुर्गा भगवानीको नौ रुपको पूजा आराधना गर्ने गरिन्छ।
दुर्गाको पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। उज्यालो प्रवेश नहुने स्थानमा जमरा उमारिँदा जमराको रङ हरियो नभएर पहेँलो देखिनेगर्दछ। जुन जुमरा हेर्दा आकर्षक लाग्दछ। नारदको वचनबाट प्रेरित भएर श्रीरामले नवरात्रको विधिपूर्वक व्रत गरेको कुरा शास्त्रमा उल्लेख छ।
व्रतको शक्ति संचयको प्रभावले रामचन्द्र भगवानले रावणमाथि विजय प्राप्त गरेका थिए। यसरी भगवान रामचन्द्रले रावणमाथि विजय हासिल गरेको हुनाले दसैंको दिनलाई हिन्दू परम्परा अनुसार विजया दशमीको रुपमा मनाउन थालियो। दसैंको पहिलो दिन प्रतिपदाका दिन जमरा राखि सुरुहुने दसैंको पहिलो दिन घर र वरपरको सरसफाई गरेर दुर्गा भवानीको पहिलो रुप शैलपुत्रीको पुजा र आराधना गरिन्छ।
शैलपुत्रीको पूजाले धैर्य, सहनशिलता ममता, करुण्यता पाईने र पृथ्वी तत्वको सन्तुलन शरीरमा रहने कुराको शास्त्रमा उल्लेख गरिएको पाइन्छ। यसदिनको पूजापश्चात् दसैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिन्छ। उनले परापूर्वककालमा फल–फूल र पात खाएर घोर तपस्या गरेर शिव भगवानलाई पतिरुपमा वरण गरेकी थिइन् भन्ने भनाई रहेको छ। ब्रह्मचरिणी शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको शास्त्रमा उल्लेख गरेको पाईन्छ।
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दुर्गा माताको पूजा गर्ने गरिन्छ। देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो। यीनलाई वीर रसको अपूर्व शक्ति मानिएको छ। चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुतप्रेत शक्तिबाट उन्मुक्ति पाइन्छ भनिएको छ। नवरात्री अर्थात् नवरथाको चौथो दिन भगवतीलाई कूष्माण्डा नामले आरधना गर्ने गरिन्छ। भगवती दुर्गाको कुष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ति भएको मानिन्छ।
दुर्गामाताको निवास सूर्य मण्डलमा रहेको मानिन्छ भने सेतो कुभिण्डोको जस्तो रुप भएका कारण यीनलाई कूष्माण्डा भनिएको हो। दसैंको पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ। स्कन्दमाता देवताहरूका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण यीनलाई स्कन्दमाता भनिएको हो। स्कन्दमाताको पूजा गर्नाले बालबच्चाहरूको संरक्षण हुने विश्वास गरिन्छ। यीनको पाँचौ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ।
नवरात्रको छैठौँ दिन दुर्गाको कात्यायनी रुपको पूजन गर्ने गरिन्छ। महिषासुरको उत्पातले आक्रान्त पृथ्वीको संरक्षणको लागि महर्षि कात्यायनको घरमा उत्पत्ति भएका कारण कात्यायनी भन्ने गरिन्छ। भगवान कृष्णलाई पति पाऊँ भनी गोपीनीहरूले यीनै भगवतीको पूजा गरेका थिए भन्ने भनाई रहेको छ। कात्यायनीको पूजा गर्नाले कन्याहरूले आफूले चाहेको वर पाउने कुरा पनि उल्लेख छ। नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। कालो स्वरुप भएका कारण यीनलाई कालरात्री भनिएको हो।
शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ भन्ने उल्लेख गरिएको छ। कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ। यस दिनमा फूलपाती भित्र्याइने गरिन्छ। यस सप्तमीको दिनलाई फूलपातीको दिन भनेर पनि चिनिन्छ।
नवरात्रको आठौँ दिन महागौरीको पूरा तथा आराधना गर्ने गरिन्छ। यसदिनलाई महाअष्टमी पनि भनिन्छ। महागौरी आठवर्षको उमेरमै कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यीनको शरीर गोरो भएका कारण महागौरी भनिएको हो। यस दिन देवीको बाहन सिंहलाई विधिवत पूजन गर्ने र हात हतियारहरूको पूजा गर्ने प्रचलन पनि रहेको छ।
दसैंको टीकाको अधिल्लो दिन अर्थात् नवरात्रीको नवौं दिन भगवती दुर्गाको सिद्धिदात्री स्वरुपको पूजा गर्ने गरिन्छ। यसै दिन विहान हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा गरिन्छ। यस दिन अरू पूजाको साथसाथै विशेषगरि दुईवर्षदेखि दस वर्षसम्मका कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ।
नवरथाको दशौँ दिनलाई दसैं भन्ने गरिन्छ। नौ दिनसम्म गरिएको पूजा आराधनाको प्रसाद र आशिर्वाद लिने दिनको रुपमा पनि दसैंलाइ लिइन्छ। आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन मनाइने भएको हुनाले यस दिनलाई खास दसैं भनिएको हो भन्नुमा फरक पर्दैन।
यस दिन भगवन रामचन्द्रले नारदका उपदेशले नवरात्र व्रत गरि रावणमाथि विजय प्राप्त गरेकाले विजयादशमी भनिएको भन्ने भनाई रहेको छ। विजया देवीको यथाशक्ति पूजा र जमराको पूजा गरी भगवती दुर्गा पितृ अन्य देवीदेवतालाई चढाई त्यो टीका प्रसाद आफूभन्दा ठुलाको हातबाट थाप्ने चलन छ। दसैंको टीका लगाई जमरालाई शिरमा पहिरिएर वा सजाएर राखिन्छ। मान्यजनको अशीर्वादले कसैले पनि आफूमाथि दमन अर्थात् परास्त गर्नसक्दैन भन्ने धार्मिक मान्यता पनि छ। दसैंमा मान्यजनबाट टीका लगाउँदा आशिष दिने मन्त्र यसप्रकार छः
पुरुषको हकमाः
आयुद्राेणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं बिदुरे भवति भावताम् किर्तिश्च नारायणे।।
महिलाको हकमाः
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते।।
नेपालमा भगवती मन्दिर तथा कुलदेवी कोटघरमा बलि दिने प्रचलन छ। तर बलिको अर्थ भने खासमा हिंसा होईन, वलीको वास्तविक अर्थ निवेदन अथवा उपहार हो। शब्दकोशले बलिको अर्थ ग्रहण गर्नुभन्दाअघि देवी देवतालाई चढाइने भोजन, नैवेद्य आदि हो भनेर अर्थ्याएको छ।
त्यो दसैं पो दसैं
हामी सानो छँदा दसैं आउनुभन्दा एकहप्ताअघि नै नयाँ लुगा सिलाइदिए कि सिलाइदिएनन् भनेर दमाइटोलका टेके दमाई (अहिले त्यसरी सम्बोधन गर्न मिल्दैन) को घरमा धाइरहन्थ्यौं। कपडा उद्योगले प्रयोग गरेको केमिकलको गन्धसहितको नयाँ लुगा घरमा लिएर खुसी हुँदै जतनसाथ राख्थ्यौं।
दसैंको दिन ती नयाँ लुगा लगाएर मूलघर जान्थ्यौं, जहाँ बाजे र बोई अर्थात् हजुरआमा कान्छाबाको साथमा रहनुहन्थ्यो। हामी (जेठापट्टी) र माइलाबाका पट्टीको छुट्टाभिन्न भैसकेको थियो। टीकाको साइत अनुसार सबै जम्मा भएपछि मर्यादाक्रम अनुसार टीका सुरु हुन्थ्यो। ठूलाले सानालाई आशीर्वाद दिंदै टीकाको काम सकिन्थ्यो। काम्लाभरि अक्षता झरेर रातै हुन्थ्यो र बिझाउँथ्यो। टीकाअघि नै बोईले गोधुङको लामोलामो सीता भएको जडन चामलको भात पकाइसक्नु भएको हुन्थ्यो। स्वादिला तरकारी, अचार अनि गोरसका साथमा हरिया टपरीमा मनभरि र पेटभरि खाइसकेपछि टपरी भैंसीको भकारमा फालिदिन्थ्यौं। हात धोइसकेपछि आराम नगरी हतपत्त करेसामा रहेको बेकमबेलीको लहरामा पिङ खेल्दै गोल्चेनीको रुखमा चढ्थ्यौं। बाजेले "ए भिउसिन" भनेर भाइ विमललाई बोलाइरहनुहुन्थ्यो, बाजेले उसैलाई नै खोजिरहनुहुन्थ्यो। खेल्दाखेल्दै बेलुका भएपछि घरघर जान्थ्यौं। भोलिपल्ट विहान बोई कुम्लो बोकेर माइत नम्जातिर हिंड्नुहुन्थ्यो भने म बोईको पछिपछि लाग्थें। साँझ नपर्दै म बोई अर्थात् हजुरआमासँग बूढो मावल पुग्थें। नम्जाली साहुले चिनिने बूढोमावली बाजेले मलाई जिस्क्याउनुहुन्थ्यो। टीका थापेर दक्षिणा गोजीमा राखेर खाना खाई आनन्दले निदाउँथें। अर्को दिन विहान उठेर आँपको रुखमा हालेको पिङ खेल्थें।
सबै हिन्दूहरूमा विजया दशमीको उपलक्ष्यमा शुभकामना!!
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया